अन्तर्राष्ट्रियरुपमा प्रदान गरिने पुस्तकहरूको नम्बर (ISBN) लिन पछिल्लो समयमा लेखक तथा प्रकाशकको आकर्षण बढ्दै गएको छ । ISBN प्रदान गर्ने नेपालको एकमात्र एजेन्सी त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा प्रत्येक दिन उक्त नम्बर लिनका लागि लेखक तथा प्रकाशकहरू आउने क्रम बढ्दै जान थालेको पुस्तकालयले जनाएको छ ।

पुस्तकहरूको अन्तर्राष्ट्रियरुपमा प्रचार गराउन सकिने उक्त नम्बर वितरण कार्य सन् १९६८ मा जर्मनीबाट सुरु भएको हो । उक्त नम्बर सुरुवात गराउने श्रेय लन्डनका जे हृवाइटकर र अमेरिकाका आर आर वोउकरलाई दिइन्छ ।हालसम्मको तथ्याङ्कअनुसार जर्मनबाट सुरु भएको अन्तर्राष्ट्रिय नम्बर वितरण १६३ भन्दा बढी देशमा विभिन्न एजेन्सीमार्फत् वितरण भइरहेको केन्द्रीय पुस्तकालयका कर्मचारी नारायण न्यौपानेले बताउनुभयो ।

सुरुमा जर्मनबाट सुरु गरिए पनि सन् २००५ देखि यसको मुख्य कार्यालय लन्डनमा रहेको उहाँले जानकारी दिनुभयो । नेपालमा २००१ देखि प्रदान गरिएको उक्त नम्बर लिनेहरूको सङ्ख्या २००१ देखि २०११ -हालसम्म) सम्म वाषिर्करुपमा क्रमशः ९४६, १०८३, १३४२, १७१५, १८७१, २३०५, २३५३, २६८७, २७३६, ३०२८ र ३३८१ रहेको केन्द्रीय पुस्तकालयले जनाएको छ । पुस्तकको शीर्षक, पुस्तकको लेखक, प्रकाशन संस्था, पेज सङ्ख्या, मूल्यलगायतका विषयहरू समावेश गरी प्रदान गरिने उक्त नम्बर २००७ सम्म १० अङ्कको भए पनि २००७ यता आएर १३ वटा अङ्कहरूमा प्रदान गरिन लागिएको छ । सुरुमा उक्त नम्बर लिनका लागि रु २५ लाग्ने गरेको भए पनि एक वर्षयता आएर उक्त मूल्यलाई रु १०० कायम गरिएको छ । साहित्यिकलगायत विभिन्न विषयसँग सम्बद्ध पुस्तकहरूका लागि आइएसविएन लिन लेखक तथा प्रकाशकहरू केन्द्रीय पुस्तकालय आउने गरेका छन् ।

पछिल्ला समयमा साहित्यतर्फका विभिन्न पुस्तकहरूमा ISBN नम्बर लिन सर्जकहरू बढी इच्छुक देखिन थालेको बताउने नेपाली साहित्यमा एमफिल तहमा अध्ययनरत् विद्यार्थी टङ्कप्रसाद गैरे उक्त नम्बर प्राप्त गरेपछि पुस्तकको अन्तर्राष्ट्रियरुपमा चिनारी हुने भएका कारण पनि त्यसप्रति सर्जकहरूको आकर्षण बढ्दै गएको बताउनुहुन्छ ।

पुस्तकहरूको अन्तर्राष्ट्रिय रुपमा चिनारी दिने उक्त नम्बरबाट आफ्नो कृतिको परिचय हुनुका साथै नम्बर प्रदान गर्ने त्रिवि केन्द्रीय पुस्तकालयमा नम्बर लिएपछि आफूले रचना गरेको पुस्तकको प्रति अनिवार्य बुझाउनुपर्ने भएका कारण युगौँसम्म आफ्ना रचनाहरू पुस्तकालयमा सुरक्षित हुने भएकाले पछिल्लो समयमा आएर साहित्यिक पुस्तकहरूका लागि ISBN लिनेहरूको आकर्षण बढेको हो ।
[स्रोत : रासस]

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *