– गोपीकृष्ण प्रसाई

नाकमा फुली ढुंग्रे बुलाकी
मैलो मजेत्रो च्यातिई जाला िक
फुलेका केशराशी जिङ्रिङ्ग ठडिएछन्
चाउरी परेको मुहारभरि भीरपाखा भरिएछन्
सेताम्मे उनको कपाल र हाम्रा हिमालहरु

मलाई लाग्छन् उस्तै उस्तै
टाउकादेखि खुट्टासम्मको आवरण हेरेर भन्नुपर्दा
मेरो देशको नक्सा जस्तै ।
सिस्नोको खोले खाएर आन्द्राहरु त्यान्द्रा बन्दैगए
एकपछि अर्का रोगहरु बढेर मुटुभित्र जलन बढ्दै गए
रुन्चे अनुहार लिएर दिन रात पीरैपीरले मुटु गाल्दैछिन्
डरैडरले मनलाई उरालेर टाट्नाभरि बाख्रालाई धाँस हाल्दैछिन्
परेवा घुरेको धूनमा दुःख बिस्रने उनको बानी
ऋणाहा मानसिकताले सन्तानको भविष्य पार्दो हो खरानी
दिनमा पीडैपीडाको सहवास अनि रातमा उर्लन्छ शीत ज्वरो
रिसाउँदा छोरीलाई अलिच्छिनी भन्छिन् अनि छोरो बन्छ अभागी मोरो
बैंशको उन्मत्त गरीबीसँगै परदेशिएको छोरो
अहिलेसम्म घर फर्केन त्यो आशाको डोरो
आस्थाका यौंवनहरु वेमौसममै मारी
दुर्दिनमै मरिदिन्छे त्यो मन परेकी छोरी ।
चुला चौकाभरि गरीबीको बास
घरमा दिनभर अनिकालले गर्दैछ आस
राजनैतिक उतार-चढाव
मेरी आमालाई थाहा छैन
घाँस काट्न निक्लिन्छिन वनपाखातिर
तर पुरानो हँसियामा लाहा छैन
पँधेरोमा पानी भर्न जाँदा गुन्जन्छन गीतका भाकाहरु
परिवारको विग्रहसँगै मोतीविन्दु लाग्याछन् आँखाहरु
हीनताबोधले मान्छेसँग बोल्न गाह्रो पर्ने
रातोदिन नून मसलाले सँधै सार् हो पार्ने ।
आमाको दुःख हटाउने दृढ प्रतिज्ञा मेरो
शायद प्रतिज्ञामै वित्ला कि जीवनको सेरोफेरो
हेर्छु सँधै सँधै आमाको मुहारमा एकोहोरो
अनि सोच्न पुग्छु भविष्यका क्षितिजभिर
आमाले पोल्टामा भुटेका मकै र सातु बोकेको
रुखो हाँसो हाँस्दै समाजका मान्छेसँग
जलनशील छातीबाट
सम्मानस्वरुप शब्दका आँसुहरु खोकेका ।

(०५५/१२/२५)
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *