लकडाउनको यो समयमा
शहरदेखि टाढा म पनि अहिले
बन्दाबन्दीमा छु
रेडियो, टेलिभिजन अनि सामाजिक संजालहरू
कोरोना कहरको त्रासद वर्णन गर्न मात्र व्यस्त भैरहदा
म भने
त्यसबाट अन्तै कतै बहकिने प्रयत्नमा छु
र नियालिरहेछु वरिपरिको परिवेश
म प्रात:कालीन भ्रमणमा छु अहिले
म मर्निङ वाकमा छु
कोइलीको कुहुकुहु
अनि थरी थरीका चरीका चिरबिराहटसँगै
शुरू भएको मेराे प्रात:कालको भ्रमणको
उज्यालो यो बिहानीमा
अाहा ! कति सुन्दर दृश्य !
बारीका गरामा रोपिएका मकैका बोटहरूमा भर्खरैजसो दाना लाग्न थालेका
कलिला घोगाहरू छन्
त्यसलाई भाँच्ने दाउ छोप्न
तल भञ्ज्याङ्को बाँसघारीतिरबाट
बाँदरको एउटा झुण्ड माथि उक्लदैछ
बारीको माथिल्लो डिलमा भने
तोते बोली बोल्ने एउटा सानो भाइ
हातमा गुलेली लिएर उसकी अामासँगै
माथि चढ्दै गरेका ति बाँदरलाई खेद्न तम्तयार भएर बसेको छ
कम मनोरञ्जक छैनन्
बारीको कान्ला माथिको बाटोबाट
घरका आँगनमा साना केटाकेटीहरूले खर्ल्याङखुट्टी अथवा
घ्वाइँकासा खेल्दै सम्झाइरहेका
आफ्नै बाल्यकालका नोस्टाल्जिक दृश्यहरू पनि
खोलाको छातिबाट उठेको कुहिरोले
परिवेशलाई नै शीतल बनाउदै गर्दा
जङ्गलमा उफ्रिरहेका मृग र कालिजहरू
अनि ढकमक्क फूलेका लालीगुराँस देखिनु;
त्यहाँ फलेका रसिला-स्वादिला एेंसेलु, किम्बु र काफलहरू टिपेर खानुको
आनन्द नै पनि बेग्लै !
कोरोनाका कहरले कोरिएको
बन्दाबन्दी बीच पनि
प्रकृति भने चलायमान नै छ
रहिरहने छ
यसको गति रोकिएको छैन
रोकिने पनि छैन
लकडाउनको यो समयमा
शहरदेखि टाढा म पनि अहिले
बन्दाबन्दीमै छु
म लकडाउनकै बीच
प्रकृतीसँग साक्षात्कार गर्दै
प्रात:कालीन भ्रमणमा निस्केको छु