– हाङयुग अज्ञात

म तपाइँको को हुँ ?
-लोग्ने ?
-प्रेमी ?
-बुबा ?
-भाइ ?
-साथी ?
-या मात्र पुरुष ?

कृपया भन्नुस्
तपाइँ र मेरो बीचको सम्बन्धलाई
म कुन नामले सम्बोधन गरुँ ?
म कुन नामले तपाइँसित
मेरो मनका असन्तोकहरू व्यक्त गरुँ ?

कृपया भन्नुस्
म तपाइँलाई कुन नामले सम्बोधन गरुँ ?
-स्वास्नी ?
-प्रेमिका ?
-आमा ?
-दिदी ?
-साथी ?
-या मात्र नारी ?

युगौंदेखि बाँधिएका छौं
हामी यस्ता अनेकन् सम्बन्धहरूले
र यीनै सम्बन्धहरूको बीचबाट
तपाइँले मलाई
बनाउनु भएको छ गान्धी
र बनाउनु भएको छ वीरप्पन
बनाउनु भएको छ बुद्ध
र बनाउनु भएको छ कंश
आखिर म तपाइँको को हुँ ?
अहिंसक कि तस्कर ?
शान्तिप्रिय कि बदमास ?
कृपया भन्नुस्
म तपाइँको निर्मल सपना हो कि विभत्स वर्तमान ?

प्रेम र स्नेहले बाँधेर
मैले जो सम्भोग गरेँ
उन्नत विचार-योनीमा
परिवर्तनको लिङ्गले
के म तपाइँको अपराधी भएँ ?
-चोर भएँ ?
-डाका भएँ ?
-फटाहा र जाली भएँ ?
-प्लेब्वाइ र छाडा भएँ ?
-राँडो र रन्डो भएँ ?

कृपया भन्नुस्
तपाइँ र मेरो बीचको सम्बन्धलाई
म कुन नामले सम्बोधन गरुँ ?
र मनभित्रका विष्फोटनहरू
तपाइँ समक्ष पेश गरुँ ?

हो,
हाम्रा आँखा उस्तै छन्
तर दृष्टिकोण किन फरक ?
हाम्रा मनमस्तिष्क उस्तै छन्
तर सोच किन फरक ?
हाम्रो यात्रा एउटै हो
तर गन्तव्य किन फरक ?
हाम्रो नश्ल एउटै हो
तर जात किन फरक ?
किन म पुरुष ?
किन तपाइँ नारी ?
के हामी मान्छे हुन सक्दैनौँ ?

हो
यस्तै प्रश्नहरूको जङ्गलबाट
म तपाइँसित आफ्नो
बजुद मागिरहेको छु-
कृपया भन्नुस्
म तपाइँको को हुँ ?

(हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा कविता अभियान ! !)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *