– दीप्स शाह

उसो त दैनिकी लेख्नु मेरो सानै देखिको बानी हो, अफसोसको कुरा यसमा निरन्तरता भने छैन। तर घर छोडेर परदेश लागेदेखि लग्भग दुई बर्ष लगातार चाँहीं अपबाद बाहेकका सबै सांझहरुमा आधा पन्ना मात्रै भएपनी दैनिकी लेखेको थिएँ। त्यो आज पल्टाएर हेर्दा लाग्छ ति प्रत्यक अक्षर मैले कुनै कलमको मसिले कागजको पानामा लेखेको नभएर बिदेसिनुको, एक्लो हुनुको र संघर्ष गर्नुको अत्यासपूर्ण समयको असह्य पीडाले बगाइदिएका अनगिन्ती आशुमा मानसिक तनाबको निब चोपेर जिन्दगीको छातीमा लेखिएको सर्बाधिक तिक्त दस्तावेज हो। जो जीवनकै बिछोडको भयानक कालखण्ड बनेर मलाई त झस्काइरहने छ नै मेरा

परिवार, खासगरी जीवनको जोहो गर्न बाध्यताबस् मैले उसबेला छोडेर हिँडेको दुधेबालकले समयको सुदुरमा बुझ्न सक्नेछ कि उसकी बिबश आमाले के कस्ता समय भोगेको थीइ,,उसैका उज्यालो भबिस्यका खातिर भनेर।

त्यही अत्यासपूर्ण समयको पन्ना पल्टाउने क्रममा आज दिनै भरी बेसन्चो शरिर र बिक्षिप्त मन  बोकी बिस्तारामा पल्टिएर एकसुरमा जीवनका जोडघटाऊ हिसाब गर्दै थिएँ। मनमा उठेका अनगिन्ती छालहरुले घरि घरि बिगत र वर्तमानका वारी र पारी भित्तामा लाँदै र ल्याउँदै मलाई बजारिरहे, पछारिरहे। अचानक  आफ्नोजागिरे जीवनको सुरुवात र पैसाको भूमिका सम्झना पुगेँ। पत्तै नपाई विगतको दैलो घरक्क उघारेर म सुटुक्क छिरेछु ति पुराना यादहरुको गुँडुल्कोमा ।
बाबा बित्नुभएपछी हाम्रो परिवारको न्यानो सहाराको पुञ्ज सदाका लागि निभेन मात्रै हामीलाई खासगरी म जो भर्खर किशोरअवस्थामा रम्दै गरेकी छोरीलाई जीवनको सबै भन्दा ठुलो धक्का लाग्यो। एकाएक अचानक चारैतिरबाट जीवनको दैलोमा तगारा र चुकुलहरु तेर्सिन थाले। अचानक छरछिमेकका सबै मेरा स्वघोषित अभिभाबक बन्न थाले  तर मेरो जिन्दगीको डोरी माथि तान्न  होइन कि बरु सकेसम्म खुट्टा तानेर तल झार्नका लागि। छोरी हुनुको पीडा र बाध्यता त्यसबेला मैले टड्कारो महसुस गरेँ किनकी म भन्दा हुर्केको दाइले त्यो ताडना भोग्नुपरेको थिएन ,,छोरालाई त्यसकिसिमको बार बान्देज लागेन ,लाग्नु जरुरी थिएन उनिहरुकै परिभाषामा। बिद्यालयबाट अली अबेर फर्कन नहुने, मन लागेको बेला आफुखुसी बजारतिर निस्किन नहुने,आफ्नै बार्दलिमा निर्धक्क कपाल फिँजाएर घाम ताप्न नहुने, साथीसंगी भाईबहिनी सँग दिल खोलेर खित्किँदै हाँस्न नहुने। यदी यसो गरेमा “राँड्का शाढ्” भन्दै कुरा काटेर मलाई भन्दा मेरो विवश बिधवा आमालाई नानाथरिका डर त्रास आसंका कानमा भरेर मानसिक यातना दिन्थे। जसबाट भयभित भै मेरी बिचरी अनपढ सोझी आमा सँधै रुँदै मलाई भन्नुहुन्थ्यो,”अब तिम्रा बाबा रहेनन्, गाउँलेले कुरा काट्छन्,अरुले भन्नु र तिमीहरुले गर्नु एकै भयो भने म पासो लागेर मर्छु।” म आमाको त्यो मानसिक तनाब देखेर बिक्षिप्त हुन्थेँ। ति अज्ञानी चिसा मनका गाउँलेप्रती मनमनै भुट्भुटिन्थेँ र आमा लाई आश्वासत पार्थेँ,”आमा म हजुरको शिर झुक्ने त्यस्तो केही काम गर्ने छैन।”

समय आफ्नै गतिमा चलिरह्यो। स्वघोषित ति डाहाडे अभिभाबकहरुको ताडना सहंदै मैले बिद्यालय शिक्षा पुरा गरेर अलिक टाढाको नवस्थापित उच्चामाबी मा ११ कक्षा पढ्न थालेँ। तिनताका हाम्रा तिर स्थानिय रुटका सवारीसधन सञ्चालित थिएनन्। सडकको पेटिमा उभिएर लामा रुटका बस ट्रक जीप जे आयो त्यसैलाइ हात हल्लाउंदै रोकेर ५ रुपैयाँ तिरेर कलेज पुग्नुपर्थ्यो। बिहानका कक्षा सञ्चालित उक्त १०+२ मेरो जीवनको दैलो उघार्नमा कोशे ढुङ्गो नै साबित भयो। तर प्राप्तिहरु जीवनका सबभन्दा कञ्जुस पाटाहरु हुन्। एकातिर आउँछ अर्को तिर हराउँछ। यता टाल्यो उता ह्वाङ्गै। यसरी तानतुन गरेर अपुरा प्राप्तिको मानो मुठी समेट्दा समेट्दै पनि जिन्दगीले कतै बाट जिस्क्याइरहेकै हुन्छ एउटा अपुरो कुनामा बसेर।
अध्ययन त थालेँ तर फेरी आर्थिक समस्या अगाडि तेर्सियो अभाबको अजिङ्गर बनेर। घरको आर्थिक  अवस्था र आमाको समस्या हेरी हेरी म आफ्नो नितान्त निजी जीवनको आगामी खुड्किलो खन्न कसैलाई अरु भार थप्न चाहन्नथेँ। त्यसैले बिहानको आफ्नो कक्षा सकेर बचेँको दिनभरिको समयलाई आर्थोपार्जनमा लगाउने सोच बनाएर दस तिर भनसुन गरेपछी गाउँकै प्राथमिक बिद्यालय(जहाँ मेरो शिक्षाको आरम्भ भएर ५ कक्षा सम्म चलेको थियो) मा गाबिसको निजी स्रोतबाट पारिश्रमिक् पाउने गरी २ बर्षको करारमा शिक्षिकाको जागिर पाउने भएँ। म खुशीको खबरले बाटाभरी एक्लै मुस्कुराउँदै घर तर्फ लम्किँदै थिएँ आमालाई सुनाउन भनी। बाटामा गाउँकै एकजना काका पर्ने स्वघोषित अभिभाबक सित जम्काभेट भयो। उनले खुशीले उद्दिप्त मेरो अनुहार नियाल्दै यती नमिठो ब्यङ्य प्रहार गरे,म तत्क्षण  हजार टुक्रामा बिभक्त भएँ। “बाबु बितेका जवान छोरीहरु एक्लै एक्लै मुस्कुराउनु भनेको कुनै पट्ठो(केटो) संग लहसिएको संकेत हो।” उनको आशय यस्तै थियो। मन त लाग्यो उल्टो हातले काकको गाला बजाइदिउँ तर केही नभनी सरासर घर पुगेर आमालाई सम्भाबित जागिरको बेलिबिस्तार  लगाएं।
पहिले त आमाको आँखामा खुशीको शप्तगण्डकी छचल्कियो फेरी बिस्तारै सुस्ताउँदै भन्नु भयो, “छोरी! तिमीलाई धपेडी हुन्न?? बिहान पढ्ने, दिउंसो पढाउने, पढ्ने ठाउँ पूर्व पढाउने ठाउँ पश्चिम। फेरी तलब पनि धेरै होइन बित्थामा तिम्रो ज्यान मात्र सुक्ने होकी!!”
आमाको आशँकाले म झस्किएं, हो त! पढ्ने एकातिर पढाउने अर्का तिर। भनेका बेला गाडी पाइन्न । सँधै एउटै समयमा आउनजान सकिन्न। आफ्नो घर छ बेसिमा ,जागिर गर्ने बिद्यालय आधा घण्टा उकालो हिँडेर माथि देउराली नेर पुग्नुपर्ने। तलब थियो मासिक १२५० रुपैयाँ। ; लाग्यो जागिर त नखाउंहोला, भोली टोक्नु न बोक्नु भयो भने!! म अनमनस्यक उभिरहेँ। फेरी झलक्क अघी भर्खर बाटमा स्वघोशित अभिभाबक काकाको ब्यङ्यबाण सम्झिएँ। मैले झन्डै चिच्याएर आमालाई भने,” आमा! म जागिर खान्छु!” मैले आमालाई सम्झाएँ जतिनै दु:ख भएपनी यो मेरो जिन्दगीमा आत्मनिर्भरताको सुरुवात हो। नानाथरी ब्यङ्यबाण हान्ने गाउँछिमेकका मुखमा बुजो लगाउने केही हद सम्मको भएपनी उपाय हो।
यसरी मैले जीवनमा पहिलो पटक आँफैले कखरा सिकेको प्राथमिक बिद्यालयबाट जागिरे जीवनको सुरुवात गरेँ मासिक १२५० रुपैयाँ तलब पाउने गरी।

जीवन अनवरत तर कठोर् यात्रा हुँदै चल्दै थियो। बिहानै झिस्मिसेमै उठ्नु, तयार भएर कलेज पुग्नु, सँधै अन्तिमको बिषय क्लास नलिकन हतार हतार फेरी भोकै जागिर गर्न उकालो लाग्नु, भोको पेटमा दिनभर चिचिला केटाकेटिहरु संग कराएर साँझ घर ओर्लिनु,अनी बिहानको खाजा दिउसोको खाना र बेलुकिको खाना एकैमुष्ट खाइओरी राती अबेर सम्म टुकिको धिप्धिपे उज्यालोमा आफ्नो अध्ययन सकाएर बाँकी समय निकालेर पत्रपत्रीका बाहिरी पुस्तक पढ्नु,र लहडैलहडमा कबिता कथा कोर्नु,,यही कार्यतालिका अनुसार मेरो त्यो दुई बर्षको जागिरे जीबन गुज्र्यो। मैले पढाउने उक्त बिद्यालय गाउको माथिल्लो भेगमा पर्ने हुँदा नजिकमा खाध्यपसल, चियानास्ताको पसल थिएन ,त्यो ठाउको हालत अझै पनि त्यस्तै नै छ त्यसैले म दिनभरी भोकभोकै रहन्थेँ शनिबार र अन्य छुट्टीको समय बाहेक। यती गरेर बल्ल प्रतेक चार महिनामा बिद्यालयका अन्य स्थाइ शिक्षकहरुको चौमासिक तलब निकासा हुँदा संगै मैले पनि चार महिनाको तलब एकमुस्ट ५००० रुपैयाँ पाउथें। त्यती पैसाकोलागी खाली पेटमा त्यसरी दौडिनु पर्दा जती आहत हुन्थेँ त्यतिनै गौरवान्बित महसुस गर्थेँ आँफैलाई कखरा सिकाउनुभएको गुरुहरु संग स्टाफ भएर भलाकुसारी गर्दा। त्यो धपेडिले जती गल्थेँ त्यतिनै शितल र आत्माभिमानको महसुस गर्थेँ ति स्वघोषित अभिभाबक हरु कतै जम्का भेट हुंदा, कामबश् बिद्यालयमा आउँदा हात जोडेर “नमस्कार मिस!” भन्दा। ति कुरौटे इर्श्यालु छिमेकिहरुले हात जोडेर नमस्कार गर्दा बिजयको आभा फैलिन्थ्यो मेरो अनुहारमा। म सबै धपेडी र थकाई भुलेर खुशीमा आल्हादित हुन्थेँ। अहिले फर्केर हेर्दा उसबेलाको त्यो कठोर दिनहरु र त्यती न्युन पारिश्रमिकको जागिर मैले पैसाको लागि कम् ति डाहाडे गाउंलेहरुको नमस्तेको लागि बेसी खाएँ हुँला।

आज समयले धेरै पल्टा मारिसकेको छ। जिन्दगीको पैया घुम्ने क्रममा त्यसपछी पनि धेरै साना ,मझौला जागिर खांदै धेरथोर पैसा पनि देख्दै आएँ। अहिले केही बर्ष यता यही पापी पैसाकै लागि परदेश भासिएको छु आम नेपाली झैँ त्यही एक हिस्सा बनेर। टाढिनु,एक्लिनु र छट्पटिनुको साथै मानविय सेवामूलक काम र चित्त बुझ्दो पारिश्रमिक पाइरहेको छु भलै मान्छेको मन भरिने पैसा कहीँ कतै छैन। यि दिनका कमाइका तुलना उ दिनका  कमाइ संग गरी  सयभग लगाउदा पनि त्यो समयको पारिश्रमिक एउटै लहरमा उभिन सक्दैन र पनि त्यो १२५० रुपैयाँ  मासिक को निमित्त मैले खर्चिएको जीवनको त्यो दुई बर्ष,त्यो दौड्धूप जतिनै कष्टकर होस् तर त्यही समय नै  मेरो जीवनको सर्वाधिक अहम कोशेढुङ्गो र एक गर्वानुभूतिको अवधि बनेर जिन्दगीको दस्तावेजमा खोपिएको छ। ति दु:खद दिनहरु, त्यो कष्टकर दौडाइ, ति कटाक्ष ब्यङ्यवाण,तिनैका मुलायम नमस्ते, त्यो जागिर र त्यही १२५० रुपैयाँ तलबले नै मलाई मानसिक रुपमा बलियो बनायो। आँटिलो बनायो। जीवनका सिरुपाते धारयुक्त गोरेटा हरुमा ठम्ठमी हिँड्न सिकायो। मलाई वास्तबमै आत्मनिर्भर र स्वावलम्बन बाँच्न सिकायो। आज बाध्यताबस् परदेशिएर कमाएको सुबिधा र उपार्जनको अगाडि पनि जीवनको त्यो क्षणको भोगाइ हरदम स्वावलम्बी मुस्कान छरेर मलाई छामिरहेकै छ।
आज किन किन म फेरी अनायासै   घरदेशको  त्यो गौरवान्बित  अनुभब र परदेशको नियास्रो कमाइलाई  जिन्दगीको तराजुमा राखेर जोख्दै जोखिंदै छु ,,मध्यपूर्बको यो सानो टुक्रोमा म जस्तै बिरामी लाग्ने एकान्त बिस्तारामा पल्टिएर ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *