– क्षेत्रप्रताप अधिकारी

माटो बिक्रीमा छ 
पानी बिक्रीमा छ 
राम्रो बलियो बहादुर
बानी बिक्रीमा छ ।
जहाँ छ, जस्तो छ अवस्थामा
ढुङ्गोमुढो, खोलानाला
निरिक्षण गर्न सकिनेछ
ढल बग्ने बागमतिदेखि 
जल बग्ने कर्णालीसम्म
एक्मुस्ट सकार्नुपर्नेछ
निजिकरणका बिरोधीहरुलाई
सकेसम्म हकार्नुपर्नेछ
क्रेताबिक्रेता मिलीजुली
बढिसेबढी डकार्नुपर्नेछ
राष्ट्रहितलाई ध्यानमा राखेर
घटि बोलकबोल पनि स्वीकार्न सकिनेछ
कमिसनको पोल खुलेमा
बोलपत्र बिगार्न पनि सकिनेछ
सामान्य सर्त यिनै हुन्
पूर्ण बिबरण भेटमा ।
स्वाभिमान बिक्रीमा छ 
सुसंस्कार बिक्रीमा छ
सुशील सभ्य शालीन
नमस्कार बिक्रीमा छ ।
प्रजातान्त्रिक मूल्य र मान्यता
संबिधानमा सुरक्षित छन्
बिचरा शिशु प्रजातन्त्र । 
यसैको नाममा ब्रम्हलूट गरिएको छ
यो ज्यादै बहुमूल्य निधि भएकोले
क बर्गको बिक्रीसूचीमा दरिएको छ ।
अनि मानबअधिकार पनि त्यस्तै हो –
प्रतिपक्षले गडबड गर्न आँटे भने
मानबअधिकारको तगारो तेर्स्याइदियो
आफूले नरसंहार गर्नुपर्दा
गोली हानेको होइन 
यसको छिर्कोले लाग्यो भनेर दमन गरे भैहाल्यो
सत्तासञ्चालनको प्रभाबकारी यन्त्र
यो पनि क बर्ग कै सूचीमा समाबेश छ । 
अब आयो शन्तिसुरक्षाको कुरा
यो ज्यादै जटिल प्रश्न छ – 
शान्ति बिरोध होइन, समर्थन हो
शान्ति युद्ध होइन, बुद्ध हो 
शान्ति भएन भन्नेहरु नै
अशान्ति मच्चाउँछन्, अशान्ति कस्ले किन्छ ?
अनि कस्ले कस्को सुरक्षा गरेन ?
बलियाले निर्धाको सुरक्षा गरेन होला 
यो त स्वभाबिक कुरो हो 
निर्धाले बलियाको प्रतिकार गर्न सक्दैन
त्यसैले यो सुरक्षाको बिषय पनि
बिकी गर्ने कुरो आएन
यसलाई साझा शान्तिसुरक्षाको नाममा
बलियालाई नि:शुल्क दिने सूचीमा राख्या छ । 
अनुत्पादक राष्ट्रियताको नारा
बिरोधीको मागिखाने भाँडो भयो 
यसलाई लिलामी सूचीको ख बर्गमा राखिएको छ ।
त्यस्तै अस्मिताको सवाल – 
बुद्धिजिवीले उठाउने सवाल भएको छ
यसलाई पत्रुको सूचीमा लेखिएको छ ।
देशप्रेमीहरुको प्रेमले पनि
मित्रराष्ट्र चिढ्याउने काम भएको छ
अर्थ न बर्थको भाबुक प्रेम
पिकासोको कलाजस्तै अमुर्त प्रेम
यसबाट मोटो रकम हात लाग्न सक्छ
यसलाई क बर्गको सूचीमा पार्नुपर्छ ।

हिमाल बिक्रीमा छ
नेपाल बिक्रीमा छ
ॠणम् कृत्वा घृतम् पिवेत् 
नेपालीको कपाल बिक्रीमा छ । 

  

(करिब १५ बर्ष अघि प्रकाशित क्षेत्रप्रताप अधिकारीको कबिता संग्रह ‘नफुलेका फूलहरु’ मा संग्रहित गरिएका उत्कृष्ठहरु मध्येका एकमा पर्ने ‘लिलाम बढाबढको सूचना’)
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *