तीस सालतिरको कुरा हो पढाईको क्रममा मैतिदेवी चोक नजिकै डिल्लीबजारमा डेरागरी बस्दा ठिमीदेखि ज्यापु दाईहरु खर्पनमा तरकारी बोकेर चोक चोकमा ल्याएर बेच्ने गर्थे । मेरो अविभावकका रुपमा त्रिचन्द्र कलेजमा अध्ययनरत मेरा दाजु मलाई बिहानै साग किन्न पठाउनु हुन्थ्यो । चोकमा पुगेर तरकारी बेच्दै गरेको ज्यापुदाईलाई सागको भाउ सोधनीमा मेरो प्रश्न हुन्थ्यो, “साग मुठाको कसरी दाई ?” उसको जबाफ हुन्थ्यो, “छ…स्का”। बिना सम्बाद अन्दाजैअन्दाजमा म उसलाई दुइमुठा साग लिदै एक रुपैया दिन्थे र उसले मलाई एक मोहर फर्काउथ्यो । चालिस सालतिर आएर उसले खर्पन छाडेर साइकलमा तरकारी ल्याउन थाल्दा दुइ मुठा साग टिपेर “थुकेँया गुली?” भनेर म सोध्नसक्ने भएँ र उ पाँच मोहर भनेर जबाफ दिन सक्ने भयो । पचास सालतिर आएर उसले चोकमै एउटा सटर भाडामा लिएर खोलेको तरकारी पसलमा गएर दस रुपैयाँ सम्मको काउली लिदा दिदा हामी दुबै भाषामा सम्बाद गर्न पूर्ण सक्षम भैसकेका हुन्छौ ।

आजकल पसल राखेको घर उ आफैले किनिसकेको छ र काउली पनि किलोको हिसाबमा किनबेच हुन थालेको छ । हालसाल ठिमीको लोकल काउली किलोको कसरी भनेर सोध्दा उसको जबाफ हुन्छ “वन्ली सेबेन्टिफाइब रुपिज” ।

-अतित मुखिया
काठमान्डौ, नेपाल ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *