मलाई माफ गर्नुस् सरकार !
मुखमा माक्स लगाएर पेटमा पटुका कसेर
रोक्न खोजेकै हो भोक,
मैले सम्झाएकै हुँ पापी पेटलाई
मेरो केहि गल्ती छैन सरकार ! म निर्दोष छु
गल्ती त यो भोको पेटको हो।
मलाई माफ गर्नुस् सरकार !
सपनाहरू त शहरमै थिए
तर के गर्नु अनायासै यी हातले
च्यातिनै आँटेको झोलामा,च्यातिनै आँटेका
दुईथान कमिज र पाइन्ट राखीसके छन्
त्यसैले म गाउँ हिँड्न लागेको हुँ
मेरो केहि गल्ती छैन सरकार ! म निर्दोष छु
गल्ती त यी गिट्टी कुट्ने हातहरूको हो ।
मलाई माफ गर्नुस् सरकार !
मैले त भोकभोकै तड्पिन्छु र मर्छु भनेकै हो
तपाईंको यो अञ्जान शहरमा,
तर के गर्नु यी खुट्टाहरू
आँफै गाउँको घरको बाटो लागे
मेरो केहि गल्ती छैन सरकार ! म निर्दोष छु
गल्ती त यी दुई खुट्टाहरूको हो ।
मलाई माफ गर्नुस् सरकार !
मलाई थाहा छ हजुरले बारम्बार भन्नु भएको छ
साबुन पानीले मिचीमिची हात धुनू
तर मैले खुन बेचेर साबुन किन्नुपर्छ
मैले साबुन पानी नपाएपछि
आँसुले अनुहार धोएको हुँ
मेरो केहि गल्ती छैन सरकार ! म निर्दोष छु
गल्ती त यो बेमौसमी आँखाको हो।
मलाई माफ गर्नुस् सरकार !
तपाईंको शहरमा मरेपछि पनि
पैसा चाहिँन्छ चितामा जल्न
यदि हजुरको यो शहरमा म गरीब मजदुर
मरिहालेँ भने मेरो परिवारले
कहाँबाट ल्याउँलान र पैसा अनि मेरो सदगत होला!
त्यसैले आजै यो शहर छोड्ने निर्णय गरेको हो मनले
मेरो केहि गल्ती छैन सरकार ! म निर्दोष छु
गल्ती त यो नाथे मनको हो ।
मलाई माफ गर्नुस् सरकार !
मैले आफ्नै पेटलाई आफ्नो काबुमा राख्न सकिन
मिल्छ भने यो शरीरबाट पेट झिकिदिनुहोस्
मैले आफ्नै हातगोडालाई रोक्न सकिन
मिल्छ भने यी सबै हातगोडा काटिदिनुहोस्
मैले आफ्नै आँखालाई छेक्न सकिन
मिल्छ भने निकालिदिनुहोस् यी आँखाका गेडीहरू
मैले आफ्नै मन मस्तिष्कलाई नियन्त्रण गर्न सकिन
मिल्छ भने भोकको बिरूद्धमा गोली ठोक्नुहोस्
मेरो केहि गल्ती छैन सरकार! म निर्दोष छु ।
मलाई माफ गर्नुस् सरकार !
मलाई राम्ररी थाहा छ
हजुरको शासन चल्ने यो शहरमा
म जस्ता गरिब र मजुदरहरूले
हजुरको बिरूद्धमा बोल्नु हुँदैन
त्यसैले भोकको बिरूद्धमा आत्महत्या गर्दैछु
तड्पेर पलपल मर्नु भन्दा
एकैपटक मर्न सजिलो हुन्छ ।
••••••••••
कृष्ण कञ्चन
सल्यान हाल काठमाण्डौ