– गोपीकृष्ण प्रसाई

शरीर अनि मन संगको जुहारी चलिरहेको बेला

नयाँ वर्ष सहज रुपमा आउँछ

समयको गति अनि नियमित ऋतुचक्र माझ

शीतल छाहारी जस्तो बनेर

सुन्दर कुवाहरु खनेर

हिंड्दा हिंड्दा थकित वेदनाहरुलाई नयाँपन दिन

वर्षभरिका तिक्तता अनि खुसीहरुको हरहिसाब लिन

पुन:एउटा सुरुवात,एउटा आशा बनेर आउँछ

यो आउनु अघि र पछि यसको चर्चा चलिरहन्छ

बल्नु पर्ने दीप बलिरहन्छ

ढल्नु पर्ने रात जो ढलिरहन्छ

जल्नु पर्ने छाती जो जलिरहन्छ

समयको पाबन्दी र जीवनका अनेक भंगलाहरु छिचोल्दै

आशाका क्षितिजहरुमा के नयाँपन थपिएको हो त?

नियमित आकस्मिकतामा नयाँ रूपांकन भएकै हो त?

यी प्रश्नहरु गर्ने मेरो मन

मनका कल्प वृक्षहरु

मनका सङ्ला खोलाहरु

जागृत हुन्छन त्यसै त्यसै सुनौलो प्रभातसंग एकाकार हुन

सुन्दर र प्रान्जल मनहरु भौंतारिइरहन्छन नयाँपनसंग साकार हुन

कति मीठा हुन्छन आशासंगै गुन्जिने प्रेमिल धुनहरु

हाँसो र खुसीको पूर्वाभ्यासमा उभिएका हार्दिक सगुनहरु

तिनै शृंखलाहरुमाझ नयाँ वर्ष आएको छ

तर नयाँ वर्ष पुराना अभिलेखहरुसंगै आएको छ

तेस्रो विश्वको मान्छे म

नयाँ वर्ष मेरो बस्ती भित्रको सारंगी बोकेर आएकोछ

मेरा भीर पाखा,खोलाहरुको सुशेली बोकेर आएको छ

मैले नयाँ वर्षलाई मन अल्झिन संग जोडें

अनिर्णले बन्दी बनाएका क्षणहरु

त्यसै त्यसै रोइरहेका मेरा रचनाहरु

आगो सल्किरहेका अनेकौं उपवनहरु

हुरी र बताससंगै पौंठेजोरी खेलिरहेका अनेकौं जीवन ज्योतीहरु

विरहले आँसु संगै जन्मिएका प्रेमिल मोतीहरू

घात प्रतिघातमा रुमल्लिरहेका मान्छेहरु

उत्ताउलो बनेको मानव समाज

अस्वस्थ प्रतिस्पर्धा र बढ्दो चाहनाहरु

बेथितिले` राजनीतिलाई कुल्चेको छ

यहाँ दम्भ र अहंकारले मायालाई थिचेको छ

यहाँ मान्छे मान्छे बीच बितृष्णा बढ़दोछ

अनिश्चय र डिप्रेसनको पारो मुटुमा गढ़दोछ

उदास उदास बनेर पालुवाहरू झरेका छन्

टाढा टाढा कतै कोइली बनमा विरह गाइरहेजस्तो

नियास्रा आँखा लाएर हलीदाईले हल गोरु साईरहेजस्तो

समाजबाट उन्मुक्ति खोज्न भागेको वर्तमान

मान्छे बस्ती संग डराईरहेछ

अपसकुन जस्तो, मध्यरातमा निन्द्रा बिगार्दै फ्याउरो कराईरहेछ

नयाँ बर्षको कुरा तिमि गर्दैछौ,म गर्दैछु

हामी नयाँ गोरेटो र नयाँ आशाको कुरा गर्दैछौं

संगसंगै अलपत्र भएर छरिएका

लज्जित भएर कुल्चिएका

अनेकौं रंगहीन सपनाहरुको कुरा पनि छ

भत्केका राजमार्गहरु एवम अनेकौं कालखण्डहरुको कुरा छ

अर्कातिर गरिबीको कुरा छ,बस्तीविहीन मान्छेहरुको कुरा छ

नयाँ संविधान र यसको मर्म पनि संगसंगै छ

राष्ट्रनिर्माणको बेला विदेशिनुको पिडा छ

राष्ट्रभित्रै बेरोजगारीको चिडचिडा छ

अन्याय अत्याचार एवम विभेदका अनेकौ नस्लहरु सलबलाएका छन्

राजनैतिक दाउपेच र षड्यन्त्रले इमान्दारितालाई खल्बल्याइरहेछन्

स्वतन्त्रता अनि स्वाभिमानमा रमाउने नेपाली बानी

आँखाभरि छल्केकोछ कर्णालीको पानी

यिनै कुराहरु जो नयाँ भएर पनि कहिल्यै पुराना हुदैनन्

यिनै कुराहरु म टाढा भए पनि कहिल्यै बिराना हुदैनन्

नयाँ वर्षमा

धेरै आगत विगतलाई हेर्नुछ

देशको मुहारलाई हेर्नुछ

आफ्ना भाकाहरुलाई बुझ्नुछ

साउने झरीमा रुझ्नुछ

जिन्दगीको कोल्टो फेर्नुछ

यही धरातलमा टेकेर म नयाँ वर्षको स्वागत् गर्छु

मैले देखे जस्तो

मैले भोगे जस्तो

धेरै धेरै माया अनि कर्मका खेलहरुसंग अरु पनि त परिचित छन्

नयाँ संविधान अनि नयाँ बाँच्ने अधार संग बिउँझनु पर्छ नयाँ वर्ष

जीवनको बागमा हुर्किएका पालुवाहरूसंगै हाँसेको हुनुपर्छ नयाँ वर्ष

जीवनहरु पलायन हुनुहुदैन

बाँच्ने सवालमा कोहि पनि रुनु हुदैन

मनका प्यासहरु झरनामा तृप्त भए जस्तो

जहाँ नयाँ कुराहरुसंगै जीवन जिउने छायाँ हुन्छ

अनि नयाँ वर्षको त्यहाँ असिम माया हुन्छ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *