– हेमन्त परदेशी

आफ्नै दुनियाँको खुल्ला आकाशमा स्वतन्त्र एवं उन्मुक्त उडान भर्न चाहने पंक्षीहरुलाई पिंजडाभित्रको जीवनाभूति कस्तो होला? जतिसुकै कठोर हृदय भएका मानिसहरुले पनि सजिलै अनुमान लगाउन सक्ने कुरा हो यो । तेसैले यौटा बन्दीगृह जस्तै शिबिरको चौघेराबाट बाहिरी दुनियाँमा बिचरण गर्न उनले गरेका हरसंभव प्रयास र उपायहरुको खोजी पनि त्यति अस्वाभाविक लागेका थिएनन् मलाई ।

वास्तवमा यो कुनै फिल्मी कथावस्तु होइन न त शरणार्थी जीवनको शब्दचित्र नै । यो त यो त्यो यथार्थताको आख्यान हो जुन यथार्थताले मेरा मानवीय संवेदनाहरुलाई धुजाधुजा पार्ने काम मात्र गरेन अपितु जीवनमै यौटा अप्ठ्यारो मोडको सिर्जना समेत गरिदियो ।
हो , पश्चिमी अफृकी मुलुक सेनेगलको राजधानी सहर डकारस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी शिबिरको चारदिवारीभित्रबाट इन्टरनेटमार्फत संप्रेषित उनको यो यथार्थता जब मैले यौटा वेबसाइटमा पढ्ने मौका पाएँ तब अनायसै मभित्र किन किन उनीप्रति दयाभाव जागेर आयो ।
“के म तिम्रो दु:खमा सहभागी बन्न सक्छु?”
भावुकतावस मैले आफ्ना अभिब्यक्तिहरु अनलाइनमार्फत यसरी नै ब्यक्त गरेँ ।
“अवश्य , किन सक्नु हुन्न र?” प्रत्युत्तरमा उनले लेखेकीथिइन् -“तर म बिनम्र अनुरोध गर्दछु कि म प्रतिका तपाईका धारणाहरु कुनै वेबसाइट र ब्लगमार्फत् नभ ई मेरो ब्यक्तिगत इमेल ठेगानामार्फत संप्रेषण गर्नु होला ।
उनका ब्यक्तिगत जीवनका अप्ठ्याराहरुलाई मध्यनजर राख्दै मैले पनि मेरो ब्यक्तिगत इमेलमार्फत नै उनको दु:ख बाँड्ने साथी बन्न चाहेको कुरा ब्यक्त गरेँ । जसको प्रत्युत्तरमा उनले मलाई यति लामो सन्देश पठाइन् कि त्यो सन्देश पढेर म झनै विह्वल बन्न पुगेँ । यद्यपि मैले आफ्ना तरलित मनहरुलाई धैर्यताको बाँध बाँधेरै भए पनि छताछुल्ल हुनबाट जोगाई राखेँ ।
स्वभावैले हिंसात्मक द्वन्दको चपेटामा परेर जिउनुको नियति कस्तो हुन्छ भन्ने कुराको अनुभूति त मैले आफ्नै मुलुकको एक दशक भन्दा बढीको गृहयुद्धबाटै गरिसकेकोथिएँ । यद्यपि गृहयुद्धले दिएको उनको र मेरो पीडामा भने आकाश र जमीनबीचको फरक रहेको थियो ।
हो , उनकै शब्दमा जनयुद्धबाट ध्वस्त बनेको अफ्रिकी मुलुक लाइबेरीयाको तत्कालिन राष्ट्र प्रमुखको एक उच्च सरकारी अधिकारीकी एक्ली छोरी थिइन् उनी । तर बिडम्बना ! एक दिन बिहान भुईँमा उज्यालो नखस्दै विद्रोही छापामारहरुको घातक बम आक्रमणमा परि उनको बाबा र आमाको यौटै चिहान बन्न पुगेको थियो भने संयोगवस त्यस समय बिद्यालयकै होस्टेलमा तहेको कारण मृत्युको मुखबाट उम्कन सफल बनेकी उनी देस छाडेर भागिरहेका अन्य युद्धपीडित नागरिकहरुसंगै जोखिमपूर्ण समुन्द्री बाटो हुँदै सेनेगल पुग्न सफल बनिन् र आजपर्यन्त संयुक्त राष्ट्रसंघीय शरणार्थी सहयोग नियोगको दानापानीको भरमा पीडामय शरणार्थी जीवन जिउन विवश बनिरहेकीछिन् ।
तेसो त शरणार्थी भन्नेबित्तिकै आफ्नै देसका पूर्बी जिल्ला झापा र मोरङ्गका शरणार्थी शिविरहरुमा सामान्य जीवन गुजारा गर्दै आइरहेका नेपाली मूलका भूटानी नागरिकहरुका दृष्यचित्रहरु मेरा आँखा वरिपरि नसल्बलाएका पनि होइनन् । तर , जब एक दिन बिराएर उनका ताजा जीवन भोगाइका सजीवदृष्यचित्रहरु समेटिएका इमेल सन्देशहरुले निरन्तरता पाउन थाली तब मेरा अन्तस्करणका ती सबै दृष्यचित्रहरु एकपछि अर्को गर्दै मेटिँदै र परिवर्तित हुँदैगए र अन्तत: त्यसभन्दा बिल्कुलै नयाँ एवं फरक परिदृष्यको यो शब्दचित्र तयार हुन पुग्यो ।
हो , दु:खै दु:खले भरिएको उनको जीवनकथालाई समेटेर यौटा शब्दचित्र तयार गर्ने महत्वाकांक्षाले नै मलाई कलम चलाउने प्रेरणा दियो । एक अर्थमा भन्ने हो भने उनी यो शब्दचित्रको पात्र मात्र होइनन् अपितु मेरो सिर्जनशिलताको अनुपम प्रेरणाको श्रोत पनि हुन् र , यस शब्दचित्रमा उनको वास्तविक जीवनकथा बाहेक अरु केही छन् भने ती केवल सुनका गहनाहरुमा मिसाइएका चाँदीका जलपहरु मात्रै हुन् । यो मेरो लेखकीय आग्रह नभई इमान्दारीता नलुकाइएको यथार्थता हो ।
वास्तवमा त्यहाँ उनी यौटी शरणार्थी कम र कैदी बढीको जीवन ब्यतित गर्न विवश बनिरहेकीछिन् । शिविरभन्दा बाहिरको दुनियाँसंग हेलमेल हुने कुरा त परै राखौं शिविरभित्रै पनि कडा सुरक्षानिगरानीमा खुम्चिनुपर्ने बाध्यता छ उनको । यद्यपि हरेक एक दिन बिराएर एकाध घण्टाका लागि इमेल इन्टरनेटमार्फत बाहिरी दुनियाँसंग साक्षात्कर हुन पाउँने शिविरभित्रै उपलब्ध गराइएको इन्टरनेटको सुबिधाले भने उनलाई केही हदसम्म भएपनि सास फेर्न सजिलो भएको अनुभूति दिलाइरहेकोछ ।
इन्टरनेटमार्फत नै भएपनि उनी कसैलाई आफ्नो भावनात्मक साथी बनाउन चाहन्छिन् । दु:ख-सुख जे भएपनि जीवनका अनुभव र अनुभूतिहरु साटासाट गर्न चाहन्छिन् । तर , भावनात्मक साइनो गाँस्न तयार हुनेहरु आजसम्म दुनियाँमा कोही भेटेकीछैनन् उनले । तेसैले होला सायद , सन्देश आदान-प्रदानकै क्रममा एक दिन उनले घुमाउरो पारामा प्रेम प्रस्ताब राखिन् र मैले पनि उनको प्रस्ताबलाई अस्वीकार गरिन , अर्थात गर्न चाहिन । यद्यपि आफू एक विवाहित पुरुष भएको र आफ्नो सानो अनि सुन्दर संसारमा रमाइरहेको कुरा प्रष्ट पार्न भने कुनै कन्जुस्याईँ गरिन मैले ।
“म मानिसको रुप , कद , वैवाहिह जीवन र उमेरको दुरीलाई महत्व दिन्न ।” प्रत्युत्तरमा निसंकोच लेखिन् उनले -“म त यस्तो ब्यक्तिलाई आफ्नो जीवनसाथी बनाउँन चाहन्छु कि जसको भावना , आत्मविश्वास र महानता तपाईको जस्तो अनुपम होस् ।”
उनको प्रश्ंसाले मेरो शीर सगरमाथा झैँ ठाडो भयो , गर्बले छाती चौडा बन्यो अनि कसैको नजरमा आफ्नो जीवनको महानता पस्कन सफल बनेकोमा आफैभित्र यौटा अभिमान पनि पलायो । यद्यपि फेरि पनि मैले उनलाई भावनाहरुमा नबहकिन अनुरोध गर्दै यस जूनीमा कुनै पनि हालतमा उनको जीवनसाथी बन्न नसक्ने कुरा दोहोर्याएँ ।
“यस जूनीमा तपाई मेरो बन्न सक्नु हुन्न भने मैले एकोहोरो अनुनय गरिरहनुको पनि कुनै अर्थ हुँदैन । तर , तपाई मेरो बन्न बन्न नसके पनि म तपाईकी बन्न त सक्छु नि ।” झनै भावुक बनेर आफ्नो सन्देशमा यसरी प्रस्तुत भ इन् उनी -“हो , मेरो जान् ! तपाईको स्वच्छ मन , खुल्ला हृदय अनि मानवताप्रतिको चिन्तन र सद्ब्यबहारले मलाई तपाईप्रति पूर्णरुपमा समर्पित गराइसकेकोछ र ईश्वरसंग दिनरात यही प्रार्थना गर्दछु कि भावनात्मक रुपमै मात्र सहि म जनम् जनम् तपाईकै न्यानो मायाँको अनुभूतिमा बाँच्न पाउँ ।”
“उफ् ! कस्तो धर्मसंकट? आफैभित्र अल्मलिन पुग्छु । मेरो देस , मेरो समाज , मेरो घरपरिवार अझ त्यसमा पनि मुटुभरीको मायाँ दिने प्रिय जीवनसंगिनी दिपिका अनि सानी छोरी पूर्णिमालाई सम्झेर म आफैलाई आत्मसमीक्षाको कठघरामा उभ्याउँछु । अनायसै जीवनका पाइलाहरु कताकता लर्खराउन खोजिरहेको अनुभूति हुन्छ मलाई । यद्यपि यी सबै पलभरका भावनात्मक बहकाईहरु मात्रै हुन् भन्ने यथार्थबोधले जीवनका गोरेटाहरुमा कहिल्यै ठेस नलाग्ने कुरामा ढुक्क बन्छु म ।
“मेरो जान् ! तपाईका दिनहरु कसरी बितिरहेकाछन्? म यहाँ तपाईको न्यानो माया र प्रभूको आशिर्बादले आजको मितिसम्म सकुशल रहेको कुराको अवगत गराउँदै मेरो जीवनसंग जोडिएका केही गोप्य रहस्यहरु तपाईसमक्ष राख्न चाहन्छु । साथै आशा एवं विश्वास छ बिषयको गाम्भीर्यतालाई बुझेर यस रहस्यलाई तपाईले कुनै पनि हालतमा सार्वजनिक गर्नुहुनेछैन ।”
लामो भूमिकासहित लेखिएको उक्त इमेल सन्देशमा उनले आफ्ना जीवनका अत्यन्तै गोप्य एवं महत्वपूर्ण बिषयहरुमा चर्चा-परिचर्चा गरेकीथिइन् । जुन कुराको आधिकारीक पुष्टि भने उनले त्यस इमेलमा उल्लेख गरेकी स्कट्लैन्डस्थित यौटा प्रतिष्ठित बित्तीय संस्थाबाट केही समयपछि मात्रै भएको थियो ।
वास्तवमा उनले म समक्ष आफ्ना नितान्त गोप्य कुराहरु खोल्नुको पछाडि जे सुकै स्वार्थ लुकेको भएपनि मैले त्यसलाई मप्रतिको उनको अगाध विश्वास र भरोसाको उपज बाहेक अरु केही मानेको थिइन त्यसबेला र उनकै अनुरोध बमोजिम त्यस गोपनीयतालाई आज पनि सार्वजनिक गर्ने धृष्टता गर्न चाहन्न म । यद्यपि यौटा द्वन्दग्रस्त मुलुकको उच्च सरकारी अधिकारीको हैसियतले आफू र आफ्नो परिवारको भविष्य सुरक्षित गर्न उनको बाबाले त्यस बित्तीय संस्थामा साढे चार मिलियन अमेरिकी डलर बचत गरेको र आफ्नो शेषपछि त्यस धनराशीको पहिलो र एकलौटी हकदार आफ्नो एक मात्र सन्तान सुसान रहने करारनामा गरेको तथ्यलाई उल्लेख नगरी यो शब्दचित्र सायदै पूर्ण हुनेछ ।
हुन त उनले मलाई आफ्नो यति ठुलो धनराशीको गोप्य विवरण पेश गरेर आफूप्रति आकर्षित गर्न खोजेकी पनि हुनसक्छ । ताकि त्यस सम्पत्तीको लोभमा परेर उनलाई जीवनभर साथ दिने मेरो मनस्थिति बनोस् । यद्यपि उनले आफ्नो बिस्तृत इमेल सन्देशमार्फत संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय कानून र प्रावधानहरुको ब्याख्या गर्दै उक्त रकम स्थानान्तरणका लागि आफूलाई एकजना विदेसी जीवनसाथीको आवश्यक्ता परेको र मप्रतिको उनको विश्वासकै कारण उनले मलाई कानूनी रुपमा आफ्नो श्रीमान बनाउन चाहेको कुरा प्रष्टै उल्लेख गरेकी थिइन् ।
“सुसान ! म तिमीलाई जे सहयोग गर्न पनि तयार छु । तर , यौटा विवाहित पुरुषको नाताले कानूनी होस् या भावनात्मक म तिम्रो श्रीमान बन्न कदापि सक्तिन ।” प्रत्युत्तरम मैले आफ्नो यही अडानलाई उनीसमक्ष राखेँ ।
” प्रिय जान् ! म तपाईको आदर्श र महानतालाई पूजा गर्छु र आफ्नी अर्धाङ्गिनीप्रतिको तपाईको अनुकरणीय एवं अतुलनीय समर्पणभाव देखेर म ज्यादै नतमस्तक पनि बनेकोछु । तर पनि किन किन यो मनले तपाईलाई नै रोजिरहेकोछ । सायद , प्रेम गर्न चाहँदैमा गरिने र छुटाउन चाहँदैम छुटाउन सकिने चिज होइन रहेछ । यद्यपि म पनि यौटी नारी नै हुँ र म यो चाहन्न कि मेरै कारणले कुनै अर्की नारीको सुन्दर् संसार ध्वस्त बनोस् । तर,,,,,,तर खै कसरी ब्यक्त गरौं म? तपाईप्रतिका मेरा चाहना र समर्पणहरु । भन्नैपर्दा तपाईसंगको यो भावनात्मक साइनोलाई जीवन्तता दिइरहेको इमेल र इन्टरनेट प्रयोगका लागि कुर्नुपर्ने एक दिन पनि मेरो लागि महिनौं झै लामो बन्न थालेकोछ आजकल ।
“यो तिम्रो भावनाको तरलता र दुनियाँ नियाल्ने सतही दृषिकोणको उपज मात्रै हो ।” प्रत्युत्तरमा सम्झाउँदै लेखेँ मैले -“हो सुसान ! आकाशको जूनलाई सपर्श गर्ने कल्पना गर्नु कुनै भूल होइन तर आकाश र धर्तीबीचको दुरीको यथार्थतालाई स्वीकार्न नखोज्नु चाहिँ ठूलो कमजोरी हो । तेसैले फेरि पनि म तिमीलाई यही अनुरोध दोहोर्याउन चाहन्छु कि संसारको जुनसुकै पाटोमा रहेपनि हामी भावनात्मक रुपमा सधैँ सन्निकट एवं सान्निध्य रहेकाछौँ र रहिरहनेछौँ । यद्यपि हाम्रो यो असल मित्रताको नातालाई कुनै अर्को नाम दिने धृष्टता गर्ने छैनौँ हामी । भावनात्मक सहयात्राको क्रममा यदि मबाट तिम्रा सपनाहरुको दाहसंस्कार भएको भए , तिम्रा भावनाहरुको समाधिस्थ गरिएको भए अथवा जीवनमा कहिल्यै निको नहुने पीडा र चोटहरु पुगेको भए त्यसलाई केवल यौटा मित्रको अज्ञानता ठानेर माफ गरिदिनु ।”
“महाशय ! यस बित्तीय संस्थाको नियम अनुसार हाम्रा श्रद्धेय ग्राहक स्वर्गीय डेभिडको यस संस्थामा मौज्दात रहेको रकम स्थानान्तरणका लागि चाहिने सम्पूर्ण प्रकृयाहरु पूरा गरिसकिएको जानकारी गराउँदै यो सूचना प्राप्त भएको पैंतीस दिनभित्र श्रीमती सुसानसंगको आफ्नो नाता प्रमाणित हुने आवश्यक कागजात र आफ्नो नागरिकता खुल्ने कुनै एक बैधानिक प्रमाणपत्रसहित रकम स्थानान्तरण गर्नुपर्ने मुलुक र वित्तीय संस्थाको सम्पूर्ण बिबरण पेश गर्न अनुरोध छ ।”
स्कट्लैन्डस्थित यौटा प्रतिष्ठित वित्तीय संस्थाबाट संप्रेषित यो इमेल सन्देश पढेर म एकाएक झस्कन पुगेँ । सेनेगलको एकजना बरिष्ठ कानून ब्यबसायीले त्यहाँको उच्च न्यालयसमक्ष म नै उनको बैधानिक श्रीमान बन्न तयार रहेको कुराको पुष्टि गरिसकेको परिप्रेक्ष्यमा उनका हरसम्भव प्रयासहरुलाई आँखा चिम्लेर समर्थन नगर्ने हो भने आफ्नो स्वर्गीय बुबाको ठूलो धनराशी प्राप्त गर्नबाट उनी बन्चित हुने र तेसो गरौं भने भविष्यमा कानूनी रुपमा उनको श्रीमान बन्नै पर्ने परिस्थितिको शिकार बनिने । मेरा सामु पार गर्नै नसकिने चुनौतीका पहाडहरु खडा हुन पुगे । यद्यपि फेरि पनि यौटा सहज एवं सकारात्मक सहमतिको खोजी गर्ने जमर्को गरेँ मैले ।
“सुसान ! म तिम्रो विवशतालाई बुझ्न सक्छु र तिम्रो बाबाको धनराशी प्राप्त गर्नबाट तिमीले बन्चित हुन नपरोस् भन्नका खातिर म तिम्रो कानूनी श्रीमान बन्न तयार पनि छु । तर , यसको अर्थ यो नहोस् कि हामी वास्तबमै एक अर्काका जीवनसाथी हौँ । तेसैले यस बिषयमा तिमीले अहिले नै स्पष्ट हुन जरुरी छ कि जब त्यो धनराशी तिमीले चाहेको मुलुक र स्थानमा स्थानान्तरण गर्ने प्रकृया पूरा हुनेछ तब हामीबीच कायम रहेको नक्कली जीवनसाथीको नाता पनि सधैँका लागि अन्त्य हुनेछ । यदि यस कुरामा तिम्रो सहमति भए मलाई तुरुन्तै जवाफ दिनु अन्यथा आजसम्मका सबै तितामिठाहरुलाई यौटा अनौठो सपना सम्झेर सधैँका लागि मलाई बिर्सिदिनु ।”
“नाइँ मेरो जान् ! म तपाईलाई कुनै पनि मूल्यमा गुमाउँन चाहन्न ।” मैले सोचेभन्दा विल्कूलै फरक ढङ्गले प्रस्तुत भ इन् उनी -“हो , पृय ! आफ्नो स्वर्गीय बाबाको धनराशी प्राप्त गर्ने लालसाले तपाईलाई जीवनसाथी बनाउँन खोजेकी होइन मैले र न त मलाई त्यस धनराशीको जरुरत नै रहेकोछ । भन्नैपर्दा यौटा मिठो अनुभूतिमा नै सही तपाईको भावनात्मक सामीप्यता पाएर मभित्रका बाँच्ने रहरहरु अनायसै टुसाउन पुगेकाछन् । सायद , आकाशको जून छुन खोज्नु मेरो ठूलो भूल थियो । यद्यपि मेरो मन मन्दिरमा तपाई नै तपाई बस्नु भएकोछ र यसको पूजा नगरी बाँच्नुको कुनै सार्थकता छैन मसंग । तेसैले जूनीभर यो शरणार्थीरुपी बन्दी जीवन बिताउन नै किन नपरोस् म तपाईलाई आफ्नो नक्कली श्रीमान बनाएर तपाईको महानतालाई उपहास गर्न चाहन्न न त तपाईको हृदयबाट अलग बनेर बाँच्न नै सक्छु ।”
उफ् ! यो उनको कस्तो पागलपन हो? केही सोच्नै सकिरहेको छैन मैले । साढे चार मिलियम अमेरिकी डलर त्याग्न तयार बनिरहेकी उनी म जस्तो गरीब र त्यो पनि यौटा विवाहित पुरुषबाट अलग हुन नचाहनुको रहस्य के हो? के साढे चार मिलियन अ मेरिकी डलरले किन्न सकिने भौतिक सुखसुबिधाहरुभन्दा यौटा गरीबको भावनात्मक प्रेम नै उनको लागि अमूल्य सावित भएको हो त?
सोच्दा सोच्दै म एकोहोरो बन्न ओउग्छु । एकातिर मप्रतिको उनको यस्तो समर्पण अर्कातिर आँखा वरिपरि सल्बलाइरहेका पृय जीवनसङ्गिनी दिपिका र सानी छोरी पूर्णिमाका जीवनभर आफ्नो साथ नछोड्न अनुनय विनय गरिरहेका करुणामय प्रतिबिम्बहरु । अझ आफ्नो भाग्य र भविष्य निर्माण गर्न रेगिस्तानतर्फ पहिलो पाइला बढाएको पल भर्खरै मात्र तोतेबोली बोल्न थालेकी छोरी पूर्णिमाले “देदी ! बिदेसबात आउँदा मलाई गालि , घली ल कोत् ल्याइदिनु ल ।” भन्दै बिदाईका कलिला हातहरु हल्लाएको दृष्यको स्मरणले त म झनै विह्व्ल बन्न पुग्छु ।
आखिर कसैको खुशी जोगाइराख्न कसैको सपनाको दाहसंस्कार त गर्नैपर्दोरहेछ । म जीवनको यथार्थतालाई खुल्ला किताब झैँ पढ्न थाल्छु । मन झनै उथलपुथल ल र उकुसमुकुस बन्न थाल्छ । यद्यपि मेरो देस , मेरो समाज र मेरो परिवारभन्दा बढी मूल्यवान चिज दुनियाँमा अरु केही हुन सक्दैन भन्ने कुराको आत्मज्ञानले मलाई धैर्यता र संयमतामा बाँच्ने प्रेरणा दिन्छ अनि मभित्र बिस्तारै कल्पनाको जून हैन यथार्थको फूलसंगै रमाउने असरल्ल चाहनाहरुको भेल उर्लिन थाल्छ । आखिर पाइला न हो , कहिले ठेस लाग्छ त कहिले बिचलित बन्छ अनि कहिले बाटो बिराउँछ त कहिले घुम्ती र कुइनेटाहरुमा अल्मलिन्छ । यद्यपि सफल यात्री त्यही हो जो हजारौं गोरेटाहरुबीच पनि आफ्नो यात्रालाई मूलबाटोमा अनवरत निरन्तरता दिइरहेको हुन्छ ।

साभार : अनुभूतिका बिम्बहरू (कथा संग्रह)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *