-गीता थापाgeeta

हरेक वर्ष आउने मातातिर्थ औंशीको अघिल्लो दिन ऊ मरिसकेकी आफ्नी आमाको सम्झनामा मन कागती जस्तै अमिलो पारेर खुब रुन्थी । र बिलौना गाउँथी-आज मेरी आमा ज्यूँदी हुन्थिन्,भने के के गर्थे । आमाका सारा अधुरा इच्छा पूरा गरिदिन्थें। तिर्थ स्थलहरू घुमाउन लान्थें । तर के गर्नु आफ्नो त भाग्यनै खोटो ? आमालाई अघि लगाइहालियो । आमा नभएकोले चाडवाड पनि चाडवाड जस्ता लाग्दैनन्। मनमा बिरक्त चल्छ। सबैका आमा बाउ हुँदा आफ्ना मात्रै नहुदा कस्तो खल्लो र बेमोज लाग्छ जिन्दगीमा।उसले मनको बोझ नरित्त्याउन्जेल म उसको छेउमा बसेर उसको बिलौना चुपचाप सुनिरहें। धेरैबेर आँसु बगाइसकेपछि ऊ थाकी। र मौन भई ।

त्यसपछि मैले भने-बितेका कुरा सम्झेर र खाटा बसेको घाउ कोट्याएर दु:ख मान्दै रुनु भन्दा-बरु छोराछोरी नभएका आमाहरूलाई एक छाक मात्रै भए पनि मीठो मसिनो बनाएर खुवाउने व्यवस्था मिलाउने कि?जसरी तँ आफ्नी आमा नहुदा रुन्छेस् । त्यसैगरी छोराछोरी नभएका र छोराछोरीले हेला गरेका आमाहरू रुदा हुन् । आफ्नो आँसु सुकाउन अरुको आँसु पुछ्न सक्नुपर्छ । त्यसो गर्दा आफ्नो चह्र्याएको मन पनि शितल । मरेका आमा बाउ पनि खुसी । रोएर कराएर पछुताएर छोडेर गएका आमा बाउ फर्केर आउने होइनन् क्यारे । बितेको कुरा घरिघरि सम्झेर पिलपिल रुनु बुद्धिमानी पनि होइन। जन्मे पछि हामी सबैले एक दिन मर्नुपर्छ। कोहि पनि अमर हुदैन। यथार्थ जानेर पनि केटाकेटी जस्तो पिन्चे बन्नु हुन्न । आखिर हुनेकुरा भएरै छाड्छ । बितेका कुरा सम्झेर मन कुड्याउनु र नुन खाएको कुखुरो झैं झोक्याएर बस्नु निरर्थक हो । यदि जीवन सार्थक तुल्याउनु छ भने अरुको आँसु पुछ्न सक्नुपर्छ। मेरो शब्दले उसको पोलेको छातीमा मलमको काम गरेछ ।

ऊ बसेको कुर्सी छोडेर जुरुक्क उठी । कोठा भित्र पसी । कमरमा झुन्ड्याइराखेको साँचोको झुत्तो झिकेर दराज खोली । अनि एक दुई पटक लगाएका सात आठवटा अर्दना सारी भेला पारी । स्टिलको दराज खोलेर केही पैसा निकालेर मतिर हेर्दै भनी-हिँड जाऊँ बजार गएर साग सबजी किनेर ल्याऊँ । भोलिको लागि खानेकुरा तयार पारौं ।

उसले यति छिटो मेरो कुरा बुझेकोमा मलाई अत्यन्तै खुसी लाग्यो । मन गदगद भयो । म अवोध बालक झैँ झोला बोकेर उसको पछि पछि लागें ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *