– चंकी श्रेष्ठ

आमा सिकिस्त छिन् । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, ‘अन्तिम अवस्थामा आमाले भेट्न चाहेकी छन्, तुरुन्तै आउनू ।’
‘तुरुन्तै आउनू’, यो वाक्यसँग उसलाई असाध्यै रिस उठ्छ । के ऊ र्सूयको प्रकाश वा बिजुली हो जो तत्काल गन्तव्यमा पुग्छ – तुरुन्त आउनू त उसको डाइरेक्टरले पनि भनेको छ । यो तुरुन्तमा सम्भावना छ । ट्याक्सीबाट पाँच मिनेटमा पुग्न सकिन्छ । तर त्यो तुरुन्त कसरी तुरुन्त हुनसक्छ – काठमाडौँबाट आबुखैरेनी पुग्नै चार घण्टा लाग्छ । त्यहाँबाट उकालो चढ्दै उसको गाउँ छिम्केश्वरी पुग्न छिटो हिँड्नेलाई ६ घन्टा लाग्छ । उसको कुरा अलग छ । पहिले त हिँड्नु उसको बाध्यता हुन्थ्यो । ६ घण्टा लाग्ने बाटो ऊ चार घण्टामै काटिसक्थी । ऊ काठमाडौँकी सफल मोडल भइसकी । सुपर मोडल बन्ने उसको यात्रा जारी छ । फ्लाटबाट ओर्लनेबित्तिकै ट्याक्सी पाइन्छ । छिम्केश्वरीमा जस्तो मोटर देख्नै ६ घण्टा ओर्लनुपर्ने स्थिति छैन । पहाडमा घाँस-दाउरा गरेर हिँडेको उसलाई अब एकादेशको कथाजस्तै लाग्छ । आमा सिकिस्त छिन् भन्दैमा ऊ अब कसरी जाओस् । घरसम्म गाडी जाँदैन । प्लेन जाने भए कुरा बेग्लै हुन्थ्यो । सहरमा उसलाई सास फेर्नै फुर्सद हुँदैन । दिनकै कैयन् पल्ट फोटोसेसन गराऊ, विज्ञापन सुटिङमा जाऊ । फेसन सोमा क्याटवाक गर । एमडीसँग नाइट क्लब धाऊ । सफलता पाउनु छ भने यी सब उसले गर्नैपर्छ । नत्र भोलिदेखि नै फेरि सुक्खा डल्ला फोर्न छिम्केश्वरी फर्किए हुन्छ ।

उसले सोची, डाइरेक्टरसँग कुरा मिलाएर एक-दुइ दिनमा आमालाई भेट्न जानुपर्ला । सोच्दासोच्दै डाइरेक्टरको फोन आयो, ‘तुरुन्तै हिँड्नुपर्‍यो, म लिन आउँछु !’ तुरुन्तै भन्नासाथ दायाँबायाँ सोध्ने कुरै छैन । तुरुन्तै पुग्नुपर्छ । कम्पिटिसनको जमाना छ । नत्र चानस अर्कैले उडाइदिन सक्छन् ।
‘सर…… ।’
‘बी रेडी, आइ विल बी देयर,

ओके -‘

अब के भनोस् उसले ! ऊ आमाको स्थितिबारे बताउन चाहन्थी । डाइरेक्टर दायाँबायाँ कुरै सुन्दैन । सफलता पाउनु छ भने ऊ डाइरेक्टरको पछि लाग्नैपर्छ । कतिसम्म भने डाइरेक्टरले चाहेमा उसैसँग सुतिदिनुपर्छ । यसप्रति ऊ सचेत छे । त्यसैले ब्यागमा ऊ कहिल्यै निरोधक चक्की छुटाउँदिन । लोग्नेमान्छेको भर हुँदैन । ती ज्यादा हतार गर्छन् र त्यसको प्रतिफल आफूले भोग्नुपर्छ । प्रतिभा र रूप भएका केटी त सहरमा कति छन् कति, ती सबै अवसर पाएपछि देखिने कुरा हुन् । अवसर नगुमाउने हो भने समयअनुसार चल्न जान्नैपर्छ ।

लाइफ गर्ल फेसन सोमा पहिलो पल्ट यही डाइरेक्टरले उसलाई चानस दिएको थियो । भोलिपल्ट उसले हाकाहाकी प्रस्ताव गर्‍यो ऊसँगै रात बिताउन । ऊ अकमक्क परी ।

‘तर सर…..’
‘तर-सर नभन, मेरो भर पर । हिजो तिम्रो शो खुब जम्यो । धेरैले तिम्रो लुक्स र कन्फिडेन्सलाई मार्क गरेका छन् । तिमीलाई सुपर मोडल बन्नु छ कि

छैन -‘

‘छ सर तर …म यतिसम्म गिर्न सक्दिनँ ।’

ऊ आउँछे भन्नेमा विश्वस्त भएर डाइरेक्टरले भेट्ने ठाउँ बतायो । उसलाई निकै रिस उठ्यो । त्यही फोनले झटारो हानिदिऊँजस्तो लाग्यो । उसको दिमाग घुम्न थाल्यो । अब ऊ गाउँ फर्केर घाँस, दाउरा, भारी गर्न सक्दिन । आफ्नै जातमिल्दो फोहोरी लोग्नेका एक दर्जन छोराछोरी जन्माएर बस्न पनि सक्दिन । न ऊ घण्टौँ हिँडेर दाउरा, मूला, लप्सी बेच्न खैरेनी बजार आउन सक्छे । अचाक्ली गरिबी, आमाबाउको किचकिच, गाउँले युवकको छेडखानी, एकान्त भेट्नेबित्तिकै छाती समाउन आउने तिनका व्यवहार सम्झँदा उसलाई कहाली लाग्यो । सहरको जीवन निकै फरक थियो । कतिपय पत्रकार र फोटोग्राफर उसका वरिपरि झुम्मिन थालिसकेका थिए । मनोरञ्जन साप्ताहिकमा उसको मिडपेज ब्लोअप छापिइसकेको थियो । कामना र दैनिक पत्रपत्रिकाले पनि उसको सौर्न्दर्यबारे चर्चा गर्न थालिसकेका थिए । त्यो सबैको श्रेय यही डाइरेक्टरलाई जान्छ । उसले सोची, केही पाउनु छ भने केही त गुमाउनैपर्छ । त्यसै दुवै हातमा लड्डु कहाँ हुन्छ नानी – लोग्नेमान्छेसँग रात बिताउने कल्पनाले उसको मन ढक्क फुल्यो । मन भारी भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । उसले मुटु दह्रो पारी । कुनै दिन एउटी साथीले दिएको सल्लाह सम्झी र औषधि पसलबाट निरोधक चक्की किनी । ऊ डाइरेक्टरले भनेको ठाउँमा पुगी । डाइरेक्टर ऊ आउनेमा ढुक्क थियो । कपालमाथि गगल्स भिरेर डाइरेक्टर उसैको बाटो हेरिरहेको थियो । उसले पुरुषलाई राम्ररी र्स्पर्शसमेत गरेकी थिइन । ऊ थुरथुर काम्न थाली । डाइरेक्टर अनुभवी थियो ।

अन्तिम अवस्थासम्म उसले आफूलाई जोगाउने प्रयास गरी ।

‘मेरो पहिलो पटक हो, सर मलाई डर लाग्छ, प्लीज !’

‘सबै केटीहरु यसै भन्छन् ।’

असह्य पीडा, भय र लाजले ऊ तीन दिनसम्म थला परी । पछि उसलाई बानी पर्‍योे । अब ऊ नै डाइरेक्टरलाई बोलाउन थालेकी थिई ।

ऊ छिटै सफल भई । सफलताका लागि प्रतिभा र रूप मात्र भएर हुँदैन लगन र र्समर्पण पनि चाहिन्छ । यो उसले राम्ररी बुझेकी छ । मोडलिङ फिल्डमा धेरै प्रतिस्पर्धा छ । भीजेहरुमध्ये कति अहिलेसम्म पैसा पाउँदैनन् । उसका लागि त्यो स्थिति छैन । ऊ भर्खरै घोषित भएकी छ फिसटेल साबुनको नयाँ ब्रान्ड फेस । उसको विज्ञापन निकै हिट भएको छ, जसमा ऊ एउटा पुरुषसँग सहवास गरिरहेकी हुन्छे । उसको क्रन्दन निकै उत्तेजक छ । उनीहरु दुवै सहवासको चरम आनन्द लिन्छन् । अन्त्यमा ऊ फिसटेल साबुनमा परिणत हुन्छे । मिडियामा यसबारे कति बहस पनि भएका छन् तर त्यसले उसलाई झनै हिट बनाएको छ । ऊ खुसी छे । एक नवनायकले त्यो विज्ञापन हेरेर आफू ‘मास्टरबेट’ गर्न बाध्य भएको अन्तर्वार्ता दिएको थियो । यस्ता विवादले उसलाई झन्झन् प्रसिद्ध बनाइरहेका थिए ।
पहिला त उसले कोरियोग्राफर र फोटोग्राफरलाई समेत सन्तुष्टि दिनुपथ्र्यो । तिनले चाहेमा नराम्रो फोटो खिचिदिन सक्थे जसका कारण उसको करिअर डावाडोल हुनसक्थ्यो । कैयन् पल्ट उसले तिनीहरूसँग पनि रात बिताइदिएकी थिई । अब फोटोग्राफर मोराहरूले उसलाई आँखा लगाउन सक्दैनन् । ऊ धेरै माथि पुगिसकी । तिनीहरू उसका गुलाम बन्न तयार छन् । हो, तिनीहरू अरूसँग गफ लडाउँछन्, कति रात मैले त्यसलाई सुताएको छु भनेर ।
आज उसलाई जानु छ शर्मा टेलरिङको ग्राण्ड शोमा, जसमा मिस इण्डियाको पनि सहभागिता हुनेछ । उसले टपरको भूमिका निर्वाह गर्नुछ । डाइरेक्टरले भनेको थियो, नौ बजे आइपुग्छु, तयार रहनू । दुइ घण्टाअघि मात्र बाबुको फोन आएको थियो ।

‘छोरी, तिमी कहाँ आइपुग्यौ -‘ फेरि बाबुले फोन गर्‍यो ।

‘बाबा, म आउँदैछु, नौबिसेमा कसले हो बन्द गरेका छन्, ढिलो होला जस्तो छ,’ उसले सरासर ढाँटी ।
‘छोरी, छिटै आऊ, आमा तिमीलाई नै पर्खिरहेकी छन्’, बाबुचाहिँ फोनमै रुन थाल्यो ।
‘बाबा, म आउँदैछु, बेलुकी ढिलो भयो भने भाइलाई लिन पठाउनू,’ फेरि उसले ढाँटी ।
आमालाई सम्झेर एकछिन ऊ भावुक भई । आमा कति माया गर्थिन् उसलाई । आज तिनै आमा मृत्युशय्यामा छिन् र तिनलाई भेट्न जानसमेत फुसद छैन उसलाई । आमाले कुनै दिन उसलाई भनेकी थिइन्, मेरी छोरी रानी हुन्छे । अब साँच्चिकै ऊ मोडलिङ क्षेत्रकी रानी भइसकेकी थिई र आमा, बाबु, गाउँ, डाँडापाखा, भाइ, गाउँले सबैलाई चटक्क बिर्सिसकेकी थिई । उसकी मायालु आमा मृत्युसँग लड्दैछिन् तर ऊ यहाँ मस्तीको जीवन बिताइरहेकी छ । उसलाई एक्कासि आफूले ठूलै पाप गरेझैँ लाग्यो । आफ्नै जीवन धिक्कार लाग्यो । उडेर आमाकहाँ पुगूँजस्तो लाग्यो । यो कुरा डाइरेक्टरलाई भन्न सक्दिन । अर्कोतिर, ऊ अब यति ठूलो अवसर गुमाउन पनि चाहन्नथी । तर हरे, उसकी प्यारी आमा उसैलाई हेर्न अन्तिम सास रोकेर मृत्युलाई धकेलिरहेकी छन् ।
जे त पर्ला, उसले आजको शोबाट भाग्ने निर्णयगरी र गाउँ जाने तयारी गर्न थाली । त्यसका लागि डाइरेक्टर आइपुग्नुअघि निस्कनु जरुरी थियो । डाइरेक्टरलाई थाहा दिए उम्किन पाउँदिन थिई । तल गाडीको हर्न बज्यो । एहे, डाइरेक्टर मुन्टिसकेछ ! नौ बजे आउँछु भन्थ्यो, सवा आठै बजे आइसकेछ । ऊ सोझै ड्रइङ रुममा गयो । उसले जबर्जस्ती आँसु पुछी र हाँसेर डाइरेक्टरलाई स्वागत गरी । डाइरेक्टरले उसलाई अँगालो हाल्यो र चुम्बन गर्‍यो । उसले धकेलिदिई ।

‘छिटो गर, हामी सवा नौ बजे त्यहाँ पुग्नुपर्छ ।’

‘हजुर नौ बजे आउँछु भनिस्या हैन -‘

कमन डार्लिङ, यो स्लो मेनको जमाना होइन । जमाना रकेट युगमा छ, तिमी रिक्सा युगमै छ्यौ ।
फेरि उसको मोबाइलको घन्टी बज्यो । भाइ रहेछ । भाइले अशुभ समाचार सुनायो । ऊ फोनमै भक्कानिएर रुन थाली । डाइरेक्टर अवाक् भयो । मोबाइल अन नै थियो ।

के भयो – किन रुवाबासी
आमाको…. आमाको डेथ भएछ, रुँदै उसले भनी ।

इट ह्यापेन्स सम डे । ल ढिलो नगर ।
डाइरेक्टरको कुरा सुनेर ऊ स्तब्ध भई । कति क्रूर र संवेदनाहीन छ साला ! आमाको मृत्युलाई समेत ऊ कुनै घटना मान्न तयार छैन ।

अब म घर जानर्ुपर्छ । रुँदै उसले भनी ।
डन्ट बी सिली माई डियर । तिमीले हाम्रो सम्झौतामा साइन गरिसकेकी छ्यौ । हाम्रो स्वीकृतिबिना तिमी कहीँ जान पाउँदिनौ । फेरि आजको यति ठूलो शो, जहाँ तिमी टपर छ्यौ, कसरी छाड्न सक्छ्र्यौ – के तिमी आफ्नै क्यारियर डुबाउन चाहन्छ्यौ
त्यसो भए आमा मर्दा पनि म घर नजाऊँ –

आइ एम सरी फर द्याट । बट राइट नाऊ, यु मस्ट गो टु द शो ।
ऊ फेरि घोप्टो परेर रुन थाली । डाइरेक्टरले उसको पाखुरा समायो र सम्झौताका बुँदाहरू सुनाउन थाल्यो जुन उसले नपढी कुनै दिन साइन गरिदिएकी थिई । त्यसअनुसार वास्तवमै ऊ बन्धित थिई ।
हाम्रो कल्चरमा छोरी नभई आमाको लास उठाउन मिल्दैन, उसले भनी ।
ड्याम द ब्लडी कल्चर ! तिमी हाम्रो कम्पनीलाई यसरी बदनाम गर्न पाउँदिनौ जसले तिमीलाई यो स्थानसम्म पुर्‍यायो ।

फेरि भाइले फोन गरेको थियो । भाइसँग एकछिन उसको विवाद भयो । भाइले उसलाई बेस्सरी हकार्‍यो । उसले हकार्दै भनी, ‘म आउँदैमा मरेकी आमा बाँच्छिन् – कि बाँच्छिन् – बाँच्छिन् भने जसरी भए’नि आउँला – नत्र म आएर के हुन्छ -‘

उसले मोबाइलको स्वीच अफ गरिदिई, आँसु पुछी र डाइरेक्टरलाई हेरेर रुन्चे हाँसो हाँसी । डाइरेक्टरले सान्त्वना दिँदै भन्यो, डन्ट वरी ।
ऊ डाइरेक्टरको पछि लागी । रोकिनसक्नु हिक्का छाड्दै कारमा बसिसकेपछि उसले सोची, आमाको मृत्युको वेदना हृदयभरि बोकेर अब ऊ कसरी र्‍याम्पमा क्याटवाक गर्न सक्ली ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *