कुदिरहेको रेलमा तीनजना नेपाली छौं ।
रेलभरि मान्छे छन् थरीथरीका । एशियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहारको हुल छ रेलमा ।
होमराज आचार्य, डा.भट्टराई र म आमनेसामने छौं । हाम्रा आँखा जुधाइ कम भए पनि कुरा साटासाट भइरहेछन् निरन्तर । भर्खरै धोएर ल्याएजस्तो टिलिक्क सफा छ, रेड लाइनको रेल ।
भारतीयहरु थुपै्र छन् । त्योभन्दा बढी छन् हिस्पानिकहरु । होचा, काला कपालका, ठ्याम्मै नेपाली अनुहारका । अझ बढी छन् अफ्रिकन कालाहरु । निकै होहल्ला छ ती बसेको सिटमा । जहाँ काला त्यहाँ होहल्ला—सुनेको कुरा मिल्दैछ ।
हामी डुपन सर्कलबाट चढेथ्यौं । पुग्नु थियो सिल्भरस्प्रिङ । शुक्रबारको दिन—निकै भीडभाड छ । फेरि रातको बेला ।
अमेरिकामा शुक्रबारको काम सकेर दुई दिने छुट्टी मनाउन निस्किहाल्ने जीवनशैली रहेछ । शनिबार र आइतबार जमेर मस्ती गर्ने अनि सोमबारदेखि फेरि घँुडा धस्ने प्रचलन सबैका निम्ति संस्कार भएको पाएँ मैले ।
वासिङटन डिसीबाट मेरील्याण्ड गइरहेथ्यौं हामी । अश्वेतहरुको भीडभाड बढ्ता छ मेरील्याण्डमा । यसको प्रमाण रेलभन्दा अश्वेतहरुको होहल्लाबाट पाइन्थ्यो मज्जैले ।
‘म त आउने साता नेपाल जाँदैछु, डाक्टर साब कहिले फर्कने ?‘
फारागट नर्थको भीडमा रेल रोकिँदा मैले सोधेँ ।
‘तपाईंको देशमा आउन त पर्ने हो ! पहाडमा अलिकति खेतबारी छ । खोइ, त्यता पनि माओवादीले झण्डा गाडेका छन् रे ! हेरौं, यो अपार्टमेन्टको मोर्गेज तिरिसकेपछि मुक्ति पाइन्थ्यो कि ?‘
भट्टराईको अनुहारमा उज्यालो थिएन । बोलीमा कुनै खालको उमंग थिएन ।
रेल कुदेजस्तै लागिरहेको छैन मलाई । नहल्ली बादलमा सुलुलु गइरहेको आनन्दीमा रमाएको छु । एक–दुई मिनेटको फरकमा रोकिने सूचना प्रसारण हुन्छ र रोकिन्छ । अनि टिङ्लिङ्ङ गरी घन्टी बज्दै ढोका लागेको जानकारी हरेक स्टेशनमा सुनिरहेको छु म ।
सफा, सिनित्त र सुकिला छन् रेलका डिब्बा र सिट । कुनै फोहोरको सानो अंश पर्यन्त देखिन्न । एकदमै आरामदायी लागिरहेछ यो मेट्रो ।
भित्तामा अडेसिएका होमराजका आँखा लोलाएका छन् । मेरो र भट्टराईको कुरा तिनी कति सुनिरहेका छन् ? घरीघरी ख्याल आउँछ । तिनका परेली ढप्किएका मात्र हुन्, कान खुल्लै छन् भन्ठान्छु म । चाल मारेर हेर्दै पनि छु ।
‘तपाईंको लेखन त सेलायो नि ?‘
मेट्रो सेन्टर पुगेपछि मैले खसखस पोखें ।
‘तपाईंको देशमा लेखेर पो कसले के लछारपाटो लगाएका छन् र ! मैले त्यतिका किताब लेखेँ न विश्वविध्यालयले सम्झना ग¥यो, न एकेडेमीमै प्राज्ञ हुन पाइयो । रातोदिनको कचिङ्गलले भनेजस्तो लेख्नै सकिएन त्यो बेला । अहिले वर्षमा एउटा कविता डिसी घुम्दा लेख्छु, प्रसन्न हुन्छ मन !‘
डाक्टर साबले नेताजस्तो आक्रोस पोखे ।
वासिङटन डिसीलाई मुख्य फेरो मारेर ग्रिन, ब्लु, रेड, यल्लो, अरेन्ज गरी पाँचरङ्गे रेल कुदछन् । ती सबै लाइनमा भिन्न–भिन्न भूमि र परिवेशका यात्रु हुन्छन् ।
म आँफैले यी पाँचै लाइनका मेट्रोहरु चढेँ । अझ बढी चढेँ, अरेन्ज लाइनको मेट्रो । भर्जिनिया र वासिङटनको फेरो मार्दा ।
‘कत्तिको रमाइरहनुभा छ त डाक्टर साब ?‘
म सोध्छु, वर्षौंदेखि अमेरिकी नागरिक हुनुभएका भट्टराईलाई ।
‘तपाईंको देशमा मानिस दुखी मात्र छन् । बोल्नेहरुको जमात बढेकोबढेकै छ, काम चैं शून्य छ । के गर्नु ती सबै गफाडीलाई यहाँको राजनीति एक पटक सिकउन पाए !‘
डाक्टरभित्र आगो छ, बोलीले त्यसको साक्ष्य जनाइरहेको छ ।
म कुदिरहेको मेट्रोको चारैतिर हेरिरहेको छु । कसैले कसैलाई नछोई बसेका छन् । उभिनेहरु पनि आँफैमा निमग्न । धेरै जसो त पुस्तकमै घोत्लिरहेका छन् । मोटा न मोटा किताबले मुख छोपेर निदाउनेहरु छन् झन् बढी ।
मेरो छेवैमा एउटा अग्ले अश्वेत र रस्सियाली अनुहारकी किशोरी मच्ची–मच्ची गफ गरिरहेका छन् । गणितका सूत्रजस्ता लाग्ने किरिङमिरिङ अक्षरमा जोतिएर बोल्छन्, थाक्छन् र ओठ चुस्छन् । बेला–बेलामा हाम्रा कुरामा नि ध्यान दिन्छे किशोरी ।
झण्डाका स–साना स्टिकर छन् ठाउँ–ठाउँमा । अमेरिकी झण्डाका कलात्मक स्टिकरहरु । अनि त्यसकै तल्लो हारमा सबैले देखिने गरी लेखिएको छ– नो स्मोकिङ, नो इटिङ अर ड्ङिकिङ, नो एनिमल्स, नो अडियो, नो लिटर अर स्पिटिङ, नो डेन्जर्स अर फ्लेमबल आइटम्स् ।
हावामा बत्तिएजस्तो रेलको आवाज छ, पानी उम्लँदाको स्वाँऽऽ जस्तो !
‘डाक्टर साब, रोग लागेपछि त उपचार गर्न गाहृो पो रहेछ अमेरिकामा ?‘
अघिल्लो महिना रुघाखोकी र ज्वरोले सताउँदा थला परेको एउटा साथीले जिरापानी खाँदै नेपालकै डाक्टरसँग सम्पर्क गरी ओखती खाएको सम्झँदै सोधेँ मैले । मेक फेर्सन स्क्वाएरमा एउटी बूढी निकै बाक्ला लुगा लगाएर मेट्रो उक्ली । ऊ लाग्थी रोगीजस्ती ।
‘तपाईंको देशमा पैसा भई–भई मर्नेहरु कति छन् कति ! नेपालमा मान्छेको शरीर परीक्षण गर्ने भाँडो मात्र हुन्छ । लापर्वाहीको चरम नमूना हेर्नु परे अस्पताल गए हुन्छ । अस्पतालमा गएका बिरामी बाँचेर फर्किने चान्स बहुतै कम हुन्छ । सास राख्न हैन, थुतिमाग्न अस्पताल जान्छन् मान्छेहरु !‘
भट्टराई उग्रै रिसाएका रहेछन् । सात समुद्रपारि आउँदा पनि मत्थर भएनछ रिस ।
चाइनाटाउन पुगेपछि रेलमा अलिक बढी जापानी, फिलिपिनी, कोरियाली र चिनियाँमूलका मान्छेको सङ्ख्या थपियो । एउटी पातलो जामा लगाएकी युवतीले गलामा बुध्दैबुध्द अङ्कित माला लगाएकी देखियो । त्यसै–त्यसै रमायो मन !
उसका हातमा एउटा कलात्मक काठे माला थियो । त्यसलाई ऊ घरी–घरी ओठमा पु¥याउँदै, छातीतिर हु¥याउँथी । त्योतिर रस्सियाली युवतीसँग शास्त्रार्थ गरिरहेको काले बाङ्गिएर हेथ्र्यो ।
डिसीको मेट्रो सेवा यति व्यवस्थित छ—यो जहाँजहाँ रोकिन्छ, यसका दाँयाबायाँ प्रख्यात विश्वविध्यालयहरु छन् । अझ पर्यटकलाई सुबिधा होस् भनी मनोरञ्जन, यातायातका सम्पूर्ण व्यवस्थित अवस्था राखिएका रहेछन् ।
‘तपाईं सुखी कति प्रतिशत हुनुहुन्छ ?‘
मेरो प्रश्न यथावत छ ।
‘तपाईंको देशमा मान्छे सुखी छैनन्, खुशी छन् । यहाँ म नि सुखी धेरै, खुशी कम छु । सुखी र खुशी दुई अलग कुरा हुन् । अमेरिकाले सबैलाई सुख दिन्छ, खुशी पार्न नसके नि !‘
भट्टराईले सत्य बोले कि भन्ने लाग्दैछ मलाई ।
मेट्रो घरी सुरुङभित्र पस्छ । घरी खुल्ला मैदानमा बेतोडले बेगिन्छ । रेलको गति निरन्तर परिवर्तित खालको छ । छिनमै वेगवान र छिनमै स्वाट्ट घट्छ तीब्र गति । बढेको र घटेको आभाष पाइन्छ मसिनो आवाजमा ।
न्युयोर्क एभेन्यु पुगेपछि ठूलो हुल पस्यो हामी बसेको कक्षमा । निकै बहस गरिरहेको थियो समूह । आचार्यले बताए–‘यिनीहरु फुटबलबारे कुरा गर्दैछन् !‘
हुन पनि अमेरिकामा खेलकुद हुन थालेपछि सारा शहर नै बन्द जत्तिकै हुँदा रहेछन् । स्टोर, लिकर्स, र सब वेहरु एकाएक स्लो हुँदा रहेछन् । खेलकुदप्रति अमेरिकीहरुको चाहना विशेष पाएँ मैले ।
ब्रेन्टउड पुगेपछि मेट्रोमा यात्रुको चाप झन् बढ्यो । झकाएका आचार्य हाम्रा बातचितमा सही थाप्ने र मुन्टो हल्लाउन थाले ।
‘धन त निकै कमाउनु भो होला ?‘
मैले निकै साहसका साथ यो जिक्षासा राखेँ भट्टराईलाई । किनभने अमेरिकामा कमाउनेभन्दा गुमाउने ठाउँ धेरै देखेको थिएँ मैले । उनको इमान जाँच्न पनि यो खसखस राखँे ।
‘तपाईंको देशमा कमाउने ठाउँ नै कहाँ छ र ! त्यहाँ वर्षमा कमाउने पैसा यहाँ महिनामा कमाइन्छ । तर बचत त त्यत्तिकै हो नि ! कार्डमै पाइन्छ डलर अनि कार्ड घोट्ताघोटतै गइसक्तो रहेछ । पत्तै नहुने !‘ डाक्टरले भनेका कुरामा बनावटी तर्क थिएन । हार न जितको नतिजामा हाँस्ने अनुहारको लाममा भट्टराई पनि उभिएको देखें मैले ।
वास्तवमा यी रेलहरु सुरुङैसुरुङका लिकमा कुद्ने किराजस्तो ठानिरहेको छु म । सबै मेट्रोले एक अर्कालाई भेट्ने वैज्ञानिक स्टेशन रहेछन् जहाँसुकै । अत्यन्त व्यवस्थित र सुरक्षित समेत ।
विशेषतः मेट्रो सेन्टर, चाइनाटाउन र फोर्ट टोट्टिनमा रेड, अरेन्ज, ब्लु, ग्रिन, यल्लो लाइनका रेल तल–माथिका बाटा भएर जाँदा रहेछन् । कति गहिरो सोच, चिन्तन र विश्लेषणसाथ बनेका होलान्–यी रेलवे सेवाहरु ।
‘सन्तोष कत्तिको मानिरहनु भा छ त डाक्टर साब ?‘
देशको विद्वानलाई मैले सोधेको थिएँ, अमेरिकामा गुमनाम देखेर ।
‘तपाईंको देशमा इज्जत छ, भोक मार्ने अन्न छैन । नामले भुँडी भरिने कुरो होइन रहेछ । सम्झन्छु, भात पहिलो अनि प्रतिष्ठा त पछिको कुरो रहेछ । सन्तोषलाई पनि यही आँखाले हेर्नुपर्ला । जे होस् ठीक छु ।‘
डाक्टरको बोलीमा गरुँगो चाला छँदैछ । तिनमा जतिसुकै पीडालाई नदेखाउने प्रचेष्टा भए पनि बिस्तारै आइरहेथ्यो कुराकानीमा । यसमा मेरो जित होइन, उनकै गर्व ढलपल भइरहेकै थियो ।
वासिङटन डिसी वरिपरि मेट्रोको जालो छ । हजारौं मान्छेहरु अहिले पार्किङको समस्याले ग्रसित हुन थालेको भेटेथँे मैले । यसैले अपार्टमेन्टदेखि मेट्रोसम्म आफ्नै कारमा आयो अनि पार्किङ ग¥यो । त्यसपछि मेट्रो चढी गयो जागिर खान । यो जीवनशैली हुर्कन थालेको कुरा मैले धेरैका मुखबाट सुनेथेँ ।
‘तपाईंको लगानी अनुसारको प्रतिफल छ त ?‘ बौध्दिक व्यक्तित्वले हाड घोट्नेमा उनी समेत परिचित थिए । अनि पो सोधेथेँ मैले । ‘
‘तपाईंको देशमा नै यस्तो वातावरण हिजो थियो न छ आज ! मलाई डलर आइरहेकै छ । कामलाई मानेपछि बुध्दि र बल भन्नेतिर किन जाने ? उहाँ नि कापीका बिटा बोक्ने नै गर्दथेँ । बीस–उन्नाइसको मात्र फरक हो !‘
अमेरिकी श्रम र नेपालमा बौध्दिक लगानीमा डाक्टर साबको मतो नमिलेको ठानेँ मैले । हरियो डलरले थिचथाच पारेछ उनलाई ।
रेल कुदिरहेको छ ।
काम वासिङटनमा भए पनि आचार्य र भट्टराई मेरील्याण्डको पुच्छरमा बसोबास गर्छन् । अरु धेरैको बसाइ र काम गराइ यति वरपर भएको ज्ञान थियो मलाई ।
आतङ्कको पीडाले झन् बढी ग्रसित छन् अमेरिकीहरु । डिसीलाई पोटोम्याक नदीले छोएको छ । नदीपारि बस्दा धेरै समस्या हँुदो रहेछ । विशेषतः टनेलको खराबीले मेट्रो रोकिए– जागिर, जीवन र यात्रामा ठूलो खलल पर्न जाँदो रहेछ ।
‘आतङ्कारीले अमेरिकाका टनेल ताक्छन् । पोटोम्याकको टनेलमा ब्लास्ट गरिदिए सब चौपट !‘
आचार्यको भनाइले यति वर बस्नुको रहस्य जानेँ मैले ।
सेकेन्डको तलमाथि नगरी दगुरेको मेट्रो फेर्दै सयौं किलोमिटर टाढा पुगेर काम गर्नेहरुको भीडभाड कति हो कति ! मेट्रो चढ्ने र ओर्लने स्टेशनमा किनारतिर नउभिए हुलले किचेर कुद्न सक्ने छ । मान्छेको खोलो देख्न सकिने छ त्यहाँ । रातो मेट्रोबाट ओर्लिएर नीलो लाइनको अथवा हरियोबाट ओर्लिएर सुन्तले मेट्रो चढेर काममा कुरिरहेका थुप्रै मेरा चिनारु साथीहरु थिए ।
‘सँधैको यो भागदौडले के दिन्छ ?‘
मेट्रो टाकोमा स्टेशन पुग्दा सोधेको थिएँ मैले । अब छिट्टै आउने स्टेशनपछि उनको र हाम्रो बाटो फरक हुँदै थियो । अनि पो डाक्टर भट्टराईबाट जान्न हतारिएको थिएँ म ।
‘तपाईंको देशमा समयको मूल्य नचिन्नेहरुको बगाल छ । दिएको समयमा नपुग्ने, बोलाएर घन्टौँ कुराउने, काममा ढिलो गए हुने आदि यावत समयपीडाले त्यहाँ जरो गाढेको छ । खोइ, कसैले यो रोगी चरित्रका जरा काट्न सकेनन् । यहाँ त्यस्तो छैन । फुर्ति, जोस र समय चिन्ने मान्छेलाई अमेरिकाले अँगालै हाल्छ । मैले धेरै वर्ष समयपीडाका जरामा जेलिएर जीवन खत्तम पारेछु । यतिखेर केही थाहा पाउन खोज्दाखोज्दै ढिलो भइसकेछ !‘
बूढो हड्डी अमेरिकामा घोटेर तारुण्य उमेरमा नेपालमा अल्छ्याइँ खर्चेको गर्वबोध एक पटक फेरि सुनेँ मैले । भट्टराईजस्ता अरु थुप्रै सत्पात्र अमेरिकी भूमिको गाथामा भास्सिदै–भास्सिदै गइरहेथे । त्यै थियो यो प्रतिकृया ।
रेलको अन्तिम बिसौंनी अब धेरै टाढा थिएन । मेट्रोको बाँयापट्टिको स्वचालित सूचनापाटीमा गएको स्टेशन र अब आउने स्थानको सङ्केत पटक–पटक आइरहेथ्यो । मेरा आँखा त्यता पनि जान्थे घरी–घरी ।
‘इज्जत पाएको अथवा गुमाएको के लाग्छ ?‘
आँट बटुलेर सोधेँ मैले ती गुरुवरसँग । जो लामै समय अनुशासन, आत्माभिमान, देश र जीवनबारे मूल्यमान्यताको व्याख्यानमा जुटेको थियो कुनै बेला ।
‘तपाईंको देशमा इज्जत भएर पो कतिन्जेल जोगाइराख्नु ? सँधै अभाव, बन्द, राजनीति र भ्रष्टताको बीचमा आफूलाई नीतिवान बनाएर कसले राख्न सक्छ, हँ ?‘
आगो ओकले श्रीमान्ले । म प्रतिवाद गरिरहेको छैन, केवल श्रोता भएर उभिएको छु । पाताल पसेको बुध्दिजीवीको अन्तर्मन पढ्नु छ मैले ।
‘नेपाल नआउने ?‘
सिल्भरस्प्रिङमा रेल रोकिएपछि मैले सोधेँ डाक्टरलाई ।
‘तपाईंको देशमा पर्यटक बनेर घुम्न आउँला । अब त म अमेरिकी नागरिक !‘
कुनै समय त्रिचन्द्र क्याम्पसमा कालो ब्याग र नोटबुक बोकेर पढाउन जाने हरिराज गुरुले उद्घोष गरे ।
मेट्रो गइसकेथ्यो त्यसबेला उनलाई बोकेर !