– बिद्रोही साहिला

ढुङ्गालाई निचोरेर पानी निकाल्ने
अनि, पानीलाई निचोरेर आगो निकाल्ने
ए ! श्रमिजिवी-श्रमिक मनहरु
यदि तिमीले यहाँ, एउटा अर्कै
युग पुरुष बन्नु छ भने, होशियार !
भ्रम र आश्वसानको त्यो गलत इतिहास निर्माण
गर्दै नगर
किनकि स्वतन्त्रताको हैसियतमा
यहाँ मनहरुलाई न रोक्न सकिन्छ, न छेक्न नै
तिम्रो गलत निर्णय र कदमहरुको बिरुद्धमा यहाँ
पुन: चिराग मनहरु जल्न सक्छन्,
मिस्यार* मनहरु बल्न सक्छन् ।
पसिनाको गहिराईमा डुब्दै नडुब्ने
अनि असिनाको बर्षाईमा पनि रुझ्दै नरुझ्ने
ए! सृजनशील-क्रान्तिकारी श्रमिक मनहरु
एक युगमा एक दिन एकै पटक आउँछ भने,
होशियार !
पाखण्डीहरुको मुखुण्डो भिरेर
त्यो गद्दार इतिहास निर्माण गर्दै नगर
किनकि क्रान्ति र परिबर्तनको हैसियतमा
मनहरुलाई न रोक्न नै सकिन्छ, न छेक्न नै
तिम्रो गलत निर्णय र कदमहरुको बिरुद्धमा यहाँ
पुन: चिराग मनहरु जल्न सक्छन्,
मिस्यार मनहरु बल्न सक्छन् ।

खडेरीको चर्काइमा सुक्दै नसुक्ने
अनि सामन्तीको थर्काइमा पनि झुक्दै नझुक्ने
ए! न्यायप्रेमी-श्रमिक मनहरु
यदि तिमीले बिश्वलाई एउटा अर्कै नयाँ
पाठ सिकाउनु छ भने
होशियार !
चोरी, चाप्लुसी र घुसखोरीहरुको
त्यो कपटी इतिहास निर्माण गर्दै नगर
किनकि सत्य, धर्म र बास्तबिकताको हैसियतमा
मनहरुलाई न रोक्न नै सकिन्छ न छेक्न नै
तिम्रो गलत निर्णय र कदमहरुको बिरुद्धमा यहाँ
पुन: चिराग मनहरु जल्न सक्छन्,
मिस्यार मनहरु बल्न सक्छन् ।

हिउँदे शीत र हिमपातहरुमा कहिल्यै नजम्ने
अनि बम, गोली र बारुदहरुसँग पनि कहिल्यै नकाम्ने
ए! प्रगतिशील श्रमजीवि-श्रमिक मनहरु
यदि तिमीले यहाँ साँच्चै एउटा
आस्थाको इश्वर कहलाउनुछ भने
होशियार !
पापी, जाली र झेलीहरुको
त्यो बर्बर इतिहास निर्माण गर्दै नगर
किनकि, आस्थाका बन्दीहरुको हैसियतमा
यहाँ मनहरुलाई
न रोक्न सकिन्छ, न छेक्न नै
तिम्रो गलत निर्णय र कदमहरुको बिरुद्धमा यहाँ
पुन: चिराग मनहरु जल्न सक्छन्,
मिस्यार मनहरु बल्न सक्छन् ।

उँबु – १, खचापु, ओखलढुङ्गा (हाल युएइ)
(*मिस्यार – वाम्बुले राई भाषामा फिलिङ्गो)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *