भीसी रामबहादुर र निर्देशक तुलसी घिमिरे प्रवासी प्रभात पुरस्कारबाट सम्मानित
अगष्ट, ७ काठमाडौं,
विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने नेपालीहरुलाई सम्मानित गर्ने क्रममा प्रवासी नेपाली साहित्य समाजले भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बु र बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे सहितका ब्यक्तित्वहरुलाई पुरस्कृत र सम्मानित गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित कार्यक्रममा शिक्षा मन्त्री दिनानाथ शर्माले भीसी रामबहादुर लिम्बुलाई सम्मानित, निर्देशक घिमिरेलाई प्रवासी प्रभात पुरस्कार र साहित्यकार केदार संकेतलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
लिम्बुलाई उनले नेपालीको पहिचानलाई उच्च बनाउने क्रममा संसारकै उच्च सैनिक सेवा पदक प्राप्त गरेको नाताले सम्मानित गरिएको हो । उनले ४४ जना दुश्मनका सेनाहरुको विचमा एक्लै लडेर विजय हात पारेका थिए । निर्देशक घिमिरेलाई नेपालीहरुको बहादुरीको कथा सिनेमाको माध्यमबाट परिचित गराउन महत्वपूर्ण भूमिका खेलेकोमा पुरस्कृत गरिएको हो । उनले बलिउडमा २ सय बढी फिल्मको सम्पादन र राष्ट्रिय पुरस्कार समेत पाईसकेको अवस्थामा नेपाली भाषाको विकासकोलागी नेपालमा आएर यथार्थ परक २१ वटा फिल्म निर्माण गरेका छ । उनी नेपाली भाषी भारतीय नागरिक हुन ।
समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री शर्माले विश्वभरी बहादुरीको प्रतिकको रुपमा प्रशिद्धी, सगरमाथा, बुद्ध, प्राकृतिक स्रोत साधन र सुन्दरताका कारण नेपाली विश्वमै धनि र समृद्ध राष्ट्र भएको दावी गर्दै नेपाल र नेपालीलाई गरिब भन्दा आफ्नो चित्त दुख्ने गरेको सुनाए ।
उनले नेपाली प्रतिभाहरुलाई अनुशरण गर्न सके नेपालले विश्वमा आफूलाई सबै हिसावमा स्थापित गर्न सक्ने भन्दै हिनता भन्दा पनि असल कामको अनुशरण गरेर अगाडि बढ्न आग्रह गरे ।
सम्मानित ब्यक्तित्व भीसी रामबहादुर लिम्बुले आफू बेलायती सेनामा हुंदा नेपालीहरु विरलै मात्र देखिने विश्वमा नेपालीहरु अहिले फैलिएको देखेर आफू खुसी हुने गरेको भन्दै यसले नेपाल र नेपालीको हैसियत स्थपित गरेको बताए । उनले सम्मानित भएकोमा खुसी ब्यक्त गर्दै आफू सधै नेपाल र नेपालीको हितकोलागी लागिरहने प्रतिबद्धता समेत ब्यक्त गरे ।
पुरस्कृत ब्यक्तित्व निर्देशक तुलसी घिमिरेले हरेक पटकको सम्मान र पुरस्कारले आफूमाथि थप राम्रो गर्ने जिम्मेवारीको बोझ थप्ने गरेको सुनाउंदै आ आफ्नो क्षेत्रमा सबै ब्यक्तित्वहरुले सकारात्मक संदेश दिनु पर्ने धारणा राखे । उनले नेपाली साहित्य संसारमै अब्बल दर्जाको रहेको भन्दै नेपाली चलचित्रलाई साहित्य साग जोडन सके यसले पनि अन्तर्राष्ट्रिय स्तर हासिल गर्न सक्ने विश्वास ब्यक्र गरे ।
एनआरएनका केन्द्रीय महासचिव तेन्जीङ शेर्पाले एनआरएनले नेपाली साहित्य र संस्कृतिको विकासकोलागी एक समिति गठन गरेको जानकारी दिदै विश्वमा छरिएर रहेका नेपाली कला र सहित्यलाई संगठित पार्ने बताए ।
समाजका अध्यक्ष विश्वद्धिप तिगेलाले विश्वभरी फैलिएका नेपालीहरुको कला सस्कृतिलाई संरक्षण गर्न आफूहरु संगठित भएर लागिपरेको बताए ।
कार्यक्रममा प्रवासी नेपालीहरुको मुखपत्रको रुपमा पल्टन घर नामक पत्रिकाको समेत विमोचन र पुरस्कृत ब्यक्तित्वहरुको योगदान सम्बन्धी मिलन चाम्सले निर्माण गरेको बृत्त चित्र प्रस्तुत गरिएको थियो ।
Savar
– नेपाल दुबई डट कम