म योद्धा हुँ
मैले सबै युद्धहरू लडेको छु !
विचारका युद्धहरू
संवेदना र संचेतनाका युद्धहरू
प्रेम र घृणाका युद्धहरू !
अभाव र दुखका युद्धहरू !
म विजेता हुँ
मैले सबै शुन्यताहरू जितेको छु !
मैले सबै पराजयहरू जितेको छु ।
आँशुका सबै नदीहरू मेरा हुन्
पीडाका सबै पहाडहरू मेरा हुन् ।
दुखिरहने आत्मा
र असंख्य घाउहरू सबै मेरा हुन् ।
यात्राका दोबाटाहरू मेरा हुन्
गन्तव्यहिनताहरू मेरा हुन्
अन्यौलताहरू मेरा हुन् ।
घोर अन्धकार मेरो हो
चरम चीत्कार मेरो हो ।
विशाल रिक्तता र अनन्त निरासा मेरो हो !
दरबारविहिन
घरबारविहिन
म सम्राट हुँ
मेरो आफ्नै साम्राज्य छ – दुखको !
Please follow and like us: