बिहानीको शीतसंगै बिउँझनु
चराहरुसंगै गीत गाउनु
पानी पंधेरोको म्याराथुन दौडनु
आफ्नो भाग्यलाई जाँतोमा पिध्नु
अथवा दुःखको ओखल एकहोरो कुटिरहनु
मैच्याङहरुको दैनिकी हो
भोको पेटमा मैच्याङहरु
आफ्ना सन्तानलाई आप्mनो स्तबाट दूध हैन रगत पिलाउँछन्
पुष्ट बनाउँछन् तिनका तिघ्रा
आफू भने बिस्कुन जस्तै सुक्दै सुक्दै जान्छन्
र टाँगिदिन्छन् बाँकी रहेको अस्थिपञ्जरलाई वर्षामासको घुममा
जसलाई ओडेर यो संसार रोपाई गर्छ आँशुको
मानौ आँशु बिउ हो
मानौ आँशु दबदबा हिलो हो
त्यो आँशु धारिलो पनि छ
मैच्याङहरु आँशुले नै घाँस काट्छन्,
आँशुले नै दाउरा छप्काउँछन्
आँशु हत्केला पनि हो
ती आँशुले नै सोहर्छन् जीन्दगीको भकारो
र सिनित्त पार्छन् मनको बह
सदियौंदेखि तिनीहरुले त्यहि आँशुको आदिम लय झिकेर
बजाईरहे बिरहको डम्फु
गाईरहे नियतिको सेलो
भरिरहे शरीरको हाटबजार
अनि निरन्तर निरन्तर हिडिरहे उज्यालोको खोजिमा
ति आज पर्यन्त हिडिरहे हिडिरहे
यतिखेर माक्र्सको बर्गसिद्धान्त केहि बेर ओझल पारेर सोध्न मन लागेको छ
मैच्याङहरुको हस्तरेखामा किन देखिदैन सम्पन्नताको एउटै धर्सो ?
किन देखिदैंन स्पष्ट रुपमा सुखको कुलेसो ?
ति आप्mनै हत्केलामा टुक्रिएका छन् यसरी कि
मानौ हिड्दा हिड्दै छुटेका छन् आफ्नाहरु र पुगेका छन् कतै अक्करे भीरमा
हुर्कदाँ हुर्कदै पलाएको छ काभे, तिनिहरुको जीन्दगीमा
त्यही काभे जिन्दगीको फुुर्को समातेर मैच्याङहरुले बनाउँछन् पासपोर्ट
लगाईमाग्छन् भिसा
र पुग्छन् ब्ल्याकहोलमा
जहाँ सधै सधैं उज्यालो खेती गर्नेहरु पस्छन् र हराउँछन्
बिना थिङ तामाङ