केहि दिनदेखिको लगातार परेको झरीले इजरायलको मरूभूमिलार्इ चिस्याईरहेको थियो । भर्खरै सकिएको गर्मीको अनुभूति मत्थर हुन नपाउँदै यसरी अकस्मात बढेको चिसोले मन त्यति खुशी थिएन । गर्मीमा खोलिएका झ्यालका त्रिसहरू बन्द गर्ने समय नै भएको थिएन सायद । र त विहानभरि परेको पानीका बझिटाहरू मेरो झ्यालको त्रिस नाघेर भित्रै शिशामा समेत टक्टकिन्थ्यो ।

हरेक दिन उस्तै उठबस, साहु बाजेलाई उठाउ, नुहाईधुवाई अनि व्रेकफास्टको लागि डाइनिङ् टेवल । जब ब्रेकफास्टका लागि हामी डाइनिङ् टेवल घेर्थ्यौ अनि मात्रै विहानको दर्शन भेटका कुराहरू हुन्थ्यो । रातभरको सुताई, निद्रादेविको कहानी, सपना विपनाका तितामिठा कुराहरू गरेर ब्रेकफास्ट सकिन्थ्यो ।

 

हुन त आफ्नो भाग्य पनि उस्तै होला ! या आफ्नो सोचले निम्त्याएको अवसरको खोजीले मिलाईदिएको जिन्दगीको एउटा पाटो होला । या भनुँ समयको कालचक्रमा जिन्दगीलाई रेटाउँदै हुईँकिएपछिको अवस्था पनि होला । मेरो इजरायलको बसाईमा अहिलेसम्म कुनै त्यस्ता घटनाहरू घटेनन् जस्ले मेरो मानसपटललाई गिराओस् । यसो भनुँ, अहिलेसम्म भाग्यले राम्रै बाटो देखाईदिएको थियो । जब कि म मेरो आफ्नै बुवाआमाको अधिनमा नरहने मान्छे, विदेशी पुँजीपतिहरूको अधिनमा सायदै रहन सक्थे होला । फेरि पनि इजरायलको प्रवेशसँगै मानविय मुल्य र मान्यताहरूको वकालत गर्दै अगाडि बढ्ने क्रममा तिनै इम्प्लोयर भनाउँदाहरूको वाह वाही र स्यावासीमा यतिका दिनहरू काटिसकेको थिएँ । अझ अगाडि भनुँ जब मैले किबुज सादमा रहँदा मेरो कवितासङ्ग्रह “असूचित विम्ब–ध्वनि” प्रकाशन गर्दाको सुखद क्षणमा मेरो इम्प्लोयरकि श्रमति माल्का, जस्ले मलार्इ लेख्न र अध्ययन गर्न सधैँ उत्प्रेरित गर्थिन्, को मुखैबाट मैले तलाईँ के सहयोग गर्न सक्छु? भन्ने कोमल पुष्पाञ्जली शब्दका गुच्छा पाउँदा म साह्रै माग्यमानी रहेछु, ठान्दथेँ । दास, दासत्व, मालिक अधिनायकत्व, अहँ म कहिल्यै स्विकारिन र स्विकार्दिन पनि । अरू माथिथुपारिन र थुपार्दिन पनि । मलाई मानिसहरू बीचको यो भेद तल्लो र उपल्लो दर्जा सानैदेखि मन पर्दैनथ्यो । मैले सानैदेखि यस्ता अधिनायकवाद, पुँजीवाद वा विस्तारवाद अपनाउने शक्तिहरूदेखि साह्रै घृणा लागेर आउँथ्यो । अमेरिकामा कालो जातिहरूमाथि गरिएको दासप्रथा र नेपालको तराईभूमिमा राखिएका दासप्रथामा केहि फरक पाउँदिनथेँ । अमेरिकाले काँचुली फेर्यो । कालाहरू पनि सेताहरू सरह भएर आए । तर नेपालमा धेरैपछि दासत्व हटेर गएको लिखित पास भो तर मैदानमा तिनै कमारकमारी राखेर तिनैमाथि अधिनायकत्व देखाउनेहरू भने जस्ताको तस्तै छन् ।म वास्तवमै पेसाले शिक्षक वा मेडिकल पर्सन वा धेरथोर एक्काईसौँ शताव्दीको टेक्नोलोजीमा समर्पित कम्युटर अपरेटर वा इन्फर्मेशन टेक्नोलोजीमार्फत सूचना तथा समाचार प्रवाह गर्ने मेडियटर र अझै अगाडि भन्नुपर्यो भने साहित्यिक फाँटबाट नेपाली भाषा साहित्यलाई बढावा दिन अग्रसर साधारण साहित्यमा रूचि राख्ने साहित्यअनुरागी भन्दा हुन्छ । तर नेपाली हुनुको पीडा, कर्मको खोज या चारोको खोजीमा इजरायल भित्रिएको ४ बर्ष वितिसकेको अवस्था थियो । मलाई जहाँसम्म हेक्का थियो कि यहुदीहरू हिटलरबाट पीडित भएकाहरू हुन् । यिनीहरूमा सहने शक्ति प्रचुर हुनुपर्छ । केहि हदसम्म हो रहेछ पनि । तर पछिल्लो पुस्तामा यहाँका नव यहुदीहरूलाई साँच्चै हिटलरको खाँचो परेकै हो कि भन्ने अनुमान लगाउन पछि पर्दिनथेँ म कहिलेकाँही । किनकी कति घटनाहरू नेपालमै घटेको पनि ताजै छ । जब माओवादी जनयुद्धकालमा अन्नपूर्ण वेसक्याम्प गएका इजरायली साथीहरूले तिनैका बन्दुक खोसेर तिनैको टाउकोमा बजारेर उनिहरूले उठाएका दस्तुर नतिरी हिडेका थिए । त्यो एउटा मात्रै घटना थिएन, धम्पुस, नाउडाँडाका रेस्टुरेन्टहरूमा टन्न कोकाकोला पियो अनि पैसा सोधे, ढुवानीको समस्या भएकाले महँगो हुनु स्वभाविकै थियो । तर उनिहरू भन्थे -पोखरामा १५ मा पाइन्छ यहाँ किन २५? यस्तै कड्केर १५ मात्रै तिरेर हिडेका थुप्रै घटनाहरू मानसपटलबाट हराएको थिएन र हराउँदैन पनि । तर एउटा कुरा अहिले म इजरायलमा भएकै नाताले सोच्छु कि इजरायलमा सबै ठाउँमा उत्तिकै मुल्य तोकिएको हुन्छ किनकी ढुवानी सजिलो छ र त नेपालमा त्यसरी कड्केका होलान् भन्ने लाग्यो र त्यो एक तरिकाबाट सकरात्मक जस्तै पनि लाग्दैछ । 

केयरगिभरको रूपमा ईजरायल प्रवेश गर्दा नै मेरो मन खुशी थिएन । वाध्यताको भुवँरीबाट बाहिर निस्कन नसकेपछि जन्मथलो छाड्नै पर्नेरहेछ । केयरगिभर शब्द सुन्दा सेवादायी मन ढुक्कले फुल्नुपर्ने तर खै किन हो इजरायलमा होम वर्करको रूपमा भित्रिइने केयरगिभरको अर्को रूप भएकाले पनि होला सायद मेरो मन अँध्यारोमै रूमल्लिएको ।

आएका बर्ष करीव साढे तीन महिना साँच्चैको केयरगिभर मात्रै भएर बसेँ । अनि घरमा दुबैथरि हुनुपर्दा झण्डै नेपालनै पुगेको थिए । जब कि त्यतिबेला म इजरायल छिरेको साढे पाँच महिना मात्रै भएको थियो । फेरि पनि मानवजडित हृदय रहेछ, बाँच्नुको आशासँगै जीवनका केहि सुनौला रङ्हरू पोतिँदारहेछन् । हरेक नराम्रा घटनाहरूका पछाडि राम्रो पनि छायाँ बनेर उभिईरहेको हुदोरहेछ । र त फेरि तिनै बाध्यताका घडिहरूसँग पैठेजोरी खेल्दै अझै पनि इजरायलमा बसुँ र केहि गरेर नै फर्कुँ भन्ने लागिरहको छ ।

पछिल्लो पटकको मेरो भाग्यरेखा इजरायलमा पछि आएका भारतीय यहुदी बाजेकोमा कोरियो । शुरूका दिनहरूमा विहान आयो काम गर्यो फर्क्यो । मानौ सजिलो मात्रै होइन सजिलै थियो भन्छु म । केहि हप्तापछि एउटा नयाँ अफर, फेरि अर्को गर्दै गर्दा दिनरात यहि बस्नुपर्छसम्म अफर गर्न भ्याइन मेरो साहुनी बज्यैले । तैपनि के गर्नु यो जाडोमा तेलअभिवको चिसो खाँदै विहानै अर्धचेतमा उठेर कामतिर हिड्नुभन्दा भन्ने लागेर दुबैथरि मिलेर कुरा गरेपछि मेलमिलाप भो ।

अब यी भारतिय मास्टरमाइन्डका सँकुचित सोच भएको मेरो साहु बाजे कहिलेकाँही दिमागी हालत विग्रँदो अवस्थामा पुगेको हुँदोरहेछ । साँच्चै पहिले यति राम्रो कुरा गर्थो कि काला भारतियहरूको पनि यति राम्रो सोच जस्तै लाग्थ्यो भने अहिले दिमाग सुस्ताउन थालेपछि मलाई नै हेय दृष्टि लगाउन पछि पर्दैन ।

  दुःखहरूमा हरेक समय साथ दिएर उस्को अशक्त जीवनलाई सहज र सरल बनाउँने क्रममा कैयौँ पटक उ मलाई हकार्थ्यो । कुनै कारण नभैकन पनि बेला बेलामा कुर्लन्थ्यो । फेरि पनि नेपाल र नेपाली हृदय कहिल्यै उ प्रति विपरीत वा नराम्रो दृष्टि राख्दिनथेँ र त्यसो गर्न मेरो पेशा र नैतिकताले पनि दिदैनथ्यो । उसो त उ उमेर पुगेको र अशक्त मान्छे, म उसको असहज परिस्थितिलाई सहज बनाउन पठाइएको देवदुत । त्यसैले पनि म उ प्रति सधै इमान्दार बनिरहेँ र इमान्दारिता नै मेरो कर्तव्य थियो, छ र रहिरहनेछ ।त्यसो भन्दैमा पनि कतिसम्म सहन सकिन्छ भन्ने कुराले मलाई भित्र भित्रै निचोरिरहन्थ्यो । फेरि पनि आफ्नो कर्म, भाग्यरेखाहरूको सिमाङ्कन गर्दै उसैप्रति सदभाव राख्नुमै मेरो महानता हुन्थ्यो र राख्थे पनि । त्यति हुँदाहुदै पनि त्यो चिसो भरिएको साँझ, जब सूर्यले धर्तीलाई पछाडि पारिसकेको अनुमान, रात्री अन्धकारले पृथ्वीलाई नै छोप्ने शुर गरिसकेको थियो, यहि समयमा उसँगको सानो भनाभनमा एक्कासी मलाई नोकरको सँज्ञाले भन्यो “तँ जस्ता नोकर अरू पनि पाइन्छ” ।एकपटक त म साँच्चै अन्धकारको शिकार बनिसकेको थिएँ । मनभरि अनेकानेक सोचका काला बादलहरू मडारिए । आफ्नै जिन्दगी देखेर फेरि घृणा लाग्न थाल्यो । हृदयभित्रै तिखा काँडाहरूले कोपिरहे जस्तो दुखाई महशुष भो । आफ्नै प्रतिष्ठादेखि घृणा जाग्न थाल्यो । आफुले उ अशक्त भएको प्रति देखाएको सदभाव, सम्मान, सत्कार सबै सबै पलभरमै चकनाचुर बनेँ । मनभरि घृणाको ज्वाला दन्किरह्यो । किन किन भित्री मन रोईरह्यो । जति सम्झाउँदा पनि मन थाम्नै सकिन र भनिदिएँ “यो तेरो सोच ६० बर्ष पुरानो छ, अहिले सँसारमा कुनै पनि नोकरचाकर छैनन् । तँ इन्डियन भएकाले उहि सोच बोकिरहेको रहेछस् । तेरो ईन्डियामा ब्रिटिशले गरेको निरङ्कुशताको नोकरवाद तेरो दिमागबाट हटेकै रहेनछ । यत्रो ६० बर्ष इजरायलमा बसेर पनि इजरायली मानविय मुल्य र मान्यता तेरो दिमागमा पसेको रहनेछ । यदि त्यसो हो भने आजै तैले भने जस्तो नोकर खोजेर ल्याउँदा हुन्छ । म तैले भने जस्तो नोकर बनेर बस्न सक्दिन ।”मेरो कुराले उस्लाई कतै छोएछ क्यारे, धेरै बेर घोरिएर बस्यो । मैले फेरि सोधेँ “के छ विचार, ममीजीसँग कुरा गरूँ?” मैले यति भनिरहँदासम्म उस्ले “ठीक छ ठीक छ” मात्रै भनिरह्यो । अनि मलाई मेरो प्रतिष्ठाको कुराले नबोलिरहन दिएन । अनि फेरि उसैलाई अगाडि राखेर भने “मेरो बारेमा सोच्नु पर्दैन, म शुरूमै नेपाल जान तैयार भएको मान्छे हुँ र मैले भनिसकेको पनि थिएँ । अहिले, कुनै पनि बेला म नेपाल जान तैयार छु । यदि तैले मेरो प्रतिष्ठामा यसरी तुषारोपात गर्ने हो भने म मेरो प्रतिष्ठा गुमाउन चाहदिन । मलाई तुरून्त जवाफ दे ।”

मैले यति भनिरहँदा साहु बाजे टाउको निहुराएर बसिरहेका थिए । अनि एक्कासी बोली फुटाए “सरी मैले केहि नसोचि बोलेछु, अब भन्दिन । कहिलेकाँही मलाई अकस्मात के हुन्छ हुन्छ, म मेरो श्रीमति र छोराछोरीहरू माथि पनि यस्तै रिस पोख्छु ।”

भन्न त उस्ले मसँग सरी भनिसकेको थियो । आफुले बोलेको कुरालाई लुकाउन छोराछोरी माथि पनि हैकम चलाउँछु भन्दै थियो । फेरि पनि मेरो मन कहाँ स्थिर हुन सक्थ्यो र! कर्मलाई धिक्कार्दै केहि समय स्तव्धतामै गुजारेँ । फेरि मेरा केहि सपनाहरू छन्, तिनै सपनाहरूको आधार बन्नेहरूका लागि र आफ्नै सँरचनामा बनेका केहि सपनाहरूलाई अगाडि बढाउनु पर्ने बाध्यतासँग मितेरी गाँस्नै पर्ने थियो ।

मैले एक्लै सोचिरहेँ “हो म नोकर हुँ, केयरगिभरको विल्ला बोकेर इजरायलमा भित्रिएको र समयले बनाएको नोकर । वाध्यतासँग पिछिडिएर यिनै अशक्तहरूको जीवन रक्षा गर्ने भगवानको रूपमा स्विकारिएको नोकर । यसो भनुँ आफ्नै मान मर्यादा हुँदा हुदै पनि इजरायली भूमिले बनाएको एक कर्मठ नोकर” ।दिनभरि सूर्यको किरण रहुन्जेल सबैले आफुलाई सुरक्षित महशुष गर्छन् । अनि निर्धक्क भन्न सक्छन् कि म सँसारमा सबैभन्दा बलियो छु । तर..,, जब सूर्यलाई पृथ्वीले क्षितिजबाट आफ्नो गर्भमा लुकाउँदै जान्छिन, अनि त दिनभर कुर्लिएका/उर्लिएका शक्तिशाली मनका बाँधहरू पनि भत्किइदै जान्छ । सायद यो ममा लागु नभएको भनेर त भन्दिन । तैपनि यो दुरावस्थामा म मनैदेखि आफ्नो भविष्यको अँधकार रातहरूमा चन्द्रमाको शितलता खोजिरहेको हुन्छु । अँधकार रातमा जूनेली प्रकाश बनेर धिपधिपाउँने मेरो कर्तव्य सधैँ जिवित रहला वा नरहला तैपनि म गर्वका साथ स्विकार्छु म अँधकारमा उज्यालो दिन सक्दिन होला, चन्द्रमाको उज्यालो छेक्ने काला धव्वा बनेर चन्द्रमालाई कुरूप बनाउन सक्छु तर तिनै चन्द्रमाका काला दागहरू, काँडाहरूबीचमै फक्रिएर फुलेको गुलाव हुनसक्छु ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *