रेडियोले ‘सरकारले घरघरमा उपभाेग्य सामग्री पुर्याउन निर्देशन दिएकाे ‘ समाचार फुक्याे । सँगसँगै आवश्यक पर्नेले सम्पर्क गर्ने नम्बर पनि दियाे ।
सुनेर उनीहरू खुसी भए । नहुन् पनि किन ? दैनिक ज्यालादारी गरी गाँसकाे जाेहाे गर्ने उनीहरु महामारीको डरले ‘लकडाउन’ भएपछि सबै काम ठप्प भएकाे भाेलिपल्ट देखि नै आधा पेट खान थालेका थिए र उनीहरुसँग खाध्यान्नकाे नाममा हिंजैदेखि केही बाँकी थिएन।
उनीहरूले सरकारलाई धन्यवाद दिंदै तत्काल ताेकिएकाे नम्बरमा फाेन गरे । आवश्यक सामग्री साेधियाे । उनीहरुले आफ्ना आवश्यकता बताए । उताबाट सबैकुरा टिपिएकाे र केही समयमै सामान आईपुग्ने जवाफ पाए ।
केही समयमा फाेन आयाे । ‘लाेकेशन’ साेधियाे । ‘चाेक भित्र पिपलकाे बाेट छ नि त्यसकै मुनि’ – उसले बतायाे ।
हेर्दाहेर्दै गाडी आईपुग्याे ।
उनीहरू गाडीको नजिक पुगे । पछ्याउँदै केटाकेटी पनि उहीँ पुगे ।
उता गाडीमा आएका मान्छेले नम्बर थिच्दै थिए, यता उसकाे खल्तीकाे माेबाइल चर्काेसँग बज्याे ।
उसले फाेन नउठाई नमस्ते गर्दै गाडीमा आएको मान्छेलाई भन्यो ‘यहीँ छु हजूर , मै हुं फाेन गर्ने, घर यही हाे’ , उसले पिपलकाे बाेट मुनिकाे छाप्राे देखायो ।
गाडीबाट निस्केकाे मान्छे नाक खुम्च्याउँदै उ बाट तर्कियाे र गाडीमा बस्दै भन्यो ‘मान्छे पनि कस्ताकस्ता भेटिन्छन् ‘ ‘सरकारले त नम्बर मात्रै दिएकाे हाे, पैसा दिंदैन, बेकारमा दु:ख दिएर’
उनीहरुको अनुहारमा कालाे धुवाँ फाल्दै गाडी हुईंकियाे । उनीहरू मुख मिठ्याउँदै प…र पुग्दासम्म त्यही गाडीलाई हेरिरहे ।
२०७६।१२।१५