डा.सुनुवार डीबी
सिल्क विमान काठमाडांैबाट सिंगापुरतिर जाने तयारीमा थियो । हामी पन्ध्रजना सिंगापुर, मलेसियाको लङ्गकावी आइल्याण्ड र फर्म भ्रमणको कार्यक्रमको लागि जाँदैछौं । सिंगापुर एयरलाइन र सिल्क एयरलाइन अरू जहाजभन्दा व्यवस्थित र महङ्गो यात्रामा पर्छ । सहभागी सबै साथीहरूको अनुहार खुसीले भरिपूर्ण रहेको राम्ररी अनुमान गर्र्न सकिन्थ्यो । सिल्क एयर रुई–रुई जस्तो बादल माथि–माथि एक सुरुले हानिंदै थियो । सिल्क होस्टेजहरू असिन–पसिन गर्दै खानाको ट्रली गुडाउँदै खाना बाँडिरहेका थिए । मलाई लाग्यो, सिल्क होस्टेसको गुलावी पे्रम पनि मिसिएको छ मेरो खानामा । यो उडान विशेष प्रकारको भएकोले हरेक सुविधा पनि विशिष्ट प्रकारको छ । स्वस्थकर स्तरीय खाना मनपर्ने परिकारहरूको सेवा निरन्तर भैरहेको छ ।
हामी सिंगापुरको चाँगी विमानस्थलमा अवतरण गर्न अव केही घण्टा मात्र बाँकी छ । म पहिले पनि दुई–तीन पटक पुगिसकेको छु सिंगापुर । तर हाम्रा समूहका धेरैजसो साथीहरूको नौलो र कौतुहलपूर्ण यात्रा हो यो । सिंगापुरमा कार्यरत गोर्खा पल्टनको परिवार हाम्रो समूहसँग सराबरी छ । सिंगापुर लाहुरेका साना नानी वावुहरू उनका आमा बाबुलाई प्रश्नमाथि प्रश्न गरिरहेका छन् । ती नानी–बाबुहरूको बोल्ने र प्रश्न गर्ने तरिका मलाई खुब मनपरेको छ ।
त्यो स्मार्टनेस कला सिक्न र सिकाउन योग्य लाग्छ । एक जना साथीले ‘सिंगापुरको हावा पनि यस्तै स्मार्ट छ कि क्या हो सर͗ भनेर पछाडिबाट सोधिरहेका थिए । वातावरण खराव भएको चालक दलबाट सूचना जारी भएको छ । सायद जहाजको उचाई कम भएको कारणले खराब वातावरणसँग सङ्घर्ष गर्न परिरहेको छ । साना–बच्चाहरू डराएर नाइटोबाट स्वरलाई तान्दै कनिरहेका थिए । उनीहरू “सेभ द लर्ड” भनेर चर्को आवाजमा चिच्याउँदै थिए ।
हाम्रो भेट, चाँगी विमानस्थल अवतरण हुनासाथ कम्पनीको प्रतिनिधिसँग हुन्छ । घनघोर पानी परिरहेको छ यहाँ यतिवेला । चाँगी विमानस्थल संसारकै व्यवस्थित र सुन्दर विमानस्थल हो । इमिग्रेसनमा तैनाथ रहेका सरकारी कर्मचारी कति सभ्य, भद्र र गम्भीर छन् । हाम्रो समूह दुई लाईनमा उभिएका छौं । सवैको इमिग्रेसन क्लिएरेन्स भएपछि आ–आफ्नो लगेज लिएर तयारी अवस्थामा रहेको मिनीबसमा चढेर सेराङगुनतिर लामो सास फेर्दै अघि वढ्छौं ।
पानी भर्खर रोकिएको छ । समुद्रको किनारमा अवस्थित छ चाँगी विमानस्थल । चाँगीबाट समुद्रको किनारै–किनार होटलतिर शान्त मुद्रामा सुईकिई रहँदा समय गोधुलीमय हुँदै थियो । सेराङ्गुनमा पुग्दा झमक्क साँझ परिसकेको थियो । होटलमा चेकइन भएर कोठामा पुग्दा त्यहाँ हाम्रा लागि सिंगापुरको विभिन्न “सरप्राइज उपहार” राखिएको रहेछ । खानापिनापछि सिंगापुरमा रहेका साथीभाइहरूसँग कुराकानी गरेर भोलिको कार्यक्रमको लागि शक्ति सञ्चय गर्ने काम भयो ।
दोस्रो दिनको सिटीटूर सिंगापुर फ्लाएर र राफल हार्वाेर घुम्ने थियो । यस अतीव सुन्दर तथा व्यवस्थित सहरको गाइडिङ्ग आई च्यूङ्गले गर्नुभएको थियो । सिंगापुरको ऐतिहासिक पृप्ठभूमिसहित यात्राको शुरुवात भएको छ । व्रिटिश आर्मी सर राफलले सिंगापुर टापु पत्ता लगाउँदा यहाँ सिंहजस्तो टाउको र मृगजस्तो शरीर भएको जनावर फेला परेको हुनाले सिंह वस्ने टापु भनेर नामाकरण गरे । मले भाषामा सिंह बस्ने स्थानलाई ‘सिंगापुरा’ भनिन्छ । त्यसैले यस सुन्दर नगरीको नाम सिंगापुर रहन गयो । यहाँ बस्ती बसेपछि चिनियाँ, मले र भारतीयहरूलाई मिलाएर यहाँको विकास गरिएको थियो । अहिले एशियाको विकासको नमूना देश भन्नुप¥यो भने सिंगापुरको नाम आउँछ ।
हामी बसेको रोयल पार्क होटल नजिकै पर्ने लिटल इन्डिया र चाईना टाउन बाहेक सबै व्यवस्थित सडक र घरहरूको सुन्दर र सफाको कुरा गरी साध्य छैन् । हाम्रो समूह समुद्र किनारमा राफल प्यालेसको नजिकै मार्लियोनको सालिकको मुखबाट पानीको फाउण्टेन ओकालिरहेको मन मोहक दृष्य वारि–पारि सल्बलाउँछन् ।
मार्लियोन भनेको टाउको सिंहको र पुच्छर माछाको भएको विशाल मूर्ति हो । जुन सिंगापुरको राष्ट्रिय पहिचान पनि हो । समुद्र पारिपट्टि लसभेगासको विशाल भवन तयारीको अवस्थामा रहेको दृश्य देखिन्छ । हामीले पालै–पालो समूहगत तस्विर खिच्यौं यहाँ । राफलको भव्यतालाई खै कसरी वर्णन गरु ? सिंगापुर फ्लाएर्स पनि त्यतिकै आश्चर्यजनक रुपले निर्माण गरिएको रहेछ । फ्लाएर्सको एक कोठामा बीसजना एकै पटक उड्न मिल्ने क्याविनमा कम्प्युटरले हरेक प्रकारको सूचनाबाट साक्षात्कार हुन सकिने व्यवस्था मिलाइएको छ ।
आहा π कति राम्रो सिंगापुर । फ्लाएर्स माथिबाट सिंगापुर सिटिको दृश्य पूर्णरुपले क्यामरामा कैद गर्न सकिन्छ । ठूला–ठूला क्यारिएर जहाजहरू त्यो विशाल समुद्रमा टलपल–टलपल गर्दै टक्क अडेकोजस्तो दृश्य क्यानभासको चित्रजस्तै देखिन्छ । यहाँबाट पारि इण्डोनेशियाका टापुहरू पनि देख्न सकिन्छ । सम्पूर्ण सिंगापुर सहरलाई आँखाभित्र अटाउँछु र मेरो देशसँग तुलना गर्छु । यो देशको विकास भएको इतिहास त्यति लामो छैन । यहाँका मान्छेहरू कति मिलेर बसेका भारतीय, चिनियाँ र मलेहरू पहिले कुल्ली काम गर्नका लागि ल्याइएका हुन् रे । आज संसारका सबै भाषा बोलिन्छ यहाँ । संसारभरिका जाति जनजातिहरू मिलेर बसेका छन् यहाँ । संसारभरिको धर्मलाई उत्तिकै मान्यता दिइन्छ यहाँ ।
सरकारले हरेकको ऐतिहासिक पहिचान र अधिकार सुनिश्चित गरिदिएको छ । कसैले आफ्नो अधिकारको माग गर्नु पर्दैन, यस देशमा हरेकको सम्मान छ । त्यसैले त विकासका काममा सबै व्यस्त देखिन्छन् । आ–आफ्नो काम बाहेक कसैलाई पनि आल्तुफाल्तु कुरा गर्ने फुर्सद छैन । त्यसैले त एशियामा युरोप भएको छ सिंगापुर । मेरो देशको पालो कहिले आउँछ होला हगि कल्पन्छु मनमनै र झसङ्ग हुन्छु । अघि जसरी उचालिंदै उक्लिएर माथि पुगेका थियौं, त्यसरी नै फेरि यथाअवस्था ग्राउण्ड लेभलमा आइपुग्छांै ।
तेस्रो दिन हाम्रो यात्रा सिंगापुरको अर्काे सुन्दर र कृत्रिम टापु सन्तोसामा रहने योजना छ । सन्तोसामा म पहिले पनि आएको थिए । यहाँका कतिपय कुराहरू मेरा लागि नौलो होइनन्, तर दिन दुई गुणा रात चौगुणा विकास हुनु सिंगापुरको विशेषता हो । त्यसैले यस मानेमा म पनि नौलो नै छु यहाँ । विहानै तयारी गर्नुपर्ने समयतालिका अनुसार भारतीय समूहसँग मिलेर दुईवटा बसबाट जान्छौ सन्तोसा । सिंगापुर संसारभरिका ठूलो हार्वाेर बन्दरगाहमध्ये एक हो । हामी लामो कन्टेनर नै कन्टेनरको यार्डको बाटोलाई चिर्दै सन्तोसासम्मको लामो पूल पार गरी सुन्दर सन्तोसा टापु पुग्यौं ।
यस टापुमा संसारको सम्पूर्ण आश्चर्यजनक मनोरञ्जनका साधनहरू कृत्रिम रुपले तयार गरिएको छ । अण्डरवाटर वल्र्ड, सिलिसो फोेर्ड, मार्लिओन स्ट्याचु, वाटर फाउण्टेन र सङ्ग अफ सी जस्ता अचम्मको मनमोहक स्थल निर्र्माण गरिएका छन् । जहाँ साङ्गीतिक आवाज, आतशबाजी, पानीका फोहरा, आगोको मुस्लो चलचित्रको रियालिटी शोजस्तो देख्न सकिन्छ । यहाँ ऐतिहासिक फोर्टमा नेपालका गोर्खा भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बुको सालिक पनि राखिएको छ ।
सहभागी साथीहरू कोहि अनौठो चलचित्र हेर्न गए, कोही सङ्ग्रहालय हेर्न गए । कोही आकाशबाट एक्कै चोटी पाताल आइपुग्ने पिङ्गमा मच्चिन गए र कोहि समुद्र किनारामा सनबाथ लिन गए । तर विशेष महत्वपूर्ण भ्रमणमा चाही हामी सबै एकै ठाउँमा जम्मा हुन्थ्यौं । हामीमध्ये केहीलाई मात्र यस ऐतिहासिक सालिक हेर्ने सौभाग्य मिल्यो ।
मेरी आमा भन्नु हुन्थ्यो, हाम्रा मामाहरू मलायाको युद्धमा हराएका रे । अहिलेसम्म फर्केनन रे । ढक्क भएर मेरो छाती फुल्छ । बीर गोर्खाले थामेको इतिहास सिंगापुर, म भावुक हुन्छु । “रामबहादुर मामा, तपाईको नाउँमा यो दुई थोपा आँसुको सलाम͗ तपाईको छातीको तक्माको कदर आफ्नै देशमा भएको छैन । तपाईले गरेको बीरगाथाको चिनो लगभग नामेट भैसक्यो भन्दा पनि हुन्छ । तपाई यहाँ बहादुर भएर उभिरहनु भएको रहेछ । मैले त मेरो देशको समाचार सुनाएँ । तपाईको चित्त पनि दुख्दो हो । मलाई आशिष दिनुस् मामा, अव अर्को यस्तै साहस र बहादुरीको इतिहास रच्नको लागि” । संसारभरिका विकसित देशहरूमा तपाईको त्यही कामको प्रशंसा भइरहेको छ । संसारका प्रायः सबै ठूला–ठूला युद्धहरूमा तपाईले सिर्जनु भएको नियमको प्रयोग भएको छ । अव त्यसलाई हामी पनि आफ्नो देश विकासको लागि प्रयोग गर्न सकुँ । अरूको देशमा देखाएका बहादुरी किन आफ्नै देशमा नदेखाउने ? धन्यबाद मामा तपाईको आशिषको लागि । म तपाईले दिनुभएको सन्देश नेपालमा पु¥याउँछु ।
हामीले धेरै महत्वपूर्ण ठाउँहरूको अवलोकन ग¥यौं । माछाको संसार हो त्यो अण्डरवल्र्ड वाटर । समुद्रभित्र कसरी निर्माण गरेका हुन् त्यो संसार, पाइताला राख्नेबाहेक सबैतिर अक्वारियम । तह–तहका बर्ग–बर्गका भुरादेखि मान्छे जत्रा माछाको संसार । आहा वाटर फाउण्टेन, सङ्ग अफ द सी, पानीको फोहरा, विजुलीको प्रकाश र विभिन्न प्रकारका गर्जन ध्वनिले अचम्मको स्वर्गको संसार सिर्जना गरेको छ ।
विजय उत्सवको पटका पड्किएका रङ्गी–विरङ्गी रङ्गको फोहरासहित सिंगापुरको स्थानीय संस्कृति झल्कने विकासका कथामा विभिन्न रुपमा कलाकारहरूले अभिनय गरेका थिए । कस्ले रच्दो हो यस प्रकारको कलाकृति ? डल्फिन डान्स सो त्यतिकै रोचक अनि घोचक, घोचक यस अर्थमा कि मानिस जातिले प्रकृतिलाई कसरी प्रेम गर्नुपर्छ भन्ने कुराको अभिनय गरेर देखाई दिन्छन् डल्फिनले ।
करिव एक घण्टाको रातमा मात्र गरिने यो जङ्गल सफारी कति व्यवस्थित । इलेक्ट्रिक रेलजस्तो बायोग्याँसले चल्ने कारबाट प्रकृतिमा भएका सबैजसो पशु–पंक्षीहरूको नजर गर्न पाइन्छ । बाटो किनार नजिकैबाट सिंह, बाघ, भालु, गैंडा हात्ती, हरिण, मृग, घोरल, बँदेल, गाई, भैसी, अर्ना, उँट, जिराफ, पानी हाँस, टर्कि, चील, संसारमा पाइने हरेक प्रकारका पशु–पंक्षीसँग साक्षात्कार हुन पाईन्छ । अँधेरो रात, शान्त वातावरण सायद त्यहीका कर्मचारीहरू हुनुपर्छ, हात हल्लाइरहेका भेटिन्थे–चोक चोकमा ।
न्याउरी मुसा, स्याल अनि भालुले कागजका भाँडा, टिनका भाँडा र सिसाका भाँडालाई कसरी छुट्टाछुट्टै व्यास्थापन गर्ने भनेर वातावरण मैत्री शिक्षा पनि दिए । यो दृश्यलाई जस्ताको तस्तै कागजमा उतार्न कठिन कुरा हो । तर प्रकृति र पशुपंक्षीहरूलाई जेजस्तो व्यवस्थापन गरेका छन्, सिंगापुरले यो साह्रै नै सराहनीय काम हो । सलाम सिंगापुरलाई ।
हामी भोलिको लङ्गकावी आइल्याण्ड यात्राका लागि फेरि चाङ्गगी हानिन्छांै । मलेसियाको धेरै अन्तर्राट्रिय विमानस्थलजस्तै लङ्गकावी विमानस्थल पनि एक हो । मलेसिया नेपालजतिकै क्षेत्रफल र जनसंख्या रहेको भए पनि विगत दश–पन्ध्र वर्षले विकसित राष्ट्रको तुलनामा पुगिसकेको छ । सिंगापुरजस्तै मलेसियाको पनि शिरदेखि पुच्छरसम्मको यात्रा गरिसकेको छु । जुन ठाउँमा पानीको मुहान छैन त्यही ठाउँमा सार्वजनिक बाटो घाटोको धाराको पानी सिधै पिउनु मिल्ने रहेछ, सबैभन्दा अनौठो कुरा यही लाग्छ मलाई यहाँको । जुन ठाउँमा सानो स्थल टापु छ, त्यस ठाउँमा संसारको सबैभन्दा बढी व्यापारिक कारोबार हुन्छ ।
हाम्रा नेताहरू वर्षमा दुईपटक सिंगापुर आई, घुमी र बैठक गरेर करोडौ खर्च गरी के हेर्छन् ? के देख्छन् ? के सिक्छन् ? के भाषण गर्छन् ? के गर्छन् खै केही बुझ्नै सकिन्न । यहाँ जथाभावी फोहर फाल्दा, कुकुरले आची गर्दा, गलत ठाउँमा पार्किङ्ग गर्दा पैसाको जरिवानाले मात्र पुग्दैन, सात दिन मात्र भए पनि जेलको चिसोमा कोचिनु पर्छ । काम गरेको र व्यवसायबाट आर्जन गरेको आम्दानीको राजस्व एक डलर मात्र चुक्ता भएको छैन भने अर्को देशमा जान पाइँदैन ।
सबैको हक हित अधिकार र पहिचानको सुनिश्चितता छ । योग्यता अनुसारको शीपमूलक पेसा र नोकरी, स्वास्थ्य र शिक्षा जस्तो विषय सबैको पहुँचमा छ । त्यसैले कसैलाई पार्टी खोल्नु छैन यहाँ, कार्यकर्ता बन्नु पनि छैन । कसैको झण्डा बोकेर कसैको डण्डा खानु पनि छैन यहाँ । कसैको पछुवा बनेर नारा जुलुसमा पछिलाग्नु र लौरो र बुटको गोदाईमा पर्नु पनि छैन । अझ बन्द हडतालमा अश्रुग्याँस र तातो गोली खानु पनि छैन । नोकरी दिएन भनेर कसैले आत्महत्या गर्नु पर्दैन सिंगापुरमा । आमसभा, जनसभा र लोकसभा गर्न र ठूला–ठूला भाषण दिन र चर्को–चर्को भाषण गर्ने फुर्सदै छैन यहाँ । त्यसैले हरेक साल करोडौ अन्तर्राष्ट्रिय पर्यटक भित्रिन्छन् र दिन दुई गुणा, रात चौगुणा सिंगापुरको विकास भैरहेको छ ।