पहिलापहिला हाम्रा बाजेहरू
ढाकरभरि दाल-चामल,
नून-भुटुन, हाडाभाडा
र ओढ्ने-ओछ्याउने बोकेर
मुद्दा खेप्न आउँथे काठमाण्डू ।
कसैकसैसँग-
राईबूढा, जिमी, सुब्बा, देवान, मुखिया आदिको सान पनि हुन्थ्यो
ती सोझै समसेरहरूको राजश्री भवन पसेर माग्थे न्याय
र पाउँथे सजाए
खोसिन्थ्यो लालमोहर
बन्द गर्न लाइन्थ्यो मुन्दुम्
च्यातिन्थे र डढाइन्थे हाम्रा लिपीहरू
र भयो सात सालको क्रान्ति ।
बाउहरूमा थोरै चेतना आयो
केहीले वर्ग सत्रू सफाया अभियानको बन्दुक बोकेर
गाउँगाउँमा संगठन गरे
उनीहरूको सर्वस्व हरण गरियो
र केहीले चाहिँ महेन्द्र राजमार्गको बस चढेर
काठमाण्डूमा ल्याए गाउँका कुराहरू
लाए होलान् पोलझोस पनि
उनीहरूले पनि अन्ततः न्याय पाएनन्
र भयो छयालीस सालको जनआन्दोलन ।
हाम्रो पुस्ता सिधै हवाजजहाज चढेर आएको हो काठमाण्डू
हामीसँग हुन्थ्यो-
एसएलसीको सर्टिफिकेट
नागरिकताको प्रमाणपत्र
आमाले प्लाष्टिकमा पोको पारिदिनुभएको
गुन्द्रुक, किनामा र छोपको अचार
हुन्थ्यो बाबाले ऋण काढिदिनुभएको थोरै रुपियाँ
र झोलाभरि हुन्थ्यो भविष्यप्रतिका अनेकन सपनाहरू ।
हामीले पनि तर धोका नै पायौँ
अथवा हामीसँग निकैवटा अनुभवहरू छन्-
कतिले पासपोर्ट बनायौँ
र धाउन थाल्यौँ मेनपावर कम्पनी
कति ठगियौँ
कतिचाहिँ अन्तरराष्ट्रीय विमानस्थलमा पुगेर बेस्कन रोयौँ ।
सरकारी कार्यालयको ढोका त हाम्रालागि सधैँ बन्द थिए
कतिले निजी क्षेत्र सम्हाल्यौँ
कतिले व्यापारव्यवसाय गर्यौँ
कोही सफल भयौँ
कोही असफल हुँदै रह्यौँ
घरपेटीसँग बाझ्दाबाझ्दै हाम्रो वषौँ बितिरहेछ ।
यसै समय सुरु भयो जनयुद्ध
धेरैको हातमा आइपुग्यो बन्दुक
यसघडी हामीमा धेरै उतारचढावहरू पनि आए
कोही सुराकी भयौँ
कोही जेल पर्यौँ
कोही बेपत्ता पारियौँ
कोही आतंककारीको नाममा मारियौँ
र भयो दोस्रो जनआन्दोलन
हामी त्यसमा पनि सामेल भयौँ
त्यसपछि भयो संविधानसभाको चुनाव
कोही विजयी बन्यौँ
कोही हार्यौँ पनि ।
म यतिबेला-
पछिल्लो साइबर पुस्तालाई सम्झिरहेछु
उनीहरूले अब बाजेको मुद्दा खेप्न काठमाण्डू धाउनुपर्दैन
उनीहरूले अब महेन्द्र राजमार्गको बस पनि चढ्नुपर्दैन
अथवा,
उनीहरूले अब सर्टिफिकेट, नागरिकता
या पासपोर्टको झन्झटबाट मुक्त हुनुपर्नेछ
मुक्त हुनुपर्नेछ यो काठमाण्डू खाल्डोबाट ।
तर यतिचाहिँ सत्य हो,
उनीहरूसँग अब-
मुन्दुमको ठेली
लिपीका पुस्तकहरू
आफ्नो भाषा
र राज्य भने सुरक्षित हुनुपर्नेछ ।