By: Tanka Subba tanka book

मैवाखोला चाम्लोक ढुङ्गेसाघु ८ ताप्लेजुङ्गमा जन्मनु भएका टंक वनेम हाल वेलायतमा रिटायर्ड लाहुरे जिवन लेखन यात्रासंगै व्यतित गरीरहनु भएको छ । मूलत कथा,कविता,संस्मरण,इतिहास र समसामयिक लेखहरु पाठकहरुको सामु पस्कने गर्नु हुन्छ । केहि बर्ष अगाडी एक्कै पटक दुइ कवितासंग्रह साघुरी र बुढा सुब्बा नेपालीमा र पेन्जिरी पेन् – मिक् – भूल गर्ने जोडी आखा लिम्वूभाषामा प्रकाशित गरेर एक्कासी चर्चामा आउँनु भएको थियो । पुन नयाँ कविता संग्रह सङ्गीनको मूर्च्छना प्रकाशनमा ल्याएर चर्चामा आउँनु भएको छ । इतिहास र किरात याक्थुङ मुन्धुम सम्वन्धि खोज अनुसन्धान एवं अन्वेषण लेखहरु विभिन्न पत्रपत्रिकामा थुप्रै प्रकाशित भैसकेका छन् । किरात याक्थुङ चुम्लुङका संरक्षक सदस्य साथै मिकमु – ला लाजे इङघङ – किरात याक्थुङ चुम्लुङ यू.के.मुखपत्रका प्रधान सम्पादक समेत हुनुहुन्छ । वहाले वेलायति सैनिक जिवनमा झण्डै दुइ दर्जन जति देशहरुको भ्रमण पनि गर्नु भएको छ । खासगरी कवितामा आफ्नो वलियो अभिव्यक्ति दिन खप्पिस उनै प्रभावशाली व्यक्तिसंग लिम्वूवान डट व्लगस्पोट डटकम र फेसबुकको लागि गरीएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१.हालसालै सङ्गिनको मूर्च्छना कविता संग्रह प्रकाशन गरेर बेलायत र नेपालमा बिमोचन गर्नु भयो पुस्तकको बजार ब्यावस्था के कस्तो हुँदैछ ? 

-कुनै पनि वस्तुको उत्पादन गर्नु मात्र ठूलो कुरो होइन रहेछ। आफुसंग भएको वा उत्पादन भएको वस्तुलाई राम्ररी बजारको ब्याबस्था गर्न सक्नु वा विज्ञापन गर्न सकिएन भने जति राम्रो सामाग्री भए पनि ग्राहक समक्ष नपुग्दो रहेछ। हुन त पुस्तक बिक्रि गरेर आय आर्जन गरौँला भन्ने आशयले पुस्तक प्रकाशित गरिएको पनि होइन। यो हिसावले “सङगिनको मूर्च्छना” बजार ब्याबस्थामा अलि पछि परेको महसुस गरेकोछु। पुग्नु पर्ने ठाउँसम्म पुस्तक नपुगेको हुनाले पनि जति पुस्तक बिक्रि हुनु पर्ने हो त्यो भइ रहेको छैन। निकट भविश्यमा बजार ब्याबस्था गर्ने योजना बनाई रहेकोछु।

२.तेस्रो कविता संग्रह सङ्गिनको मूर्च्छनासम्म आईपुग्दा कविता लेखनको अनुभव के कस्तो प्राप्त गर्नु भयो त ?

-साहित्य भनेको समुन्द्र हो। नेपाली भाषा र मातृ भाषा (लिम्बू) गरेर तीन वटा कविता सङग्रहसम्म आइ पुग्दा विशाल साहित्यको समुन्द्र छेउमा पुगेको अनुभव गरेकोछु। आशाछ भविश्यमा साहित्यको समुन्द्रमा डुबुल्कि मार्न सकिनेछ ।

३.सङ्गिनको मूर्च्छना कविता संग्रहमा बढी भन्दा बढी लिम्बु मिथकहरु प्रयोग गर्नु भो नी यसको कारण के हो नी ?

-सङ्गिनको मूर्च्छना कविता सङ्ग्रहको पहिलो भाग “मिथकको हाक्पारे गडतिर” मा धेरै लिम्बूवानको लिम्बू लोक आख्यानहरु प्रयोग गरिएकाछन्। नेपाली साहित्यको कविता विधामा केही भिन्नता ल्याउन पनि ति मिथकहरुको प्रयोग गरिएको हो। अर्को कुरो नेपाली कविता विधामा एकै प्रकारका शब्दहरुले पाठकहरुलाई दिक्क लगाई रहेको वेला यी आख्यानहरुको प्रयोगले कविता लेख्ने स्वादको परिकारमा भिन्न स्वाद वा शैली थप्न पनि यसो गरिएको हो। विश्वमा लेखिएका हरेक साहित्यमा त्यहाँको लोकालिटि कलर मिसाइएको हुन्छ। एउटा इमान्दार समालोचकले समालोचना गर्नु पर्‍यो भने मेरो कवितासङ्ग्रहलाइ सवाल्टर्न सिद्दान्तमा लेखिएको भन्नु पर्ने हुन्छ । मतलव हिस्टोरि फरम बेलो भनिए झैं सांस्क्रिक विद्रोहको झिल्का हो । यसो भनौं त्यो अर्गानिक साहित्यको जग बिना कुनै पनि साहित्यले साहित्यको फड्को मार्न सक्दैन। बहुभाषिक,बहुधार्मिक,बहुजाति र बहु भाषा भएको हाम्रो जस्तो देशमा ति सबै जातजातिको मिथ र लोक आख्यानहरुलाई नेपाली साहित्यमा मिसाउँन सकियो भने मात्र नेपाली साहित्यको नदी निरन्तर बगी रहन सक्छ। आफ्नै नाभीमा कस्तुरी विन्दको गन्ध बोकेर अरु कतैतिर भौतारि हिँडे जस्तो नहोस भनेर लिम्बूको छोरा भएर लिम्बू मिथहरुलाई कवितामा प्रयोग गरेकोछु। नेपाली साहित्यमा यो प्रयोगलाई अञ्चालिक,आफ्नो संस्कारको प्रयोग,संस्कृतिको मोह र सांस्कृतिक विद्रोह भनिए पनि वास्तवमा यी प्रयोगहरु भीरमा फुल्ने सुनाखरी फूल जस्तै हुन। जस्ले यस्को महात्व बुझ्न सक्छ र भीरमा चढेर टिप्न सक्छ उस्ले मात्र टिपेर आफ्नो तुनामा उनि त्यो फूलको सौर्न्दयतामा आनन्द लिन सक्छ। त्यस्ता सौर्न्दय पारखीहरु आजको नेपाली साहित्यमा कमै होलान तर निकट भविश्यमा ति मिथकिय फूलका पारखीहरु पनि धेरै हुनेछन्। यस्ता मिथकिय विम्बहरुले नेपाली साहित्यलाई विश्व साहित्यको यात्रामा अघि बढन सहयोग पुर्‍याउँनेछ।

४.हङकङबाट सुरुआत गरीएको रेखा कविता लेखनको एक अभियान्ता पनि हुनुहुन्छ त्यतातिरको लेखन के कस्तो हुँदैछ र यसको प्रभाव कस्तो देख्नु हुन्छ ? 

-रेखा कविता लेखन एक साश्वत सत्य लेखन हो त्यतातिर पनि केही सोँची रहेकोछु । संसारमा भएका वा गरिने हरेक प्रक्रियामा एक बिन्दुबाट शुरु हुन्छ र अर्को बिन्दुमा अन्त्य हुन्छ। त्यो दुई बिन्दुको वीचमा कोरीन पुगेको लामो धर्सोलाई वा समयलाई अंकगणितिय शब्दमा “रेखा” भनिन्छ। हाम्रो जीवनमा गरिने प्रत्येक क्रियाकलापहरु पनि त्यही ज्यामितिय दुई बिन्दुमा कोरिएका रेखा हुन। जस्तै जन्म र मृत्यु,मिलन र बिछोड,कुनैपनि निर्माण कार्यको शुरु र अन्त। चराचर जगतमा भई रहने ऋतुहरुको परिवर्तन,रात र दिन हुने समयसीमाको बिन्दु,ति सबै नदेखिने काल्पनिक रेखा हुन। यो अर्थले विश्व ब्रम्हाण्ड नै रेखै रेखाले निर्माण भएको एक रेखामय आकाश गंगा हो। त्यसकारण रेखा लेखन बैज्ञानिक र अर्थपूर्ण छ। नेपाली साहित्यमा रेखा साहित्य लेखनले आफ्नै ठाउँ बनाउँन सक्छ।

५.बिदेशमा बसेर लेख्ने नेपाली साहित्यकारहरुलाई नेपाली साहित्य क्षेत्रमा वा नेपालमा कस्तो स्थान दिए जस्तो लाग्छ ? 

-बिदेशमा बसेर लेख्ने नेपाली साहित्य सर्जकहरुले त्यस्ता ठूलो योगदान दिन नसके पनि नेपाली साहित्यको जग बसाउनेहरु तिनै विदेशमा बस्नेहरु हुन। देशको सिमा बन्ने र बिग्रने हुँदा कोही दार्जिलिङ्गे भएका छन। कोही सिक्किमे भएका छन। कोही देहरादुन र भाक्सुका भारतिय नेपाली भएका छन। हाल हङ्कङ्,वेलायत,अमेरिका,अस्ट्रेलिया र संसारको विभिन्न ठाउँमा छरिएका छन्। नेपाली साहित्यकारहरु जहाँभए पनि उनीहरुको लेखनमा नेपालको माटो,संस्कार,संस्कृति,धर्म र परम्पराबाट टाढा छैनन्। तर नेपाली मुलधार भनिने साहित्यले ति विदेशमा बसेर लेख्ने साहित्यकारहरुलाई त्यस्तो स्थान दिए जस्तो लाग्दैन। केही साहित्यकार,विद्धान बुद्धिजीवीहरुले भने ज्यानै दिएर सहयोग गरि रहेका छन।

६.साहित्य लेखन तपाईको परीवारसंग जोडिएको छ कि छैन ? अथवा परीवारमा साहित्य लेखिनु,पढीनु आवश्यक छ कि छैन ?

-मेरो बुबालाई सबै भन्दा मन पर्ने पुस्तक महाभारत १८ पर्व हो। प्रायः पुस्तक भित्रका घटनाहरु उहाँलाई कण्ठस्थ थियो। गाउँका पढे लेखेका र पण्डितहरुसंग तिनै महाभारत पुस्तकवारे उहाँको शास्त्रार्थ छलफल हुने गर्दथ्यो। उहाँले त्यो पुस्तक प्रायः सावन र भदै दुई महिना लय हालेर सबैले सुन्ने गरि पढनु हुन्थ्यो। त्यो पुस्तक अहिलेसम्म माइला दाईले सुरक्षित राख्नु भएकोछ । १०/१२ बर्सको उमेरमा मेरो माइला दाई र बुबा (हिँउदको समय) सिक्किममा सुन्तला ब्यापार गर्न जाने गर्नु हुन्थ्यो। सिक्किमबाट माइला दाई घर फर्केर आउँनु हुँदा लिम्बू भाषा र नेपाली साहित्यका पुस्तकहरु ल्याउनु हुन्थ्यो । तिनै महाभारत पुस्तकका कथाहरु सुनेर र माइला दाइले ल्याउनु भएका नेपाली साहित्यका पुस्तकहरु पढेर विस्तारै नेपाली र लिम्बू साहित्यतिर मेरो झुकाव बढेको महसुस गरेकोछु। त्यसकारण मैले भन्नु पर्ने हुन्छ मेरो परिवारमा साहित्यिक महल थियो ।

७.तपाइ पनि फेसबुकको एक सदस्य हुनुहुन्छ त्यसैले फेसबुकले नेपाली साहित्यको उत्थानमा सहयोग गर्छ गर्दैन ? 

-फेसबुकको एक सदस्य र प्रयोग कर्ता भएर हेर्दा फेसबुकले नेपाली साहित्यको उत्थान गर्न सहयोग पुर्‍याएको मेरो ठहरछ। फेसबुकमा धेरै सर्जकहरुको विभिन्न साहित्यहरु पढेर थुप्रै कुराहरु सिकेकोछु। म आफैले पनि मेरा कथा,कविता र स्मरणहरु फेसबुकका पाठकहरु सामु पस्कने मौका पाएकोछु।

८.नेपाली साहित्य लेखिए र छापिन्छ तर बिक्री बितरण भने सोचे जस्तो छैन यसो हुनुको कारण के हो ? 

-नेपाली साहित्यमा धेरै छापिने तर कम बिक्रि वितरण हुने विधा पनि कविता नै हो भन्ने कुरामा दुई मत नहोला। यसो हुनुको कारण नेपली साहित्यको बजार ब्याबस्था र साहित्य सिर्जनाका सर्न्दभहरु हल्का फुल्का हुनु र देश भित्र भएका सबै जातजातिका लोक आख्यान,संस्कार,सस्कृति र त्यहाँका परम्परगत फेलेवरहरु नेपाली साहित्यमा नयाँ स्वाद बन्न नसक्नु हो। वास्तवमा लिम्बू मिथक पनि नेपाली साहित्य हो। बझाङ,मुस्ताङ र मनाङका लोक परम्पराहरु पनि नेपाली साहित्यका अभिन्न अङ्ग हुन। नेपाली साहित्यमा यस्ता नयाँ स्वादहरु सहज रुपले स्वीकार गर्न सक्ने वातावरण बन्न सक्नु पर्दछ। अनि मात्र नेपाली साहित्यमा कविता,कथा र जुनसुकै विधाका पुस्तकहरु विक्रि वितरण हुने फराकिलो साहित्यिक आकाशको निर्माण हुनेछ। यसो हुन नसकेको हुनाले नै नेपाली साहित्य मध्ये कविता विधा टयाक्सिएको हो कि?

९.तपाईको नयाँ योजना के कस्तो बनि रहेको छ त ? र अवको नयाँ साहित्य लेखन तथा पठन कसरी हुनु पर्छ जस्तो लाग्छ ?

-निकट भविश्यमा कथा सङ्ग्रह “श्लेश्मान्तकको साम्माङ” प्रकाशित गर्दैछु। त्यस पछि संस्मरण पुस्तकको तयारी पनि हुँदैछ। हाल “सिन्धोलुङ फागो वनेम वंशावली”को इतिहास लेखनमा ब्यास्तछु। वंशावली लेखन कार्यसंगै लिम्बूवानको प्रथम शहीद कांसोरेवारे खोज अनुसन्धान जारी रहेकोछ। गत साता संखुवासभाको बारबिसेमा उहाँको समाधिस्थल संरक्षण समिति खडा गरि धरानको सप्त रङगी पार्कमामूर्ति स्थापना गरि सकिएकोछ। अवको नेपाली साहित्य लेखन माकुरोको जालो जस्तो हुनु पर्दछ। जसरी माकुरोको सानो सानो डोरोले एउटा विशाल जालो बनेर कीरा फटेङग्रा र मसिना चराहरु पासोमा पर्न सक्ने जालो बन्छ त्यस्तै नेपालमा भएका जातजाति,धर्म,संस्कार,सस्कृति र त्यहाँका लोक परम्पराहरुलाई पनि नेपाली साहित्यको जालो बनाउन सक्नु पर्दछ। नेपाली साहित्यमा नारदमुनिको श्लोक र मनाङ,मुस्ताङ,दार्चुला,बैतडी,लिम्बूवान,मैथली र सवाईका हरफहरुलाई एकैसाथ नेपाली साहित्यको मालामा उन्न सकियो भने त्यो नेपाली साहित्यको मालालाई कसैले चुँडाल्न सक्दैन। नेपाली साहित्यका एक महारथी साहित्यकार इन्द्र बहादु राईले भन्नु भए जस्तै नेपाली साहित्यमा सिन्की गुन्द्ररुक मिसाउनु पर्छ। ति सिन्की गुन्द्ररुक भनेका नेपालमा भएका विभिन्न जातजातिका भाषा,साहित्य रलोक परम्पराहरु हुन।

१०.अन्त्यमा तपाईका साहित्यिक पाठकहरुलाइ केहि सल्लाह सुझाव दिनु होस्न ?

-सबैको भावनालाई सम्मान गर्न सक्यौं भने नेपाली साहित्यको भविश्य उज्यालोछ। सर्जक र पाठक भनेका साहित्यका धमिरा ज्यामी कमिला जस्तै हुन। हामी सबैले नेपाली साहित्यको लागि परिश्रम गर्‍यौ भने एक दिन त्यो अग्लो साहित्यको थुम्कोबाट नेपाली साहित्यको पारिलो घाम ताप्न सक्नेछौं। धन्यवाद ।

Sabhar: From Face Book note from Tanka Wanem

Leave a Reply:

Your email address will not be published. Required fields are marked *