एउटा त्याँन्द्रो आयुभित्र

एउटा शौभाग्य मानवजीवन पाएको रहेछु,

यो पल

मस्तिष्कमा बिहानी उदाउँदै  गर्दा

चेतनाको घामले म धपधपी रापिंदै छु

म हजार बर्ष बाँच्दिन

त्यसैले

म हतारमा छु, साथी ! म हतारमा छु ।

 

मेरा नलीखुट्टाका रक्तकोषहरू

सुक्न नपाउँदै,

हजारौं भञ्ज्याङहरू छिचोली सक्ने

इरादा कसेको छु ।

मेरा आँखाका दानाहरू नचाउरिंदै

यो क्षितिजको ब्रम्हाण्ड पुरै नियाल्ने अठोट गरेको छु ।

समय र मेरो कुस्ती जारी राख्न

मेरा कर्मका गोडाहरू

उफारिरहेछु ,

म हजार बर्ष बाँच्दिन

त्यसैले

म हतारमा छु, साथी ! म हतारमा छु ।

 

यहाँ कति मान्छेहरू जन्मन्छन् अनि मर्छन्

कोही भूसुना भएर मर्छन्

कोही पशू भएर मर्छन्

मान्छे भएर जन्मिएपछि

मान्छे नै भएर बाँच्दैं

मान्छे भएर मर्न पाउने

सच्चा कर्म खोज्दैछु,

म हजार बर्ष बाँच्दिन

त्यसैले

म हतारमा छु, साथी ! म हतारमा छु ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *