अविनाश श्रेष्ठ : आधुनिक युगका एक प्रोफेट

मलाई सदा लागिरहन्थ्यो/लागिरहन्छ साँचो कवि भनेको भविष्यवक्ता हो/ द्रष्टा हो /प्रोफेट हो/ माने अगमवक्ता हो— जसले विगत, आगत र अनागतका रहस्यहरू आत्मामा देख्दछ, जो समयन्तार अक्षरवाणीमा रूपान्तरण हुँदछ । यस मानेमा म फुच्चे कवि, साँचो कवि हुँ भनेर दावा त गर्दिनँ यद्यपि अनवरत यत्नलाई इन्कार्न ।

नयाँ करार कोइनो ग्रीक बाइबलको पुरानो नेपाली संस्करण लिपिमा अपोस्टल योआनेस भन्नुहुन्छ– ‘आदिमा वचन थियो, औ वचन ईश्वरसँग थियो, औ वचन ईश्वर नै थियो, सबैथोक उहाँबाट हुन आए औ हुन आएका कुनै एकथोक पनि उहाँ विना हुनआएन । उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योती थियो, त्यो ज्योती अँध्यारोमा चमकन्छ औ अँध्यारो उहाँमाथि विजयी भएन ।’

लगभग दुईहजार पच्चीस सालअघि अपोस्टल योआनेसलाई प्रकाशित वाणीको ‘कन्टेकस्ट अफ टेक्सट’ र जेन-बेटाको प्रारब्धमा चम्किरहेका अद्भुत कवि यानकि ‘अत्याधुनिक प्रोफेट’ अविनाश श्रेष्ठको दोस्रो परिवर्तित पर्याकवितासङग्रह ‘करोडौं सूर्यहरूको अन्धकार’ बिचमा खइरो धर्का छ । कन्ट्रास छ, कन्ट्राडिक्सन होइन । पर्यावरणीय पारिस्थितिकी प्रणालीका प्रणेता साथै विज्ञानका सागिर्द भएर होला उनको यो कृति कुनै पनि हालतमा अवैज्ञानिक, अतार्किक र असापेक्षिक छैन ।

(अर्थात, सरल भाषामा भन्दा बाइबलमा योआनेसले भनेका कुरा र अविनाश श्रेष्ठको यो कृतिको विचारबीच धेरै समानता छ)

कवि अविनाश समकालीन पर्यासाहित्यमा अलगै उभिएको विशालकाय व्यक्तित्वका काव्यिक धरहरा हुन् । जो पर्यावरणीय चिन्तन, चिन्ता र चेतनाले प्रज्वलित सृजनात्मक कर्ममा उँभो–उँभो सफलताको सगर छोइरहेको म देख्दछु ।

आर्थिक, भौतिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक दृष्टिकोणबाट यो प्रयोगशील, प्रगतिशील र अग्रगामी पर्या कवितासङग्रहलाई गम्भिर तवरले अध्ययन गर्ने जो कसैको पनि मन-मस्तिष्कमा वैचारिक र सैद्धान्तिक अन्तर्द्वन्द्वको अनुभूतिले चेतनाको प्रभाव र प्रवाहलाई उपल्लो आयाममा दुख्ने गरी चिमोट्छ-चिमोट्छ । पर्यावरणप्रति संवेदनशील हुन, प्रकृतिलाई प्रेम गर्न, मौलिक आस्थाको जगेर्ना, श्रमको श्रद्धा र मूलत: क्षयीकरण भईरहेको पर्यावरणीय स्थितीमाथि सचेत भएर पृथिवी र मानव जातीको संरक्षणको पक्षमा यस कृतिले बौद्धिक जमातलाई उत्साहित पार्छ ।

पहिलो संस्करणको आवरण बाया र दोस्रो संस्करणको आवरण दाया ।
आत्मपरकताले ओतप्रोत, संवेदनात्मक अभिव्यन्जनाले सौम्य स्पर्शीलो तर विनापुर्वाग्रह लचिलो, मिथ्य कथ्यका चरित्रहरूलाई पनि सत्य र जीवनसँग जोडिएको । तर्कगत, ज्ञान- विज्ञान र तथ्य विवरणसहित ऐतिहासिक घट्ना परिघटनालाई सूचीकृत यो सङ्ग्रह सुशोभित लालित्यले ओजस्वी र तेजस्वी छ । सँगसँगै कहिले होपलेस्ली अप्टिमिस्टिक उच्च मानव भएर उभिएको त कहिले अईस्वरवादी क्लिष्ट निहिलिस्ट भएर मुर्मरिएको कविको द्रोही रूप पनि देख्न पाइन्छ।

स्खलनउन्मुख अआस्थिक अमानवतावादी सभ्यताले निर्माण गरेको पर्यावरणिय संकट र अप्राकृतिक जीवन-जगतलाई विनिर्माण गरेर सजीवता पुनःनिर्माण गर्न र पुनर्स्थापित ज्योतिष्मती (पुनर्जागरण) तरफ फर्कन उनी विनाशकारी मानवजातिलाई चेतावनी सहित आग्रह गर्दछन् ताकि सो-कल्ड समृद्धि, विकास, आधुनिकीकरण, सुखशैल स्वार्थकेन्द्रित भोगचलन र प्रकृति दोहनले कुनैदिन यो मानवजाती नै प्रलय र प्रकोपको चपेटामा परेर अस्तित्वबाट नै विलुप्त हुन बाध्य हुनेछ भनी ।

भवितव्यको सुन्दर र कूरूप परिकल्पनाहरू सत्यको एकदम नगिच लगेर नेपथ्य-दृश्यमा ब्रेटोन, ड्याली, सेली, इलियट, यिट्स, ब्लेक, जिब्रान, नेरूदा, रूमी, खैयाम, ईकबाल, गालिब, गुलजार, पौड्याल, देवकोटा, सम, काइँला, कोइराला र वल्लभ— यीहरू भन्दा पृथक र यिनैहरूको समष्टि भएर उनी उच्च र विछट्ट उभिएका छन् ।

बिलकुल अनौठा, नौला, अप्रत्याशित तर लयात्मक संरचनात्मक— भाषाका कला, शिल्प, शैली, भाव, विम्ब, रूप-सार-तत्व, प्रतीक, चिन्ह, विषयक बनोट र छनोटको अद्धितिय र असाधारण प्रस्तुतीकरणले क.सू.अ. (करोडौं सूर्यहरूको अन्धकार) अलौकिक र मौलिक आविष्कारक कृती बनेको छ ।

यस काव्यकृति भित्र पर्यावरणीय विषयको वस्तुपरक सौन्दर्य, सघन घनत्व र काव्यीक सत्त्वमाथि नविनतम् प्रयोगात्मक वैश्विक दृष्टिकोण छ र त छ यो पठनीय , मनननीय र माननीय जसलाई जती पटक पढ्यो उतीनै पटक नौलो जागरणको झिल्काले मन-मस्तिष्क र आँतलाई— उद्वेलित र तँरगित पार्दछ स्तब्ध हुनेगरी।

होइन भने हेर्नुहोस् यी पंक्तिहरू :

मृत्यु
०००
शरीरमा
हैन
शब्दमा मात्र
रहनेछु
कुनै
दिन । (पेज ५९)

बुढानीलकण्ठ
०००
भगवान!
रिपभ्यान विङ्कल झैं
कुनै दिन जब तिमी ब्युँझनेछौ
यो शहरको ठाँउमा देख्नेछौ
पसारिएको एउटा मु्र्दा सहर
खण्डहरै- खण्डहरको निर्जीव विस्तार । (पेज ७३)

करौडौं सूर्यको अन्धकार
०००
लुप्त हुँदै छ
बाघ
जसरी नै — आस्था
घट्दै छ
माटोभित्र पानीको सतह जसरी नै —मित्रता
झर्दै छन्
एक-एक गरी
शिशिरमा रूखको पातसरी—
शिष्टता / भद्रता / आचार / विचार / सदाचार (पेज ६०)

पशुपतिनाथ
०००
विरूपाक्ष !
देवताहरू नालायक छन्/ त्यसैले तिमी
गाडिएका छौ माटोमा पाप- विमोचनका निमित्त
देवताहरू नालायक छन् / त्यसैले तिमीभन्दा
कैंयौ गुणा ठूला पापीहरू/ डुलिरहनेछन्
जमीनमाथि निर्धक्क । (पेज ७१)

चोभार
०००
काठमान्डु सुन्दरीको/ सिफिलीस सल्केको
योनीजस्तो चोभार
बगाईरहेछ अचेल कुहेको दूषित पीप/ सडेको
रगतको लेदो/ अनि दुर्गन्धित फुसी जस्तो पानी । (पेज ७५)

चेर्नोबिल
०००
अचेल मलाई
सुकेको एउटा पात/ सुटुक्क झर्दा पनि
ब्रमाण्डहरू बन्दै गर्दा/ सुपरनोभा
महाविष्फोट भएजत्तिकै डर लाग्छ (पेज ९३)

अन्तमा

करौडौं सूर्य बल्दा पनि
हुनेछैन त्यसपछि
उज्यालो

हाम्रो समयका ईश्वरको पनि
हुनेछ अवसान त्यहीं

एउटै मात्र सत्य
अस्तित्वमा रहनेछ—
सर्वग्रासी
खग्रास
अन्धकार (पेज ६७-६८)

अन्तको पनि अन्तमा

म मात्र बीउ छु आज
मलाई राम्ररी थाहा छ
भोलि ईश्वर मैबाट टुसाउने छ , हेरिराख । (पेज ३५)

मेरा प्रिय अनि आदरणीय दाजु अविनाश श्रेष्ठ निस्चय नै यस युगका अत्याधुनिक प्रोफेट हुन् जसको अगम्य, अभिगम्य र अधिगम्य यो बहुमूल्य र मौलिक पर्यावरणीय कृति कृतज्ञताको लागि समुचित छ । शालोम ।

१८ जनवरी सन् २०२५
साउथ ह्यारो, लण्डन
माया नेवा:छेको ठिक माथ्लो तल्ला

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *