तिमीले हामीलाई
धुलोमुलो सम्झियौ
त्यहि धुलोभित्र
तिमीले लाधेका पिडाहरुको पहाड चुलिएको थियो
तिमी र तिम्रा सन्ततीहरुबाट पालैपालो
बलात्कृत हुँदाको चित्कारहरु निस्सासिएको थियो
तिम्रा बैदार डिट्ठाहरुले
इमान्दारिताको छातीमा घुमाएका
काइते कलमका सियाईले दलेका
कहिल्यै नमेटिने ऋणको त्रास गुम्सिएको थियो
अन्तत: थामिनसक्नु भएर धुलोहरु बल्यो
ठुलो हुरी बतास आयो
धुलोहरु एकतृत भएर उड्यो/ उठ्यो
तिमी र तिम्रा आकृतिहरु
उडिरहेको धुलो भित्र अदृष्य हुन पुगेउ
तिमी आफैले तिम्रा आकृतिहरुलाई
प्रष्टसंग देख्न सकिरहेका थिएनौं
हुरीले तिम्रा थुप्रै आकृतिहरुलाई ढाल्यो
तिनै आकृतिहरुसंगै
हामीलाई हेर्ने तिम्रा प्रबृत्तिहरु पनि ढले ।

तिमी अहिले
धुलोले आधा पुरिएका छौ
तिमी निस्सासिएका छौ
तिम्रा अलिकति बचेखुचेका आकृतिहरु
हामीलाई अझै पनि कोपर्न खोजिरहेका छन्
होस गर-
फेरि अर्को हुरी चल्दैछ
त्यतिखेर
हामी तिमीलाई निलिदिनेछौं
तिमी धुलोको सागरमा बिलिन हुनेछौ
तिमी आकारबिहिन हुनेछौ
तिमी अस्तित्वबिहिन हुनेछौ ।

फेरि पनि,
धुलो नउडी भा’को छैन
कस्सेर एउटा अर्को हुरीबतास नचलिभा’को छैन
किनकि
अझै पनि
तिमीले धुलो सम्झिएकाहरुलाई
केवल धुलो मात्र देखिरहेका छौ
धुलोहरुको ताकत अझै बुझ्न सकेका छैनौ ।

(फार्नबोरो, ३ जुन २०१४)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *