कृति समीक्षा :
एक विवाहित नारी भएपछि घरायसी कामकाजमा समय नदिऊँ भन्दा पनि सुख पाईदैन । फेरि उसमाथि विभिन्न साहित्यिक संघसंस्थाहरुमा संलग्न हुँदै, तीन, चारवटा पत्रपत्रिकामा स्तम्भ लेख्दै बचेको समयलाई सिर्जनातिर अनुवाद गर्न सक्नु उनको विशेषता हो । यस्ता प्रतिभावान स्रष्टालाई राष्ट्रले यथोचित सम्मान गर्नुपर्छ भन्ने मेरो धारणा छ । तर चोरलाई चौतारो साधुलाई सूली भनेझैं हाम्रो देशमा प्रायः सक्कली प्रतिभाहरुभन्दा नक्कली प्रतिभाहरुले समाजमा इज्जत कमाएको देखिन्छ । बोल्न सक्नेको पीठो बिक्ने, बोल्न नसक्नेको चामल पनि नबिक्ने हाम्रो आजको परिवेशमा सुबिजस्ता स्रष्टाहरू अझैं ओझेलमा परिरहेको मलाई अनुभूति हुन्छ । वि.सं. २०६३ सालमा अग्नियुद्ध नामक कथासङ्ग्रह प्रकाशित गरी पाठकहरुबाट राम्रो प्रतिक्रिया र माया पाएपछि २०६५ सालमा रहस्यमय भोगाइ नामक कथासङ्ग्रह लिएर प्रस्तुत भएकी छिन् सुबिसुधा । सङ्क्षिप्तमा भन्नुपर्दा रहस्यमय भोगाइ समाज वा व्यक्तिले भोगेका घटनाहरूका यथार्थ चित्रण, प्रेम, यौन र जीवनका विविध पक्षहरुका सुकोमल सिङ्गो रूप हो । यो कृतिले नेपाली कथाको फाँटमा आफ्नै तरिकाले सुवास छरिरहनेछ भन्दा कसैको दुई मत नहोला । यसर्थ मलाई लाग्छ यस्ता सुन्दर कथाहरु सिर्जना गर्न सक्नु सुबिसुधाको खुबी हो ।
यस कथामा प्रायः लघुकथाहरुमा प्रयोग गरिने कौतुहलको राम्रो प्रयोग भएको छ । यस कथामा पाल्पाबाट काठमाडौंसम्मको यात्रामा एउटा युवक र युवती बीचको विकर्षण–आकर्षण भलाकुसरीको वर्णन छ । यो यात्रामा युवकले आफ्नो अतितको एकलप्रेमको रोचक प्रसङ्ग प्रस्तुत गरेको छ । एउटी जीवन संगीनीको दृष्टताको कारणले पुरुषले भोगेको दुर्दशा प्रस्तुत छ विश्वासघातको कारणले पुरुषले भोगेको दुर्दशा प्रस्तुत छ विश्वासघात कथामा । नारीको परपुरुषसंग सम्बन्ध बढेपछि पारिवारिक खुशीको लागि विदेशमा रगतसंग साटेको धनसम्पत्ति र लोग्नेको जिन्दगी समेत बर्बाद भएको छ लक्की कथाले । नारीको व्यवहार राक्षसी भयो भने पुरुषको जिन्दगी जिउँदो नरक हुन्छ भन्ने तितो यथार्थ यस कथाले बोकेको छ । रहस्यमय भोगाइ यो उनको सङ्ग्रह शीर्षक कथा पनि हो । यस कथामा कथाकारले स्वैरकाल्पनिक उडान भरेकी छन् । यौन मनोवैज्ञानिक यो कथाको अर्को महत्वपूर्ण पक्ष हो । यसमा कथाकारले यौन प्रतीतको राम्रो प्रयोग गरेकी छन् । मृत्युलाई पर्खदा भन्ने कथाले एकजना पक्षघातले पीडित अन्धाबृद्धको दुःखका दिन बिताउँदै मृत्युलाई पर्खनुपरेको व्यथा प्रस्तुत गरेको छ । असी वर्षका भइसकेका र एक तर्फका हात–खुट्टा नचल्ने बृद्धका दुबै आँखा बन्द भएका छन् । आँखाको ज्योति गुम्न पुगेको छ । श्रीमती छैनन् र बुहारीले ससुराको स्याहार सुसार गर्नुपरेको छ ।
सुबिसुधा आख्यानमा नयाँ शैली लिएर देखा परेकी नारी कथाकार हुन । यिनमा घटना टिपेर अनुकूल परिवेशले सिगार्ने खुबी छ । त्यही प्रवृत्तिले गर्दा सुबिसुधा नेपाली साहित्यमा कथाकारमा रुपमा चर्चामा आएकी छन् । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । उनले कथामा कौतुहलताको प्रयोग निकै सचेततापूर्वक गरेकी छन् । समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरुको उपयुक्त संयोजनबाट राम्रा कथाहरु सिर्जना गर्न उनी सफल छन् । समालोचक प्रा. गोपीकृष्ण शर्मा र साहित्यकार मोहन दुवालको मन्तव्य रहेको यस कृतिको मूल्य रु. १५० र जम्मा १७६ पृष्ठसम्म फैलिएको यस कृति जनमत प्रकाशन, बनेपा, काठमाडौंले प्रकाशित गरेको हो । कृति पठनीय एवम् सङ्ग्रहणीय रहेको छ ।