हिसाब गर्थे बाजेले अौँला भाँचेर
हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर
`यति मुरी धान भयो कोदो यति पाथी
यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´
अौँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले
कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ
जोड्ने गुन्ने मेसो पाइनँ अल्मल गरेँ अनि
हजुरबालाई गफ दिएँ फुर्सद छैन भनी
`सर, मिसले दिनुभा´को गृहकार्य टन्न
सकेपछि भन्छु एेले सक्तिनँ म भन्न´
यसो भन्दै पढ्ने निहुँमा कोठाभित्र पसेँ
क्याल्कुलेटर खोजेँ अनि हिसाब गर्न बसेँ
बाहिर अाई भनेँ -`बल्ल गृहकार्य भ्याएँ
धान-कोदोको हिसाब पनि मिलाएर ल्याएँ´
हजुरबाले सोध्नुभयो- `कसो गरिस् तैँले´
तर उत्तर भन्दिनु भो मैलेभन्दा पैले
भनेँ मैले -`उत्तर मिल्यो साह्रै छक्क परेँ
हो हजुरबा मैले पनि त्यसै त्यसै गरेँ´
`लुकी लुकी क्याल्कुलेटर हान्ने बानी तेरो
अौँला भाँच्दै उत्तर ठ्याक्कै पार्ने बुद्धि मेरो´
हाँसी-हाँसी भन्नुभयो `क्याल्कुलेटर झिक्
तेरो मेसिनभन्दा बरु मेरै बुद्धि ठीक्´
-भोर्लेटार, लमजुङ ।
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र