–जीवन देवान गाउँले
विना योजना नै पोखराको भ्रमणमा निस्केका थियौ । अघिल्लो रातमा टुङ्गो लगाएर भोलीपल्टको नाईट समातेका थियौ र भुकभुक उज्यालोसँगै पोखरा नगरीमा हामीले पनि बसबाट आफूलाई खुत्रुक्क ओरालेका थियौ ।
प्राकृतिक गरगहनाले चिरिच्याट्ट परेकी पोखरा नगरीलाई चुम्न निस्कनु पछाडीको त्यस्तो कुनै प्रायोजन थिएन । खाली त्यहाको भुगोलसँग सात्क्षत्कार हुनलाई मात्र उत्साहित भएर सीम्रन र मैले पोखरा भ्रमणको निचोड निकालेका थियौ । तर, हाम्रो भ्रमणका जानिफकारहरुले पोखरा घुम्न निस्कनुको प्रायोजन देखेका थिए र हनिमुन यात्राको संज्ञा दिएका थिए । उनीहरुको तर्क थियो,– ‘यदी कोही नव–विवाहित जोडी पोखरा हान्निन्छन भने हनीमुन मनाउन कै लागि हो भन्ने बुझ्नु पर्छ ।’

पोखरा बसाईभरीको लागि लेकसाईडको एउटा यस्तो होटलमा बासको टुङ्गो लगायौ, जहाबाट मनोरम दृश्यको आनन्दपान पनि गर्न सकियोस । कोठा रोजेर बुक गर्दा नै रिसेप्सनको भाईले भन्यो,– ‘सरले जुन रुम रोज्नु भो त्यो हाम्रो होटलको ब्ज्ञ रुम मध्येको एउटा पर्छ ।’
रिसेप्सनको भाईले बढाईचढाई गरेपछि मैले सोधेँ,– ‘खास के छ त्यस्तो ?’ उसले पनि फुर्किदै भन्यो,– ‘त्यो रुमबाट फेवातालको दृश्य आँखामै टाँसिए जसरी देखिन्छ ।’
साच्चै रहेछ त्यो भाईले भनेको । हामीले रोजेको, उसले बताए अनुरुपकै विशेषता भएको कोठा रहेछ ।
झ्यालको पर्दा हटाउदा सीम्रनको नजरमा फेवातालको दृश्य टाँसिएछ, रोमान्चित कान्ति अनुहारमा टाँगेर उसले सोधी,– ‘मान्छेहरु फेवातालमा के देख्दाहुन र त्यसरी झुत्तिएका ?’
‘माछापुच्छ«े छायाँ ।’ सीम्रनको कुममा चिउडो टेकाउदै मैले भन्दिए ।
‘धन्य ! गीतको त्यति अंश चही कण्ठ गर्नु भा रहेछ ।’ भनेर सीम्रनले मेरो दिमागको उपेक्षा गर्न खोजी । त्यसपछि मेरो बोल्ने शैलीसँग परांगत भैसकेकी सीम्रनले भनी,– ‘कुन दिनमा प्रकाश श्रेष्ठले त्यो गीत गाईदिएछ र त्यतीपनि जान्नु भो ।’
‘गीतको माध्यमबाट पनि वास्तविकताको अभिब्यक्ति दिन सकिन्छ ।’ भनेर मैले तर्कको पाखुरा सुर्के,– ‘गीत सिर्फ भावना मात्रै पनि त हैन !’
‘कुरो न हो जता लगे नि हुन्छ, जसरी पुष्टी गरे नि हुन्छ ।’ भन्दै सीम्रनले असरल्ल फिजिएको कपालमा काईयो कुदाउन थाली । मैले उसलाई तानेर आफुसँगै सोफामा बसाएँ र उसको हातबाट काईयो खोसेर लिएँ अनि कपाल कोरी दिन थाले । सीम्रन मेरो जीउमा ढेपिएर बसी र मेरो कृयाकलापलाई मौन स्वीकारी । दुईचार सर्को काईयो कुदाई सकेपछि मैले बोलाएँ,– ‘सीम्रन !’
‘हँु…!’ सीम्रन फुसफुुसाई । मैले भने,– ‘हामी विच गएराती जुन घट्ना भयो त्यसकोलागि माफी चाहन्छु ।’
गएराती हामी विच जुन घट्ना भयो त्यो हामीले गरेको सहमती विपरिद थियो । सुहागको रात सीम्रन र मैले एउटा सहमती गरेका थियौ र त्यो सहमतीमा कटिबद्ध रहने प्रतिबद्धता गरेका थियौ । हनुसक्छ नव–विवाहित दम्पतीको हाकमा हामीले गरेको सहमती असामान्य र अब्यावहारीक होस् ।
कस्तो सहमती ? कौतुहलता लाग्न सक्ला । त्यो पनि बताउला ।
सामाजिक संस्कार र लोकको गवाहीमा हामी लोग्नेस्वाास्नीको नातामा घोषणा भएको पहिलो रात अर्थात सुहागको रात अनायसै मेरो शरिरले सीम्रनको शरिरसँग छुन पुगेको थियो । एउटै ओछ्यान भएपछि त्यति हुनु स्वभाविक हो । तर, सीम्रनले यो क्रियालाई लोग्नेको आगमन भन्ने बुझिछे त्यही भएर रोक्दै भनेकी थिई,– ‘सुन्नुस् त हामी अहिले नै बच्चा नबनाउने है !’
‘त्यो उद्देश्यले तिम्रो शरिर छोएको हैन ।’– आफुलाई सतर्क गराउदै मैले भनेको थिए । सायद ! म सरमले रातो भएको थिए, धन्न ! कोठाको अध्यारोले मेरो लाज छोपिदिएको थियो ।
‘अनि हातै लाएर किन चल्नु भा नि ?’ सीम्रनले मेरो हातका औलाहरु खेलाउदै भनेकी थिई । बोलीको लवज र क्रियाकलाप मार्फत लोग्नेको आगमन नै भएको भए पनि अनौठो हैन भन्न खोजिरहेकी थिई ।
‘चलाउनलाई हो र चलेको ? चल्न सक्छु भन्ने देखाउनलाई पो चलेको त !’ मैले आफुभित्र उब्जिएको आँशिक चाहना नढाटी बताई दिएँको थिए र भनेको थिए,– ‘फेरी लोग्नेले त्यतिपनि सक्रियता देखाएन भने दुलान फर्काउदा माईतमा गुनासाका कोसेली लान्छनरे ।’
‘मैले सिर्फ बच्चा मात्र अहिले नबनाउने भनेको ।’ सीम्रनले मलाई सम्झाउन खोज्दै भनेकी थिई,– ‘हामी रोकथामको विधी अपनाएर समाधान गर्न सक्छौ ।’
‘मतलव हामी जसरी पनि त्यो क्रिडाको आनन्द लिन सक्छौ, यही हैन ? त्यसो हो भने केवल यौन कुण्ठा साम्य पार्ने हेतुले मात्र म तिम्रो शरिरसँग खेल्न चाहन्न । यदी तिमीले भनेजस्तो विधी लागु गरियो भने त्यसले हाम्रो सोचाईमा बिखण्डन ल्याउन सक्छ र त्यसलाई हामी मनोरञ्जन प्राप्ती गर्ने खेलको रुपमा लिन सक्छौ । कालन्तरमा हामी त्यो हदसम्म पुग्न सक्छौ कि खेलाडी फेर्नुलाई पनि सामान्य ठान्न थाल्छौ ।’ यस सम्बन्धमा म कतिको स्पष्ट थिए ? थाहा छैन । तर, मलाई लागेको कुराहरु चाही यसरी बताईदिएको थिए,– ‘सीम्रन ! हामी पतीपत्नी हौ, अविभावक हुनलाई मान्यता प्राप्त हकदार हौ । त्यसैले हामीले हरेक क्रियामा सृजनाको उद्देश्य राख्नु पर्छ । हामी विच हुने क्रियाबाट नयाँ सृजना होस् भन्ने अपेक्षा लोकसमाजले समेत गरेको हुन्छ । अतः कुनै आकृति उतार्न सकिन्न भने म तिम्रो जीवनमा अर्थहीन रंग पोत्न चाहन्न ।’
‘यो मेरो प्रस्ताव मात्रै हो, निर्णय हैन, फैसला हजुरको हातमा छ ।’ भनेर मेरो हत्केला सीम्रनले आङ्खनो शिरमा राख्दै भनेकी थिई,– ‘हजुरको छायाँले मेरो कायाँलाई यसरी नै ढाकिरहोस जुगजुगान्तर ।’
त्यसपछि मैले सीम्रनको पक्षमा फैसला गरेको थिएँ । एकअर्काको शिर छोएर हामीले दृढ वाचा गरेका थियौ । अनि मेरो छातिलाई तकिया बनाएर सीम्रनले भनेकी थिई,– ‘हजुर मेरो जीवन, ईश्वर, भगवान, रक्षक, मालिक…मेरोलागि हजुर नै सबैथोक ।’
भोलीपल्ट ब्युझदा मेरो छाति छपक्कै भिजेको पाएको थिए । मैले गरेको समर्थनमा सीम्रनले आँशुको मुल्य चुकाएकी रहिछे । रातभरी रोएर सुन्निएको सीम्रनको आँखालाई त्यतिबेला परिवारका सदस्यहरुले चाही सुहागरातपछिको लक्षण मानेका थिए ।
हो हामीले यही सहमती गरेका थियौ अर्थात सन्तानको मोहलाई केहीबर्ष पर सारेका थियौ र बच्चा बनाउदा गर्नुपर्ने कृया नगर्ने संकल्प गरेका थियौ । तर, हाम्रो काँचो दिमागले कच्ची निर्णय गरेका रहेछौ भन्ने त गएरातीको घट्नाले पुष्टी गरिदियो र हाम्रो सोच अब्यवहारीक भन्ने पनि प्रमाणीत भयो । अर्को, हाम्रो पोखरा यात्रा पनि अप्रत्यासित रुपमा हनिमुन यात्रामा परिणत भएको थियो ।
‘जुन घट्नामा पीडित र पीडक भन्ने नै हुदैन भने, ठान्छु ! माफीको कुरै आउदैन ।’ भनेर घट्नाको जिम्मेवारी सीम्रन आफुले पनि लिई अनि भनी,– ‘सवारी साधान र चालकको मदहोसीमा घटेको घट्ना सम्झेर भुलीदिनु पर्छ ।’
‘तिमीलाई कुनै पश्चाताप छैन ?’ काईयो कुदाउदै गरेको हातलाई रोकेर मैले सोधे । सीम्रनले भनी,– ‘भै’सकेको कुरोमा पश्चाताप मानेर पो के हुन्छ ? मलाई आउने समयको चिन्ता लागिरहेको छ ।’
‘सीम्रन !’– कपाल कोरीदिने कार्यलाई पुनः निरन्तरता दिदै बोले, ‘१० बर्षको उमेरमा म टुहुरो भएँ, बा परलोक हुदा आमा ४० बर्षकी हुनुहुन्थ्यो ।’
‘जिन्दगीको आधि यात्रा मै सहयात्रीको साथ छुटेपछि बाँकी जीवन कति सकसपूर्ण हुन्छ होला है ?’ असमयमै विधुवा हुनेहरुको जीवनबोध गरी सीम्रनले । मैले भने,– ‘सायद ! तर आमा सधै भन्नुहुन्थ्यो हामी बा’को प्रतिछायाँ रे त्यहीभएर हामीलाई हेरेर चित्त बुझाउनु हुन्छ रे । सबै आमाबाबुले सन्तानमा आफ्नो अस्तित्व स्थान्तरण गरेर गएको हुन्छ त्यसैले हामी बाको आत्माको अंश पनि रे, भन्नु हुन्थ्यो ।’
‘सीम्रन… !’ म बोलिरहेको थिएँ,– ‘सत्यलाई आत्मासात गर्नु नै विम्वको उपदेयता हो कि ! मान्छु । ठान्छु ! अनुभव मात्रै सत्यको दसी हैन भने अनुभुतिमा पनि जीवन हुन्छ । जस्तो कि ! आमाले हामीमा बा’को विम्व पाउनु ।’
सीम्रनले मेरो छात्तिमा ढेसिएर जिऊ छाडी । म बोलीरहेको थिए,– ‘सीम्रन यो संसारीक नियमबाट तिमी र म पनि अछुतो रहन्नौ । ढिलो चाडो भन्ने मात्रै हो । एकदिन तिमी या मैले आफ्नो अस्तित्व स्थान्तरण गरेर जानै पर्छ र सन्तानको त्यही प्रतिछायाँले यादहरु मेटाउदै अनि भुल्दै जानु पर्ने हुन्छ । दुनियाँको रीत पनि यही हो ।’
‘हजुर विनाको जीवन म कल्पना पनि गर्न सक्दिन ।’ भनेर सीम्रनले डाको छाडी र मेरो छात्तिमा मुख जोतेर नयन जलले स्नान गराई दिई । केहीवेर रुन दिए पछि मैले सम्झाए,– ‘पगली ! म नै अगाडी जान्छु जस्तो लाग्यो ?’ त्यसपछि छात्तिमा लपक्कै टाँसेर बोले,– ‘सीम्रन ! अहिले नै काँहा भनेको हो र ? मैले धेरै पछि आउने समयको पो कुरा गरेको त । थाहा छ ! त्यतिन्जेलसम्ममा तिमी र म ब्यावहारले पनि परिपक्क भैसकेका हुन्छौ र त्यस्ता कुराहरुसँग अभ्यास्त भैसकेका हुन्छौ ।’
‘कास यो घडी भिष्मपीतामहसँग भएको अत्भुत शक्ति मसँग भएको भए …!’– हिक्हिकाउदै सीम्रनले भनी, ‘आफ्नो मृत्युको ईच्छा गर्थे र हजुरको काखमा प्राण पखेरु छाडिदिन्थे ।’
मैले बुझिरहेको थिए, उनी आवश्यकता भन्दा बढी भावनाको गहिराईमा डुब्दै गईरहेकी थिई, जसको कुनै सतहनै भेटिदैन । भावसागरमा डुब्दै गएको सीम्रनलाई रोक्न मैले भने,– ‘सीम्रन ! हिजो विन्दवासिनी मान्दिरमा तिमीले के माग्यौ ?’
‘हजुरको आयु ।’ भनेर आशुभरी नयनले म माथि नजराना गरी ।
‘धत् ! तिमी स्वार्थी ।’– बगिरहेको आशुको भेललाई बुढीऔलाले तर्काईदिदै मैले भने, ‘मैले त ऐना मागे ताकी तिम्रो अनुपस्थितिमा पनि तिम्रो विम्व देख्न सकु ।’
‘म कसरी स्वार्थी ?’– सीम्रन ठुस्किई, ‘के मैले बनाउदै नबनाउ भनेको छु र ? केही बर्ष धैर्य गरौसम्म त भनेको हु नि ।’
‘त्यो अर्थमा मैले स्वार्थी भनेको हो र ? मेरो आयु मागेकोमा पो स्वार्थी बनाउन खोजेको त ?’ भनेर ब्याख्या गर्न थाले,– ‘सीम्रन ! तिमीले कहिल्यै यो सोचेनौ कि तिमीले छाडेर गएपछि मेरो कुन हाल हुन्छ ? यही मात्रै सोच्यौ कि मैले छाडेर गए भने तिमीलाई गाह्रो हुन्छ, जुन तिमी कल्पना गर्न नै सक्दैनौ ।’
‘हजुर त छोरा मान्छे के गर्नु होला र ? दुईचार दिन शोक मान्नु होला, अलिदिन पछि अर्की ल्याउनु होला र नौली स्वास्नीको पोल्टोमा गुटुमुटु परेर मलाई भुल्नु होला !’– सीम्रन आफैले शंकाको थुनी बाली र आरिसको ज्वालामा सल्किदै भनी, ‘तर, म त मर्छु ।’
‘अझै पनि तिमी वास्तविकता स्विकार्न सकिरहेका छैनौ । सीम्रन ! भावना केवल भावना मात्रै हो, कहिल्यै ब्यावहारीक हुदैन ।’– म उसको मर्छु भन्ने फैसलार्को िवरुद्धमा उभिए, ‘हेर तिमीले जुन मर्छु भन्ने कुरा ग¥यौ त्यो भनेको मेरो मृत्युसँगसँगै सती जान्छु भनेको हो । यो सती जाने प्रथा ब्यावहारीक छैन भन्ने त २०० बर्ष अगाडी नै पुष्टी भएको कुरो हो । त्यसै भिमसेन थापाले सतीप्रथाको अन्त्य गरेका हुन र ?’
डोर बेल बज्यो । तर्कले मलाई जित्न सकिन तर हार पनि स्विकारीन । बरु यसो भन्दै सीम्रन ढोका खोल्न पुगी,– ‘कुरो न हो जता लगे नि हुन्छ, जसरी पुष्टी गरे नि हुन्छ ।’
ढोका खोल्दा होटलको भाई देखा प¥यो, ब्रेकफाष्टसमय भएको जानकारी गराउन आएको रहेछ । सीम्रनले पुन ढोक बन्द गरी । उनको रुवाई पूर्ण रुपमा थामीई सकेको थियो । हामी ब्रेकफाष्ट गर्ने र उताउतै फेवाताल घुम्नजाने सोच बनाएर त्यही किसिमको तयारीसाथ कोठाबाट बाहिरीयौ ।
â
दुई घण्टाकोलागि बुक गरिएको डुङ्गामा बस्ने निर्देशन गर्दै मैले भने,– ‘सीम्रन ! अव म तिमीलाई फेवातालको नौकाविहार गराउछु ।’
‘हजुरले …!’ भनेर सीम्रन झस्की,– ‘पहिला कहिल्यै चलाउनु भा छ ?’
‘छैन ।’– डुङ्गा पानीमा हेल्दै भने, ‘तिमीसँगको बिहे पनि मेरो पहिलो बिहे हो ।’
‘मतलब ?’– सीम्रन जंगिई । माहाभारतमा सीताले अग्नी परिक्षा दिए झै उ पनि जल परिक्षा दिन तयार भई,– ‘के मेरो चाही पहिलो बिहे थिएन ?’
‘अनि किन डराकी त ?’– पानीमा हाम्फल्दीन भन्ने जान्दाजान्दै पनि मैले सीम्रनको हात समाएर रोक्दै भने, ‘डुङ्गा चलाउनु जीवन चलाउनु जति कठिन हुदैन पो भनेको त ।’
‘हजुरले जोखिम मोलेर के देखाउन चाहनु हुन्छ ?’– सीम्रन फुलिईरहेकी थिई, ‘यही कि डुङ्गा खियाउने सीप छ ।’
‘हैन ।’– हप्प फुलिएको गाला मुसारीदिदै मैले भने, ‘डुङ्गा चलाएर पनि तिमीलाई पाल्न सक्छु भन्ने देखाउन चाहेको ।’
‘उस…!’– सीम्रनले मेरो हिम्मतको उपहास गर्दै बोली, ‘म पनि त्यति कमजोर छैन ताकी हजुरले पाल्न परोस् । एउटा ज्यानको लागि अरुको साहयता लिनपर्ने हिम्मतहारा केटी हैन, म पनि ।’
‘न मैले तिमीलाई कमजोर भनेको छु, न कि हिम्मतहारा नै, मैले कर्तब्यको कुरो गरेको ।’ तालको पानी बहनाले काट्दै भने,– ‘सीम्रन मेरो भरोसा गर र नआतीकन बस । क्यै भैहाल्यो भने पनि लाईफ ज्याकेट छदैछ ।’
डुङ्गा बरही मन्दिर छेउ पुगिसकेको थियो । बिस्तार बिस्तार डुङ्गालाई मैले नियन्त्रणमा लिदै थिए । मैले हौसिदै भने,– ‘सीम्रन ! भन डुङ्गा कतापटि लैजाऊ ?’
मैले डुङ्गा पार लगाउन सक्छु भन्नेमा बिश्वस्त हुन नसकेरै पनि सीम्रनले पारी भित्तो ताकी र भनी,– ‘ऊ त्यो किनार तिर ।’
सीम्रनले निद्रिष्ट गरेको दिशातिर डुङ्गाको टाउको घुमाउदै भने,– ‘ल अव मेरो काखनिर आएर बस र तिम्रो गन्तब्यमा कसरी पु¥याउदा रहेछु विचार गर ।’
सीम्रनले औल्याएको किनारमा डुङ्गा अड्याउदै मैले सोधे,– ‘अव त पत्यार लाग्यो होलानी ? कि अझै भरोसा गर्न सकिरहेकी छैनौ ?’
‘भरोसा भएरै त हो नि एकै बोलीमा हजुरको प्रस्ताव स्विकारेको ।’– सीम्रनले मगनीको दिन स्मरण गराई र सर्माउदै भनी, ‘आमाबाबुको वचन राख्नलाई मात्र त कसले पो जिन्दगीको फैसला गर्छ ?’
‘उसोभए म डुङ्गा अगाडी बढाऊ ?’ आफ्नो नाक आफैले घोक्राएँ । सीम्रनले टाउको हल्लाएर अनुमति दिई ।
किनार छेऊ छेऊ डुङ्गालाई उभोतिर बढाउदै लगे । सीम्रनले क्यामेरा झिकी । मेरो फोटो खिची । उसको खिच्न लगाई । त्यसपछि लेन्स आफुपट्टि फर्काएर हामी दुईजना कै खिची र एलसिडी स्क्रिनमा कैद आकृति देखाउदै भनी,– ‘यो फोटोलाई म फ्रेमिङ्ग गरेर हामी सुत्ने कोठामा टाँग्छु ।’
मैले क्यामेरा हातमा लिएँ र सीम्रनले भनेको फोटोलाई नियालेर हेर्दै सोधे,– ‘यो फोटोमा विशेष त्यस्तो के पायौ ?’
‘वरीपरी पानी नै पानी छ, विचमा छन् दुई प्राणी । त्यस्तो अवश्थमा पनि मेरो अनुहारमा न चिन्ता छ , न त्रास छ, न डर छ । कति निस्फिक्री देखिएकी छु म ।’ सीम्रनले एलसिडी मै फोटोलाई चुमी र भनी,– ‘यो फोटोबाट यही पाउछु कि हजुरको छत्रछायाँ रहिन्जेल जस्तोसुकै परिस्थितिको भुमरीले पनि मलाई डुबाउन सक्दैन ।’
सीम्रन कति भावुक केटी छे भने सानो–सानो कुरोमा पनि भावुक बन्छे र मलाई समेत कमजोर बनाउछे । तर म छोरा मान्छे हुनुको अर्थले आफुभित्र उब्जीएको भावुकता निर्धक देखाउन सक्दिन र भित्रभित्रै दवाउन बाध्य हुन्छु । उसैपनि छोरा मान्छे भएर रुनु हुदैन भन्ने त उक्ती नै छ नि ! अहिले पनि सीम्रनले मलाई झण्डै त्यो स्थितिमा पु¥याई ।
‘थाक्नु भो ?’– उनको भावुकताको असरले शिथिल हुदै गएको अनुहारलाई थकानको कारण ठानिछे । मलिन अनुहार बनाएर सीम्रनले भनी, ‘अर्को पनि बहना भएको भए म पनि खियाउथे ।’
सीम्रन जव भावुक बन्छे मलाई उसको हरेक वाक्य बहुअर्थी लाग्न थाल्छ । थोरै बोलेर धेरै भन्न खोजिरहेछ झै लाग्छ । त्यस्तो अवश्थामा म आफै पनि भावुकताले गिजोलिन्छु ।
‘सीम्रन !’– म भावुकता अलाप्न थाल्छु, ‘यो शुरुवात मात्रै हो, मेरो काधँमा हाम्रो जिन्दगीको डुङ्गा छ र त्यस डुङ्गालाई किनार लाउनु छ, त्यसैले अहिल्यै थाकेर धर पाउछु होला र ?’
‘म हजुरको बोझ हैन सहयात्री हुँ ।’ भनेर सीम्रनले एक अंञ्जुली पानी उघाई र मेरो अनुहार भरी छ्यापीदिई । मैले पनि उसरी नै पानी उघाएर छ्याप्न खोजे तर छ्याप्न नपाउदै सीम्रन काहालिई, ‘आम्मा…!’
एक्कासी सीम्रन तर्सिएपछि म झस्के । उघाईसकेको पानी त्यतिकै छाडिदिए । सीम्रन बोलीरहेकी थिई, ‘हामी धेरै माथि आईसक्यौ ।’
तव मैले पछाडि फर्केर हेरे । साच्चि नै फर्काउनु पर्ने स्थानबाट डुङ्गा धेरै अगाडी पुगिसकेको रहेछ । सीम्रनसँगको समिप्यताले मलाई कतिसम्म बेहोस बनाएछ भने डुङ्गा फर्काउनु पर्छ भन्ने तथ्यलाई समेत मैले भुल्न पुगेछु । मलाई बेहोसी पनि सीम्रनले नै बनाएकी थिई र होसमा पनि उसैले ल्याई । मैले डुङ्गा घुमाए ।
â
त्यसदिन त मैले सीम्रनलाई सकुशल नौकाविहार गराउन सफल भएको थिएँ । पानीमाथि डुङ्गामा तैरिएको जीवनलाई डुब्न दिन्न भन्ने उसको विश्वास र ममाथिको भरोसालाई डगमगाउन दिएको थिईन । तर त्यो ६ बर्ष अघिको परिस्थिति यतिबेला छैन । छ त विज्ञानको पहुचबाट समेत बाहिर गैसकेको स्थिति छ । यस्तो अवश्थामा मसँग कुनै अत्भुत शक्ति छ भने पनि त्यो शक्ति भगवानमा समर्पण गर्नु छ ।
भगवान छ कि छैन ? म जान्दिन । म जान्दिन भन्नु नदेखेकोले, नभेटेकोले हैन । नभेटिने, नदेखिने बस्तु हुदै हुदैन भन्ने पनि हैन । एउटा विश्वासमा भगवान होला किनभने मेरोसामु भगवानलाई विश्वास गर्नुको विकल्प नै छैन ।
‘हामीले गर्ने गरिसक्यौ, अव भगवानको भरोसा । रे !’– डाक्टर भएर यसो भन्न मिल्छ ? हामी चाही डाक्टरको भर पर्ने अनि डाक्टर चाही भगवानको ! सुन्दै कनसिरी तातिएर आएको थियो । ६ महिना मिति तोक्न सक्ने, मृत्यूको ठोकुवा गर्न सक्ने तर जिन्दगीको म्याद थप्न नसक्ने डाक्टर देखि कति क्रोधित भएको थिए हँुला ? आफुमाथि खस्ने बज्रपातको झिल्को देखेपछि आँखाहरु कस्तरी तिल्मिलाएका थिए होलान ? वास्तवमा डाक्टरको यो शब्द मेरो भाग्यमा चाबुक बनेर बज्रियो ।
‘डाक्टरसाव् ! अव उपचार गर्नुको कुनै तुक छैन त ?’– थरथरीएको बोलीमा यो प्रश्न गर्दा जीवनकै सबैभन्दा ठुलो डर महसुस गरेर शरिर कामिरहेको थियो । जीवनमा मृत्यू अनिवार्य सर्त हो भन्ने तथ्यलाई आफ्नै जीवनले आत्मसात गर्नु जतिको अरु कठिन सायदै होला ! मलाई यस्तै लागिरहेको थियो ।
‘भनिहाले नि भगवानको भरोषा गर्नुहोस ।’ त्यतिभनेर डाक्टरले मेरो हातमा रिपोर्ट थमाईदियो । त्यसपछि के भयो कुन्नी ? मेरो काधँमा हात राखेर डाक्टर बोल्न थाल्यो,– ‘सृष्टीको रचायीता नै भगवान हुन्, हामी त उनका लीला हौ र लीला एउटा भ्रम हो । साचो त हामी यस संसारमा आउदै मृत्युको तोक लागेर आएका हुन्छौ ।’
भगवानको भरोषा गर्नु ! काल पर्खिनु हो । सीम्रन त्यही काल कुरीरहेकी छिन, जसले उसलाई असमयमै म बाट छुट्याएर लादैछ । तैपनि मलाई पत्यार लाग्दै लाग्दैन कि यही उमेरमा सीम्रनको जिन्दगीको मिति पुग्न सक्छ ! तर कालको नजर परिसकेपछि, न खाउखाउ र लाउलाउ को २५ बर्षे उमेर भन्दो रहेछ, न रहर लाग्दो कलकलाउदो जोवन भन्दो रहेछ । त्यसैले भनिएको होला ! काल निष्ठुरी हुन्छ ।
काल निष्ठुरी मात्र हैन क्रुर पनि हुदोरहेछ, परेपछि थाहा भयो । जसले मलाई यति सम्म निरिह बनायो कि म पलपल घुँडा धसारेर त्यो क्रुरतासामु आत्मासमर्पण गर्दै भिख माग्थे, ‘हे दैव ! मान्छेले अल्पायुको पनि जिन्दगी भोग्न लेखेको हुन्छ भने सीम्रन कै ललाटमा किन लेख्यौ ? मेरो ललाटमा किन लेखेनौ ? मेरो पुकारमा अलिकति मात्रै पनि दया राख्न सक्छौ भने वही खाताबाट सीम्रनको नाम मेट र बदली लानु छ भने बद्लामा मलाई लैजाउ । किनभने सीम्रनको आँखामा यतिधेरै सपनाहरु छन, जहाबाट मात्रै म आफु बाँच्नुको सार भेट्टाउछु । त्यहिभएर सीम्रनको आँखाबाट उड्दै गएको सपनाको रंगहरु म टुलुटुलु हेरिरहन सक्दिन । यदी निभ्नै छ भने हामी दुवैको जीवनज्योती एकै घडीमा निभाई देऊ, के यसो हुन सक्दैन ?’
‘सक्दैन । यसो हुनलाई एउटा अनौठो संयोगनै पर्नु पर्छ र यो असम्भवप्रायः छ । तर, अन्यबाटो अंगाल्यौ भने कुलपितृले सराप्ने छ, लोक समाजले थुक्नेछ र अगतीको विशेषणले कलंकित हुनेछौ ।’– भनेर बोल्ने दैव थिएन । फेरी दैव बोल्ने कुरो पनि भएन । तर दैवको छाँया परिसकेको आत्मामा दैवीयशक्ति चढेको हुन्छ कि क्या हो ? नत्र मर्छु भन्ने पक्का भैसकेको आत्मामा यस्तो सहास कसरी आउछ ? निभ्नेबेलाको बत्तिमा दम कति हुन्छ ? उज्यालोको आयु पनि कतिनै हुन्छ र ? तैपनि अन्धकार चिरुला झै भुलुक्क बल्छ नि ! जस्तोः सहासिलो बनेर यतिबेला सीम्रन बोलीरहेकी छे र भनिरहेकी छे, ‘मेरो आँखामा देख्नुभएको सपना एउटा अंशियार सपना मात्रै हो । त्यो मेरो आफ्नै सपना हैन । खाली, हजुरको सपनाको पुरक सपना मात्र हो । त्यसैले मेरो आँखाको क्यानभाषबाट सपनाको रंग उड्दैमा हजुरको सपना फीका हुन्छ भन्ने हुदैन । हजुरले त एउटा सत्यलाई स्विकार गर्दै अरुहरु क्यानभाषमा सपनाको रंग भर्दै लानु पर्छ ।’
‘सत्य के हो त ? सीम्रन !’– भन्ने मेरो सोधाईमा सीम्रन भन्छे, ‘हजुरसँग वंशपरम्परा चलाउनु पर्ने जिम्मेवारी छ, संस्कार धान्नु पर्ने अभिभारा छ र यो सम्भाव छ । सत्य त्यही हो ।’
‘असम्भव !’– म झण्डैझण्डै चिच्याउछु, ‘सीम्रन ! के मेरो ठाउँमा तिमी भएको भए त्यही गर्थेऊ ?’
‘मेरो कुरै बेग्लै हो, मलाई(छोरीमान्छे) हजुर(छोरामान्छे) जस्तो यी सब गर्नलाई बाध्यता हुदैन ।’ भनेर सीम्रन मलाई सहमती गराउन खोज्छे र भन्छे, ‘हजुर फगत हजुर मात्तै पनि हैन, हजुरसँग हजुरको कुल, संस्कार, संस्कृति, समाज आदी जोडिएको छ । त्यसैले पनि हजुरले अर्को विहे गर्नु पर्छ ।’
सायद ! म पनि यस्तै जीवन बाँच्ने उर्जा दिन्थे होला, सीम्रनको ठाउँमा भएको भए । जीवनसाथीको रक्षार्थ डटेर लड्ने हुत्ती नभएपछि सीम्रन पनि मैले जस्तै आफुलाई कालको मुखमा अघि सार्थी होली, मेरो स्थानमा भएकी भए । ‘छाडेर जाँदैछु’ भन्दा ‘छाडेर जाँदैछ’ भन्ने भएपछि रुग्नेलाई किन यति गाह्रो हुन्छ ?
‘तेल रित्तिएको दियो भै सके म, ब्यार्थै हजुर सलेदो उकासेर उज्यालो खोज्नुहुन्छ ।’– भन्दै सीम्रन औषधी खान ईन्कार गर्छे । सही पनि हो, एक अर्थले तेल रित्तिएको दियोको सलेदो उकासेर उज्यालो खोज्नु सलेदोको अस्तित्व डढाउनु मात्रै हो । जाने मान्छेलाई बन्धन कसेर थप पीडा कष्ट दिनु हो । तर जुन दियो निभ्दा मेरो सारा जीवन नै अध्यारो हुन्छ भने कसरी म त्यो दियो निभ्न दिन सक्छु ? प्रयासहरु मिथ्या हुदै गए पनि कोशिष त गरिरहुन्छु नि ! त्यही भएर कहिले धामी लगाउछु, कहिले देवारी लगाउछु, कहिले बैदाङ्ग लगाउछु । मन्साउनु पर्ने मन्साउन लगाउछु, पन्साउनु पर्ने पन्साउन लगाउछु । यसो गर्दा पो हुन्छ कि ! उसो गर्दा पो हुन्छ कि ! ठान्दै जानिबुझीकनै असफल प्रयास गरिरहन्छु । र, औषधी खुवाउछु फकाउदै,– ‘सायद आस… । सीम्रन ! यो मान्छेको जात आस मै त बाँचेको हुदोरहेछ नि । त्यहि भएर जीवनको अन्तिम घडीसम्म पनि आस रहिरहदो रहेछ ।’
‘पीडा, दुःख, कष्ट, पीर, चिन्ता, अभाव, वेदना हरेक थोकले एकै चोटी आक्रमण गरेर हजुरलाई कंगाल बनाउदै लादैछ । यो जानेर पनि अव मैले थप बाँच्ने ईच्छा गर्नु हुदैन । मेरो गोधमा फूल फुलेको हेर्ने हजुरको ईच्छालाई निमोठ्ने म, सन्तानको जन्मिने अधिकारलाई हनन् गरेर हत्या गर्ने अपराधी म, तर हजुर चाही सजायको भागिदार किन ?’ भनेर एकदिन सीम्रनले मेरो हातमा पेन्कमको सिसी राखी दिई र काखमा टाउको बिसाउदै आग्रह गरी,– ‘कृपा गरेर यो हत्यारालाई मुक्ति दिलाई दिनोस् ।’
पेन्कमको सिसी आफ्नो हातमा देखेपछि मलाई कस्तो भयो होला ? त्यहीबेला थाहा पाएँ जीवनमा कतिपय अनुभावहरु अनुभुति गर्न सकिने खालका मात्रै पनि हुदारहेछन् । (यदी ब्याक्त गर्न सकिदो हो त म पाठकहरुलाई बताई दिने थिएँ ।)
पेन्कमको सिसी हातबाट हुत्याएर कडा रिस पनि देखाउन सकिन । तर, ‘तिमी पागल !’ चाही कत्रो साहस जुटाएर भने हुँला ?
‘मृत्यू अन्तिम अवस्था हो, त्यो अवस्थामा पुगिसकेकोलाई पागल देख्नु वास्तविकतालाई स्विकार गर्न नसक्नु मात्रै हो ।’– सीम्रनले मेरो हत्केलामाथि अवस्थित पेन्कमको सिसी अवलोकन गरी । एकछिन खेलाई र भनी, ‘यो वहायक मुक्तिको अर्कोबाटो देखिन मैले । फेरी म’मा त्यो ईच्छाशक्ति पनि त छैन नि ताकी आफ्नै मृत्यूको ईच्छा गरु ।’
‘सीम्रन ! क्यान्सर तिम्रो मृत्यूको कारण नभएर एउटा निहु मात्र हो । तिम्रो गर्भपतन गर्नु, त्यसपछिको बच्चा अडिन नसक्नु, पछि गएर पाठेघरमा क्यान्सर देखापर्नु यी सबै संयोग मात्र मान्छु । यदी गर्भपतन र पाठेघरको क्यान्सरलाई नै तिम्रो मृत्यूको कारण मान्ने हो भने प्रमुख जड हामी विच भएको सहवास नै हो र हो नै भने, तिम्रो मृत्युको कारक म हुँ । लोग्नेस्वास्नीमा समभोग जायज हुन्छ भन्ने जान्दाजान्दै पनि सुरक्षित सम्पर्क नस्विकार्नु मेरो दोष हो । संयमता गुमाएर बौलाहा हुने पनि मै हुँ । त्यो पोखरा घट्नाको परिणामलाई तिमीले स्विकारेकी हौ । जन्माउछु भन्दाभन्दै पनि तिमीलाई गर्भपतन गराउनेसम्मको सोच बनाउन मैले के सम्म भनिन ? तिमीले नईच्छाएको बच्चा हाम्रो हुदैन भने, म मेरो सन्तान हैन हाम्रो सन्तानको ईच्छा गर्छु भने । तिमीले हाम्रै सन्तान मान्छु भनेर मञ्जुर हुदा पनि समयक्रममा ‘तेरो सन्तान’को वचन लगाउन सक्छौ रे ! पुङ्ग न पुच्छरको आदर्श वकलत गर्ने कहाँसम्मको घमण्डी म ?’– मैले पेन्कमको बिर्को खोले र सीम्रनलाई काखबाट उठाउदै भने, ‘हामीले जो ग¥यौ त्यो क्षम्य नहुने अपराध हो भने तिमीभन्दा बढी अपराधी म हुँ र यो अपराधबाट मुक्त हुनुपर्छ भने मैले हुनुपर्छ । तिमी त उसैपनि जादैछौ, मुक्तिको अन्तिम बाटो यही हो भने यो बाटो म समात्छु ।’
मैले पेन्कमको सिसी उठाएँ । हतपत सीम्रनले सिसी हुत्याईदिई । विषाक्त पेन्कम भुईभरी पोखियो ।
सीम्रनले मलाई छात्तिमा टाँसी र बहुको कसिलो बन्धनमा बेर्दै बोली, ‘मर्न पनि चैनले दिनुभएन ।’
‘सीम्रन ! जतिदिन तिमी बाँच्छौ त्यतिदिन म पनि तिमीसँग चैनले बाँच्न चाहन्छु ।’– भनिनसक्दै मेरो गला दवियो, र सट्टामा हृदय भक्कानिएर मूलफुट्यो । सीम्रनले पिठ्यु मुसारेर थमथमाईदिई । लामा–लामा जिङग्रिङ्ग परेको कपाल खेलाई दिई, ठाडा–ठाडा जुङ्गादाह्रीको जंगलमा औलाहरु कुदाई दिई र गालामै सुक्दै गएको छाला दुईऔलाले च्यापेर तान्दै सोधी, ‘यो बेचैनी नभएर के को प्रतिक हो त ?’
अनि, ६ महिना बाँच्ने भनिएको आखिरी महिनाको एकदिन…
बिस्तारामा सीम्रन लेटेकी छे, जुन बिस्तारालाई हामीले लोग्नेस्वास्नीको रुपमा भोग गरेका थियौ, जुन बिस्तारामा पल्टिएर हामीदुईले भविश्यको कल्पना गरेका थियौ, मिठामिठा सपनाहरु बुनेका थियौ । म तकियानिर बसेर सीम्रनको गाला मुसार्दै छु । मेरो हातले कहिले उसको निधार छाम्न पुग्छ, कहिले नाडी छाम्न पुग्छ । ठिक सामुन्यको भित्तामा फ्रेमिङ्ग गरिएको ठुलो फोटो झुण्डाईएको छ, जुन फोटो पोखरा भ्रमणताका फेवातालको मध्यभागमा सीम्रनले खिचेकी थिई । आँखाको नानी आँशुको पोखरीमा डुबेकोले होला ! फोटो भित्रको आकृति ढिलपिल ढिलपिल हुदै गएको देखिदैछ ।
सीम्रन एकछिन पनि मलाई उसको आँखाबाट ओझेल पर्न दिन्न । म पनि उसलाई आँखा चिम्लीन दिन्न । निदाउन खोजी भने बोलाई हाल्छु, ‘सीम्रन !’ । उ आँखाको पलक उचाल्दै गिज्याउछे, ‘मरी कि जिउदै छे भनेर बोलाउनु भा हो ?’ । म नचाहिदो नबोल्न भन्छु । उ उसैगरि खिल्ली उडाउछे, ‘के दिग्दार मान्नुहुन्छ ? अव छिट्टै मेरो वाक्यबस्दैछ, अनि त हजुरको सीम्रन बोल भन्दा पनि बोल्दिन ।’
सीम्रन बोली रहन चाहन्छे । तर उसको कुरो गराईमा सिलसिला भत्किदै गएको पाउछु । यसरी मधौरोले भिमलिएर बोल्नु निकोहैन भन्छन् । मलाई भयाङकर अध्यारोले छोप्दै ल्याएको भान हुन्छ । म पनि धैर्य क्षमता गुमाउन पुग्छु ।
‘अव घण्टा, मिनेट, सेकेण्ड गर्दै म त मरिहाल्छु ।’ नाख ठोक्किदै गएको स्वरले सीम्रन भन्छे र पुलुक्क मलाई हेर्छे । म उसको नयनमा विलाउदै गएको सपना देख्छु ।
‘म पनि बाच्दिन सीम्रन ।’– भन्छु । लाग्छ ! म बोल्छु मात्रै, केही सोच्नै सक्दिन ।
सामुन्य भित्तामा टाँगिएको फ्रेमिङ्ग फोटोलाई हेर्दै सीम्रन भन्छे, ‘त्यसबेला यो फोटोको गलत ब्याख्य गरेछु मैले ।’
‘त्यतिबेलाको अवस्थामा सही थियो ।’– म उसको जस्तो कुरोलाई पनि साथ दिन्छु किनभने उ सँग साथ लागेर हिड्ने समय सिद्दिदै छ ।
‘उसोभए समय स्थिर रहेन छ, अहिले म यो फोटोमा अर्कै ब्याख्य भएको पाउछु ।’ भन्दै सीम्रन दविएको स्वर निकाल्छे,– ‘वरीपरी पानी नै पानी छ, विचमा छौ हामी । म डुब्दै गैरहेको छु र मलाई बचाउन सक्ने कुनै तागत दुनियाँमा बाँकी छैन । यस्तो अवस्थामा पनि मेरो अनुहारमा न चिन्ता छ, न त्रास छ, न डर छ, एउटा सत्य स्विकार गरेर कति निर्ढुक्कसँग डुब्दै जादैछु म । अनि हजुर चाही बचाउने उपाय छैन भन्ने जानीबुझी पनि मलाई उतार्ने असफल प्रयास गर्दैहुनुहुन्छ । त्यस्तै देखिन्छ नि ?’
म टाउको हल्लाएर ‘अँ’ भन्दिन्छु ।
‘उदाउदै गरेको घाम हेर्ने कत्रो ईच्छा थियो नि हजुरको ?’– भन्छे । म उसैगरी टाउको हल्लाएर ‘हो’ भन्दिन्छु । ‘तर, म डुब्न लागेको घाम ।’ भन्दै हाँसी दिन्छे । अनि फेरी भन्छे,– ‘म पनि कस्तो बुद्दु ! घाम उदाउने भनेकै अस्ताएपछि पो हो त नि ?’
फेरी पनि म टाउको मात्रै हल्लाई दिन्छु ‘अँ’ ।
‘मैले हजुरको ईच्छा पुरा गर्न सकिन तर अर्को जुनीमा छोरी मान्छे भएर जन्मिए भने हजुरकै सन्तानको आमा बन्छु ।’ भनेर मेरो हातले आफ्नो शिखा छुवाउछे । म उसको हत्केला चुमिदिन्छु ।
‘सारंङकोटा डाँडाबाट सूर्यदय हेरेको बिहान हजुर कति पुकलित हुनुभा’थ्यो थाहा छ ?’ उ सोध्छे ।
‘थाहा छ ।’ बलैले मेरो आवज निस्किन्छ ।
‘के थाहा छ ?’– उ मलाई बोल्न कर गराउछे ।
‘म पुकलित भएको थिएँ ।’– खस्न लागेको आँशु लुकाउदै भन्छु ।
‘कसरी ?’– म पुकलित भएको विषय उसलाई मात्र थाहा भए जस्तो गरेर उ सोध्छे, ‘कसरी ? कसरी ??’
‘हामी दुवैजना झुल्केघाम हेर्न आतुर थियौ । कसले पहिला देख्ने ? भन्ने होड थियो । त्यतिनैबेला तिमी खुशीले उफ्रियौ,– ‘उ घाम !’ अनि …।
‘अनि हजुरको दुवैहातले अंगालो हाले जस्तो गरेर मेरो तल्लोपेट मुसार्नु भो, चिउडो मेरो काँधमा टेकाउनु भो र कानैमा मुख जोडेर फुसफुसाउनु भो,– ‘खोई ?’ । त्यसपछि सीम्रनले बिस्तारै हात उठाएर मेरो नाकको टुप्पो तानी र भनी, ‘अघिल्लो रात हजुरले मेरो कोखमा आँखा गाढेर ‘मलाई घाम झुल्किएको हेर्ने ईच्छा छ ।’ भन्दा नै मैले बुझिसकेको थिएँ कहा र कुन घाम उदाएको हेर्न चाहनुहुन्छ ।’
सीम्रनको बोली टुङिन छाडेको थियो । आँखा टोलाउदै जाँदै थियो । अनुहारको भाव भंङ्गी पनि गल्दै गैरहेको थियो ।
‘सीम्रन ! अझैपनि तिमीसँग मेरो एउटा ईच्छा छ ।’– निधारमा हात राखिदिएर मैले भने ।
‘भन्नुन ।’– सीम्रनले लामो सास तानी । मुटु गाँठो पारेर मैले भने,– ‘सीम्रन ! मलाई लाग्दैछ, हाम्रो समय छोट्टिदैछ । त्यसैले तिमीसँग छुट्टिनु पहिला मेरो नाम तिम्रो बोलीमा सुन्ने ईच्छा छ ।’
‘हजुरको अर्धाङ्गीनी भएर नाम काढ्ने हिम्मत गर्न सक्दिन म । यतिन्जेलसम्म मैले अफ्नो धर्म छाडिन अव मर्नेबेला अरु पापको बोझ नबोकाउनुस्…।’– सीम्रन अरु बरबराउन खोज्दैथिई । ‘तिमीलाई गाह्रो हुदैछ’ भनेर मैले उसलाई धेरै बोल्न दिईन । बरु अनुरोध गरे,– सीम्रन ! प्लीज मात्र एकपटक मेरो नामले बोलाई देउ ।
मेरो हातले सीम्रनको मुख थुनिएको थियो । उसले हात उठाएर मेरो हात पन्साउन खोजी तर आफ्नै हात उठाउन सक्षम भईन । दुवै आँखाको चेपबाट तरक्क आँशु बगाई । मैले बुझे उ केही भन्न चाहन्छे । मैले उसको मुखबाट आफ्नो हात हटाईदिए । त्यसपछि सीम्रन बोली तर आवाज पुरै भासिई सकेको थियो । उसले चालेको ओठको चालबाट यस्तो उच्चारण हुन्थ्यो– सु..यो..ग ।
‘सुयोग !’ यही भयो सीम्रनको अन्तिम बोली । उसले मेरो नाममा राखेर आफ्नो प्राण पखेरु उडाई । म उसको छात्तिमा ढल्न पुगे र जोडले चिच्याएँ, सी…म्र…न…!
त्यसपछि के भयो ? थाहा भएन । होस खुल्दा आफन्तहरुबाट घेरिएको थिएँ, अगाडी सेतो कपडाले ढाकिएको लास लमतन्न परेर सुतेकोे थियो र सिरानी छेउमा दियो बलिरहेको थियो ।
बोधे ः ९ धनकुटा
हाल ः मलेसिया
१७ अगष्ट २०१०
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *