-गोपीकृष्ण प्रसाई
समाजसेवी एवम शिक्षाप्रेमी हरिचरण सिटौलाको सुकिर्ती पढ्ने अवसर मिल्यो, सर्सर्ती हेरिसकेपछी मनमा एउटा गज्जबको तरङ्ग पैदा भयो, त्यही तरंग भित्र देखिने अनेकौ कल्पनिक छालहरुले मलाई तमोर, काबेली सम्म पुर्याए, आफ्नै गाउँ, बस्तीमा गुन्जिएका सुनौला संस्मरणहरुले सांच्चैनै नोस्टाल्जिक बनाउंदा रहेछन् र म भावनाको गंगामा चुर्लुम्म डुब्न पुगें ! गंगाप्रसाद उप्रेती र राधिका दाहाल द्वारा सम्पादित यो कृतिलाई नइ प्रकाशन द्वारा प्रकाशित गरिएको छ, पाँच सय रुपियाँ मूल्य राखिएको यो वजनदार कृति ६९४ पृष्ठको छ । कृतिको आवरण सुन्दर छ ।
यस कृतिलाई विभिन्न पुस्ताका लेखक, पत्रकार, साहित्यकार, राजनीतिज्ञ, समाजशास्त्री, शिक्षाविद र सामजिक अभियन्ताहरुको कलम अनि आफ्ना अभिमतहरुले सिंगारेको पाईन्छ । कृति एक निष्ठावान, समाजसेवी, शिक्षाप्रेमी र सामाजिक अभियन्ता अनि पथप्रदर्शकको जीवनको उकाली, ओराली, अविश्रान्त संघर्ष, समाज र राष्ट्र प्रतिको इमान अनि उनले तयार गरेका शैक्षिक क्रान्तिका दस्तावेजहरु बोकेर आएको छ। मैले आठराईमा सुनेका चर्चित नामहरुमा कर्मयोगी हरिचरण सिटौलाको नाम अग्र पंक्तिमा आउँछ । सिटौलाले जहाँनिया राणा शासन कालमा शैक्षिक उत्थानमा गरेका कठिन त्याग अनि साधना र आफ्नो व्याक्तिगत सुखसयललाई तिलान्जली दिएको प्रसङ्ग संझिदा जोसुकैको मनमा सुन्दर विचार,सुन्दर कल्पना र भिषण उर्जा जागेर आउंछ, उनले जुनसुकै बर्ग, समुदाय अनि सिध्दान्तका मान्छेहरुलाई आफ्नो इमानको उचाईले फतक्कै गलाईदिन्छ्न अर्थात हरिचरण आफ्नो निष्ठा र ईमानका अभूतपूर्व मान्छे हुन । हरिचरणको वयस्क जीवनले भोगेको युग राणाकालीन युग थियो, हरिचरणको वयस्क जीवनको युग नेपालको शैक्षिक जगतमा लगभग अँध्यारो युग थियो, त्यति बेलाको समाज सतिप्रथा बाट मुक्त भएपनि बहुविवाहा, बालबिबाहा, जातिपाति, छुवाछुतबाट मुक्त भैसकेको थिएन । शिक्षा बेगरको सामजिक परिवेश अनि धर्मान्धताले जकडिएको थियो भन्दा अतिशयोक्ती नहोला । हरिचरण एक सज्जन, सरल इमान्दार र हक्की स्वाभावका शालीन छवि थिए, उनलाई शैक्षिक जागरणमा साथ दिने मुख्य पात्र पदमप्रसाद उप्रेतीलाई यहाँ जोड्नै पर्ने हुन्छ, उप्रेती यस्ता पात्र हुन्, जसले हरिचरणका हर कदमहरुमा साथ दिएको देखिन्छ । कांधमा कांध मिलाएर अघि बढेको देखिन्छ,अर्थात दुबै जना आठराई चुहान डांडाका यी कुमाईहरुको लय,ताल अनि शुर मिलेको थियो, आठराई चुहान डांडा मात्र नभएर सम्पूर्ण आठराईका बस्तीभरी मीठो शैक्षिक सांगीतिक माहोलले शैक्षिक जागरणका गीतहरु घन्किरहेको आभास हुन्थ्यो । पूर्व तेह्रथुम चुहानडांडामा वि.सं १९७८ सालमा बुबा द्रोणाचार र आमा बछलादेवी सिटौलाको कोखबाट जन्मिएका हरिचरण सिटौला आफ्नो सम्पूर्ण जिन्दगी शैक्षिक जागरणमा लगाएकै कारण पूर्व आठराईमा शिक्षाका धरोहर बनिए, शिक्षाका ज्योति ठहरिए, उनी एक अब्बल र निश्वार्थ कर्मयोगी ठहरिए, बुबा द्रोणाचारको इच्छा बिपरित काठमाडौमा जागिर नखाएर गाउँ फर्के पनि उनले स्थापना गरेका शारदा मावि चुहानडांडा र तेह्रथुम बहुमुखी क्याम्पसको शैक्षिक ज्योतिको दियोले दिएको अपार आनन्दको तापले तिनै द्रोणाचार पनि पग्लिएर पानी पानी भएका थिए, अनेक सपना बिपनामा आउने तमोर कावेलीका छालहरुको शितल स्पर्शमा रमाएका थिए !

हरिचरण सिटौलाको कृतिभित्र डुब्नु पूर्व आठराईको शैक्षिक इतिहासमा थोरै भए पनि बल्झिनु जरुरी छ । आठराई क्षेत्र त्यस बेलाको सरकारले क्षेत्र विभाजन गर्दा पल्लो किराँत क्षेत्रमा पर्थ्यो। आठराई क्षेत्रमा १७ गाविसहरु पर्छन, पहिले सबै गाविसहरु तेह्रथुम जिल्ला अन्तर्गत भएपनि २०३२ सालमा आठराईका ८ गाविसहरु ताप्लेजुङ जिल्लामा गाभिन पुगे, तर पनि आठराईको गुरुत्वभित्र यी १७ वटै गाविसहरु आज पनि रमाईरहेका छ्न । यि १७ गाविसहरुले आफ्नो पहिचान भित्र आठराईलाई मालाझैँ उनेर लगाको आज पनि देख्न पाइन्छ । आठराई कुनै समयमा नेपालको शिक्षित क्षेत्रमा गनिन्थ्यो, आठराईका हरेक गाविसहरुले पढाईको महत्व अनि गरिमालाई बुझेका थिए,०७ सालको क्रान्ति पछि आठराईमा केहि माध्यामिक विध्यालयहरु द्रुत गतिमा बनिए। प्रावि निमाविहरु त प्राय गाविस पिच्छेनै बनिएका थिए । तेह्रथुम, ताप्लेजुङका अन्य गाउँहरु भन्दा आठराई शिक्षामा अग्रणी थियो ! बिरेन्द्र इन्टर कलेज त इलाममा क्याम्पस बनिनु भन्दा केही समय अघिनै बनिसकेको थियो । आठराई जातिय सद्भावको नमुना हो, लिम्बू जातिहरुको बाहुल्य रहेको यो क्षेत्रमा सबै जात, जातिहरुको आपसी मित्रता, हार्दिकता अनि भाईचारा प्रगाढ भएर रहेको पाइन्छ, त्यसरी सबै संग प्रेम बांडेर बस्न सक्नु भनेको शैक्षिक स्तर बढेको कारणले पनि हो । हुन त अरु पनि धेरै सामाजिक कारणले पनि त्यो हार्दिकता झांगिएर गएकै हो तर शिक्षाको ज्योति पनि अर्का कारण हो, आठराईमा जन्मिएर शिक्षा क्षेत्रमा देन दिनेहरु थुप्रै छन्, तर म यहाँ हरिचरण सिटौलाको चर्चा गर्दैछु ।
आठराईमा शैक्षिक क्षेत्रमा देन दिनेहरु ०७ सालको क्रान्ति पछि प्रसस्तै निक्लेता पनि अग्रज व्याक्तित्वमा हरिचरण्को नाम नलिकन धरै छैन, किनकि त्यस बेला आठराईबाट राजधानीमा आएर जागिर खाने धेरै व्याक्तिहरु थिए, उनिहरु राजधानी लगायत तराईका उर्वर क्षेत्रमा स्थापित भएर बसे, गाउँमा गएर चेतना अनि सर्वसाधारणको जीवन स्तर उकास्न लाग्नेहरु एकदमै थोरै थिए, ती मध्येका हरिचरणलाई अग्रपंक्तिमा लिन सकिन्छ किन कि उनले राजधानीमा राम्रै शिक्षा हासिल गरेर पनि सरकारी जागिरको सुबिधा लिन छाडेर आफ्नो गाउँको बन्जर धर्तीलाई हराभरा बनाए, शिक्षाको अजर, अमर फुलको सौन्दर्यमा रमाए, अन्धकारमा चिराग जलाए ! हरिचरणकै सेरोफेरोमा लेखिएको यो पुस्तकले त्यस बेलाको आठराइको सामजिक,सांस्कृतिक शैक्षिक अवस्थाको बिस्तृत विवरण पेस गर्दै देशको राजनतिक धरातल भित्र जनताको अनेकौं छट्पटी र बढ्दो आकांक्षाको शिलशिलालाई विभिन्न कोणहरुबाट प्रस्तुत गरेको छ। हरिचरण जस्ता समाजसेवी र शिक्षाप्रेमीहरुको उत्साह अनि उमंगलाई साकार पार्न त्यस भेगका जनताहरुको दर्विलो साथको पनि उच्च मूल्यांकन गर्नै पर्छ । हरिचरणको जीवन, उनको पारिवारिक दायित्व र सामाजिक ईमानमा अडिएर उनले निस्वार्थ ढङ्गले आफ्नो मेहनत गाउँ अनि समाजको उत्थानमा अर्पण गरेका कुरालाई ख्यातिप्राप्त व्याक्तिहरु, लेखकहरु, साहित्यकारहरु, राजनेताहरु लगायत उनका परिवारकै सदस्यहरुले बडो मेहनतका साथ सग्लो रुपमा प्रस्तुत गरेका छ्न। हरिचरण सानो इलाकामा जन्मिएर राष्ट्र अनि समाज उत्थानमा लागेका अग्लो र उपल्लो कोटीको चिन्तक र समाजसेवी र नेपाल राष्ट्रले गर्व गर्नु पर्ने व्याक्ति हुन्, उनकै अग्रजहरुले राणाकालमा पनि तमोर वारीपारी गर्न सहज होस् र त्यस भेगका जनताहरुलाई बन्द ब्यापार अनि अन्य ठाउँमा आवतजावत गर्न सहज होस् भनेर सिटौलाको पुल निर्माण गरेका थिए । तिनै सिटौला वंशमा फेरि हरिचरणको उदय भयो र उनले चुहानडांडामा शारदा मावि र बिरेन्द्र इन्टर कलेजको स्थापना गर्न नेतृत्वदायी र मुख्य भुमिका निभाए, आफ्नो पारिवारिक दायित्वलाई पनि सहज रुपमा अंगीकार गरेर समाजको खातिर अहोरात्र खट्ने अनि आफ्नो अभियानमा सफल हरिचरण सिटौलाको जति बयान गरे पनि कमै हुन्छ, आफ्नो ठाउँमा पढाउने शिक्षक नहुंदा दार्जिलिङ गएर शिक्षकको व्यबस्था गर्नु उनीहरुलाई उचित सम्मानका साथ त्यहाँ बस्ने प्रबन्ध गरि पारिश्रमिकको पनि व्यबस्था गर्नु निक्कैनै चुनौतीपूर्ण कार्य हो, हरिचरणको सबल नेतृत्वमा यो काम सफल भयो, आज त्यस भेगका हर पथहरुमा हरिचरण स्वर्गबाट अवतरित भएर उनका तिलस्मी पाइलाहरु अपार आनन्दका चालमा त्यतै हिंडिरहेका छ्न भन्दा अत्युक्ति नहोला !
हरिचरण सिटौलाको सुकिर्ती भित्र पस्दै जांदा सम्पादक द्वयको मेहनत अनि त्यहाँ भित्र छल्किएका श्रष्टाहरुको बोली अनि त्यस युगका अनेकौं घटनाक्रम र हरिचरणको एकलब्य प्रयासभित्र बलिरहेका शैक्षिक जागरणका दीपहरु भेट्न सकिन्छ । त्यसै गरि हरिचरणको शैक्षिक अभियानमा साथ दिने सहयोध्दाहरुको इमान्दार प्रयासका अनेकौं विवरणहरु पनि पढ्न पाइन्छ । हरिचरणको आफ्नै लेखमा उनले अभिव्यक्त गरेका धारणाहरु यस्ता छन् – शारदा हाइस्कुल अनि कलेज निर्माणका खातिर योगदान गर्ने प्रमुख चन्दा दाताहरुमा हरिलाल थपलिया, पदमलाल थपलिया, द्रोणचार सिटौला, मेदिनीप्रसाद उप्रेती, प्रेमप्रसाद उप्रेती,वेदचार सिटौला,चन्द्रबहादुर लिम्बू,पृथ्वीबहादुर लिम्बू,गोपीचन्द्र उप्रेती,श्रीकृष्ण सिटौला,भोलानाथ सिटौला,गंगाप्रसाद थपलिया,देवीप्रसाद उप्रेतीलाई लिनु पर्ने हुन्छ, हरिचरण्ले आफ्नो लेखनमा पिताजीको इच्छा विपरित सरकारी जागिर खान छोडेर गाउँमा फर्की समाजसेवा र शैक्षिक जागरणमा लगेको पल अनि संघर्षमय सुनौला आयामहरुको फेहरिस्त प्रस्तुत गरेका छन् । यस कृतिभित्र हरिचरणका जेष्ठ सुपुत्र तथा प्रसिद्ध साहित्यकार मोहन सिटौलाको गज्जबको संस्मरण र इतिहासका अनेकौं प्रसङ्गहरु नागबेली भएर आएका छन् । सिटौलाले २००७ सालमा पूर्व किराँत– लिम्बुवान क्षेत्रमा भएको विद्रोह, आतंक अनि सर्वसाधरणले भोग्नु परेका पिडालाई समेत राम्रै संग उजागर गरेका छन् । त्यसै गरि उनले आठराईका खर्क, गोठ, गाम, बेंसी, खोला, नाला र हिमालको बयान गर्दै लेखमा लालित्य थपेका छन् । मिन्सिन्धापको भालु,रानीदलको प्रसङ्ग,जुत्ताको कथा,मिठाको बोट, न्यायाधीशको प्रसङ्ग, दहीको कथाले सिटौलाको लेख अत्यन्त मर्मस्पर्शी र सलल बगेर गएको देखिन्छ । सिटौलाले आफ्ना पिताजी हरिचरणको बयान गर्ने शिलशिलामा कामकाजी व्याक्ति,गाई बस्तुको नियमित स्याहार गर्ने कर्मयोगी भनेर चित्रण गरेका छन् । त्यस्तै मोहन सिटौलाले २००४÷ २००५ साल तिरै पिताजी सुत्ने कोठामै करिब २ सय पुस्तकहरु भएको कुरालाई पनि उल्लेख गरेका छन् । त्यस्तै सिटौलाले पिताजीले दार्जिलिङ, बनारस, काठमाडौं आदि ठाउँमा गएर आउँदा घरायसी सामान बाहेक जहिलेपनी १ ढाकर पुस्तक ल्याउने गरेको भन्ने प्रसङ्गले हरिचरणको शिक्षा प्रतिको मोह लगाव कति रहेछ भन्ने प्रष्ट हुन्छ। पुस्तक भित्र दृष्टिगोचर लगाउन थाले पछि अनेकौं प्राज्ञिक, बौद्धिक व्याक्तिहरुका आफ्ना स्वतन्त्र विचार, धारणा अनि अभिमतहरुले पुस्तक सिंगारेको पाइन्छ। प्राध्यापक एवं प्रसिद्ध साहित्यकार अभि सुवेदी हरिचरणलाई अत्यन्त सरल,स्वप्नद्रष्टा,उच्च कोटीका समाजसेवी भनेर चित्रण गर्छन् । त्यस्तै चर्चित कम्युनिस्ट नेता नन्दकुमार प्रसाईं उनलाई साहित्य, कला,संस्कृति प्रति अभिरुचि राख्ने एउटा प्राकृतिक सौन्दर्यरुपी श्रष्टा भनेर सम्झिन पुग्छन् । प्रसाईले हरिचरण जनताका मार्ग दर्शक,जनप्रिय मान्यजन हुनका साथै आशा र भरोषाका बिश्वासपात्र भनेर उच्च मुल्यांकन गरेका छन् । हरिचरण सिटौलालाई आफ्ना स्मृतिभित्र ल्याउने क्रममा कपिल सिटौलाले उनको सामाजिक पक्षको उजागर गरे, कपिल भन्छन् –२०३४ सालमा फाक्चुवा खोलाबाट पाइप द्वारा पानी ल्याउनमा सबै भन्दा अग्रणी भूमिका हरिचरणको थियोे।त्यस्तै कविन्द्र सिटौला हरिचरणलाई समाजसेवी,नवयुगका अग्रगामी व्याक्तित्व र स्वयम् युगपुरुष भएको टिप्पणी गर्छन् । शारदा मावि चुहान डांडाका प्रथम प्रधानअध्यापक कुलप्रसाद राई राणाकालमै निजामती प्रथम श्रेणीमा उत्तीर्ण गर्ने हरिचरण चुहान डांडामा आधुनिक शिक्षा पध्दति सुरु गर्ने प्रमुख व्याक्ति भनेर आफ्नो विचार राख्छन् । हरिचरणका छोरा,तेह्रथुम जिल्ला पन्चायतका पूर्व सभापति खगेन्द्रराज सिटौलाले आफ्नो लेखमा आफ्ना पितालाई एक अविश्रान्त साधक र पौरखी पुरुषको रुपमा चिनेको कुरा व्याक्त्याएका छन्। कुसंगठन,कुविचार नयाँ नेपालको आधार होइन भन्ने हरिचरणको सिध्दान्त अनि समाजसेवा र संगठनलाई मुलमन्त्र र सम्पति मान्ने उनको आदर्शले आफुलाई संधै दिशा निर्देश गरेको कुरा प्रष्ट्याएका छन्। खगेन्द्र भन्छन् – नयाँ नेपालको सपना हरिचरणकै थियो, विकासको लागि अग्रगामी सोच र उत्साही जनताको संगठनलाई उनले ठुलो धन ठानेका थिए।त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उहाँको जीवनले प्रक्षेपण गरेको सबैभन्दा ठूलो मिसन हो सुसंगठित परिश्रमको फल मीठो हुन्छ, सबैभन्दा ठूलो सम्पति संगठन हो र सबै भन्दा ठूलो कार्य समाजसेवा हो भनेर आफ्नो अभिमत दिएका छन् ।

त्यस्तै गोपाल संग्रौला भन्छन् –हरिचरणले आफ्नो नासवान र क्षणिक जीवनलाई लामो समय सम्म आठराई बासीको मस्तिष्कमा राख्न सफल भए। शारदा उच्च माविका पूर्व शिक्षक जयानारायण सेढाईंले हरिचरणलाई पल्लो किरांत, तेह्रथुम जिल्लाको आठराईमा आधुनिक शिक्षाको ज्योती जगाउने व्याक्तिको रुपमा चित्रण गरेका छन् । पूर्व सभासद डिल्ली सिटौलाले तात्कालिन समयका शैक्षिक तथा सामाजिक गतिविधिहरुमा संग्लग्न व्याक्ति मध्ये हरिचरण अग्रगामी, दुरगामी सोचाई भएको भनेर आफ्नो विचार राखेका छन् । त्यस्तै डिल्लीमाया सिटौला उप्रेतीले छोरीलाई पढाउनु पर्छ, छोरा, छोरीमा विभेद गर्नु हुंदैन भन्ने विशिष्ट चिन्तन बोकेको व्याक्तिको रुपमा हरिचरणलाई सम्झेकी छ्न । डिल्लीराम सिटौला भन्छन् – सुसंगठित र सामाजिक बन, परिश्रमी बन, इमान्दार बन, पारदर्शी बन भन्ने कुरालाई उनले जीवनको मुल मन्त्र मानेका थिए । तेजप्रसाद कन्दङ्वा हरिचरणलाई सम्झनामा यसरी राख्छ्न–काठमाडौंको पढाई छोडेर स्कुल खोल्ने अठोट बोकेर गाउँ फर्किने हरिचरणकै कारण चुहान डांडामा शिक्षा विकासको आधार खडा भयो । त्यही कुरालाई राजनेता तेजप्रसाद सिटौलाले उच्च मुल्यांकन गर्दै हरिचरणलाई महान सामाजिक अभियन्ताको रुपमा चित्रण गरेका छन् । त्यस्तै डा. त्रिलोचन उप्रेती हरिचरणलाई चुहान डांडाको उज्यालो भन्छन् भने देवी उप्रेती उनलाई सामाजिक कुटनितीज्ञ र समतावादी व्याक्ति भनेर आफ्नो राय दिन्छन् ।
हरिचरण सिटौलाका सहपाठी, सहयोध्दा पं धरणीधर न्यौपाने हरिचरणलाई विध्यालय, क्याम्पसका जन्मदाता शिखर युगपुरुष भनेर सम्झिन्छ्न । वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईंले गाउँमा पानीको अनिकाल लागेको बेला हरिचरणको अगुवाईमा पानीको धारा आएपछि त्यहाँका नारीले एक अञ्जुली पानी सुर्यलाई र एक अन्जुली पानी हरिचरणलाई दिएको एक सुन्दर अनि मर्मिक प्रसङ्गलाई आफ्नो लेखमा समेटेका छन् । हरिचरण सिटौलाका छोरा चैतन्य सिटौलाले उनलाई शिक्षा प्रेमी,समाजसेवी व्यक्तित्व बाहिरी चुरो र अग्रगामी,प्रजातान्त्रिक चिन्तन र चरित्र भित्री चुरो भएको व्याक्ति भनेर अफ्नो अभिमत दिएका छन् । त्यस्तै हरिचरण सिटौलाका अनन्य मित्र पदमप्रसाद उप्रेती बिरेन्द्र इन्टर कलेज स्थापना गर्दाको पललाई यसरी सम्झिन्छ्न– २०१८ सालमा म कलेजको प्रतिनिधित्व गर्दै स्विकृतिको बिन्तिपत्र बोकेर काठमाण्डौमा सैनिक सचिब शेरबहादुर मल्लकोमा पुगें, राजा संग भएका सबै कुरा सुनाएं । बिन्तिपत्र ल्याएको छ भने देउ राजा सम्म पुर्याइदिन्छुभने उनले । मैले बिन्तिपत्र दिएंँ त्यसपछि राजाबाट कलेजको लागि स्वीकृति दिनु भन्ने आदेश भयो । आठ साल देखि सुरुका दिनमा पदम प्रसाद उप्रेतीले विध्यालय व्याबस्थापनको सचिव पदमा रही आठ बर्ष काम गरेका थिए । चर्चित राजनेता पर्शुराम खापुङले तेह्रथुमको आठराई भेगमा शैक्षिक, सामाजिक अनि धार्मिक क्षेत्रमा हरिचरणले पुर्याएको योगदान अनि उनले सामाजिक सद्भाव राख्न खेलेको भुमिकाको उच्च मुल्यांकन गरेका छन् । त्यस्तै पीपी सिटौला भन्छ्न–उनी एउटै कुरामा ईख लिएर संधै बसिरहने मान्छे थिएनन, क्षमा गर अनि बिर्स भन्ने उनको धारणा थियो । प्रेम प्रसाद थपलियाले उनलाई मृदुभाषी, समाजसुधारक,शिक्षाप्रेमी, भविष्यद्रष्टा सानो उचाईको ठूलो मान्छे भनेर तारिफ गरेका छन् । हरिचरण सिटौलाकी कान्छी श्रीमती मनमाया सिटौलाले उनलाई सम्झिने शिलशिलामा छोराहरु हेड मास्टर, क्यापस चिफ र जिल्ला सभापति हुंदा उहाँ औधी खुसी भएको कुरा व्यक्त गरेकी छन् । प्रा.भानुभक्त पोखरेल हरिचरण सिटौला एउटा सिंगो इतिहाँस नै हो भन्नुहुन्छ । साहित्यकार रबिमान लम्जेलले मावि र क्याम्पस खोलेर त्यो शैक्षिक वातावरण तयार गरि हजारौं, हजार बालबालिकाको ज्ञानको ढोका उघार्ने हरिचरण र उनका सहयोध्दाहरुको तारिफ गरेका छन् । प्रसिद्ध साहित्यकार एवम बिरेन्द्र इन्टर कलेजका प्रथम प्रीन्सिपल राजनारायण प्रधान उनको प्रशंसामा यसो भन्छन् –हरिचरण राम्रा थिए, उनको देश प्रेम र जन प्रेम बिछट्टै राम्रो थियो । त्यसैले मैले उनी संग धेरै सिकें, धेरै जानें । उनी एउटा कुरा एकपल्ट बोल्थे तर पक्का बोल्थे । उनी चुहानडांडाका धड्कन थिए, चुहानडांडाको हृदय जितेर उनी बिते । त्यस्तै हरिचरणका माइला ज्वाईं राजेन्द्र दाहाल आफ्नो ससुराले देखाएको समानताको बाटो, शिक्षाको प्रसार, आपसी मेलमिलापको लागि सहिष्णुता,अनुशासन र निष्पक्ष न्यायको अबलम्बन गर्नु आजका पुस्ताका लागि प्रेरक प्रसङ हुने कुरा बताउँछन । यो पुस्तक तयार गर्ने मुख्य व्याक्ति र हरिचरणका परिवारकी माहिली छोरी राधिका दाहालको आफ्नो पिताको माया र उनी प्रतिको समर्पण कति छ भन्ने कुरा यत्रो विशाल र उम्दा पुस्तक तयार गर्न उनले बगाएको पसिना र अथक साधनाले देखाईसकेको छ । राधिका आफ्ना आफ्ना पिताले भनेका तीन वाक्यहरुलाई आज पनि मुल मन्त्र मानेर हिंडिरहेकी छन् ।
१)काँंडाले हान्नेलाई फूलले हान्नु विजय आफ्नो हातमा हुनेछ ।
२)सदा प्रसन्न रहने गर,सत्य र मिठो वचन बोल,बोलीलाई पैसा पर्दैन ।
३)संगठननै बल हो ।
रामानारायण प्रधान भन्छ्न–कानुनका ज्ञाता हरिचरण मोहिवाल र जग्गा धनी बिचको विवादमा संधै मोहिवालाको पक्ष लिन्थे । हरिचरणकी जेठी श्रीमति लक्ष्मीदेवी सिटौला आफ्ना पतिलाई यसरी सम्झिन्छिन–पारिवारिक काम भन्दा सामाजिक कामहरुमा अधिकांस समय व्यातित गर्ने उनले स्कुल, कलेज र समाजको विकासमा आफ्नो जीवन समर्पण गरेका थिए । त्यस्तै तेह्रथुम बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख भएर काम गरिसकेका बसन्तकाजी बुढाथोकी भन्छ्न– आठाराई चुहानडाँंडाका प्रत्येक विध्यालय, महाविध्यालय, पाखा, पखेरा सम्पूर्ण समाज र प्रकृतिले उहाँहरुको(हरिचरण,पदमप्रसाद)संझनामा शुसेली हालिरहेको अनुभुति आज सबैले गर्छन् । प्रसिध्द न्युरो सर्जन एवम हरिचरणका कान्छा ज्वाईं डा बसन्त पन्तले हरिचरणको पार्किन्सन रोगको प्रसंग निकाल्दै आफ्नो भावना यसरी प्रकट गर्छन् –त्यस बेला उहांँको दिमाग अतिनै गतिशील थियो,त्यो अर्ध निश्छल शरीरको मस्तिष्कचाहिं उडिरहेको मैले आभाष गरें । संवेदनशीलताले मलाई छिटो छुन्छ र मेरो जिन्दगी कति हद सम्म त्यसले डोर्याउँंछ पनि । डा. पन्त भन्छन् – उहाँकै( हरिचरणको)प्रेरणाले मैले पिडी सम्बन्धी अध्ययन सुरु गरें,जापानमा गएर आफ्नो रिसर्च पूरा गरें । अहिले म सर्जनको रुपमा कार्यरत छु । त्यस्तै हरिचरणकी कान्छी छोरी प्रा.डा. विजय पन्त लेख्छिन–हामी बुबा जस्तो जीवन बाँंच्न सक्दैनौ तथापि बुबाको जीवनको सानो अंश आफू भित्र बचाउन सके समाजलाई सही दिशामा डोर्याउन पक्कै सकिन्छ । त्यस्तै उहाँको स्मृतिमा बल्झिएर डा. वेदप्रकास उप्रेती आफ्नो धारणा यसरी बनाउंछन् –चुहान डाँंडामा मोटर बाटो पुगेको हरिचरणले देख्न पाउनु भएन । मोटर बाटो पुर्याउन गाउँंलेहरुको सहयोगमा मेरो पनि सहयोग रह्यो । हरिचरण हुनुहुन्न तर उहाँ बाट प्राप्त आशिर्वादले मलाई पछ्याईरहेको छ । उप्रेती भन्छन् –जातिय हिसाबले चुहानडांँडा एक मिश्रित गाउँ थियो र अहिलेपनि छ । लिम्बू र तथाकथित दलितका छोरा छोरी पढ्न पठाएमा प्रत्येक लिम्बू विध्यार्थीलाई महिनाको एक रुपैयाँ र दलित विध्यार्थीलाई दुई रुपैयाँ दिने निर्णय गरियो । अहिलेको स्थितिमा हेर्दा त्यो त्यति महत्वपूर्ण कुरा नदेखिएला तर २००८ सालमा त्यो निर्णय एक क्रान्तिकारी र युगन्तकारी निर्णय थियो । यसरी प्रेरक निर्णय गर्ने कार्यमा हरिचरणको अग्रणी भुमिका थियो ।
त्यस्तै शंकर उप्रेतीले जीवनको उत्तरार्धमा भेटेपछि हरिचरण प्रतिको आफ्नो दृष्टिकोण यस्तो बनाए–हे आठराईमा शिक्षाको दियो जलाउने मध्येका अग्रज ! तिमीले जलाएको दियोको प्रकाश देशभरी फैलिरहन्छ,देशमा मात्र होइन विदेशमा पनि फैलिरहन्छ । शिवप्रसाद सिटौला हरिचरणलाई श्रमलाई महत्व दिने,श्रमलाई माया र श्रध्दा गर्ने अनि श्रमिकनै संसारमा ठुला हुन्छन् भन्ने कुरा सानैदेखी सबैलाई बुझाउने व्याक्तिको रुपमा चित्रण गर्छन् । शेर बहादुर इङ्नाम भन्छन् अहिलेको भौतिकवादी समाजमा निश्वार्थ समाजसेवी जमिन्दार देविप्रसाद उप्रेती, बहिदार गंगाप्रसाद सिटौला, हरिचरण सिटौला,पदमप्रसाद उप्रेतीको निश्वार्थ सेवाको कार्यले सबैलाई राष्ट्र सेवक बन्ने प्रेरणा प्राप्त होस् । रामप्रसाद सिटौला भन्नुहुन्छ उहाँले कहिल्यै पनि पद र प्रतिष्ठाको लागि कसैसंग प्रतिस्पर्धा गर्नु भएन । बरु आफु सामाजिक कार्यकर्ता बनेर काम गर्न रुचाउनु भयो र अरुलाई जीताउनु भयो ।
हरिकला चुडाल हरिचरणलाई सबै मानवका मित्ररुपी ज्योती बनिसकेको भनेर आफ्नो मत राख्छिन । त्यस्तै हरिभक्त बुढाथोकी हरिचरण सबैलाई बराबरी माया बाँंड्न सक्ने, समान व्यावहार देखाउने न्यायका धनी भनेर टिप्पणी गर्छन् । प्राज्ञ हेमनाथ पौडेलका विचारमा हरिचरणले गरेको पुण्यकर्म वास्तवमा स्वार्थरहित थियोे,त्यसको बदलामा उहाँले कहिल्यैपनि कुनै खालको फाइदा लिन चाहनु भएको थाहा भएन । सुर्य सुवेदी भन्छन्–जागिर खान पठाएको छोरो जागिर नखाई आएकोमा उसबेला उनका बुबा द्रोणचारलाई धेरै दुख लागेको थियो, तर रामचन्द्रले हनुमानलाई औषधि लिन पठाउंँदा औषधि नभेटी औषधिको पहाडै बोकेर ल्याएझैं जागिर नखाएको सट्टा जागिरको बोटै बोकेर ल्याएछौ भनेर हरिचरणका बुबा द्रोणचारले गरेको टिप्पणी आफैमा मार्मिक अनि अर्थपूर्ण छ ।
भुवनेश्वरी सिटौलाले आफ्नो ससुराको प्रेरणा अनि उर्जाको कारणले आफुलाई पढ्न सहज भएको कुरा व्यक्त गर्दै हरिचरण सिटौलाको छोरा, छोरी अनि बुहारी प्रति समान दृष्टिकोण रहेको कुरा व्यक्त गर्नु भएको छ । त्यस्तै तेह्रथुम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. भद्ररत्न बज्राचार्य भन्छन् – हरिचरणले २००२ सालमा दोकानडाँंडा(आफ्नै घर)मा सुरु गरेको पाठशालालाई सात सालमा काठमाण्डौं गएर स्थानीय बद्रीप्रसाद थपलिया र गंगाप्रसाद उप्रेतीको सहयोगमा शारदा मिडल स्कुलमा परिणत गरि सरकारी स्वीकृति प्रदान गराउनु भयो । पुर्णानन्द शर्माका अनुसार हरिचरण सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो,उहाँहरुकै कठोर मेहनत,त्याग र समर्पणकै कारण आठराईले प्राध्यापक,विशिष्ट डाक्टर, कुशल इन्जिनियर,प्राज्ञ,पाइलट,सफल जन सेवक र ख्यातिप्राप्त व्याक्तिहरु जन्माउन सफल भएको हो । बद्री ओली हरिचरणलाई सम्झने शिलशिलामा आफ्नो विचार यसरी राख्छन्।्– हरिचरणकै पहलमा मेदिनीप्रसाद उप्रेती,पदम प्रसाद उप्रेती,लक्ष्मीप्रसाद उप्रेती,सुर्यकन्दङ्वा,धन कर्ण कन्दङ्वा,जयनारायण थपलिया आदिको सहयोगमा २०१७ सालमा चुहानडांँडामा कलेजको स्थापना भयो । त्यस्तै डा स्वामी प्रपन्नाचार्य हरिचरण सिटौला र धरणीधर न्यौपानेको तारिफ गर्दै लेख्छन्– हरिचरण सिटौला र धरणीधर न्यौपाने दुबैको संयुक्त प्रयासले आजको सक्रान्ती, चुहानडांँडाको सेरोफेरोमा शिक्षा र सामाजिक चेतनाको ज्योती झलमल्ल बलिराखेको छ । शैक्षिक जागरणको सुरुवातमा लेख, पढ गर्ने उपयुक्त साधन नभएको बेला उनका भाइ रघुनाथले मालिंगाका बलियो अनि भरपर्दो कलम आफुले बनाएको प्रसङ्ग निकाल्दै आफ्ना दाजु हरिचरणको कानुनी लेखापढीको कुरा समेत उप्काएका छन् उनी भन्छन् –अड्डाको हाकिमले हरिचरणको सही हेरेपछि अरु हेर्दैनथे अर्थात हरिचरण स्रेस्तामा पनि अत्यन्तै सिपालु थिए ।
यसरी यो धर्तीमा जन्मेका महान समाजसेवीहरुको लिस्टमा हरिचरणले आफ्नो नाम दर्ज गराए । सबै समाजसेवीहरुले उस्तै र उत्तिकै योगदान दिन सक्छन् भन्ने होइन, आफ्नो ठाउँ र परिवेश अनि परिस्थिति अनुसार तन, मन, बचनले देश अनि समाजको खातिर अहोरात्र लाग्ने व्याक्तिहरु महान हुन्, दीन, दुखीहरुको पिडामा मल्हम लगाउनेहरु महान हुन् । नेपालमा समाजसेवीहरुको चर्चा गर्दै गर्दा बालागुरु खडानन्दको नाम अग्र पंक्तिमा आउँछ, १९३२ सालमै गुरुकुल स्कुलको स्थापना स्थापना गर्ने उनले आम जनताको लागि पाटी, पौवा, धारा, चौतारा स्थापना गर्नुको अलवा गुरुकुल अनि अन्य धार्मिक संस्थामा कुनै जातिय, छुवाछूतको भेद नगरी सबैमा उत्साह, उर्जा र जीवन ज्योती जगाउने काम गरेका थिए, त्यो राणाकालको समय थियो । त्यस्तै दयानन्द सरस्वतीको आर्य समाज बाट प्रभावित भएर माधवराज जोशीले १९५३ मा आर्य समाजको स्थापना गरे, त्यस्तै तुलसी मेहर श्रेष्ठले चर्खा प्रचार अभियान चलाएका थिए भने अमर राज जोशीले मलामी गुठीको स्थापना गरे भलै यी संस्थाहरु राणाहरुको कोपभाजनको सिकार नभएका होइनन् तर त्यस्तो हिम्मत र जोश राख्नु त्यो बेला चानचुने कुरा थिएन । पिताजी कृष्णप्रसाद कोइरालाले राणा कालमा विराटनगरमा आदर्श स्कुल खोलेर शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका थिए,विराटनगरमा हस्पिटल र उधोगधन्दा खोल्ने कृष्णप्रसाद कोइरालाको विराटनगरलाई आधुनिक बनाउन सबै भन्दा उच्च योगदान छ । त्यस्तै भोजपुरमै जन्मिएकी योगमायाले पनि कुरिती, कुसंस्कार र बिसंगति बिरुध्द आजीवन संघर्ष गरिन,जुध्द समसेरले उनका प्रगतिशील मागहरुको बेवास्ता गरेकै कारण आफ्नो अनुयायीका साथ जल समाधी लिएर तात्कालिन समाजलाई ठुलो चुनौती दिएकी थिइन । त्यस्ती बिद्रोही अनि समाज परिवर्तनकी सुत्राधार नारीको कारण राणा शासनमै ठूलो खैलाबैला मच्चिएको थियो । त्यस्तै २००९ सलमा परोपकार अनाथलय, २०१६ सालमा प्रसुती गृह खोलेर उदाहरणीय काम गर्ने समाजसेवी दयावीर सिंह कंसाकर नेपालमा रक्तदानको आरम्भ गर्ने व्याक्तिको रुपमा चिनिन्छन । सिटौला पुल स्थापना गर्ने ब्रह्मलाल,बिष्णुलाल सिटौला ठुला समाजसेवी हुन् । राणा कालमै तमोर नदीमा झोलुङ्गे पुल हालेर त्यस भेगका जनाताको जीवन स्तरमा सुधार ल्याई दुखका आंँशु पुछ्ने प्रयत्न गरे उनीहरुले । १९८७ सालमै बनिएको त्यो पुल पुर्वी पहाडमै नमुना मानिन्छ । त्यस्तै आठराई त्रिवेणी गाउँ पालिका अन्तर्गत ५ नं वडामा १९३४ मा जन्मिएकी बिष्णुमाया लिम्बुनीले आफ्नो स्वर्गीय पतिको संझनामा तमोर नदीमा झोलुङ्गे पुल निर्माण गरिन । ब्रह्मलाल सिटौलाहरुले पुल बनाए जस्तै ती एकल महिलाले ७५ बर्षको उमेरमा २००९ सालतिर त्यो पुल बनाउने उत्साह राखेर आफ्नो सामाजिक कर्तब्य पूरा गर्नु समाजसेवाको अनुपम नमुनाको रुपना लिन सकिन्छ । त्यस्तै देशका समाजसेवीका उम्दा नामहरुमा भानुभक्त सिटौला, देवीप्रसाद उप्रेती, बद्रीबिक्रम थापा,मृगेन्द्रराज पान्डे,रामप्रसाद पोख्रेल,अङ्गुरबाबा जोशी,दिर्घराज कोइराला, लक्ष्मीनारायण प्रसाद,पं छविलाल पोख्रेल, भक्तकुमारी घले, त्रैलोक्यनाथ श्रेष्ठ,ठाकुरप्रसाद मैनाली, जंगबहादुर बोगटी, भिमबहादुर अधिकारी,उर्मीला गर्ग उपाध्याय,डा. सन्दुक रुइत, डा.गोविन्द केसी,रामनारायण श्रेष्ठ,प्रा. गणेशराज सिंह, अनुराधा कोइराला, पुष्पा बस्नेत, दीक्षा चापागाईं,ओमप्रसाद गौचन,चुना तामाङ आदिलाई गर्वका साथ लिन सक्छौं ।
हरिचरण एक महान तपस्वी सरल, इमान्दार र बन्जर धर्तीमा फुल फुलाउने एक स्वप्न द्रष्टा हुन् । कुनै ठूलो ठाउँमा बसेर मात्र मान्छे चर्चित हुँदैन, ठुलो देशमा जन्मेर मात्र मान्छे महान बन्न सक्दैन । महान बन्नलाई उसको सोच महान हुनु पर्छ, विचार महान हुनु पर्छ, उसको माया त्यहाँका सर्वसाधारण संग भिजेको हुनुपर्छ, त्यहाँको माटोलाई आत्मसात गरेको हुनु पर्छ, त्यही ठाउँ लाई आफ्नो ठानेर आफ्नो सर्वश्व सुम्पेको हुनुपर्छ, त्यो बनाउन दिन, रात खटेको हुनु पर्छ, हरिचरण त्यस्तै मान्छे थिए, आफ्नो गाउँलाई अतिनै माया गर्ने मन्छे थिए, आफ्नो गाउँमा खानेपानी ल्याएर पिउने पानीको खातिर तड्पिनु पर्ने अवस्थाको यिनले अन्त्य गरेका थिए, शिक्षाको ज्योति छर्न स्कुल अनि क्याम्पस बनाएर उज्यालो क्षितिज को सुत्रपात गरेका थिए । त्यति बेला आधुनिक शिक्षाका पारंगत मान्छेलाई आठराई भित्र्याउने श्रेय हरिचरण सिटौला र पदमप्रसाद उप्रेतीलाई जान्छ, हरिचरणलाई दिलै देखि साथ दिने पदमप्रसाद उप्रेतीको चर्चा पुस्तकमा धेरै ठाउँ गरिएको छ, पदम प्रसादले पल पल बगाएका पसिनाहरुको पनि बिभिन्न लेखकहरुले महत्वका साथ चर्चा गरेका छन् । त्यसैले ती दुई भाईहरुनै त्यस भेगका उज्ज्वल नक्षेत्र रहेछन् भनेर बुझ्न सकिन्छ तर मुख्य नेतृत्वकर्ता हरिचरणनै हुन त्यसमा दुई मत छैन, हरिचरणको संकल्प अनि डिजाइनबाट थप उर्जा अनि उत्साह सबैले थप्दै गएको देखिन्छ । हरिचरणले धेरै कुराहरु त्यागेर आफ्नो माटोलाई माया गरेका छन् । हरिचरणले सबै कुरा छोडेर आफ्नो धर्तीलाई स्वर्ग सम्झेर एकलब्य भै साधनामा रमाएको पलको धेरै लेखकले चर्चा गरेका छन् तसर्थ आठराईको शैक्षिक विकासको कुरा गर्दा अग्रपंक्तिमा उनको नाम आउँछ । उ नेतृत्व गर्ने व्याक्ति हुन, उ नेतृत्व गर्ने अभियन्ता हुन । पुस्तक पढेपछि थाहा हुन्छ उनले आफ्ना सन्तानलाई र गाउँका केटाकेटीलाई कति अनुशासन अनि मर्यादामा राखेर पढाएका र माया गरेका रहेछन्, इमान्दारिताको कस्तो पाठ पढाएका रहेछन् । आफ्ना पिताले बनाएको स्कुल, क्याम्पसमा हरिचरणका छोराहरुले लामो समय सम्म काम गरे । मोहन सिटौला त अहिले पनि आठराईको सपना देख्छन् उनलाई संसारको स्वर्ग अनि धर्तीको सांग्रिला आठराईनै लाग्छ रे, राधिका दाहालको त कुरा सुन्दा लाग्छ उनी प्रत्येक दिन सपनामा आठराई चुहानडांडाको बारीमा डुलिरहेकी हुन्छिन् । यसरी यो पुस्तक हरेक व्याक्तिले पढ्नै पर्ने पुस्तक लाग्छ मलाई, यो पुस्तक आठराई बासीले त झन पढ्नै पर्छ, आठराईको विकास अनि त्यहाँको शैक्षिक ईतिहास बुझ्न यो पुस्तक कोशे ढुङ्गा साबित हुन सक्छ । आठराईको रहन, सहन अनि संस्कृति बुझ्न यो पुस्तक उपयोगी हुनेछ । हरिचरण त एक प्रतीक मात्र हुन, उ त एक प्रतिनिधि मात्र हुन तर पुस्तकले सम्पूर्ण आठराईको वास्तविकतालाई उजागर गरेको छ, हरिचरण जस्तै जोश, जांगर भएका अथक साधकहरुको कारणले आठराई नेपालको शैक्षिक क्षेत्रमा अब्बल साबित भएको हो । त्यहाँका धेरै कुराहरुको जानकारी पुस्तक पढे पछि पाउन सकिन्छ । हरिचरण अनि उनका सहयोध्दाहरुको बारेमा जान्न सकिन्छ । चुहानडांडाको ईतिहास पढ्न सकिन्छ, चुहानडांडाको गतिशिलाता बुझ्न सकिन्छ, चुहानडाँंडा,ईवा र सक्रान्ती बजारको बारेमा धेरै कुराहरु बुझ्न सकिन्छ । यसरी हरिचरणलाई केन्द्रित गरेर लेखेको यो पुस्तक अति उपयोगी छ, आफ्ना संस्मरणहरु मार्फत धेरै लेखकहरुको आवाजले पुस्तक संगीतमय बनेको छ । हरिचरण जस्ता महान व्याक्तिहरु धर्तीमा आउनु पर्छ, बारंबार आउनु पर्छ । आजका पुस्ताले यस्ता महान समाजसेवीबाट प्रेरणा लिएर अघि बढ्नु पर्छ, समाज सुधार अनि समाज परिवर्तनका सुत्राधार हरिचरणलाई पढ्न यो पुस्तक पढ्नु पर्छ । पुस्तक पढेर अपार आनन्दको महसुस भैराखेको छ मलाई पनि । पुस्तकले हरिचरणलाई जीवित बनायो, एक महान आत्मालाई अमर बनायो, चुहान डांडालाई अजर,अमर बनायो । देश बनाउन खोज्नेहरुलाई उच्च नैतिकताको पाठ सिकायो । समाज परिवर्तनका संवाहकहरुलाई थप उर्जा प्रदान ग¥यो । यस्ता शरस्वतीका पुजारी, जीवनभरि शिक्षाको समुन्नतीमा समर्पित महासाधक ४९ साल माघ १४ गते शरस्वती पुजाकै दिन स्वर्गवास हुनु पनि अनौठो संयोग मान्नु पर्छ । इतिहासका महान व्याक्ति हरिचरण सिटौला अमर रहुन भन्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु अनि ऐतिहाँसिक तसविर सहित प्रसस्तै मेहनत गरेर तयार गरेको यस पुस्तकको भब्य सफलताको कामना गर्दछु ।
हरिचरण सिटौलाको सुकिर्ती र यस भित्र बल्झिएका ईतिहास अनि वर्तमानका अनेकौं सवालहरु–
गोपीकृष्ण प्रसाई, ३४/८४ जनपथ मार्ग, कामपा– २९, घट्टेकुलो,काठमाडौं