– हाङयुग अज्ञात

आज
यी शासक र उनीहरूले बनाको
नीति नियम ऐन कानुन भन्दा  
अलिपर कुनै ठाममा
गएर बाँच्नु खोज्दैछु
यशोधरा !
मलाई माफ गर फेरि एक खेप
फेरि एक खेप तिमीले आँसु पिउनु पर्छ
कि फेरि एक खेप मैले मानिसहरूलाई
सप्पै विसंगति र दम्भहरूबाट मुक्त गर्नू छ !
अलिपर कुनै एकान्तमा
हेर ! मैले बुन्नु छ
मानिसहरूको मष्तिस्कमा
छ्याप्छ्याप्ती पौडी खेलिरहेका
भाइरस सोचहरू समात्ने समय जाल
र प्रतेकलाई नयाँ जीवन दिनू छ
नयाँ जीवन = बराबर/अ-बराबर 
अव्यवस्थाहरूको व्यवस्था (क
अ सिद्धान्त हरूको सिद्धान्त (ख
नाकहरूको क्रितिपुर न्याय (ग
दस लिम्बुवान सत्र थुमको संविधान (घ
डोल्पा रोल्पाको नुन संघर्ष ( ङ
बेरोजगारहरूको भिसा अनुमोदन (च
जस्तै त हो :
छालाको कुरा
रङ्गको भेद
जात र भातको सत्ता
नाता र कृपाको जागिर !
र त
मलाई जान देऊ त्यो ठाममा
मैले नयाँ जीवन दिनू छ
रिक्सावाल ठेलावाल भट्टीवाल
मजदुर किसान
दलित पिडित प्रतेक सीमान्तवर्तीहरूलाई
आदिबासी जनजाति प्रतेक हेपिएकाहरूलाई
म मूलबासी
आज नीति नियम ऐन कानुन
सप्पै मिच्नु छ मैले,
एलेक्जेन्डरहरूको भूतहरू
सप्पै थिच्नु छ मैले,
प्रतेक मानिसहरूको मनबाट
निकाल्नू छ
पृथिवीनारायणका चोर औंलाहरू !
कि योगदान दिनू छ राष्ट्रलाई
कि म बाँच्नु यौटा योगदान हो
कि राष्ट्र म हुँ अबदेखि
नीति नियम ऐन कानुन
सरकार संविधान सप्पै म हुँ अबदेखि
१) अब शहीद हुने पालो उनीहरूको
२) अब अपाङ्ग हुने पालो उनीहरूको
३) अब बेरोजगार हुने पालो उनीहरूको
४) अब विदेश पलायन हुने पालो उनीहरूको
५) अब आरक्षणमा बस्ने पालो उनीहरूको
६) अब शरणार्थी हुने पालो उनीहरूको
२४० वर्षदेखि झुक्याइरहेका छन् उनीहरूले
अ) कान्छाको डम्फूलाई बज्नुबाट रोकेका छन् उनीहरूले
आ) गुमानेको सारंगीलाई रेटिनुबाट रोकेका छन् उनीहरूले
इ) ठूलेको ढोल झ्याम्टालाई झन्किनुबाट रोकेका छन् उनीहरूले
ई) साइँलाको पिपिरी पातलाई बज्नुबाट रोकेका छन् उनीहरूले
उ) गुभाजुको धिमेलाई रन्किनुबाट रोकेका छन् उनीहरूले
ऊ) काइँलाको च्या-ब्रुंगलाई गुन्जिनुबाट रोकेका छन् उनीहरूले
अब प्रतिबन्धित हुने पालो उनीहरूको
अब आतंककारी हुने पालो उनीहरूको
अब साम्प्रदायिकताको आरोप लाउने पालो हाम्रो
अब बिखन्डनकारीको आरोप लाउने पालो हाम्रो !
यशोधरा !
मलाई माफ गर
मलाई जान देऊ
मैले तिम्रो मात्रै होइन
प्रतेक मानिसहरूको उद्धार गर्नू छ
ढुङ्गाको चेपमा जरा चेपिएर
हुर्किनु नसकेको रुखलाई माटो दिनू छ
ढुङ्गा फुटाउनू छ जडताको,
तेतिन्जेल तिमी
मेरो विचारलाई खेलाउँदै गर
अब म जान्छु
त्यो दराजबाट काङसोरेको खुकुरी झिकेर
मेरा यी हातमा राख 
प्रिय ! यशोधरा
२-४ जनाको घाँटी मात्रै हो
राष्ट्र आफै बन्छ
संविधान पनि बन्छ !!
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *