झोर झरनाको तस्विर मैले फेसबुकमा हालेपछि साथीको कमेन्ट आयो- ‘के हो आफू आफू मात्रै?’
मैले रिप्लाइ दिएँ-योजना बिना नै पुगिए छ डियर !
भोलि पल्टै अफिसमा कुरा उठी हाल्यो झोर झरना बारे। झोर झरना आफू स-परिवारसँग काम विशेषले टोखा जाने क्रममा पुगेको गन्तव्य रहेको भन्दै छोटोमा त्यहाँको परिवेश सुनाएँ। एउटीले भनि हालिन्ः हामी पनि साथी-साथी जाम न घुम्न ! सब साथी एकैसाथ जाँदा बेग्लै आनन्द हुन्छ।
यसरी म पुनः दोस्रो पटक झोर झरना जाने पक्का भयो। घरमा पनि सबैले ‘इन्जोइ’ गरेर आउनु भने पछि मलाई अरु के चाहिन्थ्यो र?
अफिसका केही साथी र आफन्तजनको साथमा झोरको झरना हेर्न जाने मिति तोक्यौँ। सामाखुसीदेखि झोरको बौडेश्वर झरना ११ किलो मिटरको दुरीमा छ। सबै सामाखुसी भेटेर, त्यहीँबाट जाने भयौँ।
टोखा हुँदै नुवाकोटतर्फ जाने सार्वजनिक गाडी पाइदो रहेछ। तर हामीले माइक्रो बस रिजर्भ गरेर जाँदा उचित हुने ठान्यौं। पुर्याउने र लिने गरी दुई ट्रिपको चार हजार लिए ड्राइभर भाइले। आठ जनालाई अलि धेरै त हो तर ठीकै छ!
टोखा बजार पारीको ठूलो ग्रान्डी अस्पताल कट्दै गाडी हुइकीरह्यो। आधा घण्टामा हामी झोर पुग्यौँ। ड्राइभर भाइले ठ्याक्कै गन्तव्यमा छोडेर समयमै आउछु भन्दै फर्कियो।
अब हामीलाई पुग्नु थियो बौडेश्वरको झरना। साइडमा झरनाको ठूलो साइन बोर्ड टाँगिएको थियो। रोड छेउछाउ घुम्न आएका आन्तरिक पर्यटकको भीड देखिए। तिनै भीडलाई पन्छ्याउदै केहि खुड्किला तल पैदल हिडेपछि झरना पुग्ने रहेछ। हामी आठजना साथी क्रमबद्ध भइ खुड्किला झर्न थाल्यौं।
केहि तल झरेपछि झरनाको आवाज कानमा गुन्जियो। बौडेश्वर झरना ‘दाँया’ लेखिएको बाटैबाटो हिड्दै हामी झरनाको आमने साम्ने पुग्यौँ। झोरमा मेरो दोस्रो पटक भ्रमण भएपनि साथीसँग बिछिट्टै रमाइलो लाग्दै थियो।
काठमाडौंको टोखास्थित उत्तरी पहाडमा रहेको यस झोर झरनालाई झोरको बौडेश्वर झरना भनिन्छ। शिवपुरी राष्ट्रिय निकुञ्जबाट बेगसँगै झरनाको कञ्चन जल झोरको पहाडमा ठोक्किँदै खोंचमा झर्ने रहेछ। यति मनमोहक, सुन्दर र मनै लोभ्याउने झरनाको हामी फ्यान भइहाल्यौं। पर्यटक त आकर्षित हुने नै भए !
निरन्तर बग्ने झरनाले त्यहाँका ठूल्ठूला ढुंगामा स-साना कुण्ड निर्माण गरेको छ। निरन्तर पानी झर्ने हुनाले ढुंगा केहि चिप्लो हुनु स्वभाविक हो। मावन निर्मित पुलबाट झरनालाई हेर्दा बल्ल देखियो कि झरनाको पानी कुलोको रुपमा नबगेर ढुंगाको कुण्डबाट बिलिन भइ करिब एक सय मिटर तल पुनः अर्को झरना भएर झर्ने रहेछ। त्यो दृश्य देखेर हामी सबै हेरेको हेरै भयौँ।
यहाँ पुग्ने जो कोही पर्यटकले झरनामा नुहाएर पोजपोजका तस्विर आँखा र क्यामेरामा कैद गरेकै हुन्छन्।
हामी पनि के कम! झरनामा रूझ्न कुदी हाल्यौँ। केही साथीहरु फोटा खिच्न थाले। केहि टिकटक बनाउन। प्राकृतिक झरनाको चिसो पानीमा रुझ्दै हामीले निकै रमाइलो गर्यौं।
नजिकै लुगा फेर्ने ठाँउ नि रहेछ। लुगा फेरे बापत २० रुपैयाको दरले पैसा तिर्नुपर्ने। लुगा फेरेर ग्रुप फोटा खिच्यौँ। छेउमा भजनकृतन गर्न दुई कोठाको घर थियो। भजन बज्दै थियो। नाच्न मन लाग्ने पर्यटक भजनको साथमा कृतन गर्दै थिए। हामी पनि एक छिन भजन मस्तसँग नाच्यौँ। आगामी वर्ष ठूलो त्रिशुल निर्माणको लागि स्वः इच्छा अनुसार चन्दा दिन बाकस राखिएको थियो।
झरनाको अर्को छेउमा बौडेश्वर महादेवको सानो गुफा नि रहेछ। गुफाको प्रवेश द्वारमा बसहा र पित्तलको त्रिशुल छ। गुफाभित्र भने भगवान शिवको मूर्ति। भित्र पानीका थोपाहरु टप्प टप्प चुहिरहन्छ। मानौ प्रकृतिले शिवजीलाई निरन्तर जल अर्पण गर्दछन्। शिवजीको मूर्तिसम्म पुग्न छोटो दुरीको सुरुङ छ। एक पटकमा एक जना मात्र अट्ने। सोही मूर्तिलाई बौडेश्वर महादेवको मूर्ति भनिन्छ।
प्रायः शनिवार र सोमबार पर्यटकको भिडभाड हुने मन्दिर आवश्यकता अनुसार अन्य दिन पनि दर्शनार्थी पर्यटकका लागि खुल्ला हुन्छ। गुफाको पल्लोपटी ठूलो पिपलको रूख छ। मन्दिरबाट फर्किनेहरु पिपलको जरामा बत्ती बाल्ने र पूजापाठ गर्ने गर्दछन्।
हामी पनि महादेवको दर्शन गरेर फर्कियौँ। झरना, मन्दिर, वनजंगल- एकैठाँउ सबै कुरा भेट्दा मन खुसीले उफ्रिदै थियो। सय मिटर तल रहेको अर्को झरना पनि पुग्यौँ। माथिको खोचबाट आएको यो झरनाको पानी दहमा जम्मा हुने रहेछ। घुडासम्मको पानीमा खुट्टा चोपल्दै हामीले अन्यन्तै रमाइलो गर्यौं।
साथीहरु रमाएको देखेर मनै फुरुंग भयो। काठमाडौंको उत्तरी पहाडमा रहेको यो झरनाको बयान सुनेको धेरै भएको थियो। तर झरना हेर्ने समय मिलाउँदै वर्षौ गुज्रिएका थिए। कहिले साथीहरुको समय नमिल्ने, कहिले आफ्नो नमिल्ने। आज सबैको समय जुरी रमाइलो भएको देखेर समयलाई धन्यवाद दिए।
लामो सास फेरेर सौदर्यको मीठास मनमा साँचेर राख्दा मीठो परिकारको वास्ना नाकमा पस्यौ। हामीलाई भोक लागि सकेको थियो। केहि पर चमेना गृह देख्यौँ। फेन्च फ्राइज, थुप्पा, बिस्कुट, चिया अनि कफि अर्डर गरी गफगाफ साट्यौँ। अफिसमा सँगै काम गरेता पनि सँगै घुम्दा छुट्टै आत्मितया र घनिष्टता बढेको थियो हामीबीच। कामको तनावलाई भुलेर झरनाको वर्णनमा हुलियौँ। केहि बेरमा खाजा आइपुग्यो। सहरभन्दा अलि महंगो थियो खाजा तर स्वाद गाँउघरको जस्तै ट्वाक्क लागेको थियो।
कुरैकुरामा थाहा पायौ कि झोरमा पर्यटकलाई आकर्षित गर्न नजिकै जीप लाइनको नमुना परीक्षण भएको रहेछ। सडकको उत्तरतर्फ बालमैत्री पार्क, वनभोज स्थल, मनोरन्जन स्थल आदि निर्माणका लागि गुरुयोजना बनिसकेको रहेछ।
पार्क निर्माण स्थलबाट दक्षिण पूर्वको खाल्डोमा काठमाडौ सहरको पुरा दृश्य अवलोकन गर्न सकिन्छ। उत्तर पूर्वमा रमाइला पाहड पर्वत र फुर्के डाँडाहरु देखिन्थे। उत्तरतिर लागे शिवपुरी राष्ट्रिय निकुञ्ज पुगिन्छ। अग्लो ठाँउमा रहेको पार्कबाट स्वयम्भू, घण्टाघर, धरहरा आदि देख्न सकिन्छ।
स्थानीयका अनुसार गर्मीयाममा झरनाको आनन्द लिन आन्तरिक र वाह्यि पर्यटकको लाम लाग्छ। धेरै प्रचारप्रसार नभएको उक्त ठाँउलाई सरकारी स्तरबाट पर्यटन गन्तव्यका रुपमा विकास गर्न सके मुलुकलाई आर्थिक टेवा पुग्ने देखियो। नजिकै राम्रा राम्रा रिजोर्ट बन्दै गरेका रहेछन्। अलि वर बौडेश्वर माध्यमिक विद्यालय रहेछ। सडकको दायाँ बाँया स-साना बजार र पसलहरु जताततै।
पैदलयात्रीका लागि पहाडमा खोपिएको भर्याङ तलैबाट ओर्लिन मिल्दो रहेछ। भर्याङको मुनीबाट करिब २० फिटे कच्ची बाटो रहेछ। यहाँ हाइकिङको रुट निर्माण भए झोर झरना हेर्ने अर्को पुस्ता नि आउथेँ होलान्।
घुम्न आएका हामी यो ठाँउको सुन्दरतामा हराइसकेको थियौँ। चिया-बिस्कुट अनि गफमा झोरको विशेषता गुन्जिदै थियो। यतिमै साथीलाई फोन आयो।
फोन काट्दै भनि, ‘गाडी लिन आइसकेछ, जाम साथीहरू!’
झोरको चिसो पानीले भिजेका लुगा झोलामा कोच्दै हामी गाडीतर्फ लाग्यौँ।
फर्किन त मन कहाँ थियो र? चियामा बिस्कुट पग्लिए झै हाम्रो मन नि झोरको झरनाले पगालेको थियो।
तिनै यादमा बग्दै बग्दै गाडी सललल काठमाडौं बजारतर्फ गुडिरह्यो ।
Source:offlinethinker.com