लाटो पहाड ! उपेन्द्र सुब्बाको कथा संग्रह । फिनिक्स बुक्सको प्रकाशन, जम्माजम्मी १३ वटा कथा २२२ पेजमा । सुब्बाले विमोचनको निम्तो दिँदा ठानेको थिएँ, कविताको विमोचन हुँदैछ । पछि थाहा भयो कथासंग्रह रहेछ । सुब्बाका कथाहरू पढ्ने अवसर पहिले नजुरेकोले ‘लाटो पहाड’ कथासंग्रहको विमोचन कार्यक्रमले मलाई तान्यो । कीर्तिपुरबाट अनामनगरको दूरी तय गर्न सार्वजनिक यातायातमा १ घण्टाको हिसाबले हिँडें । मसान्तको दिन परेर हो वा ट्राफिक जामले, १ घण्टा ढिलो पुगेँ मण्डला थिएटर, अनाम नगरमा । मानिसको खचाखच छ ।

कार्यक्रममा जाने अर्को आकर्षण भनेको प्राध्यापक अभि सुवेदीको टिप्पणी सुन्ने । म पुग्दा कोही अरु नै बोलिरहेकोले एक-कप चिया तान्न चियापसलमा झरेँ । र पुन: फर्कँदा प्रा. सुवेदी बोलिरहेका थिए । उनका व्यक्त विचारमा ४\५ वटा मनसाय मलाई अत्यन्त सटीक लाग्यो । प्रा. सुवेदीको भनाइ थियो: लेखकको लेखनशैली अत्यन्त सरल र गाउँघरको बोलीचाली, लिम्बूवानको जीवन चरित्रको छ । लिम्बू जनजीवनलाई सम्पूर्ण कथाहरूमा हुबहु उतार्न लेखकले सकेका छन् । लिम्बूवानी समाजको विगत र आगतको विषयमा स्पष्ट विचार सम्प्रेषण गर्ने क्षमता लेखकले देखाएका छन् । सबै कथाहरू लिम्बूवानको लिम्बू जातिको संस्कृतिकेन्द्रित त हुँदैहुन्, त्योभन्दा पनि कथाकारले पूरै लिम्बूवानको भिन्न र विशिष्ट पहिचान आफ्ना कथाहरूमा पस्कने प्रयास गरेका छन् जुन नेपालको सांस्कृतिक विविधतामा उपेन्द्रको सशक्त हस्तक्षेप हो । यही कारण हुनसक्छ नेपाली भाषा, संस्कृति स्थिर (स्टेसनरी) नभई सधैं गतिशील (डाइनामिक) छ । लिम्बूवानको मेटाफिजिकल (तत्व मीमांसा) वर्ल्डसँग आफ्ना चरित्रलाई अत्यन्त सहज र सरल तरिकाले उन्न लेखक सफल देखिएका छन्।

प्रा. सुवेदीको टिप्पणी आफैमा प्रसंसनीय थियो । ‘लाटो पहाड’को रचनाले नेपाली राष्ट्रिय संस्कृति निर्माणमा धेरै टेवा दिने कुरो मत राख्दै उनले लिम्बूवान भिन्न र विशिष्ट पहिचान बोकेको भनेर प्रसंसा गरे । कथाकार उपेन्द्रले यस्तो विशिष्टता उधिनेको देखेर प्रा. सुवेदी आफ्नो बाल्यकालको गाउँघर र लिम्बू समुदायका दाजुभाइसँगको उठबस, उनको अभिव्यक्तिसँगै एक प्रकारको ‘नोस्टाल्जिया’ भएको देख्न सकिन्थ्यो । प्रा. सुवेदी आफ्नो अग्लो कद, फुलेका कपाल, पश्चिमी ज्ञानमिमांसा (एपिस्टोमोलोजी)ले बनेको एउटा पूर्ण व्यक्तित्व परबाट देख्न सकिन्थ्यो ।

लिम्बू जनजातिमा लोग्नेको अघि स्वास्नीको स्थान कहाँ छ ? उचो स्थानमा लोग्नेको र नीचो स्थान स्वास्नीको हुने चलन लिम्बू जनजातिमा लागू हुन्न । समानान्तर स्थान भन्ने विश्वास र बुझाइको प्रसंगमा ‘प्रभूमाइला’ कथाको निम्न अंश प्रा. सुवेदीले धक फुकाएर पढे, मन्तव्य दिने क्रममा ।

“… गाउँको एउटा बिहेमा एकजना भाउजू पर्ने… पाहुनाहरुसँग धान नाच्दै (लिम्बू जनजातिमा सामूहिक वा एकल जोडीले सार्वजनिक तवरमा माया, पिरति, जीवन र जगतका कुराले भरिएका गीतमा सम्वाद गर्दै नाचिने नाच) थिइन् । भाउजूले एक चरण पालम (गीत) भनीनसक्दै माइलाले भाउजूलाई एक लात्ती हानिहाल्यो । बुढी (श्रीमती)को पालम सुन्दै छेउमा बसेका दाजु कचेट (दाउरा) टिपेर उठे । माइलाले कम्मरको चुपी झिक्यो ।…. दाजुले यति भन्यो, ‘मैले मेरो बुढीलाई धान नाँच्न मन्जुरी देको। तँ जाँठालाई केको टाउको दुखाइ ?’

प्रभू माइला “थुक्क नामर्द ! आफ्नो बुढीलाई अरुसँग सल्किन दिन्छस् ?” मिलिकमै दाजुको देब्रे कान साविकमा थिएन ।

प्रा. सुवेदीले उपरोक्त अंश मज्जाले पढिरहँदा दर्शकदिर्घामा बसेकाहरूको हाँसो र तालीको सीमा रहेन । प्रभूमाइलामा बाल्यकालमा आफ्नो मातृभाषामा बालसुलभ शिक्षा नपाउँदा विशृंखलित भई तड्पिएको एउटा लिम्बू ठिटोको मनोविज्ञान कसरी उदण्ड बन्छ भन्ने देखाइएको छ । त्यो व्यक्तिले सुमधुर सम्बन्धमा रहेका श्रीमान-श्रीमतीबीचको सम्बन्धलाई कथित उचनीचको हाइरार्किकल संरचनामा सामाजिकीकरण गरेर श्रीमतीलाई श्रीमानको निजी वस्तु हुनुपर्छ भन्ने मान्यतामा कसरी उदण्डता व्यक्त गर्छ भनेर राम्ररी देखाइएको छ । तर यो उदण्डता मात्र हो वा आफ्नो शरीरमाथिको महिलाको नैसर्गिक अधिकारलाई छिनेर पुरुष (लोग्ने)ले मालिकत्व लिने संस्कृतिको रूप हो ? कथाकारले यो विषयलाई समाजको थाप्लोमा छfडिदिएका छन् ।

लिम्बू जनजातिमा लोग्नेको उपस्थिति\अनुपस्थितिमा अर्कै लोग्नेमान्छेसँग सार्वजनिक तवरमा हातमा हात समातेर मायापिरतिका कुरा, जीवन र जगतका कुरा, सृष्टि र समाजको कुरा, जीवनको विगत, वर्तमान र आगतका कुरा गर्ने छुट महिला वा पुरुष दुवैलाई छ । तर त्यसलाई वर्जित गर्न नखोजिएको भने होइन । यही क्रममा दाजुले भाउजू अरुसँग ‘सल्केको’ वा ‘सल्किरहेको’ ट्वाल्ल हेरिरहेको देख्न नसकेर भाउजूलाई लात्ताले हानेको भन्ने प्रभूमाइलाको तर्क आएको देखिन्छ । हुन त त्यसको प्रतिवाद दाजुले नै गर्दा दाजुको एकापट्टिको कानै चुपीले छिनाउनेसम्मको हर्कत सामाजिक मर्यादाको नसिहतको रूपमा लिने वा प्रभूमाइलाको उदण्डता मान्ने ? अध्ययनको विषय बन्नुपर्छ । पुस्तक किनेर पल्टाउन खोज्दाखोज्दै प्राध्यापक सुवेदीको समीक्षा सुनिसकेपछि त्यो पुस्तकमा के हुनसक्छ ? सीधै अनुमान लाउन सकिन्थ्यो ।

उपेन्द्रको कुरो झनै सरल थियो । उनले प्रा. सुवेदीका व्याख्या र सैद्धान्तिक आयामको कुरो सबै एकातिर राखेर भने, “यी कथाहरू काल्पनिक रचनाहरू नभई उनको गाउँघरमै भइरहेका रियल घटनाक्रम हुन् । यी कथा मेरो गाउँले साथीभाइले थाहा पाए भने मलाई कुट्न बेर लाउने छैनन् ।” खचाखच भरिएको दर्शकदिर्घावरपर केही शंकालु नजरले हेरेर उनी यसो भनिरहेका थिए ।

नयाँ वर्षको हल्लाखल्ला, रसरंग, कतै पनि ध्यान नदिई ‘लाटो पहाड’ सर्सरी पढें । म साहित्यको जानकार विद्यार्थी हैन, तर मौलिक र गाउँले सामाजिक परिवेशलाई उतार्ने साहित्यमा मेरो गहिरो रुचि छ । मेरो मान्यता भनेको गाउँ उपेक्षामा छ, बेवारिसे अवस्थामा छ । नेपालको कुल आबादीको ८३ प्रतिशत गाउँमा छ । त्यो यति विविधता र विशिष्टताले भरिपूर्ण छ कि विश्व साहित्यका उत्कृष्ट सामग्री सम्भवत: खोज्न सक्यो भने यहीँकहीँ टाक्सिएर बसेको हुनसक्छ, तर उधिन्न सक्नुपर्यो् । उपेन्द्रको कथासंग्रहमा मैले तिनै अलिखित कथा खोजिरहेँ । जति पढ्दै गएँ, मैले आफूलाई कुनै न कुनै चरित्रको छायाजस्तो पाएँ । जुन बेला लिम्बूवानमा मेरो बालककाल बित्यो, उपेन्द्रका कथामा मैले त्यसकै प्रतिविम्ब पाएँ । भिन्न संस्कृति, रहनसहन, गरिबी, बालककालका दिनचर्या मेरा आँखाअघि नाचिरहेको पाएँ ।

कुनै पनि कथा कोसी, अरुण तरेर वारि काठमाडौंतिर आउँदैन, न जहाज र रेल चढेर विदेश नै जान्छ । कुनै पनि कथा न सहरको रमझममा रमेको छ, न आजको बजारिया अर्थतन्त्रले घिसारेको जीवनमा फसेको छ । भएका दुई चिजहरू मोबाइल र टिभी आजको मानवजीवनका लागि सञ्चारका महत्वपूर्ण साधन भए । ती चिजबाहेक बजारिया अर्थतन्त्रका कारण मौलाएको उपभोक्तावादी संस्कृतिलाई पूरै बेवास्ता गरेर लेखिएका यी कथा लिम्बू, लिम्बूवान र नेपाली समाजका प्रतिनिधि कथा हुन् भन्दा फरक पर्दैन । आदिवासिता, जनजातीयता, जातीयता, आत्म-स्वाभिमान, प्राकृतिक र सामाजिकता ‘लाटो पहाड’ कथासंग्रहका मौलिक पहिचानहरू हुन् ।

लाखौँलाख बालबालिकाले मातृभाषामा शिक्षा लिन नपाउँदाको पीडाविरुद्ध कथाकारले ‘प्रभूमाइला’मा नारा लाउँदैनन्, बरु रमाइलो किस्सा बुनेर बेजोडले व्यंग्य गर्छन् ।

एक दिन, भूगोल पढाउने मिस शर्मिला ओझाले केशमानलाई अघिल्लो दिन पढाएको पाठबारे सोधिन्,

‘ल केशमान भन त, हिरा कहाँ पाइन्छ ?’ एकाएक हाँसो गुन्जियो ।

‘चुप’ -मिस कराइन् ।…. ‘लु भन केशमान ! हिरा कहाँ पाइन्छ ?’

उसै त घोसे केशमान केही बोलेन । झनै निहुरिएर भुईंतिर घोप्टियो ।

‘टेर्दैनस् त’ मिसको रिसको पारो चढ्यो ।… ‘बोल्दैनस् घोसे, लिम्बूको छाउरा ।’

‘भन् कहाँ हिरा पाइन्छ ? ’

केशमानले टाउको उठायो ।

…‍ झ्यालतिर हेरिसकेर मिसको कम्मरमुनिको भागतिर औँलाएरै भन्यो, ‘तइँले नै लुकाको छ्स्।’

फेरि कोठामा हाँसोको फोहोरा छुट्यो । लिम्बू गाउँमा हुर्किएकी शर्मिला मिसलाई त्यतिबेला पो हेक्का भयो । त्यो बेलासम्ममा केशमान झ्यालबाट उफ्रेर भागिहाल्यो । त्यसपछि भने केशमान कहिले स्कुल गएन ।

स्मरण रहोस् लिम्बूभाषामा ‘हिरा’को अर्थ हुन्छ स्त्रीको यौन अंग । बहुसांस्कृतिक र बहुभाषिक समाजमा अन्तरजातीय वा जनजातीय भाषिक वा सांस्कृतिक संवेदनशीलता अपनाउन सकिएन भने त्यो प्रत्युत्पादक हुन्छ । नेपालको कुल आबादीमा साक्षरता प्रतिशत बढ्न नसक्नुको कारणै के हो भने उनीहरूको भाषिक संवेदनशीलता, अरू मातृभाषिहरू वा संस्कृतिहरुसँगको निकटता, अनुकूलता र प्रतिकूलताको हेक्का नगरी एकपक्षीय शिक्षा, संस्कृतिको नीतिले राज्यका सम्पूर्ण प्रयास पानीसरी बगिरहेछ । कसलाई यो कुरोको हेक्का ?

भिन्न संस्कृतिले लिम्बू संस्कृतिप्रति गरिरहेको अतिक्रमणलाई कथाकारले अत्यन्त सहज तरिकाले कटाक्ष गरेका छन् । सबै कुरो परमेश्वर यशुख्रिष्टबाट हामी प्राप्त गर्छौँ भन्ने धार्मिक मान्यता राख्ने प्रभूमाइला र अरु लिम्बूसँगको अन्तरद्वन्द्वलाई कथाकारले प्रस्तुत गरेका छन् । कथामा पेरुङ्गेको खोलैखोला भारी बोकेर उकालीओराली गरेका भरियाहरूले बल्लतल्ल जुटाएको सामलबाट भात पकाएर खान आँट्दा गाउँलेसाथी प्रभूमाइलालाई पनि आआफ्नो भागबाट एकएक चेउली भात निकालेर भाग लाइदिइन्छ । त्यस बेला प्रभूमाइला भने परमेश्वरको प्रार्थना गर्न लागेको सन्दर्भ:

सबै जनाले खान सुरु गरे । प्रभूमाइला भने दुवै हात बाँधेर, घुँडा धसेर प्रार्थना गर्न थाल्यो।

प्रभू आज मलाई यस्तो जंगलको बाटोमा पनि खाना जुराइदिनुभयो । तपाईंलाई लाखलाख धन्यवाद !

… कोक्मा ठुले जुरुक्क उठ्यो र केही नभनी प्रभूमाइलाको भागको कराइ उठाएर पर बाटोमा फालिदियो । …

कराइ ‘खन्द्रङ्ग’ गरेर बज्दा मात्र अरूले चाल पाए । कोक्मा ठुले रिसले बर्बरायो, ‘लु जाँठा अब तेरो प्रभूलाई माग ! यहाँ हामीले आआफ्नो गाँस काटीकाटी देको देखीदेखी तेरो प्रभूले देको अरे !’…. भुइँमा आँखा झुकाउँदै माइलाले भन्यो, ‘ठिक छ केही छैन। प्रभूले दिनुभएको थियो, उहाँले नै लिनुभयो ।’ ‘फेरि यो मु.. ! ’ कोक्मा ठुलेले अगुल्टो लिएर प्रभूमाइलालाई झम्ट्यो ।

लिम्बू मनोविज्ञान वास्तवमै मेटाफिजिकल (तत्वमीमांसा) दुनियाँबाट बनेको छ । अरू धर्म, पन्थ, विचारमा, उदाहरणका लागि इसाई धर्म र संस्कृतिको आध्यात्मिक दुनियाँमा परमेश्वर नै सबै कुरोको दाता भनेर प्रार्थना गरिन्छ, त्यो लिम्बू समाजका लागि असह्य हुन्छ । भारी बोकेर हत्तुहराम भएकाहरुले आफ्नै साथीलाई खुवाउन भनेर भाग लगाउँदा इसाई धर्मावलम्बीले त्यसको जस ती दाजुभाइलाई हैन परमेश्वरलाई दिँदा लिम्बूहरूको तत्वमीमांसाको बुझाइको बाँध फुट्छ । अपितु दुवैको स्वतन्त्रता वा आआफ्नै अस्तित्वमा बिनाद्वन्द्व रिकन्सिलियट गरिएको छ । मिलिकमा आफ्नो दाजुको एकापट्टिको कान भुइँमा खसाउने उही प्रभूमाइलाले समेत कोक्मा ठुलेले गरेको हर्कतमा कुनै प्रतिवाद गर्दैन । कोक्मा ठुलेको हर्कतलाई पनि उसले प्रभू परमेश्वरकै जिम्मा लाएर सहीदिन्छ । बरु कोक्मा ठुलेले भने प्रभूमाइलाको अमुक परमेश्वरलाई खेदो गर्दै ‘के रे मु….?’ भनेर झम्टिन्छ । माइलाको मुखबाट प्रभू परमेश्वरले नै कराइमा भात जुटाइदिएको र उसैले लगेको भन्ने भौतिक रुपमा अविश्वसनीय भनाइ सुनेपछि ऊ रिसाएको हो ।

‘ऐंठन’मा गर्भपतनको मुद्दालाई कलात्मक तवरमा व्यंग्य गरिएको छ । किन मान्छेले सन्तानको निरन्तरता चाहन्छ ? यो एउटा शृंखला एकपछि अर्कोबीचको अन्तरसम्बन्ध, भावनात्मक मात्र नभई भौतिक सुख, सुविधा र साथ पनि हो । सम्भवत: यो आदिवासीय मान्यता हो । यो आध्यात्मिक सुख, स्वर्ग, नर्कको कुरो हैन, बरु माटोको भर ढुङ्गो; ढुङ्गोको भर माटोको अर्थमा हरेक बाबु-आमा सन्तान जन्माउँछन् । हिन्दु धर्म र संस्कृतिमा छोरोबिनाको बाबु-आमा स्वर्ग नपुग्ने आध्यात्मिक सम्बन्छ छ, लिम्बूमा भने त्यस्तो सम्बन्धभन्दा पनि अघिल्लो र पछिल्लो पुस्तामा साथ जरुरी छ भन्ने मान्यता प्रधान छ । ‘ऐंठन’ कथामा कथाकारले बाउ र छोरोको सहयात्रामा बाउको भर छोरोमाथि गराएका छन् । कतिसम्म भने छोरो भएनि छोरी भएनि एक भए ठिक्क भन्ने विश्वास गरी गर्भमा रहेको जीवन तुहाउने परिपाटीलाई ‘मेरिस्टोप’ विम्बमा कटाक्ष गरेका छन् । सपनाको यात्राको शिखर पुगेका बाबु सन्तान जन्माउन नभै नहुने एउटा पक्ष बोल्छ:

ए नानी तिम्रो पेटिकोट कति सारो पातलो । के लगाको त्यस्तो छ्या ! पारिको मान्छे छ्वाङ्गै देखिन्छ । राम्री केटी सरासर हाम्रो छेउ आएर उभी । ‘लु हेर त’ भने जस्तो गरेर पेटिकोट सर्लक्क खोली । मैले नाङ्गो आँखाले हेर्न सकिनँ र आँखा चिम्म गरेँ । आँखा खोल्दा त्यो केटी लुगा फेरेर उकालो जाँदै थिई । भाषा नमिले पनि शरम, लाज त मिल्नुपर्ने हो ।…. बहाना बनाएँ । आमाले घरमा पर्खिबसेको होला । फर्कुङ हाओ ।
‘यहाँसम्म आएपछि धेर किचकिछ होइन है बुढो ।”

‘साले, बाउलाई बुढा भन्छस !’

‘के भन्नु त सुड्डो भन्नु ?’ हेहे छोरा हाँस्यो।

अरे मेरा त दुईभाई छोरा मात्र पो ! तँचाहिँ ?’

‘म तेस्रो नि । कान्छो।‘

‘धत मेरा २ भाइ मात्र ।’

‘ए बिर्सेको !… आमाको गर्भमा ३ महिनाको हुँदा एबोर्सन गरेर फालेको होइन ? त्यै मेरिस्टोपसकी नकचरी नर्सले सुईले घोचेर मलाई मारेको होइन ?’

कथाकारले पुरातन मूल्यमान्यतामाथि चढाइँ गर्दै स्थापित भइरहेको आजको संस्कृतिमाथि कडा व्यंग्य गरेका छन् । पुरानो पुस्तालाई आकर्षित गर्न जति नै प्रयत्न गरे पनि सकिरहेको छैन, तर पुरानो पुस्ताको नियन्त्रण बाहिर छ । उसले नियन्त्रण गर्न सक्ने अवस्थामा नै छैन। बरु ऐंठन लागि ऐंठिएको जीवन गुजार्न बाध्य छ । कथाकार यही सत्यता ऐंठनमा देखाउन प्रयत्न गरिरहेछ ।

कथाकारले ‘खुङ्खार भाले’ र ‘मनमाया’मा लिम्बूवानमा व्याप्त गरिबीको राम्ररी चर्चा गरेका छन् भने ‘ससुराली’ र ‘सुगुत’ मा लिम्बू समाज र संस्कृतिका स्वीकृत वा अस्वीकृत विचारमाथि विवेचना गरेका छन् अनि अन्धविश्वास र त्यसको भौतिक सम्बन्धबारे प्रकाश पारेका छन्। ‘हन्दनेको बिहे’ र ‘थोते साईला’मा मानवीय संवेदना र त्यसको व्यवस्थापनको चर्चा अति सुन्दर तरिकाले गरिएको छ । ‘पुचुने धामीको मरण’ सबैभन्दा हास्यरसले भरिएको कथा हो । पुचुने धामीले देखाएका चरित्रमा उपेन्द्रले विभिन्न किस्सालाई एउटै कथामा उन्ने काम सफलताका साथ गरेका छन् । कथाहरू पढ्दापढ्दै हाँसोको चरम उचाइमा पुर्यााउन सक्ने र सम्वेदनाको गहिराइमा पुर्याईएर उसको स्नेह सृजना गर्न सक्ने क्षमता उपेन्द्रमा रहेछ । नेपाली भाषाको शब्द र हिज्जे मात्र जानेर यी कथा पढिन्न, लिम्बू भाषा, शब्द, संस्कृति र जनजीवनबारे राम्ररी भिजेको हुनु उत्तिकै जरुरी छ।

कथा, कविता, नाटकजस्ता साहित्य मानव जीवनको सामाजिक ऐना हो । जुन समाजको साहित्य सृजनाको अभाव छ, ती समाजमा समाजको स्वीकृति र विकृतिबारे बहस वा डिस्कोर्स गर्ने वातावरणको अभावमा समाज अपेक्षित विकास हुनबाट वञ्चित रहन्छ । जसरी मानिसले आफूलाई भौतिक रूपमा, मनोवैज्ञानिक तथा शारीरिक रूपमा सुन्दर र स्वस्थ छु वा छुइन भनेर ऐनामा आफ्नो अनुहार हेर्न चाहन्छ, तस्बिरमा आफूलाई प्रतिविम्बित गर्न क्यान्भासको जरुरी ठान्छ । समाजलाई कहाँ देखाउने ? कुनै त्यस्तो ऐना वा क्यान्भास वा तस्बिर एउटा स्न्यापमा क्लोज गरेर समाजको गतिशील चरित्रलाई कैद गर्न सकिन्न । त्यसकारण साहित्य, लिखतहरू, लेख्ने परम्परा र त्यसलाई विभिन्न माध्यमबाट अभिव्यक्त गर्ने एउटा माध्यम आवश्यक हुन्छ । मेरो विचारमा साहित्य त्यो विधा हो जसले समाजको गतिशीलतालाई कैद गरेर समाजलाई स्वस्थ र गतिशील जीवनयापनका लागि मार्ग खुलाउँछ।

साहित्य नारा मात्र होइन । यसले विगत र वर्तमानलाई मात्र चित्रित गर्दैन। त्यसले निश्चय नै मानवीय आकांक्षालाई, अपेक्षालाई, चेतना र लक्षसँगै सम्बन्धहरूलाई व्यक्त गर्न सक्नुपर्छ । नियतिको रूपमा भोगिइएको जीवनलाई नवचेतनाको दियोले नियतिको ढोँगलाई डढाएर नयाँ जीवन र समाजको विकास सम्भव छ कि छैन भनेर खोजतलास गर्न सक्नुपर्छ । समाजमा विद्यमान कथित शक्ति त त्यसको दमन, उत्पीडन, त्यसको उपेक्षा सबै चिर्न सक्नुपर्छ। तर समाज निरपेक्ष छैन । उपेन्द्रले समाजको यथार्थलाई राम्ररी उधिन्न सकेको देखिन्छ ।

तर समाजमा व्याप्त शोषण, विभेद, अन्याय वा असमानताविरुद्ध मिहीन तवरमा उभिनसक्ने, अधिकारका लागि सचेत भएर एउटा न्यायपूर्ण जीवनयापन कसरी सम्भव छ होला ? समृद्धि कसरी हासिल गर्ने होला ? यी विषयमा लेखकले चरित्रहरू कसरी जन्माउने, हुर्काउने अनि परिवर्तित र सुखी जीवन प्राप्तिका लागि कसरी समाजलाई तयार पार्ने होला ? यस्ता अनगिन्ती प्रश्न मसँग पोकाको पोकै छन् । उपेन्द्रले यी पोको खोल्ने अभिरुचि देखाए हुन्थ्यो भन्ने आग्रह छ। विश्वमा स्थापित साहित्यका हस्तीहरूले दलन र उत्पीडनको विरोधमा, जीवनको मुक्तिका लागि वा समप्राप्तिका लागि धेरै हण्डर खाएरै लेखेका छन् र लेख्ने हुन् । प्रेम र जीवनसम्बन्धी जति पनि विश्वसाहित्यका कृतिहरू सृजना भए, ती धेरैजसो हस्ताक्षर धेरैजसो हस्ताक्षरहरू भने पीडा, उत्पीडन र अभावमै लेखेको देखिन्छ र लेखिरहेको अवस्था छ । समाजमा विद्यमान दु:ख र पीडा, विरोध-अन्तरविरोधहरू मिहिन पाराले देख्नसक्ने जुन क्षमता कथाकारमा छ, त्यो झनै माझिँदै जानेछ र उनका उत्कृष्ट रचनाहरू समाज, राष्ट्र, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने कुरोमा कोइ शक छैन, बरु त्यसको लागि उपेन्द्र सुब्बालाई हार्दिक शुभकामना ।

सभार-Eसमता

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *