– दाजु गुरुङ
जाडो सकिएको पनि धेरै भयो
तर मेरो घर आँगनमा
अहिलेसम्म न्यानो घाम छाउन सकेको छैन
पर पर क्षितिजमा एकाविहान
घाम उदाउने तर्खरमा

घामका लामा-लामा खुट्टा तेर्सिएका देखिन्थे
घामको न्यानो स्पर्शको आशाले
म र मभित्र मानिसहरु दौडँदै आँगनमा आइरहेको बेला
अनायासै घामका खुट्टाहरु धुमिल हुँदै जान्छ,
विष्मयता बोकेर आँखा मिच्दै आशाले निँयाल्छु
उज्यालाका रेखाहरुलाई
अनिश्चिताको रुखो बादलका ढिक्काहरु किच्दै-किच्दै लगिरहेछ,
मेरो मनका कुना-कुनामा अँकुरित
आशाका किरणहरुलाई बेकसुर निस्तेज गरिरहेछ ।
काश !, कालो बादल भइदिए
छिनमा गर्जिन्थ्यो होला,
वर्षिन्थ्यो होला,
वर्षौंदेखि जागृत हिउँदका चिसा तुषाराका थुप्राहरुलाई
बलात किनारा लगाइदिए जस्तै
पत्र-पत्र जमेका फोहरका डङ्गुरहरु
अनि हिंसा र बारुदका कलुषित धूवाँका मुस्लोहरुलाई
जरैदेखि बगाइदिन्थे होला ।
जाडो सकिएको पनि धेरै भयो
तर मेरो गामवेशीमा
अहिलेसम्म न्यानो घाम छाउन सकेको छैन
पर-पर डाँडापाखाहरुमा
तल-तल फाँट अनि मैदानहरुमा
सिङ्गो इतिहास बोकेका
बोटबिरुवाहरु अझै नाङ्गै छन्
वर्षौं नाङ्गो जीवन वोकेर
एउटा पूरा घामको सपना देखिराखेकाछन्
स्वछन्द आकाशमुनि
म र मभित्रका मानिसहरु पनि
क्षितिजको दीर्घामा उभिएर घाम खोजिरहेको बेला
हिउँदका हुस्सु र रुखो बादलको
मुसो-बिरालो,मुसो-बिरालो आत्मारति खेल खलिरहेछ,
उज्यालोलाई कैद गर्ने झेल गरिरहेछ-
कहिले घुर्क्याउने
कहिले थर्काउने
कहिले सुर्क्याउने
अनि ताल परे, छेपारो जस्तो रङ्ग बदल्ने ।
मायवी तुवाँलोहरु र रुखा हिंसाका बादलहरु
आरुशीलाई धुमिल बनाउन खोजिरहेछ
लाग्छ, एउटा विश्वासको आँधीको खाँचो छ
जसले हिंसाको तुवालो र रुखो वादललाइ
सधै-सधैका लागि किनारा लगाइदियोस् ।
अनि मेरो आकाशमा
एउटा सिङ्गो घाम छाइरहोस् ।
धेरै हिउँदहरु बितिसके
धेरै वर्षातहरु बितिसके
घामको न्यानो पर्खाइमा
घामको सुकिलो हेराइमा ।
लामो पर्खाइ भए पनि
मुटु काम्ने हिमपात भए पनि
विश्वासको घाममा तुँवालो कहिल्यै लाग्दैन
किनकि,मेरो घर-आँगन
मेरो गाम-वेशी
हिम तुषारोको बलात् आक्रमण सहेर
मुटु घोँच्ने जाडो बोकेका
हुस्सु र रुखो तुँवालोको खास्टो ओढेर
मनभरि जिजीविषा पालेकाछन् ।
द्वन्द्व हिंसा र बारुदले उव्जाएको
अविश्वास र अनिश्चिताको धूँवामा निस्सासिएर पनि
मनभरि घाम फुलाइराखेकाछन् ।
जीवनको नौलो पालुवा फेर्न
जिन्दगीलाई जिन्दगीकै रुपमा रुपान्तर गर्न
आँगनभरि घामको न्यानो रहरमा
निरन्तर पर्खिबसेका छन्
एउटा जाँगरिलो साहस बोकेर
एउटा सुखद उत्साह बोकेर
dajuup@yahoo.com
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *