भुगोलको सीमा रेखाबाट
बाहिर धेरै टाढा प्युटार गाउँ
हुन सक्छ प्युटार एउटा
नयाँ नेपालको स्वायत्त ठाउँ
जहाँ पाषण युगका
पाषण मुटु भएकाहरु बस्ने गर्दछन
त्यही गाउँकी,
म कल्लीकुमारी विक ।
अन्ध विश्वाशको आन्तरिक्ष यानमा
प्रक्षेपित बिचारहरु
कुनै अर्कै ग्रहमा अवतरण हुनु पर्ने थियो
तर नौ ग्रह शान्तिको लागि
धामी झाँक्री, कालो भालेले ग्रह कटाएर
चन्द्रमालाई धुप बालेर
नील आम्स्ट्रङ्गको पाईताला मुनी
ढयाङ्गरो ठटाउँदै ग्रहण लागेको बेला
चमारलाई गाली गरि रहेछ प्युटार गाउँ ।
पासाङ्ग ल्हामुले आरोहण गरेको
झयोमोलोङमा भन्दा
बिमला लामाले आरोहण गरेको
पुरातन सोंचको पहाड अग्लो रहेछ,
शिक्षाको ज्योति बाल्ने हातहरुले
म एउटी दलित निम्छरो नारीको मुखमा
बिष्टा कोच्याउँने बिमला लामाको महानता भन्दा
मुर्म्बईको कोठीमा बेचिएर फर्किएकी
आफु जस्तै पीडित महिलाहरुको उद्धारमा
लागि परेकी निरक्षर र्साईली लामाकै महानता विशाल रहेछ ।
देशमा नयाँ ब्यबस्था परिर्तन भनेको
नयाँ बोतलमा पुरानो रक्सी भरिनु रहेछ
मान्छेले छोएको मान्छेले नखाने
देश नेपालमा
छुवाछुत उन्मुलन, बर्गीय समानता भनेको
सिउपुरी पहाडमा बत्ती बलेको देखेर
गरिबी झुप्रो भित्र न रुई न फुई
माघे जाडोमा न्यानो लाग्नु रहेछ ।
एउटी महिला बोक्सी र डङ्कीनी
अर्की महिलाद्वारा आरोपित,
महिलाले महिलालाईनै अन्याय अत्याचार
उहिले हाम्रा बाबु बाजेले भन्थे
न्याय खोज्न गोर्खा जानु !
अन्यायमा परेकी म कल्लीकुमारी बिक
नयाँ नेपालबाट धेरै टाढा
स्वायत्त प्युटार गाँउबाट
कहाँ जाउँ अब न्याय खोज्नलाई ?
शब्दार्थः
मोती राम भट्टको भनाईमा
रुइ: रुवाबाट बनेको सिरक
फुइ: फुक्ने -आगो)
(कल्लीकुमारी बिकलाई बोक्सीको आरोपमा प्यउटारबासीहरु लगायत बिमला लामाको अग्रसरतामा अमानविय यातना दिईएपछि लेखिएको कविता)