आदिवासी जनजाति कोइँच – उत्तम कुमार सुनुवार

 
आदिवासी जनजाति कोइँच सुनुवारको प्रदर्शनीय कलाको स्थिति, चुनौती र सम्भावना
 
साराँश
यस आलेखमा आदिवासी जनजाति कोइँच सुनुवारको प्रदर्शनीय कलाहरु मध्ये नाच, गीत÷संगीत र नाटकका वारेमा संक्षिप्त जानकारी दिने कोशिश गरिएको छ । यहाँ नाच विधामा, शाँदार, कालिपिपि, बासुहोपो, मेसेल्मी, नादोरि, क्लिक्लिति, राम्दाले थादो, शुदुक, क्योङ र माचिङ, बोन पोइँबो नाचको परिचय दिइएको छ । गीत संगीत विधामा सलाक, खालो, हाँहाँ हाँसाल हाँसाल, थादो, शुदुक, क्लिङ्किलति, राम्दाले गीतको परिचय दिने प्रयास गरिएको छ भने नाटक विधामा सापुरोलो, खामे उम्चा, ग्याँबे ताँगे, जाइलामे, बुल्नु थाःचा नाटकको परिचय दिइएको छ । यहाँ चर्चा गरिएको प्रदर्शनी कलाको उत्पत्ति, कालनिर्धारण, समसामायिक अध्ययनलाई यस आलेखमा मुख्य विषय बनाइएको छैन ।
१. परिचय
राज्यको विभेदित नीतिका कारण वाध्येत्तमकरुपमा विस्थापित भई स्वदेश तथा विदेशभरि छरिएर रहेको, कतिपयले आफ्नो भाषा, धर्म, कला संस्कृति बिर्सिएका भए पनि किरात पूर्खा तथा प्रकृतिपूजक, मुक्दुम दर्शनमा आधारित आफ्नो छुट्टै विशिष्ट संस्कृति, भाषा, कला, साहित्य, परम्परागत संस्था, न्याय प्रणाली, जीवनपद्धति र लिखित अलिखित इतिहास प्रति गर्व गर्ने, नेपालको प्राचीन इतिहासमा उल्लेखित किरात वंशका दरसन्तान, ऐतिहासिक किरात भूमिको रोल्वालिङ हिमश्रृङ्खलबाट दक्षिण–पूर्व भएर बग्ने लिखु, तामाकोशी, सुनुकोशी र शाखा नदीहरु खिम्ती, मोलोङ नदी वरिपरिको भूभाग सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा पुख्र्यौली थाँतथलो भएका आदिवासी जनजाति नै कोइँच हुन्, जसलाई कतै मुखिया, कतै शिकारी, कतै सुनुवार, सुनवार, सुन्वार भनी चिनिन्छ । तर सरकारी पक्षबाट १८५४ मा तत्कालीन सरकारले जारी गरेको २२ व्याज लिनेदिने बन्द गर्न स्थानीय किपट मुखियालाई पठाएको पत्र, १८८२ र १८८७ सालको १२ गाउँका किपटिय मुखियालाई दिएको लालमोहरमा लगायत हाल नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ को अनुसूचि १ मा सुचिकृत आदिवासी जनजातीय नाममा समेत सुनुवार उल्लेख गरिएको छ ।ं खस नेपाली भाषाको सुनुवार जातीय नामले आदिवासी जनजाति कोइँचको पहिचान गराउँदैन, सुनुवारको अर्थ खोज्यौं भने सुनकोशी वरिपरि वस्ने जाति भनेर चिनिन्छ । तर सुनकोशी नाम नै धेरै पछाडि अर्थात् गोर्खा राज्यको विस्तारसँगसँगै नामाकरण भएको नाम हो । खस भाषामा सुनकोशीको नामाकरण हुनुपूर्व कोइँच लगायत बाहिङ, जेरुङ राईहरुले सुनकोशीलाई ङाकु नामले पुकार तथा आराधना गर्ने गर्दछन् । गोर्खा राज्यको विस्तार पूर्वतिर भएपछि मात्र सुनुवार जातीय नामले व्यापकता पाउँदै गयो । मुख्यतः चन्द्र शम्शेरको इस्तिहार बमोजिम व्रिटिश गोर्खा भर्तीमा जबर्जस्ती भर्ती गराएपछि मात्र सुनुवार जातीय नाम अभिलेखीकरण हुँदै आएको मानिन्छ ।
पहिचानको धर्मसंकटमा पिल्सिएका यिनै आदिवासी जनजाति कोइँच सुनुवारहरुले विश्वका धेरै आदिवासी जनजातिहरुले जस्तै आफ्ना अलिखित इतिहास, वंश परम्परा, संस्कार संस्कृति र आस्थालाई निरन्तरता विभिन्न कला र श्रुति तथा गुरुमुख परम्परा मार्फत जीवित राख्दै आएका छन । विभिन्न वाधा अड्चन र विषम् परिस्थितिमा पनि कोइँचहरुले आफ्ना पुख्र्यौली इतिहास, वीरता, संस्कार संस्कृति, नियम कानुनहरु कथा सुनाएर, गीत गाएर, नाचेर, विभिन्न अभिनय गरेर पुस्तान्तरण गरिरहेका छन् ।
२. प्रदर्शनीय कला ः
परम्परागत कला कौशला, संस्कार संस्कृति र दर्शन पुस्तौं पुस्तान्तरणको लागि आदिवासी जनजाति कोइँचमा विभिन्न प्रदर्शनीय कलाहरु छन् । त्यस्ता कलाहरुमा बाद्यवादन, अभिनयात्मक नाटक, संगीतमय नाटक, हाँस्य अभिनय, कथा वाचन, जोखना हेर्ने, घरको पेटी, ढोका, झ्यालमा कोरिने बुट्टाहरु आदिवासी जनजाति कोइँचहरुका प्रदर्शनीय कलाहरु हुन् । नाचेर, गाएर र अभिनय गरेर पुस्तौं पुस्ता अलिखितरुपमा निरन्तर चल्दै आएका कोइँच संस्कार संस्कृतिहरुको अद्वितीय कलाहरु अझै जीवित छन् भने कतिपय कलाहरु लोप भैसकेका छन् ।
२. १. कोइँचमा प्रचलित परम्परागत नाचहरु
विभिन्न लेखोटानुसार नाचको इतिहास धेरै पुरानो मानिन्छ । लिखित भाषाको विकास हुनुपूर्व नाच पुर्खाहरुको कथा, इतिहासहरु पुस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम थियो । शरीर, हात, खुट्टा चाल आँखाको भावमा कुनै पनि कुराको व्याख्या गर्ने सिर्जनात्मक कार्य नै नाच हो । नाच मानव चालको उद्देश्यपूर्ण छानिएको अवस्थाको सम्बन्ध राख्ने प्रदर्शनीय कलाको एक स्वारुप हो ।
कोइँचहरुमा संस्कारगत र मनोरञ्जनात्मक दुई किसिमका नाचहरु पाइन्छन् । संस्कारगत नाच जन्म, विवाह, मृत्यु वा विभिन्न चाडपर्वमा नाचिन्छ भने मनोरञ्जनात्मक नाचहरु जुनसुकै समयमा मनोरञ्जनका लागि नाचिन्छ । त्यस्ता नाचहरुको यहाँ संक्षिप्तरुपमा उल्लेख गरिन्छ ।
अ. संस्कारिक नाचहरु
(क) शाँदार नाच ः प्रत्येक वर्ष कोइँच सुनुवारहरुले प्रकृति र पूर्खालाई भाकेर अर्थात् प्रार्थना गर्ने उँधौली र उभौलीमा गरिने शाँदार पिदारमा नाचिने नाचलाई शाँदार नाच भनिन्छ । शाँदार शब्द शाँ र दार दुई शब्द मिलेर बनेको छ । शाँ धातु शब्दले सबै कुरा वा बस्तुको समिश्रण भएको एक वस्तु वा अवस्था भन्ने जनाउँछ । जस्तै शाबारी, शाँमालदुमाल, शाँका, शाँबु, शाका आदि । दारको अर्थ भने फहराउनु वा क्रमबद्ध तरिकाले पङ्ति लाग्नु वा निरन्तर चलिरहने अटुट, अखण्ड अविरल भन्ने जनाउँदा छ । यसैले शाँदार भन्नले विविधताको अटुटु, अखण्ड, अविरल स्थिति भन्न सकिन्छ । यसलाई अन्य जातिले चण्डी नाच पनि भन्ने गर्दछन् ।
शाँदार सिल मुख्यता मुक्दुमानुसार पुर्खा तथा प्रकृतिको आराधना गर्दा नाचिने भएको हुँदा आदिवासी जनजाति कोइँचहरुले जहिलेदेखि शाँदार पिदार गर्न शुरु गरे सोही समयदेखि नाच्ना थालेको अनुमान गर्न सकिन्छ । खिम्ती, लिखु र मोलुङ्ग नादी वरिपरिका भूभागमा चर्चित यो नाच सम्बन्धि अध्ययन भएको छैन । जब सुनुवार सेवा समाज २०४४ सालमा स्थापना भयो तत्पस्चान संस्थाको मुखपत्रमा सामान्य परिचय प्रस्तुत भए बाहेक अरु विस्तृत् अध्ययन भएको छैन । तर शाँदार पिदारका बारेमा भने अतीत मुखिया, लोकप्रिय सुनुवार, कोइँचबु काःतिच, चन्द्रकुमार हतुवाली, कालिबहादुर सुनुवार, चन्द्रकान्त सुनुवार, समीरमुखिया सुनुवारले कलम चलाउनुभएको देखिन्छ ।
ढोल झ्याम्टाको तालमा नाचिने भएको हुँदा ढोल झ्याम्टाको ताल अनुसार शाँदार सिलमा विभिन्न किसिमका नाचहरु हुने गर्दछ । ताल अनुसारका नाचहरुको नाम यसप्रकार छन् १. हाँ हाँ हासाल हाँसाल तथा सलाक, २. जासी ब्लुकुम ब्लुकुम, ३. काइशी सिल, ४. किल्लो सिल, ५. बुर सिल, ६. पिदार सिल, ७. दोतेक सिल, ८. लाँकादुले आमदुले ग्लुम्तेक सिल, ९. सुरो चोअÞतेक सिल, १०. चुर्मु सिल, ११. चिँकुम सिल, १२. रोकानासि सिल, १३. सुर्बु सिल, १४. कुँकुँबुलु सिल ।
शाँदार सिल मनोरञ्जनको लागि जुनसुकै समयमा नाचिने नाच होइन । यो नाच नाच्नको लागि विशेष पर्व र चाड आउनुपर्दछ । शाँदार नाचमा कोइँच इतिहास, संस्कार संस्कृति र जनजीवनको वारे जानकारी गराउने प्रयत्न गरिएको हुन्छ ।
(ख) कालिपिपि नाच ः कालि र पिपि दुई शब्द मिलेर कालिपिपि शब्द बनेको छ । कालि भन्नले अदृश्य शक्तिशाली संरक्षक र पिपि भनेको बजु भन्ने अर्थ लाग्छ । तीनै शक्तिशाली संरक्षक बजुलाई खुशी बनाउन पोइँब ग्याँमिहरुले नाच्ने नाच नै कालिपिपि नाच हो । पोइँबो ग्याँमिहरुले यो नाच नाच्दा बच्चालाई फकाउने सुताउने, कपाल कोर्ने, सिंगारपटार गर्ने, कपडा लागउने अभिनयसहित नाचिन्छ । ढेङ्ग्रो झ्याम्टाको तालमा खालो गाउँदै नाचिने यो नाच कोइँचको परम्परा, संस्कृतिको उद्भवसँगै शुरु भएको मान्न सकिन्छ । किराती कोइँच भूमिमा पराम्परागतरुपमा पोइँबो ग्याँमिले नाच्दै आएको कालिपिपि नाचको बारेमा कुनै अध्ययन गरिएको छैन ।
(ग) बासुहोपो नाच ः बास्ति होपो, गास्ति होपो र लास्ति होपो नामक किराती राजाहरु मध्येका एक राजा बासुहोपो अर्थात् बास्ति होपोको पुजा आराधना गर्ने नाच हो । कोइँच संस्कृतिमा अत्यन्तै रिसाह र मनकारी देवताको रुपमा बासुहोपोलाई मानिन्छ । चाँडै रिसाउने र उसको आराधना गर्दा चाँडै खुशी हुने देवता भएको हुँदा कोइँच गाउँघरमा बासुहोपोमि गायेँ भन्ने चलन पनि छ ।
यो नाच कोइँचहरुले ख्याँगु गर्दा पोइँबग्याँमिहरुले बासुहोपो देवतालाई खुशी बनाई शुभ आशिष, वरदान मागेर कोइँचको संस्कार संस्कृति रक्षा गर्न यो नाच नाचिन्छ । यो नाच किराती कोइँच भूमिमा पराम्परागतरुपमा पोइँबोग्याँमिले नाच्दै आएको नाच हो ।
(घ) मेसेल्मी नाच ः यो नाच कोइँचहरुको कुलपुरोहित ग्याँमिहरुले नाच्ने नाच हो । मेसेल भनेको अँध्यारो आँधीहुरी हो । यही मेसेल शब्दमा र मि प्रत्यय लागेर मेसेल्मी नाचको नामाकरण भएको हो । यो नाचमा विऊ छर्ने, सोली बोक्ने, धागो कातेको, तान बुनेको अभिनय गर्दै नाचिन्छ । खालो गाउँदै नाचिने मेसेल्मि नाचको उद्भव कोइँच संस्कार संस्कृतिसँगै भएको मानिन्छ । यो नाचलाई पल्लो किरातमा महारानी बजु भनेर पनि सम्बोधन गर्ने गरिन्छ ।
(ङ) नादोरि नाच ः विवाहको रात बेहुलाको घरमा नाचिने नाच हो । नादो शब्दमा रि प्रत्यय लागेर बनेको नादोरि शब्दको अर्थ रातभरि ननिदाई रमाइलो गर्दै बस्नु भन्ने अर्थ लग्दछ । नादोरि नाच नाच्दा गोलो आकारमा घुमीघुमी नाचिन्छ । प्रत्येक गीतलाई बीस पटक गाउनु पर्दछ । यस नाचमा गाइने गीतले मानव जीवनको जीवनचक्रको वारेमा बताउँदछ ।
आ) मनोरञ्जनात्मक नाचहरु
(क) क्लिक्लिति नाच ः यो नाच घुमि घुमि गोलो घेरामा नाचिन्छ । क्लिङ्क्लिति भनेको टुङ्ना हो । टुङ्ना बजाउँदै नाचिने यो नाच जुवारी खेल्दै नाचिन्छ । टुङ्ना बजाएर बोल्न नसक्ने मानिसको अभिनय गर्दै उसको मनोकुण्ठ पोखाउन अभिनय गर्दै नाच्ने पनि गरिन्छ । यो नाच विशेष गरी तामाकोशी, सुनकोशी, खिम्ती, मोलुङ् वरिपरि नाचिन्छ । यस नाचको वारेमा विस्तृत् अध्ययन गरेको पाइँदैन ।
(ख) राम्दाले थादो नाच ः गोलो आकारमा घुमिघुमि नाचिने यो नाचलाई नाक्दाले नाच पनि भनिन्छ । राम्दले भनेको ठूलो मादाल र नाक्दाले भनेको सानो मादल भन्ने अर्थ लाग्छ । विशेषगरी तामाकोशी, खिम्ती, लिखु, मोलुङ, दुधकोशीको एकराते जात्राहरुमा लामो भाका तानेर रातभरि नाचिन्छ । यो गीतको उद्भव विशेषगरी पस्चिमबाट मगरहरुको बसाइँ पूर्वतिर सरेपछि गाउन थालिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
(ग) शुदुक नाच ः शुत धातु शब्दमा दुक प्रत्यय लागेर बनेको शुदुक शब्दले विस्तारै हलुका चालले एक पाइला अगाडिपछाडि वा दायाँबायाँ सर्नु भन्ने बुझाउँछ । विवाह, बटुलो, विभिन्न चाडपर्व र हाटबजारहरुमा बास्सै बाजा अर्थात् माउथ अर्गन बजाएर केटाकेटीमा जुवारी खेल्दै नाचिने शुदुक सिल आधुनिक माउथ अर्गन बजारमा आउनुभन्दा पहिला मालिङ्गोको सानासाना चार पाँच वटा मुराली जस्ता बाजा बजाएर नाचिने जानकारको भनाई रहेको छ । खुट्टा र हातलाई एकै प्रकारले अगाडि पछाडि चालेर घुमी घुमी गोलो आकारमा समुहमा नाचिन्छ । तामाकोशी, सुनकोशी, खिम्ती, लिखु, मोलुङवारिपारि प्रचलित शुदुक सिल मनोरञ्जनको लागि नाचिने नाच हो । यस नाचको वारेमा कतै पनि कसैले अध्ययन भए गरेको पाइएको छैन ।
(घ) क्योङ र माचिङ नाच ः क्योङ शब्दको अर्थ विनायो हो । विशेषगरी युवायुवतिहरुको मायाको चिनो मानिने यो नाचमा डाँफे तथा परेवाको अभिनय गरेर नाच्ने गरिन्छ । यो नाच विभिन्न चाडपर्व र गोठालो जाँदा युवायुवतीहरु मनोरञ्जनको लागि नाच्ने गर्दछन् । यसको उद्भवभूमि भनेको कोइँच भूमि नै हो। यसको वारेमा कुनै अध्ययन हुन सकेको देखिँदैन ।
(ङ) बोन पोइँबो नाच ः बोन पोइँबो भनेको बोन परम्पराको संस्थापक पोइँबो कुलपुरोहितको नाच हो । यो नाच पनि ढ्याङ्ग्रो बजाएर नाच्ने गरिन्छ । पोइँबो ग्याँमिले सुसेल्दै खुक्खुक गर्दै नाच्ने गर्दछन् । यसरी नाच्दा बोन पोइँबोको उद्गम स्थल, बासस्थानको नामहरु भन्दै नाच्ने गरिन्छ । यस नाचको अभिलेखीकारण गरेको पाइँदैन ।
२. २. गीत÷सङ्गीत
गीत तत्सम शब्द हो । जसको निर्माण गै धातुमा क्त प्रत्यय लागेर भएको छ । अंग्रेजीमा लिरिक र सङ्ग प्रचलित छन् । मानव मात्र नभई सम्पूर्ण प्राणीहरुका पीडा, वेदना र खुशीहरुलाई अनुभूति गर्न सक्ने मानव मस्तिष्कको ऐना र कोमल ह्यदयको परिचायत्मक स्वर र संगीत दिन मिल्ने शब्दहरु नै गीत हुन् । –महादेव अधिकारी
कोइँचको लोक परम्परामा गाउँदै गरेको गीतको साधारण नियम हुन्छ । भन्दा र गाउँदा फाँकी मिल्नुपर्छ । अक्षरको घटबढमा कुनै ध्यान दिइँदैन । लयका आधारमा विश्राम हुँदै जान्छ । कोइँचमा परम्परागत संस्कारमा गाउनै पर्ने र मनोरञ्जनको लागि गाइने गरी दुई किसिमका गीतहरु पाइन्छ ।
अ. संस्कारगत गीतहरु ः
(क) सलाक ः भन्ने अर्थात् कसैलाई लयवद्ध तरिकाले बताउने गीत नै सलाक भजन गीत हो । यो ढोलझ्याम्टको तालमा नाच्दै गाउने गरिन्छ । यो कोइँच भूमिमा मात्र गाइने गीत हो । यसलाई सासी मुक्दुमको मन्त्र पनि भन्ने गरिन्छ । यो गीतको शुरुआत गरेपछि अन्त्य नभएसम्म विसाउनु हुँदैन भन्ने जनविश्वास छ । यो पोइँबो ग्याँमि र सासि मुक्दुम जान्ने जो कोहीले गाउन सक्दछन् । सालाक गीतको सङ्कलन पहिलो पटक रामेछाप प्रिती सल्लेका रामबहादुर लुँखिच सुनुवारले किराँत वंशावली भाग तीनमा समावेश गर्नु भएको थियो । त्यसैगरी अतीत मुखियाद्वारा सङ्कलित सालाक आदिवासी जनजाति जर्नलमा छापिएको छ । सुनुवार सेवा समाजले सार्वजानिक गरेको शाँदार सिलको पारपुकि भिडियो गीत एल्बममा पनि टेकबहादुर सुनुवारले गाउनु भएको छ भने रेडियो नेपालमा पण्डव सुनुवारले तीसको दशकमा खस भाषामा अनुवाद गरी गाउनु भएको थियो । पछिल्लो समय नाम्सी फु गीति एल्बममा समेत समेटिएको छ ।
सालाक मुक्दुमको मुल मन्त्र पनि हो । कोइँच उत्पत्तिको सबै कथा भन्ने प्रयास गरिन्छ । मूत्युको मुखबाट कसरी बचाउनेदेखि सह भित्राउने, रोगव्याधी हटाउने, समाज र राष्ट्रको असल कामना समेत गरिन्छ । तर सक्कली परम्परागत गीतको अभिलेखन भने हुनसकीरहेको छैन । यस गीतको उद्गम थलो कोइँच भूमि नै हो । यो संस्कारगत गीत भएको हुँदा कोइँचहरु जहिलेदेखि अस्तित्वमा रहे आए सोही समयदेखि यो गीत गाउन थालिएको अनुमान गर्न सकिन्छ ।
(ख) खालो ः खालो शब्दको अर्थ कसैको वारेमा सोधपुध गरी बोलाउनु वा आमन्त्रण गर्नु हो । खालो कोइँच संस्कार संस्कृतिमा देवीदेवतालाई आव्हान गर्ने एक किसिमको प्रार्थना गीत वा भजन हो । यस गीतलाई तामिचाइमि, दोमोका दार्शो सेरेमफु, नाम्सी फुमा समेट्ने प्रयास गरिए छ भने सक्कली परम्परागत खालोको अभिलेखीकरण भने गरिएको छैन । कोइँच कुलपुरोहित पोइँबो ग्याँमिले विशेष गरी घण्टीको आवाजमा देवीदेवताहरुको आव्हान गर्दा खालो गाउने गर्दछन् । खालो गीतभित्र विभिन्न किसिमका लयहरु हुन्छन् ।
(ग) हाँहाँ हाँसाल हाँसाल ः हाँहाँ हाँसाल हाँसाल भन्नले खुशीले मुखबाट निस्केको आवाज वा भाव मानिन्छ । हाँसालको खास अर्थ भने उज्यालो हो । शाँदार पिदार गरीसकेपछि खुशीले रमाइलो गर्दै नाच्दा गाइने गीतलाई हाँ हाँ हाँसाल हाँसाल गीत भनिन्छ । यो गीत महिला पुरुष जुवारी खेल्दै गाउने गरिन्छ । यो नाच कोइँच पुख्र्यौली थलोमा नाचे पनि अहिले विभिन्न ठाउँमा विस्तार भएर गएको देखिन्छ ।
अ. मनोरञ्जनात्मक गीतहरु ः
(क) थादो ः सलल बगेको सुरिलो लयलाई थादो वा थाँदो भनिन्छ । यो गीत विशेषगरी मेलापात, घाँसदाउरा जाँदा र गोठालो जाँदा गाउने चलन छ भने हाटबजारमा यस भाकामा जुवारी गाउने चलन समेत छ । यस गीतबाट गायक गायिकले आफ्नो मनको वह पोखाउने गर्दछन् भने कतिपय अवस्था विभिन्न पशुपंक्षी र घटनाको संयोग वियोगको कथा पनि भन्ने गरिन्छ । यस गीतको अध्ययन भएको पाइँदैन । यो विशेषगरी ताबाकोशी, सुनकोशी, लिखु कोशी वरिपरिको भूभागमा गाउने गरेको पाइएको छ ।
(ख) शुदुक ः माउथ अर्गन बजाउँदै हाट बजार, जात्रा, विहेबटुलोमा रमाईलोको लागि नाच्दै गाइने गीत हो । यस गीतमा केटा केटी जुवारी खेल्ने चलन छ भने वीच वीचमा नाच्नेहरुले फाँकी मिलाएर तुक्का जोड्ने चलन समेत रहेको छ । यो गीत सुनकोशी, तामाकोशी, खिम्ती, लिखु, मोलु खोला वरिपरि गाउने गरिन्छ ।
(ग) क्लिङ्किलति ः टुङ्ना बजाउँदै गाइँने यो गीत दुई किसिमको हुन्छ । पहिलो टुङ्नाको धुनमा ननाचि एक्लै गाइबस्तु चराउँदा वा गोठघरमा बसेर गोठलाहरुको कथा बुन्दै लामो विस्तारै गाउने चलन पाइन्छ । दोस्रो किसिमको गीत भने नाच्नको लागि छिटोछिटो टुङ्ना बजाएर नाच्दै गाउने चलन छ । यो गीतलाई टुङ्ना बजाएर गाउने भएको हुँदा क्लिङ्किति गीत पनि भन्ने गरिन्छ ।
(घ) राम्दाले ः राम्दले नाच नाच्दा गाउने गीतलाई राम्दाले गीत भनिन्छ । यो गीत पनि स्थान विशेष विभिन्न किसिमका लयहरुमा गाउने गरिन्छ । विशेषगरी विभिन्न जात्रा, चाडपर्वहरुमा यी गीतहरु गाउने गरिन्छ । यस गीतलाई पाण्डब सुनुवार, राजु ढुङ्गेल, नविन ढुङ्गेलले खस भाषामा गाउनुभएको छ भने दोमोका दार्शो सेरेम फु, नाम्सि फु कोइँच भाषाको गीति एल्बममा समेटिएको छ ।
२. ३. नाटक
नाटक मानव भावना व्यक्त गर्ने एक अद्वितीय माध्यम हो । नाटक सबै संस्कृतिमा विद्यमान व्यवहारिक आनीबानीको एउटा अत्यावश्यक रुप हो जुन आधारभूत मौलिक मानव गतिविधि पनि हो ।
मानवीय सोच, भावनालाई विभिन्न भावभंगीमा गरिएको अभिनयले हेर्नेहरुले आनन्द लिन्छन् । ज्ञान प्राप्त गर्दै जान्छन् । इतिहास र समाजलाई बुझ्ने गर्दछन् । नटक बहुमुखी पाठ्यक्रम सामाग्री पनि हो । पहिलो पुस्ताले गरे. भोगेका दुःख, पीडा, आनन्द पस्किँदै पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गर्न नाटक गरिँदै आएको देखिन्छ ।
(क) सापुरोलो ः सापुरोलो शब्द सापु र रोलो भिन्न शब्द मिलेर बनेको छ । सापुको अर्थ नाइटो र रोलो अर्थ खस्नु भन्ने हुन्छ । नवजात शिशु जन्मेको तेस्रो तीन यो संस्कार गरिन्छ । सुत्केरीको नाम गरेर जाँड छानेर पिदार गरेपछि नानीको दिर्घायुको कामना गर्दै बजुले विभिन्न किसिमको खराब आत्महरुले नछुओस् भनेर नाङ्लो ठाटाउँदै नानीको नाम राख्छिन् । विभिन्न किसिमको खराव आत्मलाई फालेको लघारेको मारेको अभिनय गर्दै नानीलाई कलो कलो पाक्पाक गर्दै सातो बोलाएर दिर्घा जिवन दिएको अभिनय गरिन्छ । यो संस्कारगत अभिनय भएको हुँदा यसको उद्भव समय पनि कोइँच संस्कार संस्कृतिको उद्भवसँगै भएको अनुमान गर्न सकिन्छ । यस सम्बन्धि कुनै लेख्य अभिलेख छैन ।
(ख) खामे उम्चा ः जब बच्चा ५ वा ६ महिनाको उमेर हुन्छ । कोइँच संस्कारमा खामे उम्तेक अर्थात् भात खुवाई संस्कार सम्पन्न गरिन्छ । कोइँच संस्कारमा बच्चालाई भात नखुवाउञ्जेल पिठ्यूमा बोक्न मिल्दैन । जब भात खुवाइन्छ त्यसपछि कोइँचहरुको पुख्र्यौली थलो देउलाथादि, ख्योख्योत, दुङ्दुङ् पुअ्खि पुराई सार्गिथालो कैलाश पर्वत घुमाएर पुनः घरमा आइपुगेको अभिनय गरिन्छ । यसरी पुस्तान्तरणको विभिन्न चरण मध्ये संस्कार बजुबाजेले नाति नातिनीलाई गरिन्छ भन्ने संकेत दिन्छ खामे उम्चा संस्कारको अभिनयले । यस समयमा बाटोमा आउने विभिन्न वाधाअड्चनको सामाना गर्न, बिसाउने, खोला तर्ने जस्ता अभिनय गरिन्छ । यस्ता नाटकहरुको लेखोट कतै पनि पाइएको छैन ।
(ग) ग्याँबे ताँगे ः यो अभिनय विवाहको बेलुकी बेहुलाको घरमा गरिने नाटकीय अभिनय हो । यसमा केटी हेर्न जाने, केटी माग्ने, रीतभात बुझाउने, विबाह गर्ने, सम्झी ढोग गर्ने अभिनय गरिन्छ । विवाहमा निम्तो बाँड्दा नै ग्याँबे ताँगेको लागि छुट्टै ल्वाङको निम्तो दिने गरिन्छ । यो अभिनयले विवाह संस्कारको सबै प्रक्रियाको अभिनय गरिन्छ । यो नाचको उद्भव कोइँचको संस्कार संस्कृतिको उद्भवसँगसँगै भएको मानिन्छ ।
(घ) जाइलामे ः यो अभिनाय विवाहको भोलिपल्ट सासुबुहारीको सम्बाद र झगडाको अभिनय हो । जाइलामे नामकी बुहारी सासु वीचको झगडालाई जाइलामे अभिनयमा प्रस्तुत् गरिएको छ यो अभिनय हिन्दू संस्कारबाट प्रभावित भएको देखिन्छ ।
(ङ) बुल्नु थाःचा ः मृत व्यक्तिको आत्मलाई ४५ दिनको लागि दुङ्दुङ् पुअ्खि लगेर घुम्न पठाउने यो नाटकीय अभिनय हो । यो अभिनयमा सबै सरसामान र काम उल्टो चलाइन्छ । ४५ दिनसम्म खाना पुग्ने बालीनाली लगाउने, खेती गर्ने अनि लाउने खाने सबै व्यवस्था गर्ने विभिन्न खेलहरु खेल्ने, भीर मौरीको मह काढ्ने अनेक थरीको अभिनय ढेङ्ग्रो झेम्टाको तालमा गरिन्छ । यो नाटक कोइँच संस्कार संस्कृतिको उद्भव भएको मान्न सकिन्छ । यो साँस्कृतिक नाटकको अभिलेखन भएको पाइँदैन ।
३. प्रदर्शनीय कलाको अवस्था, चुनौति, संरक्षण प्रयास र सम्भावना
नाच, गीत÷संगीत र नाटक जस्ता आदिवासी जनजाति कोइँचमा प्रचलित प्रदर्शनीय कलाहरुको अवस्था, संरक्षणको चुनौति, संरक्षण प्रयास र सम्भावना यसप्रकार रहेको छ ः
३.१ प्रदर्शनीय कलाको वर्तमान स्थिति
कोइँच भूमिमा सबै नाच, गीत÷संगीत र नाटकहरु लोपोन्मुख अवस्थामा छन् । नयाँ पुस्ताहरुमा यस्ता नाचहरुको पुस्तान्तरण हुन सकीरहेको छैन । परम्परागत संस्कारमा आधारित नाचहरु गुरुकुलीय परम्परामा आधारित हुने भएका हुँदा पोइँबो ग्याँमिहरुमा सीमित छ भने मनोरञ्जनात्मक नाचहरुमा नयाँ पुस्ताहरु आकर्षित भएको देखिएको छैन ।
गीत÷संगीतहरु भने अझै अस्तित्वमा छन् । सलाक, खलो, बासु प्रार्थना भजन कुलपुरोहितहरुमा आझै जीवित रहेको छ । तर चाँडै लोपोन्मुख अवस्थामा पुग्ने संकेत देखिन्छ । शाँदार गीत, शुदुक गीत सुरक्षित भएजस्तो देखिए पनि विश्वास्त रहने अवस्था भने छैन । पछिल्लो समय प्रविधिको विकास तथा सञ्चार माध्यमको पर्याप्तताले विभिन्न गीति एल्बमहरुमा सङ्कलित अवस्थामा रहेको पाइन्छ । तै पनि व्यवहारिक प्रचलनमा नआएपछि कतिपय गीतहरु प्रायः लोपोन्मुख अवस्थामा रहेको पाइन्छ । क्लिङ्क्लिति, शुदुक सिलका भर्खर सङ्कलन कार्य हुन सकीरहेको देखिँदैन । कोइँच वस्तीमा रामदाले थादो भाका, शुदुक र क्लिङक्लिति गीत प्रचलित गीत हुन् ।
कोइँच साँस्कृतिक नाटकहरु परम्परागत संस्कारमा आधारित भएको हुँदा विस्तार धार्मिक, सामाजिक र साँस्कृतिक विचलनले लोपोन्मुख अवस्थामा रहेको देखिन्छ । विस्तारै कोइँचहरुले परम्परागत संस्कारलाई छाड्नै गएका हुँदा यस्ता नाटकीय संस्कार छाड्दै गएकाले पनि अब संस्कारगत नाटकको लोप हुने प्रवल सम्भावना देखिन्छ ।
३.२. संरक्षण चुनौती
समय सापेक्ष यी नाच, गीत÷संगीत, नाटकहरुलाई अभिलेखीकरण गर्न नसक्नु नै मुख्य चुनौति रहेको छ । आधुनिकीकरणसँगै आमसञ्चारको व्यापक पहुँचका कारण यस्ता अद्वितीय परम्परागत नाचहरु अस्तित्व वचाउन संघर्ष गरिरहनु परेको छ । आमसञ्चारको पहुँच र शैक्षिक तथा साँस्कृतिक अतिक्रमणबाट जोगिन मुस्किल भएको देखिन्छ । मुख्यत राज्यको बहुलवादी साँस्कृतिक नीतिको अभाव र व्यक्ति, समुदाय र समाजको प्रयासले मात्र जोगाउन नसकिने लोपोन्मुख नाचहरुको अभिलेखीकरण गर्ने योजना तथा कार्यक्रम सरकारको सम्बन्धित निकायमा नहुनु नै यस्ता मौलिक अद्वितीय नाच, गीत÷संगीत र नाटकहरुको अवशान भइरहेको छ ।
३.३ सम्भावना
सरकारले वहुल साँस्कृतिक नीतिको अवलम्बन गर्दै लोपोन्मुख नाच, गीत÷संगीत र नाटकहरुको अभिलेखीकरण शुरु गर्ने हो भने यस्तो लोपोन्मुख नाचहरुलाई जोगाउन सकिने छ । यसरी अभिलेखीकरण गरिएका नाचहरुलाई नृत्य पाठ्यक्रममा समावेश गर्ने, विभिन्न साँस्कृतिक आदानप्रदान कार्यक्रममा समावेश गराउने र प्रशिक्षणको व्यवस्था गर्ने हो भने भविश्य उज्यालो देखिन्छ । यस्ता प्रदर्शनीय कलाहरुको सङ्कलन, अभिलेखनले नेपाली नाच, गीत÷संगीत र नाटकमा विविधता झल्किने छ ।
३.४. प्रदर्र्शनीय कला संरक्षणका लागि सक्रिय संघसंस्थाहरु
१० तथा १२ किपट र २४ तथा १६ थुमका आदिवासी जनजाति कोइँचको परम्परागत संस्थालाई कोइँच चुप्लु भनिन्छ । ती किपट र थुमका पदाधिकारी तथा गाउँलेहरु वीच वसिने सभाढुङ्गालाई चुम्लु भनिन्छ । सामुहिक नेतृत्वमा सञ्चालन हुने आफ्नो परम्परागत संस्था ‘कोइँच चुपलु’ वर्तमान राज्यको अतिक्रमणले प्रसाशनिकरुपमा लोप भए पनि साँस्कृतिक रुपमा भने अभैm यदाकदा जीवितै रहेको छ । यति हुँदा हुँदै पनि आदिवासी जनजाति कोइँचको हकहितको लागि बोल्ने, लबिङ गर्ने प्रतिनिधिमूलक संस्था, २०४४ सालमा स्थापित, सुनुवार सेवा समाज, नेपाल सरकारको संस्था दर्ता ऐन २०३४ अन्तर्गत २०४७ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सक्रियरुपमा सञ्चालित छ ।
सुनुवार सेवा समाजको स्थापनापछि केही नाचगीतहरुलाई सुचीकृत गर्ने कार्य गरे पनि पूर्णरुपमा संकलन र अभिलेखन भने गर्न सकेको छैन । सुनुवार सेवा समाजको स्थापनापछि केही नाचगीतहरुलाई सुचीकृत र प्रदर्शन तथा प्रवद्र्धन गर्ने गरिएको भए पनि गीत÷संगीत संरक्षण, प्रवद्र्धन गर्नका लागि भनेर केही वर्ष अगाडि मात्र सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको स्थापना भएको छ । त्यस्तैगरी परम्परागत संस्था कोइँच चुप्लु (चुप्लु समाज), सुनुवार डट ओआरजि अनलाइन पोर्टल, सेरेम फु सांगीतिक समूह र सुनुवार महिला समाजले यस्ता केही नाच, गीत संगीतहरुलाई सङ्कलन गरेर गीति एल्बम र भिडियोमा समेट्ने काम गरेको पाइन्छ ।
३.५. कोइँच प्रदर्शनीय कलामा संलग्न कलाकर्मीहरु
संस्कारिक नाचहरु कुलपुरोहितहरुले नाच्ने भएका हुँदा पोइँबो ग्याँमिले मात्र नाच्ने गर्दछन् । मनोरञ्जनात्मक नाचहरु भने कोइँच भूमिमा जोसुकैले नाच्न सक्छन् । तर यी नाचहरु व्यवसायिक बन्न नसक्नुको कारण यी नाच नाच्नकै लागि भनेर कुनै कलाकारहरु उत्पादन भएका वा प्रशिक्षण दिने संस्था समेत छैनन् । यस्ता नाच हेर्न र नाच्नको लागि छुट्टा छुट्टै गाउँ र मान्छेहरुसँग सम्पर्क गर्नुपर्ने अवस्था रहेको छ ।
तर कोइँच गीत तथा संगीतका क्षेत्रमा भने मोहन, प्रेम, आकाश, पारु, चन्द्र, विन्दा, तारा, चन्द्रकान्त, सन्ध्या, रेश्मा, पाण्डव, टेकबहादुर, लोकप्रिय, सिमोस, कौशिला, बबिता, रमिला, सिर्जना, विमला, पामबहादुर, शिशिर, आशिष, लेखबहादुर, सर्मिला, अरुण, जीवन सुनुवार, एलबी, सुमन, महेश, अतीत, शिव मुखिया, कोइँचबु काःतिच, कल्याण कार्की जस्ता कलाकारहरु देखा परेका छन् । यी नयाँ पुराना कलाकारहरु मध्ये शिव मुखिया, पामबहादुर सुनुवार र कोइँचबु काःतिच हालसम्म सक्रिय रहेको पाइएको छ ।
४. निष्कर्ष
मुख्यतः राज्यले जनसंख्याको कसी बनाउँदै अल्पसंख्याकहरुको परम्परागत संस्कार, संस्कृतिलाई भन्दा ठूला जनसंख्या भएकाहरुको संस्कार संस्कृति र अध्ययन गर्ने कार्यक्रमलाई प्राथामिकता दिएको हुँदा र अध्ययनकर्ताहरुको सोँचमा पनि लोपोन्मुख ज्ञान संरक्षणमा ध्यान नगएको हुँदा पनि नेपालका कतिपय अद्वितीय कला, ज्ञानहरुको मृत्यु भएको यथार्थलाई स्वीकार गर्नुपर्दछ । राज्यको आँखाका हिन्दू संस्कार संस्कृति वाहक अन्य धर्म, जातिको संस्कार संस्कृति गौण हुनुको कारण नेपालका धेरै कला संस्कृतिहरुको संरक्षण हुन सकिरहेको छैन । त्यस्तैगरी आदिवासी जनजाति कोइँचको परम्परागत साँस्कृतिक नाच, गीत÷संगीत र नाटकहरु जोगाउन नसकिने अवस्थामा रहेका छन् । कतिपय नाच, गीत÷संगीत र नाटकहरुलाई अभिलेखीकरण मात्र गर्नसकियो भने पनि पुनःर्जीवित हुने अवस्थामा देखिन्छ । जे जे जति नाच, गीत÷संगीत र नाटकहरु समाजमा विद्यमान छन् तिनीहरुलाई शैक्षिक पाठ्यक्रम, आमसञ्चारमार्फत प्रवद्र्धन गर्नु आवश्यक देखिन्छ । यसका लागि सरकार र सम्बन्धित विज्ञ व्यक्ति, सम्बन्धित समुदाय र सरकारहरु वीच सहकार्य गर्नु अपरिहार्य छ । मुख्यतः सरकारले यस्ता अद्वितीय नाच, गीत÷संगीत र नाटकहरुलाई राष्ट्रिय सम्पत्तिको रुपमा स्वीकार्नु पर्दछ । र यिनीहरुलाई जोगाउनु पर्छ भन्ने दायित्व वहन गर्नुपर्दछ ।
यदि यस्ता आदिवासी जनजातिय कलाहरु लोप हुँदै गए भने साँस्कृतिक विविधता मात्र होइन जैविक, भाषिक, सामाजिक विविधता समेत नास भएर जानेछ । नेपाली संस्कृतिको एक पाटोको अन्त्य हुन्छ । नेपाली भाषिक, साँस्कृतिक, जैविक इतिहासको अन्त्य हुने छ । मौलिक जीवनचक्रको अन्त्य हुन्छ ।
वर्तमान पस्चिमी अध्ययनविधि अनुसार मात्र आदिवासी जनजाति प्रदर्शनीय कलालाई अध्ययन गर्दा पूर्ण अध्ययन हुन सक्दैन । बुझाइमा फरक आउन सक्छ र व्याख्यामा फरक पर्दछ । यसैले आदिवासी जनाजातिको प्रदर्शनीय कलालाई अध्ययन गर्दा आदिवासी अध्ययन विधिको प्रयोग गर्न अनिवार्य र अपरिहार्य देखिन्छ । वास्तवमा आदिवासी जनजातिहरुको प्रदर्शनीय कलाहरुलाई पनि सरकारले आर्थिक समृद्धिसँग जोडेर व्यवसायिक बनाउँदै लैजानु पर्दछ । अनि मात्र यस्ता आदिवासी जनजातिहरु लगायत नेपालका अन्य प्रदर्शनीय कलाहरुले दीर्घ जीवन पाउन सक्ने छन ।
सन्दर्भसूची
काःतिच कोइँचबु २०६५, बाअशोदाइशो थामा लो, चुप्लु समाज काठमाडौं ।
मुखिया अतीत २०६७, अदेखा मुक्दुमी सत्य : शाँदार पिदार, चुप्लु समाज काठमाडौं ।
मुखिया श्याम सम्पा) २०६७, सुनुवार जन्म, विवाह, मृत्यु संस्कार विधिसंग्राह, सुनुवार सेवा समाज, काठमाडौं ।
सुनुवार लोकप्रिय -भूमिका)_ २०६५, कालेम दुम्ता, चुप्लु समाज काठमाडौं ।
पत्रपत्रिकाहरु :
कोइँच बु वर्ष ३, ४, ७, : सुनुवार सेवा समाज, काठमाडौं ।
जत्नमुइली वर्ष १, २, ४, ७ : क्युइँतबु कल्याण कोष, ओखलढुंगा ।
चेतना वर्ष २, ३, ४ : सुनुवार विद्यार्थी समाज, काठमाडौं ।
सिर्मी वर्ष २, ३ : सुनुवार महिला समाज, काठमाडौं ।
अनुसूची
१. सूचकको सूची
पदमबहादुर सुनुवार, खिजी काती
बुद्धिमान सुनुवार, खिजी काती
निलकुमारी सुनुवार, खिजी काती
लोकप्रिय सुनुवार, खिजी चण्डेश्वरी
रणवीर सुनुवार, रगनी
ईश्वरकिरण सुनुवार, रगनी
रमेशकुमार सुनुवार, कुँबुकाँस्थली
सञ्जीव सुनुवार, प्रिती
समीर मुखिया सुनुवार, खिजी फलाटे
सूर्यप्रकाश सुनुवार, खिजी फलाटे
 
 
 

Leave a Reply:

Your email address will not be published. Required fields are marked *

Marquee Powered By Know How Media.
Secured By miniOrange