आज माघे सङ्क्रान्ति । माघ महिनाको पहिलो दिन अर्थात १ गते, देशभर माघे सङ्क्रान्ति मनाइदैछ । माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति अथवा माघी पनि भन्ने गरिन्छ । माघे सङ्क्रान्ति नेपालको एक प्रमुख साँस्कृतिक पर्व हो । सुर्य पङ्चाङ्ग अनुसार आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश भई उत्तरायण हुने भएकाले मकर सङ्क्रान्ति भनिएको हो । आजबाट सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकोले रात छोट्‍टिएर दिन लामो हुँदै जाने गर्दछ । माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ । त्यहि भएर सरकारले सार्वजनिक विदा पनि दिंदै आएको छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, खिचडी, तरुल, तिलको लड्डू आदि खाईन्छ । तिल मिसिएका परिकार खाने व्यक्ति जहिले पनि सफल हुने धार्मिक विश्वास छ । त्यस्तै विभिन्न प्रकारका गेडागुडी मिसाएर पकाइएको खिचडी समेत खाने चलन छ । माघे सङ्क्रान्ति धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यस पर्वमा संस्कार परम्परालाई जिवन्त बनाउन गरिने नित्य कर्म र आहार व्यवहारहरु नियमित सरसफाइ, मौसमअनुरूपका फलफुल, पोषिलो चिजबिज खाने गरिन्छ । शिशिर ऋतुको महत्वपूर्ण चाड माघे सङ्क्रान्तिका अवसरमा पोषिला चिजबिज खानाले शरीरमा गर्मीको मात्रा बढी जाडोसंग लड्न सक्ने क्षमता प्राप्त हुने, शरिरमा तागत मिल्ने र चिसोबाट मुक्त भई छाला सम्बन्धि र अन्य रोगहरु नास हुने जनविश्वास रहेको छ ।

हिमाल, पहाड र तराई लगायत सवै क्षेत्रमा बसोबास गर्ने छेत्री, ब्राम्हण, राई, लिम्बु, नेवार, गुरुङ, मगर लगायतका सवै जातजातिले माघे सङ्क्रान्तिलाई आ-आफ्नो परम्परा तथा विशेषता अनुसार मनाउँदछन् । माघे सङ्क्रान्तिलाई साँस्कृतिक अवसरका रुपमा मनाईन्छ । ठाउँ अनुसार यो पर्व भिन्नभिन्न तरिकाले मनाइन्छ । खासगरी थारु समुदायले माघी पर्वका रुपमा यो दिन बिशेष दिनका रुपमा मनाउँदछन् । मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व भएका कारण थारु समुदायले यो पर्वलाई उत्साहका साथ मनाउँदछन् । पुस महिनाको अन्तिम दिन घरघरमा ‘जिता मरना दिन’ भन्दै सुँगुर काट्ने चलन रहेको छ । सुँगुरको मासु, पिठोको एक परिकार-ढिकरी, माछाको परिकार बनाएर मदिरासंग खानपिन गर्ने र रातभर “धमार” गाउँदै नाचगान र रमाईलो गर्ने चलन छ । माघीमा अवसरमा मघौटा नाच नाचिन्छ । यस दिन थारु समुदायमा चेलीबेटीहरूलाई थारू भाषामा ‘निसराउ’ भनिने उपहार दिने चलन छ । माघी पर्व सक्किएपछि निसराउ लिएर चेलीबेटीहरु घर फर्किने गर्दछन् । माघीलाई घर सल्लाह गर्ने र जिम्मेवारी हस्तान्तरण गर्ने महत्वपूर्ण अवसरका रुपमा लिने गरिन्छ । माघीकै अवसरमा घरमा दाजुभाईबीच मिलेर बस्ने या छुट्टिने भन्ने कुराको सल्लाह हुन्छ । दाजुभाई नमिल्ने अवस्था आए आजै अंशबण्डा गरिन्छ । थारु समुदायमा माघीलाई गाउँको विकासका लागि समेत केन्द्रित गरिन्छ । गाउँका भद्र भलाद्मीहरु बसेर गाउँको विकास कसरी गर्ने भन्ने कुराको पनि आजै सरसल्लाह हुन्छ । थारु समुदाय सहित मैथिली समुदायको बसोबास रहेका तराईका जिल्लाहरूमा भने तिला सङ्क्रान्ति पर्वका रुपमा माघे सङ्क्रान्ति मनाइन्छ । यस अवसरमा परिवारका अग्रज तथा जेष्ठ सदस्यहरुले आफ्ना सन्तानहरुलाई सख्खर र तिल खुवाई उनीहरुबाट बुढेसकालसम्म सेवा गर्नु पर्ने बचन लिन्छन् । आज मिथिला क्षेत्रमा आ-आफ्नो घरमा कमलको फूलको चित्र कोरिन्छ । मिथिला क्षेत्रका आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुले आज जुत्ता, छाता, ठूलो रूमाल र कम्बल आदि दान गर्छन् ।

काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले पनि आफ्नै रिति अनुसार माघे संक्रान्ति मनाउँदछन् । नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका दम्पतिले शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने जनविश्वास छ । आज उपत्यका नजिकै पर्ने पनौतीमा मकर मेला लाग्दछ । यो मेला लिच्छवि राजा मानदेवको पालादेखि सुरू भएको धार्मिक विश्वास छ ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरु चैं साँझमा जम्मा भई घरघरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरु रमाउँदै अर्को घर जान्छन् ।

माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नदीनालाका त्रिवेणीहरुमा गई स्नान गरिन्छ । आज देवघाट, बराहक्षेत्र, रिढी, पनौति, दोलालघाट, कन्काई र कमलामा भव्य मेला लाग्ने गर्दछ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ । माघे सङ्क्रान्ति पर्वलाई मीठो खाने, राम्रो लगाउने तथा आफु भलो चिताउने र अरुबाट पनि भलो सुन्ने पर्वमा रुपमा मनाइन्छ । आज माघी नुहाएपछि तिलका दाउराको आगो ताप्ने चलन रहेको छ । यसो गर्दा जीवनमा गरिएका पापहरु नासिएर जाने मान्यता छ । अर्कोतर्फ यस पर्वलाई एकता, मित्रता, सहयोग, सद्भाव आदान-प्रदान गर्ने पर्वका रुपमा मनाइन्छ । कसैसँग रिस राग रहेको खण्डमा एकआपसमा अङ्कमाल गरेर सद्भावपूर्ण व्यवहार प्रकट गरिन्छ, मेलमिलाप गरिन्छ । माघे सङ्क्रान्तिलाई गाउँ व्यवहारमा नयाँ आर्थिक बर्षका रुपमा पनि मनाइन्छ । पुस मसान्तसम्म हुने सवै प्रकारका लेनदेनको हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने गरिन्छ ।

Sabhar – हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको

– See more at: http://www.hamropatro.com/posts/articles_events/articles_events_maghe_sankranti#sthash.xWISMTE5.dpuf

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *