१. सम्भवासंभव
जब सागर गर्भ नै
हिमालय भएर आकास्सिन सक्छ भने
कृष्णको द्वारिका नै
सागरगर्भमा भास्सिन सक्छ भने
असम्भव भन्ने केहि रहेनछ !
विश्व निलेको ब्रिटानियाले
नेपोलियनलाई वाटरलूमै भेट्न सक्छ भने
चर्चिलले हिटलरलाई
वेस्टमिन्स्टरको छातीमै मेट्न सक्छ भने
असम्भव भन्ने केहि रहेनछ!
ओ मेविरा,
तिमीलाई मुटुभित्र राखेर
सगरमाथा भई उभिरहेको
मेरो अस्तित्वको वृन्दावन
तिम्रो एकै झड्कामा
कुनै पनि बेला
पाताल धस्सिन पनि सक्ने रहेछ
ओ मेविरा,
हो,
असम्भव भन्ने केहि रहेनछ !
(शारदा अंक ४ पूर्णांक १२४ साउन २०८१ मा प्रकाशित)
२. मोहिनी
यी कामधेनु, कौस्तुव, र कल्पवृक्ष
लक्ष्मी, मेनका, र रम्भा
पारिजात या ऐरावत
कुनै कुनैको कुनै अर्थ छैन
अझ भनुँ
कालकुट समान छन्, तिमीबिना।
सुमेरु विश्वास बोकेर
म उच्चैश्रवामा सवार
हिमालय, काराकोरम र आल्प्सलाई परिक्रमा गरें
सरास्वती, गंगा र बोल्गामा गोताखोर बनें
हो,
हेन्ली स्ट्रिट देखि ट्रिनिटी चर्चसम्म
डाउनिङ्ग स्ट्रिट देखि बकिंगएम प्यालेससम्म
जुलियटको झ्यालदेखि वर्ड्स्वर्थको ड्याफ़ोडिल गार्डेनसम्म
फगत सुनसान सुनसान छन्, तिमी बिना ।
यीनै महासुनसानका सानिध्यतामा
केवल कैवल्य प्राप्त भएपछि
क्षीर, आन्ध्र, र प्रशान्त मन्थनबाट
केवल शुन्यवोध भएपछी
यहि महाशुन्यभित्र
सिर्फ तिम्रो एक झलक दर्शन
र
एक बुँद अमृतको तिर्सनामा
म युगौंदेखि पर्खिरहेछु
पर्खिरहेछु
पर्खिरहेछु
ओ मोहिनी,
तिमी कहां छौ ?
(अप्रकाशित)
३. माइलासंगको गन्थन
माइला,
तिमीले भनेजस्तै
एक माना दानाको लागि
नाकै ठोकिने उकालै उकालो
ओरालो गोरेटो घोरेटो र घुम्तिहरुमा
आफूभन्दा ठूलो भारी लादिएर
सिन्खुट्टे मनमा वचनको कोर्रा खांदै
स्वां स्वां र फ्वां फ्वां गर्दै कुद्नु मात्रै त
जीवन होइन हौ माइला!
माइला,
जीवन भनेको
न त ठूलेले ठेलेको सधैंको असार मात्र हो
न त कान्छाले कल्पेको पहेंलपुर मंसिरमात्र हो
माइला,
जीवन भनेको त
अलिकति घाम हो
अलिकति पानी हो
माइला जीवन भनेको त
घाम-पानीबिचको
सप्तरंगी ईन्द्रेणी हो माइला !
माइला,
जीवन भनेको त
अलिकति उकाली पनि हो
अलिकति ओराली पनि हो
जस्तो कि
माइलीको सम्झना संगसंगै बेशीबाट उकालो लाग्नु
देउराली पुगेर चौतारीमा ढाकर बिसाउनु
ढाकरलाई लौराले टेका लाएर
ढुंगेधाराको चीसो पानी अंजुली थापेर घट्घटि घुट्क्याउनु
अनि आफैले तय गरेको बाटोलाई फर्केर हेर्नु पनि
जीवन हो माइला !
माइला,
जीवन भनेको त
फेरि
पात बजाउंदै ओरालो लाग्नु
आंगनमा पुगेर भारी बिसाउनु
अनि
माइलीको हातको एक डबका मोही
तनतनी पिएर मज्जाले लाऽमो ढ्या…उ गर्नु
अनि
माइलीको सारीको सप्कोले
माइलीकै हातले
तिम्रो निधारभरिको पसिना सपक्कै पुछ्नु
अनि
वास बस्न फर्केका सरौंको कल्यांगकुलुंग गीत सुन्दै
माइलीको हात समाएर
सन्ध्याको लालीमासंगै रंगिनु पनि त
जीवन हो माइला !
माइला,
जीवन भनेको त
भान्छामा माइलीको मायालु स्वरमा “खाऊ न खाऊ !”
अनि
तिम्रो माया लुकेको खस्रो स्वरमा “तंलाई पनि थप् न !”पनि
जीवन हो माइला
माइला,
जीवन भनेको त
माइलीकै हातको सिरानी राखेर
माइलीकै मायाको सिरक ओढेर
माइलीकै अंगालोमा बेरिएर
भोलिको उज्यालो बिहानीको सपना देख्नु पनि त
जीवन हो माइला !
(बिगबेन र समय -२०११ मा संग्रहित)