म नाङ्गी द्रोपदी

विराट त्यस महलको

भव्य कुर्सीमा विराजमान

महाराज धृतराष्ट्रलाई

यो द्रोपदीको प्रणाम ।

 

जङ्गल र तालहरुमा

गोपिनी नङ्ग्याउने 

कृष्णले भारी सभामा मेरो

वस्त्र हरण हुन दिएन

आज आफै अस्तित्वका लागि

अधिकारका लागि

न्यायका लागि

कृष्णवादको विरुद्धमा

दुश्शासनवादको विरुद्धमा

मनुवादको विरुद्धमा

सुलीमा चढेर

नाङ्गिन चाहन्छु

र भारी सभालाई चुनौती दिदै

नाङ्गिदै सडकमा

प्रदर्शित हुन चाहन्छु    

 

दुश्शासनले मलाई नङ्ग्याएन

यो सय गजको धोती र पेटीकोटले

मलाई पुराणदेखि

आज सम्म बटारिरहेको छ

स्वतन्त्रता

अस्तित्व

अधिकार

समानता

मेरा सबै सबै

जीवनका मूल्यवान समय

त्यसैले स्वयम्

यस महामानवहरुको सभामा

उपस्थित भएर

विद्रोह गर्न चाहन्छु

 

राजनीतिज्ञ

समाजसेवी

साहित्यकार

दार्शनिक

पत्रकार

आम जनता

सबै सबैका बीचमा

म द्रोपदी तुरन्तै

मेरो स्वाच्छन्दताका

सीमारेखासम्म नाङ्गिन चाहन्छु

मेरो वस्त्रहरणको समयमा

युधिष्ठरका सत्यवादी र धर्मात्मा आत्माहरु

विदुरको मौन नीति

धृर्तराष्ट्रको पुत्रमोह

भीष्मको प्रतिज्ञा

द्रोणको गुरुचरित्र

गान्धारीको पतिप्रतिज्ञा

दुर्योधनको अभिमान

र शकुनि मामाको षडयन्त्र

रसास्वादनको अट्टहास

सबै सबैलाई

हृदयदेखि धन्यवाद छ

 

मेरो अस्तित्वको कवज

मेरा पाण्डव पतिहरु

मलाई नै दाउमा राखेर

आफ्नो पुरुषार्थ

सिद्ध गरिरहेको बेला

स्वयम् म महाभारतको

यस सभामा खडा भई

नाङ्गिएर ढुक्क हुन

र बनाउन चाहन्छु

कौरवहरुको प्यासी

लोभ र स्वाभिमानको अगाडि

कहिले नखोलिएको   

मेरो नग्नताको पर्दा खोल्न चाहन्छु

 

अपुरो वस्त्रहरणले

म निस्सासिएको थिए

र वस्त्रले बेरेर मलाई

बलात्कार गरिरहेको थियो

मेरो ऐकान्तिक गोप्यता भग्न गरिएको थियो

जताततैबाट लैङ्गिक आक्रमण गरिएको थियो

म वस्त्रभित्र कुँजिएकी

हीनताले जलेर राख भएकी

सतीका आगामा दनदनी बलिरहेकी छु- यस बेला

ओ गान्धारीहरु

आँखा खोलेर हेर

म कसरी जलिरहेकी छु!

आँखामा कहिलेसम्म

धृर्तराष्ट्र बोकेर हिँड्छौ

कहिलेसम्म विवेकमा

ठेडी कोचेर बस्छौ

मेरो विप्लव सुन्यौ होला!

 

यहाँ उपस्थित सबै सबैलाई

म नाङ्गिएर प्रणाम गर्छु

-म नाङ्गी दौपदी ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *