-शोभा ‘जुलियट’
आजकाल
हरेक जुनेली रातहरु
चम्चम चम्किएका ताराहरु
एउटा अजङको पहाड बनेर
मेरो कोमल छातीलाई थिची रहन्छ
अनि
बारम्बार विपना बौरिएर
मेरो अस्मिता माथि धावा बोल्दै
मेरो अात्मबालमाथि
जुनले प्रश्न गरिरहन्छ
तिमी पुरुष हौ र ?
चम्चम चम्किँदै ताराले गिज्याइरहन्छ-
नारी हौ नारी॥
कहिले त
कोपर्न मन जागेर आउँछ आफैलाई
किन जन्मेछु कुन्नी..?
जोखिमको अङ्ग प्रत्यङ्ग लिएर
म मा जे जे छन
सबै लुटिनै पर्ने
कुदृस्टि लाउनै पर्ने
मागेर होइन लुटेर लिन पर्ने
छि: कस्तो हो जन्म ?
धिक्कार लागेर अाउँछ ।
निन्द्रैमा चिच्याउछु
त्यो पल सम्झेर
मेरो हरेक अङ्गहरुसँग खेलेको
मेरो अस्मितालाई चिथोरेको
मैले बाँच्ने खुशीहरु खोसिएको
फुल्नै नपाइ रहरहरु निमोठिएको
सुन्दर सपनाहरु सिसा झैँ टुटेको
भत्भती पोल्छ छाती
फेरि पनि लुटिन्छु कि
लुटिँदा लुटिँदै अाफैं सकिन्छु कि
झस्कीरहन्छु बारम्बार ।
फेरि फर्केर आउदै छ कि भन्ने
दानबरुपी अनुहार
मानसपटलमा आँधी बनेर
त्रासले गाँजी रहन्छ
पल पल झस्काइ रहन्छ
मलाई जुनसँग डर लागि रहन्छ
मलाई तारासँग डर लागि रहन्छ
मलाई पहाडसँग डर लागि रहन्छ
एउटा भयङ्कर डर लागि रहन्छ\
जहाँ कतै पनि अाड लाग्न सकिरहेको छुइन
जहाँ कसैको भरोसा गर्न सकीरहेको छुइन।
……