ए भोक तिमी सँग केहि कुरा गर्नु छ
केहि गुनासो छ
केहि भन्नु छ
के तिमी सँग समय छ
म सपनाको
गहिरो भोक खप्नै नसकेर
बस्ती छाडेको हो
भोको पेट भर्न
म जस्तै जीवनहरु बस्ती छाडेका हुन
मेरा बा आमाले मेरो बस्तीमा
उब्जाएको पसिनाको जीवन खोज्न
मैले बस्ती छोडेको हो
पेट भोकै राखेर बा आमाले हामीलाई
अघायौँ भनेका हुन
वर्षौँ सम्म मेरा बा आमाको पेट
केहि नखाईकन अघाएको हो
बा आमाले उब्जाएको
पसिनाको जीवन खाएर
यी शहरहरुका पनि पेट भरिएका हुन
तर यी शहरहरुले
कहिल्यै अघायौँ भनेन् ।
अचेल मेरो शहर
पेटभरी खाएर भोकाएको छ
उसले युगौँ देखि खाईरहेको छ
र भोकाईरहेको छ
खाएर भोकाउनु र
भोक लागेर खानु फरक हुन्
मेरो बस्तीका भरियाहरुको
पेटको गहिराईमा
भोकको छालले यसरी हिर्काएको छ
उनिहरु नखाईकन अघाउँछन
नखुवाईकनै आफ्ना
छोराछोरीहरुलाई अघाउने बनाउँछन्
हरेक साँझ
मेरो बस्तीका भरियाहरुले
भगवान सँग एउटै प्राथना गर्छन
र माग्छन
हामीलाई भोक नलाग्ने बनाईदिनुस न?
मेरो जगतमा जीवन बाँच्नेहरु
किन यति धेरै फरक छन्
मेरा बस्तीका भरियाहरू
युगौँ युग नखाईकन अघाउँछन्
तर यहि शहरका प्राणीहरु
युगौँ युग खाएर भोकाउँछन।
ए भोक तिमीलाई
एउटा कुरा सोधुँ ??
मेरा बस्तीका भरीयाहरू
केहि नखाईकन किन अघाएका होलान?
पेट भरि खाएका यी शहरका
प्राणीहरु किन भोकाएका होलान ??
महेश्वर शर्मा
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलिया
नेपाल: देवदह,रुपन्देही
हाल : सिड्नी अष्ट्रेलिया