– गोपीकृष्ण प्रसाई

वर्तमान डोर्याइरहने अतित

वर्तमानमा हिंडाई बनेको अतित
धेरै धेरै पहाडहरुमा रंगिएको लालीगुराँस

धेरै धेरै व्यथाहरुलाई नुहाइदिने तमोर नदी
उकाली सुस्केराहरुलाई माया गर्ने ति तारे अनि ढयॉ्ग्रे बनहरु
मुटुको पिडा आँखाले बल्झाइदिन्छ
पिडामा मल्हम पट्टि गर्ने ति मायालु मनहरु
पहाड जस्तो बनेर निस्फिक्री हिड्ने ति सुकिला तनहरु
एस्तै एस्तै परिवेशमा अतित अल्झिदिन्छ
आउंछ हांस्छ बात मार्छ अनि जिस्क्याउंछ
कहिले ठुलो सभा बनेर आउंछ
कहिले ठुलो भेल बनेर आउंछ

सक्रान्ति बजार तिर झुलिरहेजस्तो
फुङलिंङ बजार तिर डूलिरहेजस्तो
कहिले हल गोरु साउंदै आउंछ
कहिले देउराली बाट पात बजाउंदै आउंछ
कहिले दशैंमा रोटे पिङ खेल्न बोलाउंछ
भैलो देउसीको कुरा गर्छ र येतै कतै टोलाउंछ
रामदुवाली बजारको सुर्ती तरुनी तन्नेरीहरुको फुर्ति
मदनमेलाले जीवनमा रंग भर्दैछ
तरंगहरुको झंकार
खाम्लालूङको राँके मेला
हाङपाङ गाउँको त्रिभुवन मेला
अतित एस्तै एस्तै सौगात बोकेर काठमाडौँ अनि परदेश तिर सर्दैछ
धेरै धेरै उतार चढावहरुको अतित
आफ्ना आँखा अगाडी देखिएका आफन्तका मृत्युहरु
पुष्प गुच्छाहरु चढाउंछु आज
हजारौ मृत्युका इतिहासहरु बोकी सुसाइरहेछ तमोर खोला
तमोर खोला र ति रातमा रोइ हिड्ने प्रेतात्माका कहानीहरु
झिसमिसेमा घाँसको भारि संगै बिउंझेका बिहानीहरू
चिसो चुवां खोलाको पानी
पानी संगै बिउझेको मेरो कहानी
कल कल बगिरहने झरनाहरु
कति सहज र निस्छल थिए ति आँखाका नानीहरु
ति स्वर्णिम पलहरु बोकर हासिंरहेको मेरो स्कुल
कन्चनजंगाको प्रीत वोकेर
पाथिभरा देवीको गुरुत्व भित्र म रमाइरहेछु
सोबुवाको दोभान ढल्दै जाने पापी जोवन
टाढा टाढा कतै तिनजुरेको उकालोमा
तोक्मा र ढाकर संगै अडिएको छ जीवन
तेहिं घाम छायामा बसी सुस्केराहरु थमाइरहेछु
एस्तै अतितका कोसेलीहरु वोकेर सय खोलाहरु तर्नुपर्ने
खोलाहरु तर्दा तर्दै सम्झनाहरु बोक्दा बोक्दै
जीवनका भंगलाहरु संगै बाँच्नु पर्ने मर्नु पर्ने
मिठो तिर्सना जीवनको
बसौ सितल पाटीमा दिन त बिते जाउला रातिमा भन्ने लोक गीत गुनगुनाउदै
रात भरि म गाउँ तिर पाटी तिर शान्ति खोज्दैछु
आहा ति चौरिका गोठहरु
धुपी सल्लाका बोटहरु
म मेरो सपना रोज्दैछु
जहाँ गए पनि पछ्याइरहने मेरा बन अनि भिर पाखाहरु
जहाँ भए पनि आफ्नै भएर आउने मेरा बाल शखाहरू
प्यारा स्मृतिपथमा म घुमिरहेछु आज
अनि घुम्दैछ मेरो गाउंले जीवन
त्यो जीवनमा मेरो आकर्षण छ
आकर्षणले चलेको यो ब्रम्हाण्ड
आकर्षणले चलेका सारा प्राणीहरु
आकर्षणले चलेको यो मानव समाज अनि आकर्षणमा झुकेका नयनहरु
अतृप्ति बोकी सुखद कल्पनामा मानिसहरु भौतरिइरहन्छन
चारै दिशामा
एस्तै रहेछ साथी यो अतित पनि
अतीतलाई वोकेर म यो शहरमा हिडिरहेछु
एउटा पसलमा चिया पिउदै अतित सम्झिरहेछु
चियाको सर्कोले बिउंझाउछ अतितका यादहरु
चियाको सर्कोले बिर्साउछ अतितका यादहरु
अनि यात्रा कोरिन्छन नविन चियाको सर्काहरु संगै
अनि छोपिन्छन ब्याथाहरु जीवनका बर्काहरुसंगै

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *