जब जब म
आफैंबाट आफु परिचित हुँदै गएँ
तागाधारी र मतवालीको दायराबाट
उम्केर नेपाली बन्न खोज्थेँ ।
समाजबाट तिरस्कृत म
मेरो बुबाको नजरबाट मूर्ख बेकम्मा
पटक पटक बहुला बनाइएको म
जडौरी धर्मढोका जुवा काँध थापेर
आफ्नो किपटियाबारी बाँझो मार्न
छेउकुना लाग्न पट्टकै मन मानेन
कुङ्गिरा,
आजको दिनसम्म अहिलेसमम मन मानीरहेको छैन ।
सम्झिन्छु
म सोझो किराँती होइन रहेछु
म मेरै बुबाको प्रतिपक्षमा वकालत गर्ने थालेँ–
जिजुचेप्जुको मुलुमि मुलिचलाई
छक्कालमा सूर्य साँक्षी राखेर बलत्कार गर्दा
किन चुप्चाप बस्यौ ?
केही बोलेनौं
त्यो नाठो पण्डित र काजीको
नजायज अवैध नासो मुखिया सिउरेर
किन मकैको घोगा जात्रो नाक फुलाउँछौ ?
अनि
ग्रश दशा टार्ने ढोँगि ज्योतिष
तन्त्रमन्त्र गर्ने धामी झाँक्रीको भेन्सिलेटरमा बसेर
निराहार, कठोर र सघन उपाचार गरिन्थेँ ।
कुनै सीप नलागेपछि
पण्डित बा र काजी साहेबको इजालासले
सामाजिक अदालतको कठघरामा
मलाई वा मेरो अधिवक्तालाई बहस गर्न प्रतिवन्ध लगाउँदै
सावित गरिन्थ्यो र एक पक्षीय फैसला सुनाइन्थ्यो–
मुखिया बा तपाईँको छोरा बौलायो ।
अखिर
न म मेरो बुबालाई बुझाउन सकेँ
न मेरो बुबाले मलाई बुझ्न सक्नु भयो ।
हामी बीचको भँगालो सदासदाको लागि फाट्यो ।
जसरी अहिले मेरी आमा र म वीच
फेरि अर्को ठूलो समेट्नै नसकिने भँगालो फाटिरहेछ ।
–काःत, खिँचिदेम्बा ४, चुप्लु ।