– सुबीसुधा आचार्य
घरले जा जा वनले आ आ भन्ने उमेरमा ओच्छ्यान लगाएर बस्नु जति पीडा दायक कुरा मान्छेलाई अरू के नै होला र ? हजारौं युगको इतिहास पल्टाएर हेर्दा पनि मानव मृत्युसँग जति अरू बस्तुसँग डराएको बिल्कुल पाइन्न । त्यसो त मान्छेको के कुरा हरेक प्राणी, जीव जीवात्मा सबै मृत्यु जीवनको अन्त्येष्ठि भने पछि भयावह मानसिकता बनाउँछन् । मृत्यु यानेकी काल, भन्ने बित्तिकै
सबैको मानसपटलमा महाभुकम्प जान्छ ज्वालामूखी पड्कन्छ, सुनामी जस्तै उर्लेर आउँछ, करेन्ट जस्तै लाग्छ । यसो किन हुन्छ होला त ? के काल एउटा हाउँगुजी हो जसले सबैलाई तर्साउँछ । हुन पनि मृत्यु छ नै त्यस्तै, मृत्युको रूप हुँदैन पनि र लाखौ हुन्छ पनि । यसलाई कसरी परिभाषित गर्ने त ? किताव पुराणहरूमा मृत्युको बारेमा जति ब्याख्या गरेपनि मृत्युसँग साक्षात्कार भएर पुनः जिवित भएको कोही भेटिएकै छैन । मृत्यु कहिल्यै बाजा बजाएर आउँदैन पनि । पृथ्वीका हरेक चिज बस्तुमा मृत्युको छायाँ भने अवश्य देखिन्छ त्यो पनि धमिलो, मृत्यु कहाँ हुँदैन घरको छत, पाली, भ¥याङ्ग, भिर, खोला, अग्लो रूख, बिजुलीको तार, चट्याङ्ग, बाघ, भालु, घोरल, चित्तल, बदेल, बिच्छी, सर्प, लुटाहा, गुण्डा, धारीलो हतियार, गहिरो खाडल यति सम्मकी घरको संघार ढेलोमा सम्म मृत्यु मुख बाएर बसेको हुन्छ । फरक यति हो आफ्नो दिन नआइ, आफ्नो मानो नसकि जान पाइदैन । त्यो पल सम्म न लिन आउनेले आउँछ न त लैजानेले नै लैजान्छ । मृत्यु एक यस्तो अजिव ध्रुव सत्य हो न बोलाएर आउँछ न अस्विकार गर्न नै सकिन्छ । त्यसैले होला खोजेर नपाइने र टार्न नसकिने भनि मृत्युको परिभाषा दिन्छन् मान्छेहरू । कसैलाई मृत्यु अभिसाप हुन्छ जो बाँच्न चाहन्छ, मृत्युदेखि डराउँछ तर्सिन्छ उसैलाई पच्छ्याइरहेको हुन्छ तर त्यसको अलावा जो मृत्यु चाहन्छ, आफुलाई मृत्युले धुलो पीठो पारेर चपाओस् खाओस् भन्ने लाग्छ एकातिर रगतको पोखरी र अर्को तिर हाडखुर मासुको थुप्रो बनाइदियोस् भन्ने लाग्छ तर बिडम्बना उसैसँग मृत्यु चारकोष टाढा भैदिन्छ । यति खेर म प्रसङ्ग उठाउँदै छु मृत्युलाई पर्खदा कति कष्टकर जीवन गुर्जाछ मान्छे, उमेरले चारबिसको खुड्किलो उक्लिएको म गत छ मैना देखि मृत्युको बाटो कुरेर पर्खिरहेको छु मेरो यो पर्खाई, अग्नीपरीक्षा भन्दा कम छैन । कहाँ बस्छ कस्तो छ मृत्यु नामको शिकारी, उसलाई अस्त्र सस्त्र चलाउन त खुव आउँदोरहेछ । उसैले चलाएको बाणबाट मेरो एउटा हात र खुट्टा नचल्ने भएको छ, निर्दयी पापी रहेछ ऊ, पाप र पुण्यको कुरा उठाउँछन् सबैले । मृत्यु झन कति पापी होला बरू चटक्कै चुडेर लैजाओस् यसरी अपाङ्ग बनाइदिनु भन्दा त । “के भन्नु र खै धोका दिनेलाई के भन्नु र खै तिमी हाँस भो मै बसुला रोइ” भने झैं आज भन्दा पन्ध्र्र वर्ष अगाडि देखि मैले दुबै आँखाको ज्योती गुमाएको छु त्यो पनि त्यही मृत्यु नामको शिकारीको करामत हो । चस्माको पावरबाट कृत्रिम बाटो अपनाउँदै संसार नियाल्नु कति कष्टकर हुन्छ त्यो “खुकुरीको चोट अचानोलाई” मात्र थाहा भए झैं मलाई नै थाहा छ । यो मेरो जीवनमा मृत्युले चलाएको पहिलो अस्त्र थियो । पाँच वर्ष अगाडि अर्को सस्त्र छोडेर एउटा कान पनि नसुन्ने भएँ । आज आएर एउटा हात र खुट्टा नै नचलेपछि जिउन कति कष्टकर भैरहेको छ होला त । त्यो कुरा मात्र भोग्ने मान्छेलार्ई मात्र थाहा हुन्छ । मृत्युलाई पर्खदा जति गाह्रो अप्ठेरो त कहिले पनि हुँदैन । म पनि एउटा प्राणी, एउटा अस्तित्ववान बस्तु, एउटा मान्छे, मृत्युले चलाएका रामबाण, धनुबाण, पशुरामबाण, जे जे बाण वर्षाएर भए पनि मेरो शरीर अर्धमृत भएको छ, अव बाँकी छ मुत्युवाण छाडेर एकमुठी प्राण हावामा उडाउन र यो शरीरलाई निस्क्रिय बनाउन । त्यो क्षणको पर्खाई किन यति लामो निसासिदो, पट्टयार लाग्दो । हैन मानिसको भाग्य छैटीमा भाविले लेख्छ भन्थे, खै कुन मसिले लेख्यो होला । कहाँ नेर लेख्यो होला, छाला भित्र कि बाहिर । यदि बाहिर लेखेको भए त देखिनु पर्ने हो, के भनेर लेख्यो होला ? मलाई आफ्नो भाग्यदेखि उदेक लाग्छ, रीस उठ्छ, घृणा जाग्छ र भाग्यप्रति पलाउँछ बितृष्णा । देशमा विकासको घाम लेराउँछु भन्ने, परिवर्तनको भेल बाढी बगाउँछु, गरिव निमुखाको सहारा, लङ्गडाको बैषाखी बन्छु, आम नेपालीको जीवनमा सुख र अमन चैन स्थापना गराउँछु भन्ने मदन भण्डारीलाई त दास ढुङ्गामा जिप दुर्घटना हुँदा त्रिसुलीले निल्यो तर म कैयांै पटक त्यहि दास ढुङ्गाको बाटो हुँदै कहाँ कहाँ गएँ कति पटक गएँ जसको कुनै लेखा जोखा छैन । अहँ मलाई त्रिशुलीले कहिल्यै निल्न सकेन । यसो भनौं त्रिसुलीले निल्ने मौका नै पाएन । म जति बेला स्वस्थ तन्दुरूस्त थिएँ त्यो पल कसैले मेरो अवस्था भएका मान्छेको कुरा गर्दा तर्सिन्थे सय भोल्टको करेन्टको झट्का लागे झैं हुन्थ्यो तर बिडम्बना म नै यसरी ओच्छ्यानमा थला पर्न लेखेको रै‘छ । कति पटक रूख चढ्दा सोच्थेँ खसेर भुतुक्कै हुन पाऊँ, बसको यात्रामा त भगवानसँग हातै जोडेर प्राथना गर्थेँ कि त्रिसुलीमा मदन भण्डारी र जिवराज आश्रित झैं माछाको शिकार हुन पाइयोस् “आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो” भने झैं पो भयो भन्या गाँठे जीवनमा । यो सिमीत चार पर्खालको कोठा, सिमेन्टले प्लास्टर गरेको चिसो भित्ता, मेरो लागि बन्दि गृह । कति निसासिदो, कति छटपटाहट, बिरक्त उदेक, अप्ठ्यारो । झ्यालका रेलिङ्गहरू जेलको बार बस मलाई यस्तै महसुस हुन्छ । राजा कंशले बसुदेव र जानकीलाई जेलमा राख्दा त्यति आत्तिएनन् होला तर म त्यसको चौगुना आत्तिएँ । आत्तिनु के थियो र यता फर्कनु बस उता फर्कनु । बयरको काँडा, सिउँडीको बोक्रा, बगरको डसन ढुङ्गा झैं बिझाउने ओच्छ्यान, जिउदो लास तुलाउने सैया, चौबिसै घण्टा यहि ओच्छ्यान,यता पल्टे नि भित्ता उता पल्टे नि भित्ता, पानीको थर्मश, चियाको गीलास् औषधि र हर्लिसको बोतल मेरा सहयात्री । थुक्क कस्तो जीवन । कति निरस, कति छट्पटाहट यि पलहरू, न बिहानीमा चरा कराएको सुन्न पाउनु छ न सुर्यको दर्शन नै गर्न पाउनु, जङ्गलमा धमिराले खाएको मुढो लढे झै पल्टियो डङरङ्ग । कस्तो निरस, उदास र अत्यासिलो छ समय, यो मृत्युलाई पर्खदा । ओच्छ्यानबाट आफू खुशी उठ्न सक्नु छैन, वल्लो कोल्टो र पल्लो कोल्टो फेर्न सक्नु छैन, खाली अरूको आस । कोहि आउँला उठाइदेला । काकाकुलको प्यास जस्तो चाहना हुन पूरा हुन पनि सक्ने र नहुन पनि सक्ने । छोरो आएर उठाइ दिन्छ । एकछिन बसेपछि गोडा र कम्मर कटकट खाएर सुत्न बितिहाल्छ । फेरि कति खेर बुहारी आउली र सुताइदेली ढोकातिर आँखा तान्यो बस । बल्ल बल्ल घरको काम सकेर बुहारी आउँछे र भात खुवाउँछे । खान किन परेको होला मलाई दिक्क लाग्छ । जवकी आफ्नो स्वइच्छाले पिसाव दिसा गर्न सक्नु छैन । दिसा आए पनि अरूले कोपरा थापिदिनु पर्छ । फेरि कोपरामा दिसा पिसाव गर्दा जस्तो सकस त अरू के नै होला र ? कता कता के नपुगे जस्तो असाध्यै गारो । म आफू कल्पना गर्छु, छोरा बुहारीको ठाउँमा आफै बसेर । धिक्कारोस् म कति लाचार, हिनामती, गतिछाडा कुनै बेला घर धन्दामा ब्यस्त भएर पिसाव थाप्न बुहारी पाँच मिनेट ढिलो आउँदा खुस्कन्छ ओछ्यान मै । धमिलो आँखाले हेर्छु, अध्यारो मुहार लगाउँछे बुहारी । जुरूक्क उठाउने साहस हुँदैन उसमा, मकै पिस्ने घट्टो झैं वजनदार भएको छु म । झन नचल्ने हात गोडा सुन्निन थालेदेखि त डोजर नै पो भएको छु त । सकि नसकि घिसार्दै लैजान्छे बुहारी, तन्ना र डसना फेर्नु पर्दा । फेरेर फेरि कपडाको गुण्टा जस्तै गुडाउँदै बिस्तारामा लगेर पल्टाइदिन्छे । जिउ थिङथिलो भएर दुःख्छ । कसलाई के भन्नु । भाग्य नै बिग्रेपछि सुख खोजेर कहाँ पाइन्छ र ! सहनु छ सब दुखाइ पनि । बुहारीको मजबुरी देखेर पनि दया लाग्छ बिचरी जागीर छाडेर मेरै सुसार गर्न घरमा बसेकी छ । तर के गर्नु शरीर र मनको सहमति हुन नसके पछि कसको के लाग्छ र ? मन हो मेरो पनि कहिले हावा बनेर उड्छ आकासगंगामा, कहिले पानी बनेर बर्सिन्छ पाखा पर्वतमा । मन चरीले जति बेग हाने पनि सोचाइका तरङ्ग छाल बनेर ब्रमाण्ड चहारेर पनि शरीर पापी अपाङ्ग भएपछि गोवरमा परेको किरा झैँ हुँदो रै‘छ यता पल्टङ्ग उता पल्टङ्ग । रेडियोबाट सधै बज्ने एउटा गीतको याद आउँछ–“सोह्र वर्षे जवानीमा मै पनि झिल्के हुँदो हो अहिले पो बुढा भैयो र……..” के गर्ने मानिसको चोला नै यस्तै नचाहेरै तीन चरण पार गर्नु नै पर्ने बाल, युवा र बृद्ध । बालापन पनि आमाको काखमा आची र सुची गरेर पार गरेँ । युवा तन्नेरी अवस्थामा त झन काईली र कान्छीसँग कुम जोडेर कति घुमियो असन इन्द्रचोक, बिहे जात्रा रत्यौली कहिँ बाँकी रहेनन् । भुरूङ घुमे झैँ फनन खैजडी बजाएर भजनमा पनि नाचेँ । पाच सात मिनेट तरूनी छक्क पारेर पञ्चेबाजामा बस उठ नाचियो, हरे शिव सम्झदा एक युग बिते झैँ लाग्छ तर आज थुइक्क उमेर यस्तो कुवाको भ्यागुतो झैँ भइयो । कति गारो कष्टकर हुँदो रै‘छ मृत्युलार्ई पर्खदा । आफ्नै भाइ छोरा चिन्न नसक्ने अवस्थामा पुगेको छु । अध्यारो छाइरह्यो आँखामा जतासुकै कालो रात, आफ्नै आँगन परदेश, घरको मझेरी बिरानो । कति चाहनाहरू सल्बलाउछन् रहरहरू जुरमुराएर उठ्छन् तर तडी नचलेपछि कस्को के लाग्छ उही ओच्छ्यान पटक पटक छाम्यो एकदम नजिकबाट, चिमट्यो सुमसुमायो बस मृत्युलार्ई पर्खदै । हैन कहाँ बस्दो हो त्यो मृत्यु भन्ने जन्तु, आकासमा की पातालमा या धर्तीकै कुनै कुनामा पो लुकेको छ कि ? जीवनका असी औँ वसन्त पार गरि सक्दा सम्म नदेखेको मृत्युको वासस्थान छोरा नातीले के पत्ता लगाउन सक्लान् र जाओ लेराओ भनौँ । उसै त मेरो सुसार गरेर थाकेका बिचराहरू झन मृत्यु खोज्न जानु प¥यो भने कत्ति दिक्क मान्लान् । मैले आफ्नो आँखाले देखेको छु मृत्युदेखि भाग्नेहरू, तर्सनेहरू र डराउनेहरू म कहिल्यैे मृत्युसँग भागिन, डराइन, तर्सिन तर मलार्ई नै मृत्युले किन बेवास्ता पारि रै‘छ । पृथ्वीलाई भार, आफन्तलाई बोझ, आफूलार्ई झन्झट सहेर बाँच्न पटक्कै मन छैन र मृत्युलार्ई पर्खिरहेछु निडरका साथ । पाप र धर्म मृत्यु पश्चात नै थाहा हुन्छ, जो धर्मात्मा छ ऊ सहजै स्वर्ग जान्छ, पापीलाई नर्कमा पनि तातो तेलमा डुबाइन्छ । झिर तताएर रातो पारी उनिन्छ गरूड पुराणमा यही सुनेको छु मैले । हुन त गरूड पुराण कसले लेखेको हो जसले लेखेको हो ऊसले के देखेर आयो या आफैले भोग्यो र हामीले बिस्वास गर्नु र कुनै समय शंका लाग्छ ती पुराणहरूको पनि । तर जहाँसम्म मलार्ई लाग्छ पाप र पुण्य मरेपछि हैन यसै जन्ममा भोग्नु पर्छ कुनै न कुनै रूपबाट जून म भोगिरहेछु । जान मन लागेको ठाउँमा जान नपाउनु, खान मन लागको कुरा खान नपाउनु, दिशा पिसावलाई अरूको भर पर्नु यो सजाय तेलमा डुब्नुको भन्दा कम छ र ? हुन त म कायर, लाछी, पानीमरूवा भएर पनि हो यति बिघ्न दुःख पाएको, मात्र आफ्नै लागि सोचेँ, आफ्नै पेट भर्नु, आफ्नै आङ ढाक्नु र आफ्नै घरको पाली फेर्नु मात्र जीवनको उदेश्य भयो । कहिले आफू भन्दा पर सोच्ने क्षमता ममा पलायन यसो भनौँ कहिले दिमागमा घुसेन । लगाम लगाएको घोडाले झैँ एकोहोरो मात्र सोचेँ । गंगालाल, धर्मभक्त दशरथ र शुक्रराजले देश र जनताको बारेमा बोले, सोचे र अघि लागे त्यसको नतिजा युवा अवस्थामै कोहीलाई झुण्ड्याएर र कोहीलाई गोली ठोकेर मारिए । एकछिन त उनिहरूलार्ई पनि पीडा भयो होला तर आज इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिएको छ उनिहरूको नाम । म भने यो बुढेसकालमा सिनुमा परेर पुच्छर उम्रेको कीरा झैँ ओच्छ्यानमा वल्टी पल्टी मृत्युलार्ई पर्खदै छु । मृत्युबाट जोगिएर सधँै बाँचि राख्ने मीठो र रमाइलो सोचाइ कहिल्यै पालिन मैले किनकी मलार्ई थाहा छ कुवेरको अतुल भण्डार रित्तिएको, राजाको मुखमा पान टुटेको अनि एक दिन भिष्मपितामहको इच्छा मृत्यु पनि शर शैष्यामा तेर्सिएको । तर दुःख लाग्छ मलार्ई मृत्युले धजो नहालेको देख्दा, नबोलाएको देख्दा, उसलाई के थाहा मृत्यु पर्खनु जस्तो महाकष्ट यज्ञमा फाल हाल्ने सतिदेवीलाई पनि भएन र सितालाई अग्नी परिक्षा दिदा पनि । मेरो मनको बिस्तारित हरियो फाँटबाट बिचारको तरेली परेर अग्लिएको निलो गिरीधर पहाड, हरेक गोधुली साँझमा लम्बिदै गएको पीपलु बृक्षको कालो छाँयासँगै अध्यारो घोलिएको दारी र कपाल फुलेको अजिव जङ्गलमाथी एक बुढो दिन बैषाखीको सहाराले प्रत्येक साँझ कसरी पहाड चढ्छ । त्यहि दिन बाह्र घण्टा पछि पुनः पुर्व क्षितिजमा गुलाबी किरण छरेर ब्यहुलीको घुम्टो ओढी नव दुलही लजाए झैँ मस्किदै मस्किदै नव जात शिशु रूपि कलिलो दिनको रूपमा पहाड ओर्लन्छ । दिन एक युग झैँ रात त शताब्दी नै भएर देखापर्छ मेरा लागि, बुढेसकाल त्यहा माथी रोगि झन ठूलोे कुरा आफ्नो शारिरीक अवस्थाबाट भएको डिप्रेसन । मलार्ई थाहा छ आजकल डिप्रेसनले पुरै चपाएको छ मलार्ई निल्नु न ओकल्नुसँग, दाँत र गिजामा लतपतिएर उसै म छटपटाइरहेको छु पानीबाट झिक्दाको माछा जस्तो । जवानीमा अरूलार्ई भन्थे तनमा सोचाइका तरङ्ग उठाउनु हुँदैन, कुरा खेलाउनु हुँदैन, चिन्ता गर्नु हुँदैन । चिन्ताले मान्छेलार्ई चित्तामा पु¥याउछ तर मलार्ई के थाहा बुढेसकालमा आपैm डिप्रेसनको खाल्टोमा जाकिन्छु नराम्रोसँग, यसो भनौ कहिल्यै उभो लाग्न नसक्ने गरेर । एक्लै फतफताउँदा घर परिवारले भन्दा हुन् बुढो बौलायो । कहिलेकाँही उनिहरूलार्ई पनि झर्को लाग्दो हो दिनभरी काममा जोतिएर आउँछन् रातको चार प्रहर मजाले सुत्न नपाउँदा छोरालाई झर्को लागेछ क्यारे एक महिनादेखि यता । रातमा एक ट्याब्लेट सिल्पिङ्ग चक्की खुवाउँछ त्यसपछि म पनि सपनाको संसारमा । सपना त के देख्नु छ र अर्धचेतनामा लम्पसार । कहिलेकाँही दिक्दार लाग्छ वाक्क दिक्क थुक्क हुन्छु आफ्नो भोगाई प्रति आफै निकै असन्तुष्ट भएर । फेरि सम्झन्छु जीवन गतिशिल छ गाडिको डाइनामो घुमे झैँं फूइूफइ घुम्छ । मलार्ई बिगतको एक झल्को झल्यास्स याद आउँछ । म सानो छदा हजुर बुबा म अहिलेको जस्तो ओच्छ्यान पर्नु भैथ्यो । हजुरबालाई कुरूवा मलार्ई छाडी बुबा आमा खेतबारीमा काम गर्न जानु हुन्थ्यो, बुढो मान्छे राल सिगान र दिसा पिसाबको गन्धले झिगा प्रसस्तै भन्किने, मेरो काम झिगा धपाउने तर मलार्ई असाध्यै झर्को लाग्थ्यो हजुरवुवाको मुखमा झिगा धपाउँदा धपाउँदै परेला चुडेर भाग्थेँ । बुढाले लौराले लम्कि र झम्कि गर्थे । म घरबाट टाढै भइदिने फेरि बुढालाई झिगाले दुःख दिदो रैछ र पैसा दिएर बोलाउँथे । म भुरो मोरो पैसा भनेपछि फेरि हजुरबुबाको छेउमा आउँथे । दुखको कुरा आज मेरो नाति नातीनी त मेरो कोठाको ढोकासम्म पनि आउन्नन् झिगा धपाउन त परै जाओस् । जीवन कुमालको चक्र हो एकदिन म पनि नाति नातीनी जस्तै थिएँ भोली उनीहरू पनि म जस्तै हुनेछन् यो पक्का हो ।कहिलेकाँही झर्कन्छन् छोरा बुहारी, म रोगी जिउँदोलास देख्दा तर पनि सहनु छ मलार्ई मौन । किनकी दैवले ठगेर कर्मले हारेर बिधाताले पारेर अपाङ्ग बन्नु प¥यो मलार्ई । दोष दिनु त कस्लार्ई आफ्नै कर्मलाई । सबैको छिःछि र थुःथु सहन विवश बनाउन्जेल त्यो अदृष्य भगवान कहाँ बसेर मेरो तमासा हेर्दै होलान् किन लादैनन् एकमुठी प्राण के स्वर्गमा पाप र पुण्य मन्थन गरेर चामलको बिया पग्ले जस्तो पाप र पुण्य पग्लदै त छैन । हुन सक्छ यीनै कार्यमा ब्यस्त भएर मलार्ई यमराजको दुत लिन आउन भ्याएनन् होला । जीवनमा सबै भन्दा कष्ठकर समय भनेकै मृत्युलार्ई पर्खदा हुँदो रै‘छ । गाह्रो असाध्यै गाह्रो, अप्ठ्यारो त जीवनका उतार चढावमा आइहाल्छन्, बुबा बित्दा, आमा बित्दा, श्रीमतीलाई दाहसस्कार गर्दा, घरबारी पहिरोले पुरिदा, साँधको बिषयमा पल्लाघरेसँग भनाभन पर्दा, छोरीलाई डोली चढाउँदा, साहूले गोठको भैसी फुकाउँदा आदिआदि तर यि सब बेलाको गाह्रो अप्ठ्यारो सकस भन्दा मृत्यु पर्खदा महाकष्टकर हुँदोरहेछ । मान्छेहरू समस्यामा अल्झदा आपद पर्दा दुःखमा जकडिदा भन्छन् हे भगवान मलार्ई यी समस्याबाट मुक्ति देऊ, मुक्ति त्यति सस्तो कहाँ छ र जुन बजारमा किन्न राखेको सामान होस् जन्मन साइत चाहिन्छ भन्छन् । मलार्ई लाग्छ मृत्युले चटक्क टिपेर लान पनि साइत चाहिन्छ अन्यथा हिरिक हिरिक एक मुठी प्राण बुढो शरीरमा अल्झिरहन्छ मृत्यु पर्खदै ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *