ऊ डेढ घन्टाको बाटो हिँडेरै आई । अघिल्लो साँझ पनि त्यही बाटो त्यति नै दूरीबाट हिँडेरै आएकी थिई । बिहान फर्किई र पुन: आई । उसलाई हिँड्नुमा कुनै समस्या छैन । समस्या छ त केवल आफैँसँग छ । आफ्ना रहरसँग छ । आफ्नै अराजक विचारहरूसँग छ । फेरि पनि दिक्कलाग्दा प्रसंग नै उसका लागि प्रिय छन् । अझ भनौँ, सर्वप्रिय । ऊ हो उज्यालोतिर कथासंग्रहकी लेखक अर्थात् कवि स्वप्निल निरव ।
अँ ऊ हिँडेरै आई । यसो किन भनियो भन्दा हामी काठमाडाँैवासीलाई दुई पाइलाको बाटोमा पनि सवारी साधन चढ्नुपर्ने हुन्छ । मिनेट–मिनेटमा बस पाइने ठाउँमा हामीलाई बानी परिसक्यो । तर, पाल्पा, रामपुरवासी स्वप्निलको गाउँमा बस केही घन्टा बिराएर मात्र आउँछ, त्यो पनि स्थानीय होइन– काठमाडाँै एक्सप्रेस । घन्टौँ बस कुर्नुभन्दा हिँड्न रुचाउँछे ऊ । यसो गर्दा समय पनि बचत हुने र शारीरिक व्यायाम पनि हुने । हामीलाई उसले तानसेनको रानीमहल लाने वाचा गरेकी छ । वाचा पूरा गर्न ऊ सानो झोलामा एकसरो कपडा खाँदेर रामपुर बजारमा आइपुगेकी हो । म र डोल्मा हिजै बजारमा बास बसेका थियौँ । स्थानीयवासीका अनुसार रामपुरबाट तानेसन जानका लागि चार घन्टा लाग्छ । बसको टिकट काट्न जाँदा काउन्टरमा भीड देखियो । एउटा बसका लागि सयौँ मान्छेको ठेलमठेल थियो । दसैँ भर्खर सकिएको थियो । भनाभन र हानाहानबीच बसको ढोका छेउकै दुई सिटमा तीन जना खाँदिएर मितव्ययिता देखायौँ । उभिनेहरूको बिजोग वर्णनातीत थियो ।
कलिलो घाम अनुहारमा बोकेर हिँडेका हामी तानसेन आइपुग्दा हाम्रो अनुहारबाट घाम उप्किएर पर पश्चिमको बाटो हिँडिरहेको थियो । हामी बसबाट ओर्लिएर माथि श्रीनगरको बाटो हिँड्यौँ । श्रीनगरको उद्यानमा पुग्दा त घाम अलप पनि भइहाल्यो । हतारमै सेल्फी लिएको हामीलाई तानसेन बजारको कुनै मध्यम स्तरीय होटलको ढोका ढकढक्याउन उस्तै हतारो पर्यो । तानसेन, टुँडिखेलको एक फन्को थकान ओछ्यानमा बिसाउनु थियो तर नयाँ ओछ्यानमा स्वप्निल पटक्कै निदाइन । अनिँदो साथीको कविता लेख्ने अनुरोध आयो । नमान्ने कुरो थिएन । डोल्मा अघि भुसभुुस भइसकी । पूर्णिमाको छेको परेकाले जून झ्यालमै टाँसिएजस्तो देखियो । मैले जूनकै कविता लेखेँ ।
रातको सन्नाटा छ । सन्नाटामा स्वप्निल छ । एक किसिमको काव्यिक माहोल छ । स्वप्निलहरू कविताकै बारेमा सोचिरहन्छन् ? कि स्वप्निलहरूको विचारमा कविता आइदिन्छ ? उनीहरू कविताकै कारण बाँचिरहेछन् ? कि कविता लेख्न उनीहरू बाँचिरहेछन् ? यावत् प्रश्न मेरो दिमागमा रिंगिरहन्छ । स्वप्निल भने आफूले लेखेको असम्पादित पूर्वी परिवेश, प्रेम, हावा र बादलका छोटा–छोटा प्रेमिल हरफहरू सुनाउन उद्यत हुन्छिन् । म उनको अनुहारमा टाँसिएको हैरानी पढ्छु यद्यपि ऊ कविता वाचन गरिरहेकी छे । यसो गर्दा निधारको दायाँ आँखाछेउको खत हल्का तन्किन्छ उसको । यसले अनुहारमा थप चमक थपिन्छ । झल्याँस्स सम्झिन्छु, साँच्चै स्वप्निल त सधैँ पावरवाला चस्मा लाउँथी । आज किन लगाइन ? प्रश्न मैले सोधेँ । ऊ फिस्स हाँसी अनि भनी– स्वर्णिमले भाँचिदियो । स्वर्णिम उसको चार वर्षीय छोरो हो । चस्मा बनाउने समयसम्म जुरेको छैन उसलाई ।
अनि, यतिका दिन तिमी रेडियोमा न्युज कसरी पढिराछौ ? ऊ जम्माजम्मी एक फाँको हाँस्छे । अनि, भन्छे– न्युज पढ्दा एकापट्टिको डन्डी अल्झाएर पढ्छु । बाहिरफेरो निस्किँदा फुकाल्छु ।
अब भने मलाई दिक्दारी सुरु हुन्छ । कस्तो अचम्मकी केटी होली यो ? समस्याको समाधान यसरी नै गरिने हो ? उसको आफ्नै तरिका छ । हाँस्न पनि फारो गरी गरी हाँस्छे । बोल्दा तौलिएर बोल्छे । सम्भवत: बाँच्ने पनि त्यसरी नै पो हो कि ? उफ् !
प्रेम
च्याटमा सधैँ पाल्पा घुम्न आउनूस् भन्ने स्वप्निलको हार्दिक अनुुरोधको सम्बोधन यति प्रेमिल होला, मैले सोचिनँ । जब हामी रानीघाटमा अवस्थित रानी महलको पहिलो खुड्किलो चढ्दै थियौँ, हाम्रो मन–मस्तिष्कले एउटा बेग्लै किसिमको आनन्द अनुभूति गर्यो । म महलको भव्यता, वरिपरिको त्यो बागबगियान, त्यसको साज–सज्जावट देखेर हैरान भएँ । कालीगण्डकीलाई साक्षी राखेर खडा गरिएको त्यो प्रेमको अद््भुत सुन्दर महलको सेरोफेरोले जो–कोहीलाई एकपटक आफ्नो प्रिय मान्छेलाई सम्झिन बाध्य पार्छ । परिवेश नै त्यस्तो छ । मिथजस्तो लाग्ने प्रेम कहानीको प्रमुख पात्र खड्गशमशेर जबराले आफ्नी प्रियतमाको सम्झनामा त्यो विकट, निर्जन तर सुन्दर स्थानमा त्यो समयमै भव्य कालीगढीसहितको निसानी स्थापित गरेको रहेछ । भन्नेहरू भन्छन्, खड्गशमशेरले आफ्नो रानी तेजकुमारीलाई सधैँका लागि त्यो महलमा प्रेमको नाउँमा कैद गरे । यो दृष्टिकोणको कुरा हो । कसले कसरी त्यसलाई स्वीकार्ने भन्ने कुरामा छुट छ । यद्यपि, त्यागको कुनै मूल्य हुन्छ भने प्रेमिल हृदयहरूले सदैव यस स्थानलाई आफूसँग तुलना गरेर प्रेमको अभौतिक नै सही अद्भुत महल निर्माणमा अघि सरिरहने छन् ।
प्रेम गर्नेहरू सदैव एकान्त खोजिरहन्छन् । एकान्तमा आफ्नो प्रिय मान्छेको याद गर्नुको आनन्द बेग्लै हुन्छ । जसरी सामीप्यमा प्रेम प्राप्तिको स्खलन हुन्छ, त्यसरी नै दूरीमा पनि प्रेमको स्खलन हँुदो रहेछ । यदि त्यो दूरी कुनै सुन्दर एकान्तले मेट्छ भने । यदि प्रेमानुभूतिको पनि तह हुन्छ भने म त्यतिखेर सबैभन्दा माथिल्लो तहमा थिएँ र सम्झिएँ, आफ्नो प्रेमिल मान्छेलाई जो भौतिक रूपले कोसौँ टाढा छ ।
डोल्मा
डोल्मा आफँैमा प्रेमिल मान्छे । उसले पनि सम्झिहोली, आत्मीयता अनुभूत गर्ने मान्छेलाई । खासमा डोल्मा सदाबहार छ । सुख, दु:ख जस्तोसुकै अवस्थामा पनि तटस्थ बस्ने बानी छ उसको । हत्तपत्त उसको अनुहारको भावभङ्गीमा खासै परिवर्तन देखिँदैन । घामभन्दा चहकिलो चमक उसको निधार हँुदै अनुहारमा खस्यो । तत्क्षण डोल्मा उज्यालो देखिई । सेतो पृष्ठभूमिमा नीलो धर्केवाला सर्ट र नीलो जिन्समा खुब सुहाएकी थिई । खुसीसाथ गुनगुनाइरहेकी थिई ऊ । रानीघाटमा ऊ इलाम सम्झिरहेकी थिई ।
sabhar:nepalmag