– उद्धव सिलवाल

पीडा
उमङ्ग
र,
खुल्दुलिको अबिराम प्रवाहमा बग्दै
ऊ,
पहिलोपल्ट
रजस्वला भएर गूफा पसेकी छ
निष्पट्ट अँध्यारो कोठाभित्र
एउटा
नवीन दीप्ती छाएको छ
चीसो !
तातो !!
खै ?
भावनाको अस्पष्ट स्पर्शले
बारम्बार आल्हादित भएकी छ
शायद,
घर अगाडिको आरुको बोटमा फूल फुलिसक्यो

सम्झना गर्छे
फूलको
अनि
त्यही फूलको डालिमा बसेर
उसको जवानीलाई स्वागत गर्ने
सारुङको ।

आज
उसलाई असाध्यै काउकुती लाग्छ
मानौँ कोही उसको नजिक बसेर
उसको कोमलतालाई सुम्सुम्याइरहेछ
उम्लिन्छे
चिट चिट पसिना छुट्छ
यो
पीडा हो ?
वा
आनन्द ?
अल्मलिन्छे
अल्मलिदा – अल्मलिदै
झसंग हुन्छे
हुत्तिएर आँफै
एक्लै
डङ्ग्रङ्ग पछारिन्छे ।

अज्ञात अँगालोको अपरिमित परिबन्द भित्र
लुक्छे-निस्कन्छे
मुखभरी ठोक्किने तातो श्वास
छेक्छे-समेट्छे
मनभरी छरपष्ट सपनाहरु
सँगाल्छे – छिरोल्छे
ऊ कोठामा एक्लै छट्पटाइरहन्छे
पहिला यस्तो
कहिल्यै भएको थिएन
चालै नपाई
आफुभित्र ढकमक्क फुलेको फूललाई छोएर
गमक्क पर्छे ।


घरि – घरी
ऐना अगाडि उभिएर
कपाल कोर्छे
आँखामा गाजल लगाउछे
ओठ तन्काएर रातो लगाउछे
अनि
छातीमा हात राखेर लामो निश्वास छोड्दै
आँफैलाई
परै बाट
“चुप्प” म्वाइ खन्छे ।


घरी रिसाउछे
घरी रमाउछे
घरी,
आफ्नो बद्लिएको शरीर नियालेर
एकोहोरो टोहोलाउछे
उसका प्रत्यक पाइलामा
एक जोडी आँखा “छप्-छप” टासिन्छन
——–एउटा चौडा छाती
——–बलिष्ठ पाखुरा
——–धपक्क बलेको मुहार
उसको नजिक आउछ
ऊ,
चुपचाप् उभिन्छे
मुटुभित्र
एकपछी अर्को ज्वालामुखी क्रमश: फुट्दछन
तनभरी तरङ्गहरु दौडिन थाल्छन्
यौबनले उन्मत्त उसका भावनाहरु
छताछुल्ल भएर पोखिन्छन
ऊ निष्तेज भएर आँखा चिम्लिदिन्छे
र स्वयं
कसिलो बन्धनभित्र बाँधिन्छे ।

अकस्मात् झसंग व्युँझिएर चारैतिर नजर दौडाउछे
ऐनामा टाँगिएको उसको प्रतिविम्ब
उसलाई गिज्याइरहेको हुन्छ
आँखा भुइमा झर्छन
मुख रातो हुन्छ
सपनाहरु,
मानसपटलभरी दोहोरिन थाल्छन्
शायद,
पहिलो प्रेमको मीठो अनुभूति
पोखिएर होला
रगतले भिजेको पछ्यौरी
उसलाई,
असाध्यै प्यारो लाग्छ
गुटुमुटु पारेर अँगालोमा
बेस्कन टाँस्छे ……….
____________________________________________________________

उद्धव सिलवाल
गोदावरी

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *