– Surya Makhim Limbu
सानी छोरी
किन हो अत्यास लाग्दो प्रश्न सोध्न थालेकी छिन्
र मसँग छैनन् उत्तर छोरीको प्रश्नहरूमा ।
म कसरी बताउन सकुला
कि, तिम्रो प्रश्नको जवाफमा
छोरी !
क्षण–प्रतिक्षण
यात्राका हरेक पाइलाहरूमा
त्रसीत त्रसीत मनहरू बोकेर
बलत्कारीहरूबाट
–भाग्दै
–लुक्दै
– र जोगीदै
जिवन बाँच्नुपर्ने देशको छोरीमा तिमी आफै पनि हौ ।
र त्यो प्रश्नको उत्तरमा
मैले भन्नु पर्ने हुन्छ–
कि छाउपरीको अन्धविस्वासमा
म जस्तै बाबुहरूले
तिमीजस्तै आफ्नै अछोरीहरूलाई
जानी–जानी
छाउगोठको बधशाला पठाएर
–मारिरहँदा
–मारिरहँदा
–मारिरहँदा
कुनै पनि बाबुहरूलाई ग्लानी नहुने देशको छोरी हौ ।
र, छोरी !
यो जवाफपछि
तिमी आफ्नै बाबुलाई घृणा गर्नेछौ भनेर म सारै डराएको छु
कि छोरीहरू
–मरिरहुन्
–मरिरहुन्
–मरिरहुन्
तर, “छौपडी–बधशाला” जिन्दाबाद भन्ने
बाबु नामको पुरुषमा म पनि पर्छु…
तिमी र म
हर साँझ विहानहरूमा
सँगै बसेर सुनीरहेका ति
गाँउदेखि शहरसम्मका
बलत्कारै बलत्कारका समाचारहरूले दिक्क भएर
उतिबेलै सोधेकी थियौ
कि पापा,
त्यो वलात्कार हुने कुन देशको समाचार हो ?
र सोधेकी थियौ
को हुन् बलत्कारीहरू ?
कस्ता देखिन्छन् बलत्कारीहरु ?
छोरी !
जवाफ दिनलाई
अब मसँग
नत हिम्मत छ
नत नैतिकता छ
नत आत्मविस्वास नामको कुनै अंश बाँकी छैन
कि त्यो देश
हरेकदिन तिमीले आँखा चिम्लेर
दाहिने हातले मुटु छुएर
गर्व गर्दै सम्मानको स्वर र लयमा
देशभक्तिको गीतले पुकार्ने देशनै हो भनेर ।
र कुन नैतिकताको धरातलमा उभिएर भनौ
कि बलात्कारीमात्र होइन
त्यो देशमा–
सुसाशन दिने शासकहरू
सुरक्षा दिने सुरक्षाकर्मीहरू
अपराधको अनुषन्धन गर्नेहरू
समचार छाप्ने सम्पादकहरू
न्यायको लागि वकालत गर्नेहरू
र, न्याय दिने न्यायमुर्तिहरू
तिम्रो पापा जस्तै पुरुषहरू छन्
अनि,
ती बलत्कारीरु
जुँगाको रेखीसँगै पुरुषत्वको दम्भ उम्रदै गरेका युवक
जुँगाको तौसँगै पुरुषत्वको दम्भले बयस्क लोग्ने
र उमेरले पाकेर तनले स्खलीत, अलिकति मनमा पुरुषत्वको दम्भ बचेको बुडो
सबै उमेरका छन् र ती सबैभीत्र बलात्कारको राक्षस सावार छ छोरी ।
र म यो भन्दा
जिउँदै लास जस्तो हुँदछु
कि छोरी ती सबै बलात्कारीहरू तिम्रो पापा जस्तै पुरुषहरूनै हुन्…
हो छोरी !
म एक अनुत्तरित बाबु
हो छैन मसँग
तिम्रा प्रश्नका जवाफहरु
हो म जिउँदो लास जस्तो छु तिम्रो प्रश्नहरूले
तरपनि
लासजस्तो शरीरबाट निस्कने हरेक सासहरु भन्छ-
कि सबै छोरीहरू
तिमीजस्तै,
आफ्नै पापाहरूलाई प्रश्न गरिरहन सकुन
कि पापा,
को हुन् बलत्कारीहरू ?
कस्ता देखिन्छन् बलत्कारीहरु ?
२९ अगष्ट २०१८ पारामारीबो