डा.सुनुवार डीबी

हामी अहिले हिमालपारि छांै । हिजोसम्म हिमाल उत्तरमा अवस्थित थियो । तर आजदेखि हिमाल दक्षिण परेको छ । अगाडि सेतो हिमाल देखिन्छ । हावाको चिसो सिरेटो यस्तै खपी नसक्नु भएता पनि हाम्रो अघि गन्तब्य मनाङ्गमा पुग्नुको कुनै विकल्प थिएन । निरन्तर अघि बढ्दै गयांै हामी । चिसो सिरेटोलाई छिचोल्दै बायाँतर्फ सेतो हिमाल दाँयातर्फ नाङ्गोे पहाड बीच अघि बढ्दै जाँदा ब्राका भन्ने ठाउँ आयो । यहाँ एउटा राम्रो होटल रहेछ । तातो चिसो लिनका लागि एकछिन सुस्तायांै । हामीले अझबढी उचाईमा उक्लनु थियो । तीन हजार दुई सय मिटरमा यतिको चिसो छ भने यहाँभन्दा झन् अग्लो ठाउँ कति चिसो होला ? मनमा कौतुहल छाएको छ । बाटोमा प्रायः हरेक ठाउँमा छोरतेन र मानेहरु थिए । अगस्त दाइले हुरीले बालुवा हु¥याएर ठूलो भुमरी परेको पल्लो भित्ताको खोपा देखाउँदै त्यो मिलारेपाको गुफा भनेर इङ्गित गर्नुभयो । मिलारेपा तिब्बती धर्मगुरु र प्रख्यात साहित्यकार पनि रहेछन् । तिब्बतीहरू उनलाई पनि भगवान्कै रुपमा मान्दारहेछन् । अहिले अन्नपूर्ण तीनमा ग्लेसिएर बगेर तल झरेको छ । यहाँ हावा उडाउला नै जस्तो गरी चलिरहेको छ । जब तीन हजार पाँच सय मिटरको उचाईमा अवस्थित मनाङ्ग पुग्यौं, यहाँको आइस ग्लेसिएर लेकमा रमाउँदै विभिन्न पोजमा थुप्प्रै तस्बीरहरू खिच्यौं ।

अघि हिँडेर आएका बाटोका अप्ठ्याराहरू र सम्पूर्ण पट्यारलाग्दो पलहरू सम्झिन थालेँ । जस्तै अप्ठ्यारा बाटो पनि हिँडेपछि त छिचोलिँदा नै रहेछ । मान्छेको सङ्घर्ष यसैले त प्रशंसनीय छ । मनाङ्ग उपत्यकामा आज एक दिनको आराम गर्ने हाम्रो योजना छ । आजै, विहानै उत्तर शिरानमा पर्ने हण्डे«ड लामाको गुफा दर्शन गर्ने योजना बनाएका छौं । सय रुपैया तिरेर मात्र दर्शन गर्न पाइने भएकोले उनलाई हण्डे«ड लामा भनिएको रहेछ । दिउँसोको खानापछि डा. योभोनी, तिलक भाइ र म गौंगपूर्ण तालको प्राकृतिक सौन्दर्यको रसास्वादन गर्नका लागि निस्कियौं । मेरो पहिलेदेखि नै तिलिचो तालको भ्रमण गर्ने इच्छा रहेको थियो । यस विषयमा दाइ अगस्तलाई पनि अनुरोध गरेको थिएँ । तर मौसम अनुकूल नभएको हुनाले यसपालि तिलिचोलाई भेट्न सकिनँ । संसारको सबैभन्दा उचाईमा रहेको तिलिचो ताललाई अर्कोपालि भेट्न आउँला भनेर गौंगपूर्ण ताललाई नै खबर छोडिराखेँ । यसरी मनाङ्गको बसार्ई सम्झन लायकको रह्यो । एघारौं दिनको यात्रा विशेष प्रकारको छ, किनभने याकखर्कमा बस्ने ठाउँ नमिलेकोले चुली लेडरमा बस्नु पर्नेछ । जुन ठाउँको उचाई चार हजार दुई सय मिटरको छ । स्वास्थ्यको हिसावले अलिक चिन्ताको विषय थियो त्यो । गोराहरूले थाम्न सक्लान् के त्यो उचाईलाई भन्दै गन्गन् गर्दै हुनुहुन्थ्यो अगस्त दाइ । आजको दिनको हिमाल पारिको यात्रा विशेष अनौठो लागिरहेको छ मलाई । चौरीहरू डाँडामाथिबाट हुर्रिएर तल झर्दै थिए । हिमाली बाख्राहरू धुलो उडाउँदै सिङ्गौरी खेल्दै थिए । फनक्क फर्केर पछाडि हेरेँआहा π क्या राम्रो तिलिचो हिमालको दृश्य π समूहका सबैलाई एक्कैछिनको लागि अवरोध गर्दै दुई तीन क्लिक हानी हाल्यौं । याकहरू कराउँदै जुध्नका लागि तयार भएका थिए । हिँड्ने बटुवाहरू होसियारीकासाथ चारैतिर आँखा घुमाएर अघि बढ्दै थिए । अगस्त दाइले हप्तादिनभित्र यो यहाँको मौसम खराव हुने सङ्केत हो भनिरहेका थिए । घामको ओज कम भई पारिलो हुँदै गएको छ । मानौ यस उचाईमा न्यानोपनको आकर्षणले तानिनै रहेको छ हामीलाई । विस्तारै–विस्तारै हामीहरू चुलिलेडरको होटलमा पुग्यौं । घाममा बसेर हामी चार भाइले कलब्रेक नार्यौं र उता गोराहरू कफी पिउँदै नोटबुक मेन्टेन गरिरहेका थिए । घरको सम्झना आयो कि लेख्दा लेख्दै योभोनीको आँसु पुछ्न कठिन भैरहेको थियो सानो सविनेलाई ।

हिमाल अनि चुलिलेडरलाई घुर्मैलो साँझको छोप्नु लागेको थियो । अगस्त दाइका पहिलाका साथी ल्हाक्पा दोर्जे यस ठाउँमा रहेछन् । सोलुखुम्बुका उनी यतैका गुरुङ्गसेनीसँग पिरती गाँसिएपछि मनाङ्गे भएछन् । लाङ्गस्या सुकुटी र लोकलले राम्रो सम्मान गरे उनले । भोलिको यात्रामा ढुङ्गेनी पहाडको उकालो भएर हिँड्नु छ । धेरै मानिस गुल्टे रे पोहर साल । माथि नाउर जुज्धा र कुद्दा ढुङ्गा लडेर मान्छेलाई हुर्याई दिने रहेछ । भोलिको थोराङ्ग फेदीको खतरनाक यात्राको चुनौतिलाई सामना गर्ने साहस जुटाउँदै कुना पसियो । काँचो माटो र ढुङ्गाको भित्ताले बनाएको विशिष्ठ पाहुना कक्षतिर । आजको यात्रा सम्पूर्ण भ्रमणभरिको नै सबैभन्दा चुनौतिपूर्ण यात्राको रुपमा लिनुपर्छ । हामीहरू हिजोको राति त्यति राम्रो सुतेनांै । यहाँको खानाको त्यति राम्रो व्यवस्था थिएन । लगभग यहाँ बस्ने खाने तरिका फौजी प्रकारको थियोभन्दा अतिशयोक्ति हुँदैन । यस ठाउँमा लगभग कसैले कसैको चासो गरेको जस्तो पनि लागेन । हुन पनि हो यहाँ कसैलाई चासो गर्नु पर्ने आवश्यकता पनि छैन । यो ठाउँ हाइक्याम्पमा चढ्ने एउटा मात्र क्याम्प हो, जहाँ मात्र दुईवटा होटलहरू छन्, जहाँ कसैसँग प्रतिस्पर्धा गर्नु पर्ने खाँचो छैन । बाटोको मुखैमा पर्ने होटल मिच्युङ्ग साहुको रहेछ । पहिले यस ठाउँमा उसको मात्र होटल थियो । त्यस समयमा गोरा नेपाली सबैले पहिलेदेखि नै टिकट काटेर लाइनमा बस्नुपर्ने, त्यसो नगर्ने गोरालाई विशेष मर्मत हुन्थ्यो रे । त्यस ठाउँको राजाको रुपमा परिचित थिए मिच्युङ्ग साहु । जोर नाले बन्दुक लिएर पैसाको विटा घोडामा लिएर एक्लै शहर पस्थे रे । यही बाटोमा लामो समयदेखि हिँडिरहेका हाम्रो सरदारलाई ती कुराहरू सम्झँदा अहिले कथाजस्तो लाग्छ । हामीहरूले दुई बजे नै उठेर भारी मिलाई सकेका छौ । आजको कठिन हिडाईका लागि अगस्त दाइले हिजोदेखि नै विशेष सतर्कताले सजग बनाई रहेका थिए । अरू दिनकोभन्दा विशेष प्रकारले हाइ र जाडो छल्ने विशेष प्रकारको कपडा लगाउनु पर्नेछ । सारा तयारीकासाथ आफ्ना भारीहरू लिएर सबैको शिरमा लाइट बालेर एक–एक पाईला आकाशतिरको उचाईतिर उक्लिन तम्तयार भयौं । हामीभन्दा पनि अघि कोही मानिस गएका हुनु पर्छ । तर हाम्रो मध्यम गतिको हिँडाईअनुसार अरूले एक घण्टामा तय गर्ने बाटो एक घण्टा तीस मिनेट लाग्ने रहेछ । सरदार दाइले समय, उचाई र हावाको दवावलाई अति सजगताका साथ विचार गरेर हिँड्नुपर्ने पटक–पटक सम्झाई रहेका छन् । हामीमध्येको एक जना उक्लन सक्दैन कि भन्ने हिजोदेखि नै उहाँलाई ठूलो पीर थियो । त्यस माथि हिजोको डिनरमा पनि केही कमजोरी भयो भन्ने उहाँलाई लागेको थियो ।

हिजो मात्र बस्ने ठाउँमा भेट भएका डेभिड नामका एक चिनियाँ मूलका अमेरिकनले गत तीन दिनदेखि चढ्न कोसिस गरेका तर आधा बाटोबाटै फर्किनु परेका उहाँको अनुभवले मलाई पनि अलि अत्यास लागेको थियो । त्यस क्रममा उनले नेपाल प्रतिको चीनको नीतिको बारेमा र तिब्बती शरणार्थीको बारेमा विशेष जानकारी राख्न चासो देखाएकोमा यिनी अमेरिकाको जासुस पो हुन् की जस्तो पनि लागेको थियो । हामीहरू करिव आधा घण्टा उक्लिसकेका छांै, अव फेदीको होटल निकै तल परिसक्यो । के तल परिसक्यो भन्नु हामी नै माथि आइसकियो भन्नुपर्ला । तलबाट सुइय सिटी बजाउँदै उक्लने तयारी गरेर हिँडेको जानकारी दिएको जस्तो छ । ताराहरू गन्न सकिने गरी नजिकै देखिन्छन् । फौजी लस्करमा एकले अर्काको पाइलालाई पछ्याउँदै एक सुरमा एउटाले अर्कोलाई उज्यालो देखाउँदै एकै तालमा जुत्ताका तलुवा कतै चुच्चो कतै गोलो ढुङ्गाको टाउकोमा टेक्दै पाँच हजारको उचाईतिर नजिकिदैछौं । हामीलाई सकेसम्म बत्ती नबालेर हिँड्दा झन् राम्रो हुने कुरा सुझावका रुपमा भनिरहेका थिए सरदारले । हामीले तर त्यसो गरेका चाहिं थिएनांै । हामीलाई उछिन्दै एक हुल सहायकहरू ‘बत्तीले आँखा बिगार्छ एक छिन निभाई दिनुहोला’ भन्दै अनुरोध गरिरहेका थिए । त्यसै गर्नुपर्ने रहेछ भनेर मैले पनि बत्ति बाल्न छोडँे । त्यसपछि केही क्षणमै खुटाले टेक्नसम्म मिल्नेगरि बाटो देखिन थाल्यो । नागबेली आकारमा उक्लिरहेका घोडेटो बाटो । अलि चाँडो हिँड्नसक्नेहरू हिजो नै हाइक्याम्पमा पुगेर बसेका थिए । हामी चाँही बल्ल पुग्ने तरखरमा छौं । यतिबेला अलि स्वास फेर्न असजिलो भएको जस्तो लागेको छ मलाई । अरूलाई सोध्ने अवस्था पनि थिएन । लामो लामो स्वास फेर्दै स्वरुप उसापान प्राणायाम गर्र्दै जेनतेन इज्जत धान्ने काम गरिरहेको छु । करिव एक घण्टापछिको उचाईमा विसौनी रहेछ । त्यहाँ सरदारले सुस्ताउन आदेश दिए, अनि म र सहायक भाइ निमालाई तातो कफी अर्डर गर्नका लागि अघि जान भन्नु भयो । हामी दुई फेरि केहीबेर पनि सुस्ताउनु नपाई ठाडै उकालो लाग्यौं । तन्केर उक्लँदा–उक्लँदा छाती फुट्लाजस्तो भएको छ । पारिपट्टि बत्ती बलेको देखियो । हाइक्याम्पको होटल आइपुगियो भनेर खुसी भएँ । तर अझै निकै उक्लन पर्ने रहेछ । बल्लतल्ल स्वास पातलो गर्दै हजार मीटरको दौड पार गरेर सिमानामा पुगेको धावकजस्तै गरी हाइक्याम्पको होटलमा आइपुगियो र सात कप कालो कफीको आदेश दियौं । मैले रेशी मस्रुम पाउडर र लिंजी कफी पनि बोकेर हिँडेको हुनाले कालो कफीमा त्यसलाई मिसाएर पिउने विचार गरेँ । साथीहरू आईपुगिञ्जेलसम्म हाम्रो स्वास केही सामान्य भएको थियो । गोराहरू लखतरान भएर आइपुगेका रहेछन् । सबैका लागि कालो कफी र विस्कुट तयार गरेर राखिदिएका थियौं । करिव दश मिनेटमा हिँडिहाल्नु पर्नेछ, सरदार उक्साउँदै थिए । समयमा नै उकालो तय गर्नुपर्छ । अन्यथा हावाले उक्लन साह्रै गाह्रो हुन्छ । फेरि घोडा वा याक भाडामा लिनुपर्ने हुन्छ । त्यसका लागि एक सय डलर अतिरिक्त तिर्नुपर्ने हुन्छ । हामीहरू सकेसम्म त्यस्तो गर्न नपरोस् भन्ने पक्षमा छौं । आफ्नो झोला बोकेर उक्लनका लागि लामबद्ध भयौं । भुकभुक उज्यालो पनि भएको छैन यतिबेला । त्यस होटलमा बसेका मानिसहरू हिँड्ने तरखरमा छन् । एकपछि अर्को गर्दै माथि–माथि आकाशतिर उक्लिनै रह्यांै, थोराङ्गपासको नजिक–नजिक एक करले एक बलले अघि बढि नै रह्यांै । हामीभन्दा निकैपछि हिँडेका गोराहरूले हामीलाई उछिन्नका लागि एक्सक्युज मागिरहेका बेला हामीहरू उनीहरूका बहादुरीलाई कमका आँकिरहेका थिएनौं । उक्साइरहेका थियौं, एकले अर्कोलाई ‘वेल डन, किप इट अप’ भनेर । अव झिस्मिसे हुन लागेको जस्तो छ ।

हामीलाई पछिका अरू धेरै समूहले उछिनि सकेको छ । एक दुईजना हाम्रो साथ नै अघि बढिरहेका छन् । अव हामी टिहाउसमा पुग्ने तरखरमा छांै भनेर जानकारी आएकोछ । मानौ त्यो एउटा यस्तो चौतारी हो, जहाँ करिव दुई घण्टाको उकालोकोे हिँडाइको थकाई मार्ने काम हुन्छ । हामीहरू समिटको नजिक पुगिरहेका छौं । अव घाम झलमल भैसकेको छ, अनि दुई पहाड बीचको कापबाट निस्किएको सूर्य प्रष्ट माथि पुगिसकेको र एकछिन टक्क अडिएर हामीतिर हेरेर मुसुमुसु हाँसिरहेको छ । ओहो π कति मनोरम । आफ्ना सामान र झोलाहरूलाई मिलाउँदै उकालो लाग्छौ निरन्तर थोराङ्गपासको अन्तिम विन्दुलाई छुन । जहाँ हरेक नयाँ यात्रुका लागि कौतुहलको विषय हुने गर्छ । समूहका गोरालाई घोडा वा याकमा चढाएर पार तार्नुपर्छ कि भन्ने सरदारलाई बडो चिन्ता थियो । कतिपय गोराहरू समूहलाई छोडेर अघि बढिसकेका छन् । सबैलाई सम्हाल्नुपर्ने चटारो, यतिबेला निकै विबेकले काम लिनु पर्नेछ । तिलक र निमा भाइ सबैभन्दा पछाडि पाइला गन्दैछन् । म पनि गानोदर्माको कफी कालो चियामा मिसाएर पिएकोले ऊर्जाको कमी महसुस् गरिरहेको थिइँन । बालुवामाथि चिप्लिदै बग्ने खालका गोलाकार ढुङ्गाहरूमा हिँड्दा पाइलापिच्छे सम्हालिनुपर्ने थियो । निधारमा तर–तर पसिना काढ्दै बलिया बाङ्गाहरू थोराङ्गपासको विन्दुमा छुन खोजिरहेका छन् । एक एक स्वासको दम भर्दै, हामीहरू पनि पाइला गन्दैछांंै । अगाडि पुग्नेहरूले हामीलाई स्वागतमा हात हल्लाइरहेको अव प्रष्ट देख्न थालेको छ । हरेक एक अर्काले एस, वेल डन, कंग्राचुलेसन जस्ता शव्दले एक आपसमा उत्प्रेरणा दिइरहेका छन । वातावरण यस्तो लाग्छ मानांै हामीहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छांै । हावा सिरेटोको रुप लिई भित्र–भित्र छेड्नेगरि चलिरहेको छ, जसले गर्दा घामको उपस्थिति अर्थहीन भएको छ । यतिबेला हामी पाँच हजार चार सय सोह्र मिटरको उचाईमाथि पुगेका छौं । एकजना गोरा र म हातमा हात मिलाएर एक अर्कालाई सहयोग गरिनै रहेका थियौं । कति अविस्मरणीय थियो त्यो क्षण । हाम्रो ऐतिहासिक गर्विलो पाइला शिखरको अन्तिम विन्दुमा पुग्ने बेलामा हाम्रा समूहका साथीहरूले क्यामराको क्लिक मार्दै विजय अभिवादन गर्दै थिए । मलाई याद आयो, म कक्षा आठमा पढ्दा वीरेन्द्र शिल्ड प्रतियोगितामा दौडमा प्रथम हुँदा रातो रिवन पार गरेको । विश्व ओलम्पिकमा प्रथम भएको धावकले रिवनलाई पार गरेपछि पाइने बधाईजस्तै लाग्यो मलाई यो सफल आरोहण हिमभञ्ज्याङ्गको ।

Sabhaar from http://www.eholisticnews.com/

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *