– श्रीकृष्ण आचार्य

सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेश मा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झ्ण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ।

नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झ्ण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झ्ण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएकै छ। हाम्रा सम्पूर्ण वैदिकवाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन्। पहिलेका राजाहरूले आफ्नो राजवंशलाई सूर्य-वंश वा चन्द्र-वंश मान्दै आएका थिए। वि.सं. ७९२ (संवत् १५९) मा राजा जयदेव (द्वितीय) ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु-कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन्।

लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झ्ण्डामा पनि सूर्यको आकृति नै अङ्कित गराएको हुनुपर्छ। त्यतिवेलाका भारतीय राजाहरूले आफ्ना झ्ण्डाहरूमा उच्चताको प्रतीकका रूपमा गरुड वा हनुमानका चित्रहरू अङ्कित गराउँथे। त्यसैले उनीहरू हनुमद्-ध्वज वा गरुड-ध्वज भनेर चिनिन्थे। लिच्छविकालमै नेपालको राजसत्तामा आएका आभीरवंशी अधिनायकहरूले आफ्नो वंशलाई सोम-वंश वा चन्द्र-वंशको रूपमा चिनाउँथे। आभीर अधिनायक विष्णुगुप्तद्वारा वि.सं. ६९० (संवत् ५७) मा प्रसारितअभिलेखमा आफूलाई सोमान्वय-भूषणः अर्थात् चन्द्रमाको वंशका गहनाजस्ता भएर रहेको उल्लेख गरेका छन्। मल्ल राजाहरू पनि लिच्छविजस्तै आफ्नो राजवंशलाई सूर्य-वंश मान्ने हुनाले उनीहरूले पनि ध्वजमा सूर्यलाई नै अङ्कित गरे होलान्।

प्राचीन नेपालका राष्ट्रिय ध्वजाहरूको आकृति र रङबारे पनि निश्चित भन्न सकिँदैन, राजाहरू प्रायः देवीका उपासक हुने गरेकाले झ्ण्डामा रातो रङ नै प्रयोग गरे होलान् भनेर अनुमान गर्न चाहिँ सकिन्छ। मल्लकालका भवन र मन्दिरका ढोकाहरूमा दुईतर्फ दुई पताका भएका धातुका केतु वा झ्ण्डा टाँगिएका पाइन्छन् जसले नेपालका प्राचीन झ्ण्डाहरूको आकार सङ्केत गर्छन्। यस्ता झ्ण्डामध्ये केहीको माथिल्लो पताकामा राष्ट्रको प्रतीक सूर्य वा चन्द्रमा र तल्लो पताकामा सम्बद्ध देव वा देवीका प्रतीक-चिह्नहरू पाइन्छन्।

वर्तमान नेपालको राष्ट्रिय-झ्ण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन। गोरखाली राजाहरू आफूलाई चन्द्रवंशीय सम्झ्न्थे। गोरखालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी नेपाल-अधिराज्य बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय-झ्ण्डाको परिकल्पना गरिएको थियो। मुद्रा र छापहरूमा रातो रङ प्रयोग हुने भएकाले त्यस्ता छापहरूलाई लालमोहर भनियो। पृथ्वीनारायणले प्रचलनमा ल्याएको चन्द्र-सूर्याङ्कित झ्ण्डा पनि रातो नै थियो होला।चन्द्रमाको ज्योति मलिनो र सूर्यको प्रकाश चर्को हुने भएकाले पौराणिक मान्यताअनुसार आकाशमा चन्द्रमा माथि र सूर्य तल मानिँदै आएका छन्। नेपालको राष्ट्रिय झ्ण्डामा त्यही मान्यता कायम भएको हो। पृथ्वीनारायण शाहका अनुयायीहरू यही झ्ण्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिए। पृथ्वीनारायणदेखि सुरेन्द्रविक्रम शाहको राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झ्ण्डा नै फहराइन्थे। प्राइममिनिस्टर जङ्गबहादुर कुँवर राणाले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिए। उनका भाइ प्राइममिनिस्टररणोद्दीपसिंह कुँवर राणाको प्रशासनकालसम्म राणा प्रधानमन्त्रीका महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।

राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्यवीरविक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वीवीरविक्रम शाहलाई सुरक्षाको बहानामा प्राइममिनिष्टर रणोद्दीपसिंहले नारायणहिटी नजिकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमारणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्राइममिनिस्टर वीरशमशेर कुँवर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ। वि.सं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झ्ण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झ्ण्डा विशिष्ट सानका साथ फहराइरहेको छ।
(साभारः हिमाल खबरपत्रिका)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *