– जमुना सुवेदी


गल्ड्याङ्गुल्डुङ् आवाजले अचानक ब्युँझन्छु । के भएको हो थाहा भएन, तर अचानक बिच्छ्यौनाबाट भुइँमा आफूलाई पाउँछु । कम्पन अझै रोकिएको छैन । भुइँबाटै झ्याल बाहिर नियाल्ने प्रयत्न गर्छु घर अनि रुख बिरुवा पनि हल्लिइरहेका छन् । एकैछिनमा कम्पन रोकियो अनि मात्र थाहा भयो भुइँचालोले पो म बजारिएकी रहेछु ।


मेरो घरभन्दा धेरै टाढा ओकिनवा टापु (एसिया प्यासिफिक ओसनको सानो टापु) मा आएको यो भुँइचालो मेरालागि नयाँ अनुभव थियो, अनि निकै अताल्लिएकी पनि थिएँ । उठेर बाहिर हेरेँ अघि हल्लिएका घरहरु पुरानै अवस्थामा शान्तसँग आकाशसँग मितेरी लगाइरहेका छन् । सडकमा गाडीहरु हुइँकिइरहेका छन् । रुखहरुमा चराका चिरविरमा पुरानै सङ्गीतको भाखा छ, मानौँ मेरो मनमा अझै पनि मडारिइरहेको चुनामीको कुनै परवाह छैन । पुनः पूर्ववत् अवस्थामा फर्कन खाटमा उक्लेर पल्टन्छु तर मनमा आएको त्रासदी भूकम्प रोकिने कुनै छेकछन्द छैन । मनमा अनेक कुराहरुको चुनामी उर्लेको उर्ल्यै छ । सम्झन्छु – मलाई केही भएको भए ? मेरो परिवार, साथीसँगी, नातेदार सबै मेरा मानसपटलमा आउँछन् । तीमध्ये पनि मेरा बा र उँहाले सुनाउनुभएको मेरी मैनाको सम्झनाले मलाई रातभर जागा गरायो ।


बाले भन्नुभाथ्यो – स्वच्छन्दा ! यसपटक त हाम्रो गाउँलाई दशा लाग्यो । बाले यसो भनिरहँदा मेरा आँखा मेरो अनि छरछिमेकका घर खेततर्फ दौडिएका थिए । पोटाउन लागेका धानका लहलहाउँदा फाँटहरु कतै देखिएनन् । धानको लहरी ल्याउने हावाको झोँकाले उडाएर ल्याएका बालुवाका कँडले आँखा बिझायो । तर त्यसको बिझाइले भन्दा पनि मेरो बाको कुरा र मेरो गाउँ खेतको दशाले मेरो मन पोलेको थियो । आँखाका आँशुभन्दा मनका आँशु थामिनसक्नुका हुँदारहेछन् । म काठमाडौँ गएको पनि निकै भएको रहेछ । समाचारमा मात्र सुनेकी थिएँ यसपाला कोशीले ताण्डव नृत्य देखाएको थियो हाम्रो घर आँगनीमा । पल, प्रहर दिन अनि वर्ष बितेछन् । वसन्तपछिको गृष्म अनि वर्षा रितु पनि बितेछन् । असिना र घनघोर वर्षा पछि आएको बाढीले गाँउ नकिकैको कोसीको बाँध फुटेछ अनि छिमेकी ठुल्दाइको करेशा बारी सर्लक्कै लगेछ । तल्ला घरे सुन्तली भाउजुको घर पनि जम्मै बगाएछ । मेरो घरको आँगनी र छानो पनि लगेछ ।

“छोरी बाढी त थामियो, तर बाढीसँगै गएको मनको भित्रको पहिरो कहिले थामिने हो कुन्नी!” भत्केको आँगनीको डिलमा बसी पुर्पुरोमा हात राख्दै बाले भन्दै गर्दा

अकस्मात मेरी मैना बाको नजिकैबाट उड्दै थिई ।

मैना र मेरो नाता अचम्मको छ । केही वर्ष पहिले उसको मनमोहक रुप अनि मधुर संगीतमय आवाजको लोभमा उसलाई पासविक पिँजडामा कैद गरिदिएका थिए घोर्लीखर्के बडाबाले ! त्यतिले मात्र नपुगेर अरुले आँखा लगाउँछ कि भन्ने डरले उसका गगन चुम्ने हरिया प्वाखहरु पनि काटिदिएका थिए। मेरो मन पनि उसलाई आफ्नो वरिपरि देख्दा निक्कै फुरुङ्ग हुन्थ्यो । त्यसैले मैले उसको नाम राखिदिएकी थिएँ – मनमोहनी मैना । म उसको रुप र बोलीमा लठ्ठ परिरहेकी थिएँ i तर अचानक एकदिन मलाई लाग्यो – पिँजडा भित्रकी मेरी मनमोहनी मैना मलाई हेर्दै मसँग स्वतन्त्रताको भीख मागिरहेकी छे । मेरो मन त्यसै पग्ल्यो र खोली दिएँ त्यो बन्धन । मेरो मन मुस्कुरायो, आँत मरुन्जेल उसको स्वतन्त्र उडाइ हेरिरहेँ, ऊ स्वतन्त्र उडी रही, उडी रही ! त्यसवापत मैले पाएको तीन सिर्कनाले भिजेको मेरो कुर्ताको फेर अझै पनि चिसो छ । तर मलाई त्यसको दुखाइमा मैनाले क्षितिजबाट मलाई हेरेको दृश्यले मलमपट्टी गरेको थियो ।

फेरि केही दिनपछि घरको बगैँचामा केही चराहरुको माझमा उसलाई देखेँ। केही खोजी रहेकी छ कि जस्तो लाग्यो, फेरि देखेँ ऊ त आफ्नो साथीसँग केही साना पात पतिङ्गर र सुकेका झिनामसिना दाउरा बटुलिरहेकी थिई । काठमाडौँको केही महिना बसाइपछि म फेरि घर फर्कदा म मेरो परिवारको साथमा खुशी बटुल्दै थिएँ तर पनि मन मैनाको सम्झनामा विचलित थियो । सानी फुरुक्क परेकी मैनाको खोजीमा फेरि भौँतरिन लागे, हरेक बिहानी चिर्बिराउने चरीको माझमा, मध्याह्नको गर्मीमा सुस्ताएका रुखहरुमा, गोधुली साँझमा गुणतर्फ हतारिएका हुलभित्र खोजेँ तर कहीँ कतै देखिँन ! मन डरायो कहीँ कतै पापी सिकारीको सिकार त बनिन ! कि काटेर कमजोर बनेका प्वाखहरुले उड्दा उड्दै शरिरलाई थाम्न नसकी खसेर त मरिन ! कि कतै अर्को मान्छेको कैदी त भइन ! आदि इत्यादि सोचिरहेँ । उसको सम्झनामा मन छट्पटाइ रह्यो । त्यसबखत मेरी मैनालाई नदेखी नै फेरि काठमाडौ जानुपर्ने भयो । मन हलुका थिएन काठमाडौको खाल्डोमा । मानिसहरुको झुत्ती खेलाइमा मेरी मैना नै मेरो वरपर सम्झनाको सेरोफेरोमा अइरहन्थी । तर यसपटक भने बाको कुरा सुन्दासुन्दै उसलाई देख्दा मेरो मन ऊससँगै उड्यो आकाशमा कावा खाँदै । मेरो खुशीको सीमा रहेन म उसको उडाइलाई पछ्याउदै घर पछाडिको बगैँचामा पुगेँ, ऊ ठूलो रुखमा टक्क अडिई अनि यताउता आँखा दौडाई ।

मलाई लाग्यो-केही देखाउन खोज्दै छ, म नजिकै पुगेँ, ऊ आफ्नो गुणभित्र पसी अनी निमेषभरको पर्खाइपछि सा–साना बचेराहरुको साथमा बाहिर निस्की । मेरो मन खुशीले त्यसै चुलियो म चिच्चाएँ ! “मैना तिमी आमा पो बनिछ्यौ !” म उसको गुँड नजिक गएर हेरेँ अनि छक्क परेँ यतिको ठूलो हुरी आयो, मेरो घरको छानो उडायो, बाढीले पूरै गाउँकै बिचल्ली बनायो तर मेरी मैनाको सानो घरको कुनै छेउ पनि हल्लाएन ! आखिर कसरी यस्तो भयो ? बाले भनेको दषाले मेरी मैनालाई किन देखेन ?

सम्झन्छु केही क्षणअघिको भूकम्पको धक्का । अनायासै म भुइँमा बजारिएको क्षण । फेरि सम्झन्छु मेरी मैनाको गुँड अनि बचेराहरुप्रतिको प्रेम अनि ऊ र म बीचको सम्बन्ध । त्यत्रो ठूलो विपत्तिमा पनि उसको घर केही भएन । यस्तैमा कतिबेला निदाएछु पत्तै भएन । भोलिपल्ट दिउँसो कार्यालय पुगेँ, हतार हतार जापानिज साथी माकिकोसानलाई रातिको डरको बेलीबिस्तार लगाएँ । उनले मुस्कुराउँदै भनिन् – यो त अघिल्लो महिनाको भन्दा थोरै रेक्टर स्केलको भूकम्प हो । नडराऊ केही हुँदैन, बिस्तारै बानी पर्नेछौ । म फेरि छ्क्क परेँ । मलाई बेडबाट खसाल्ने ८ रेक्टर स्केलको डरलाग्दो भूकम्प सामान्य कसरी भयो ? अनि घरहरु, सडक, जमिन पनि जस्ताको तस्तै छ; कसरी यो सम्भब भयो ? मेरो आश्चर्यलाई चिर्दै उनले थपिन् – यहाँका हरेक सार्वजनिक भौतिक संरचना युनिभर्सल डिजाइन (सबै प्रकारका अपाङ्गता भएका व्यत्क्तिहरु, हिँडाइमा कठिनाई भएका जापानिज बा आमाहरु तथा गर्भवती महिला र सानो शिशु भएकी आमाहरुको पँहुचयुक्त) बाट बनाइए जस्तै भूकम्प, ताइफु, चुनामी तथा बाढीपहिरो प्रतिरोधक पनि छन् ।

म मेरी मैनाले उसको घर देखाएको सम्झन्छु । त्यत्रो विपत्तिमा पनि उसका बचेँरा सकुशल राखेको सम्झन्छु अनि यी जापानिजहरुले बनाएका विपत्तिप्रतिरोधक र सबैका लागि पहुँचयुक्त भौतिक पूर्वाधारहरुसँग दाँज्छु । मनमा लाग्छ मैनाले मलाई ठूलो पाठ पढाएकी रहिछे उसको घर र बचेराहरु देखाएर । मैना नेपालमै प्रविधिको प्रयोग गरिरहेकी छे म जापानका आएर भोगेर चाल पाउँदैछु । लाग्छ – सोच भए दृढ इच्छा शक्ति भए नेपाल पनि बन्ने रहेछ..


_________________________________________
हाल : जापान

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *