हिउँदे ठिटिले लखेट्यो हामीलाई।
मलिन र हावा मिसिएको घाम थियो बेथाञ्चोक नारायणथान। हिमालको जगजगी थियो। मनै अँगालिहाल्ने ति हिमाल अनेक पाटामा रङ, स्पर्श र अनुभूतिको बिछट्टै घोलघाल थियो।
दक्षिण देखिएका सुन्दर फाँट र तराईली समथर। उत्तरतिर हुनसम्म ठडिएका शुभ्र र श्वेत हिउँचुलिको बथानमा हाम्रा कविमन हुनसम्म एकोहोरिएर व्याख्यानमा जुटे।

निकै कष्ट र दुरुह पाइलासाथ पुगिएथ्यो बेथाञ्चोक। काभ्रेको सो सुन्दर महाभारत लेक आँफैमा सुरम्य छ; आकर्षक छ र हार्दिक छ। लेखक र सिर्जनाकर्मिका हेराइले त्यसलाई गर्ने अनुभूती कस्तो हुन सक्छ? यही प्रिय भाव सोची संयोजन गरेथ्यो तेस्रो आँखा र साहित्य सञ्जाल नेपालले।

जे-जसरी उक्लेथ्यौ- अब त्यो भन्दा झन हतारो भयो। हिउँदे छोटा दिन। घनघोर जंगल, हामी नौलापौला। सबैलाई पहाड उक्लिनुको सुखद, सहज र पूर्ण ज्ञानको अभाव। अनी त फर्कदाको झटपट नगरि नहुने कुरो निम्तालुको मुखबाट सुन्न पाइयो।

८५ को संख्यामा देशका अनेक भेगका प्रतिभा र रचना शिल्पिसँग अन्तरंग हुन पाइयो। साहित्यको एउटा बलियो अपनत्व के हुन्छ भने यसले आयामिक रुपमा जोडेको हुन्छ। धर्म, संस्कृति र जातियताको उदार संस्कारमा साहित्यिक क्षितिज निर्मित हुने गर्छ। त्यसको ऐन थियो यो ‘बेथान्चोक पर्यटकिय साहित्यिक यात्रा’मा।

पूर्वमा ईलामदेखी नातो गाँसिएर पश्चिम मुस्ताङअको सेरोफेरोमा फैलिएका उम्दा सर्जकहरुको एउटा जिज्ञासु भेला झै थियो यो काव्य मेला। धादिङ, नुवाकोट, गोर्खा, काठमाण्डौ, दोलखा, काभ्रे, सिन्धुपाल्चोकका लेखकहरु चिन्नेजान्ने चाहनाले अभिप्रेरित देखिन्थे। यसैगरी झापा, मोरङ, रुपन्देही र सुनसरिसम्मका सिर्जनशिल हृदयको उभ्याइ थियो यहाँ।

गुराँसे चौर झरी नसक्दै बिहानदेखी कविता, गीत र गजल भट्याउँदै हिँड्ने कवि-जमात छिरलबिरल भैसकेथ्यो। उच्च पहाडी स्याँठ र निरन्तरको वायु प्रहारले गर्दा नांगो थियो बेथान्चोक नारायणको लेक। जनमन जुटेर बनाएको भ्युटावर युद्दका बेला ढ्लाए रे क्रान्तिकारीहरुले। ‘हामी देश हात मात्रै पारौ न, यस्ता

टावर दिनदिनै बनाउँला’ भन्थे ऊ बेला लडाकु।

एकजना गाउँलेले सुनाएको कुरो सम्झना छ।

‘महिनौ दिन लगाएर यो फलामे मोटो पाइप मरितरी बोकी ल्याएथेँ। साह्रै दु:ख र सकसले टावर ठड्याइएथ्यो। जंगलका गुरिल्लाले ‘बम बनाउने’ भन्दै पाइप लगे। बमैले तलका ऐना पछारे। हुँदा- हुँदा कुर्सी पछारे । तर यो डाँडाको टावर उठाउने कोही कतै बाट झुल्किएन।’

निर्माणका निम्ती ‘पूर्ण ध्वस’ भन्ने ढँटुवारेका नारा मैले नि एक पटक फेरी सम्झें।

हामी थुप्रै कविहरुले युद्दकालिन त्यो उत्तानचित भ्यु टावर पोस्ट धेरै तल बाट पनि हेर्यौ। फेसबुकमा भेटिने यन्त्र संसारका थुप्रै झिल्केमिल्के मनहरु यतिबेला निकै सम्वेद्य र कोमल अनुभूत हुन्थे। शायद युद्दले ढालाएको सुदुर्-स्थिती र पारीणामलाई परिवर्तित नेपालका अनुहारले ईतिहास र वर्तमानको वस्तुतथ्यका रुपमा विवेचना गर्लान पक्कै पनि।

स्‍मृतिमा सबै परिचयले सार्थकता पाउँदैन।

रमेश कंडेल, राजु दाहाल, बिद्या सापकोटा, प्रमिला थपालियाहरुको सकृयता र उत्साह भेट्छु। ज्ञानुवाकर पौडेल, श्रिहरी फुयाँल, राधेश्याम लेकाली र रामा प्रशाद पन्तअहरुको उही र लोभलाग्दो सहभागिता छ।
पुषतागत रुपमा नयाँ र अलिक प्रविधिले जुराएको सिर्जनातिर आकर्षित र प्रबृत छ नौला छिमल। आफ्न सिर्जना र रचनाकारीतालाई ब्लग। अनलाईन र फेसबुकमार्फत प्रकाशन र प्रसारणमा आबद्द छन यिनिहरु। प्रविधिमा प्रतिबद्द लाग्छ त्यो जमात। प्रतिभाको विस्तार र प्रस्फुटनमा भएको राम्रो मिलापकै कारण बेथान्चोकतिर सिर्जनाकर्मी सहयात्रि बनेको एउटा पाटोलाई स्मरण गर्नुपर्ने हुन्छ।

प्रतीक ढकाल, सुरेन्द्र देवकोटा, ईन्दिरा प्रयास। अनुपमा रोशी, बिकास ढकाल वा डम्बर रसिक भारती रचना संसारमा समर्पित नाम हुन। तिनले यो यात्राभरी भनेका रचना, कल्पेका काव्य-बिम्ब र टिपेका दृष्‍यले नेपाली बस्तिलाई कुनै न कुनै रुपमा मुखरित गर्नै नै पर्छ। साहित्यसँगै राजनीतिले समाजलाई गहिरिएर छोएको हुन्छ। त्यो व्यक्त र अव्यक्तको पाटो मात्र हुन पुगेको छ। केही त्यस्तै चरित्र भेटिए लम्काइमा।
ढुटी गैरा पुग्दा फेरी हुल बाँडियो।

केही समय यता पर्यटन र साहित्यलाई लिएर निकै गठजोड अभ्यास भइरहेका छन। स्थानिय कला, प्रविधी, संस्कृति, कौशल देखाउने प्रयास पनि निकै भएको देखिन्छ। यो निश्चय नै प्रिय पक्ष हो, सुखद सूचना हो र हार्दिक हालखबर हो। यसले भरथेग नपाएका पक्षहरुप्रती स्नेह जनाएको वा दृष्‍टिबिन्दुमा राखी बिकासतर्फ सचेत पार्न सक्छ। अझ अर्को सजिलो व्याख्यान हो- संवाद हुन सक्छ।

राजाधानिनजिकैको यो महाभारत लेकबाट पर्यटनसँगै संस्कृति र कला, जीवनपद्धती र शैली, परम्परा र पर्वका अरु थुप्रै सम्पदासँग नजिकिने मौका नपाईने हो। द्वन्द्वले हुनसम्म आहत यो क्षेत्रमा ‘भग्न सपना र विध्वंस विपना’ बिचका बस्ती खुबै टेक्न पुगिन्छ। आजको हाम्रो साहित्य र सिर्जनात्मक कलाले यतातिर हेराइ पुर्याउन सकोस भन्ने प्रयास गर्न नसकेको आभास भने मलाई भइरह्यो।

खासगरी युद्दकालमा काभ्रेको समाज कती भुँवारीमा थियो? सन्त्रस्त मन र त्रासद समयको यात्रा कस्तो थियो बेला? भोगाइ र यथार्थको समग्रता कसरी अभिव्यक्त हुन्थ्यो? सुराकी वा क्रान्तिकारीका निहुँमा गिँडिएका टाउकाहरुको परिचय उचित कती थियो? ति चरित्र पढ्ने काम भयो, लम्काइभरी। वनस्पती र श्रम, पसिना र बालिनाली। पूर्वाधार र पहाड जस्ता भौतिक विचरणबाट साहित्यले खासकार गर्छ भन्नु मानक बिचार  होइन। अब त संयोजन गर्दा यता पनि केही मन्थन आवश्यक छ; अपरिहार्य छ र अर्थपूर्ण नि छ।

चिप्लेरी उकालोमा निकै सास्ती भयो।

टिपेको एक गाँस भन्दा पुग्नुपर्ने हतारोले खुबै खेद् यो डाँडामा बेस्सरी खुवाएर फेरी रातको जोहो गर्न आयोजकहरु मध्येका जोसिला तन्नेरी मित्रहरु ओर्लिनै कम्मर कसे। लम्किरहँदा कमजोर, रोगी, असहाय र अग्रजहरुप्रती ति बेखबर भए। जत्थाको हुलमा हल्ला मात्र सुनिन्छ- उपलब्धी काम प्राप्ती हुने ज्ञानले अपूर्ण भए तिनिहरु।

मैले लालकृष्ण। वेदप्रशाद, गोपाल, रामहरी जस्ता सबै तिमील्सिना बन्धुहरुको गतिलो आडभरोषा पाएँ। ति युद्दकालिन स्थितिलाई थाप्लामा बोकेर अद्यापी बाँचेका छन। नबोल्ने साहित्य तिनका आँखामा छ। नदेखिने वाङमय तिनका परेलिमा बसेको छ थपक्क। मूर्तता र साकार तर्कका हाम्रा बहस तिनका कानले ले  छन र छातीले अधैर्य अनुभूत गरेका छन। साहित्यमा नलेखिएको ईतिहास छ नि, यि तिमील्सिना बन्धुका मौन आवाजमा सरक्क सत्यले जन्म लिन्छ।

एक पाखे सल्लो, ढिम्रे सल्लोको अद्भुत छाँयामुनी दगुराइ रोकिएन। सल्लिपिरको चिप्लाई खुबै भयानक लाग्छ। भिरको बाटो, घाम अस्ताएर अँध्यारो झर्ने-झर्ने बेलाको चिसो गोधूली। सुसेला मार्दै र बाटो बिराए नबिराएको सूचनाले सतर्क हुँदै खर्ल्याङ्खुट्टी भइरहेछु। खुट्टाले बाटो नचिनेको, बाटोले खुट्टा नचिनेको एउटा परस्परको कालखण्डको यात्रामा छु।

सम्भवत: साहित्य त्यही परस्पर अपरिचित अवस्थाको निर्माण हो, संयोजन हो र जन्म हो। निरन्तरको कुदाकुदले सम्बन्धको शल्यकृया हुँदोरहेछ। पर हुनु वा वर हुनु- गतिको यही मूल्य हुनुपर्छ। साहित्यमा मानविय गुणको सम्मन वा बैगुनका आँखाले हेरिने सिर्जना शक्तिको अवमूल्यन यस्तै प्रतिफल हो कि?
यो लर्कनमा अनेकको उपस्थिती छ।

साहित्य वा कलाको अन्तिम बिसौनिमा यि हृदय पुगेका छैनन। धेरै त परिचयको बलियो साइनोमा जोडीएका नि छैनन। सञ्चार र सम्बन्धको पातलो नाटोमा उपस्थित छन यि नयाँ अनुहारहरु।

उदाउँदो उत्कण्ठा र खुशी मात्र हो यि चरित्रले देखाएको जाँगरिलो हाउभाउ। सन्तोष, आशा र सुख यसमा लाग्छ- साहित्य, कला र संस्कृति संम्बर्द्धनमा जीवनको स्वर्णिम जवानी खर्चिरहेछन यिनिहरु। प्रतिबद्दता र प्रतिभा- यो बलियो सम्भावनाको ढोका नजिक बसेर हाम्रो समाजका आत्मालाई बल दिइरहेछन; उर्जा दिइरहेछन र भर दिइरहेछन यि नौजवानहरु।

ठिम्रिघारिको ओराली। कविता, कथा, निबन्ध वा गीत सुसेल्दै हिडिंरह्यौं। चेतनाथ धमालाका साथले सिर्जना, नेपाली समाज र राजनीतिको निफननाफन गर्न सघाएको छ। भिरमा आँखाले भाव नबुझे धेरै तल मुन्टिने खतरा बिर्सिहाल्नु भएन। सुसाएका सल्लघारी र दगुरेको हैरानीलाई साहित्यको एक अंग ठानी हामी रात पर्नु अघी नै जंगल कट्ने लम्काइमा छौ।

‘ए, यो लिसाको पानी!’

लालकृष्ण  चिनाउँछन।

तिनको कथा सुनिरहँदा साहित्यको ‘जन’ थप्ने अहंकार र होडलाई त्यहाँतिर कान पुर्याए कती जाती हुन्थ्यो भन्ने हुटहुटी नजागेको होइन। हातखुट्टा पटपटी फुटेका ति सरल र कोमल मनुवामा हरेक कृयाकलापकै सिर्जनाको नजिक अनुभूत हुन्थ्यो।

लिसाको पानी गैरो। ठाटेको मोद, घोडाबाँधेचौर, सँगेले बाटो भएर कटे। ठेस, खिल, कांडा भएर गए ति ठाउँ। पसिनै-पसिना, हैरानी, गालीपत्तन जीउ र सारा चेतना चकमन्न भएर हिडिरहँदा लाग्यो- जीवन र साहित्यको अन्तर्सम्बन्ध यसरी नै सम्बोधित छ। किनभने राजनीतिले पनि यही चरित्रमा साहित्य स्विकारेको छ। प्रयोग, प्रयोग र मात्र प्रयोग- साहित्यले सदाकालदेखी पाउँदै आएको सम्मान र मूल्य।

यथार्थमा त्यसमाथि उठ्न नसकेको सिर्जनाको महत्ता यि गाउँ, पाखा, बस्ती र एकलासका पिँढिमा ठुलो तामाझाम, आराम वा व्यवस्थित खानपानको चाहना पो राख्नु कसरी। उही मनको कुरो। रहर गर्नेले चाहना राख्नु उसको सीमित महत्वाकांक्षा त हो नि। साहित्यिक रहर यती चार किल्लामा बाँधिएको छ। हरेक सत्ता र समयको अन्तिम पाटो यही हुन पुगेको छ।

बेथान्चोकबाट झरेदेखी नै कोही भेटिएनन। आफ्नै खालको खर्ल्याङ्खुट्टिमा लम्किने गती भइरह्यो। साहित्यिक पर्यटक भएपछी यि सबै खाले कहर भोग्नै पर्‍यो; सहनै पर्‍यो र थेग्नै पर्‍यो। नत्र लेख्ने कसरी, साह्रै-साह्रै मर्म प्रहार गरिएका बोलबचन नि? भनौ न, वरमाला लगाएर बिदा गर्‍यो बेथान्चोकले।

घोडा बाँधेचौरदेखी त समथर बाटो भएपनी अँध्यारोमा सास न बास भएर हिँडियो। बोलाउनेले जाडो कटाउन लागे कि भागाउने जोहोमा लागे, मन भयो साह्रै बिरसिलो। थकाई, विस्राम वा बिछ्यौना- यती तीन कुराको खैलाबैला थियो मनमा। हुलको हल्लाले माथि डाँडावारी सम्म छोइरहेथ्यो। खैंजडी, मादल र डम्फुका तालमा भिड एकाग्र थियो। तिनलाई नभेटेसम्म हाम्रो कुनै साबगाँस जुर्नेवाला ठ्याम्मै थिएन।

खोला तरेपछी कसोकसो एकाध चाइनारु साहित्यिक भेटिए। चिसोमा थुर्थुरिएर ति एक गाँस खोज्ने जोहोमा थिए। देश, साहित्य, संविधान र संघियताको करुण चित्र यो मध्यरातमा कविहरुले ‘भजन’ सुन्दा अनुभूत गरे भन्ठाने मैले। अँध्यारो च्यातेरै भए नि बेथान्चोकको लेक निहाल्दा मसँग एउटा साहसले सुसेला मार्यो छातीमा। हुद्धराज तिमील्सिनाको पिंढिमा बास पाइयो आत्मियताको साथमा। सिर्जनामय थियो तिनको व्यवहार।

लेखाजोखा बाँकी छ यो गेल्ढुंगे बसाइको।

-By युवराज नयाँघरे (साभार- अन्नपूर्ण पोस्ट)

Leave a Reply:

Your email address will not be published. Required fields are marked *